RaraNews

महावीर विश्वकर्मा प्रकाशित : २०७५/४/४ गते
१४० पटक

यो लगभग डेढ महिना अगाडीको सन्दर्भ हो । बेलुकीको त्यस्तै ९ बजेर केही मिनेट गएको थियो । ३ घण्टा उकालो हिँडेकोले थकित थिएँ म । खाना खाइहाल्न पाए सुतिहाल्न हुन्थ्यो भन्ने थियो । साथी सिमन खड्का र म भोकको तालमा छिटो छिटो खाना खाइरहेका थियौँ । हाम्रै समूहका केही अरु साथीहरु छेउमा रमाइलो गर्दै थिए, जुस र अन्य पेय पदार्थ पिउँदै थिए । त्यति नै बेला एउटा साथीले आफूसँगै बियर पिउँदै गरेकी एक बहिनीलाई जिस्किएर भन्यो, ‘यता नछोउ है, म विष्टले छोएको खान्नँ ।’

बहिनीले फ्याट्टै भनिन्, ‘म कामी हो र मैले छोएको नखान ?’

छेउमै खाना खाइरहेको मलाई भाउन्न छुट्यो । खाना मुछिरहेको हात टक्क रोकियो । बेस्सरी रिस उठे जस्तो भयो । केही सोच्नै सकिनँ ।
भनेँ– ‘म त कामी हो नि त ।’

पिउने माहोलको हल्लाखल्लाले गर्दा उनीहरुले सुनेनन् मेरो बोली । अरुहरुले पनि सुनेनन् क्यारे, कसैले ध्यान दिएनन् । तर मसँगै भात खाइरहेको सिमनले चाहीँ सुन्यो भन्नेमा म विश्वस्त थिएँ । सायद मेरो बोलीमा मिसिएको आवेग उसले राम्रैसँग महसुस गर्यो । तर केही बोलेन । खासमा त्यहाँ बोल्नु उचित पनि थिएन । मलाई त्यो तत्कालै महसुस भयो — यो माहोलमा केही बोल्नुको अर्थ छैन ।

हामी एउटा सामूहिक कार्यको सिलसिलामा त्यहाँ पुगेका थियौँ, लगभग २ साता साथै रहने गरि । सबै पढेलेखेकै थियौँ, सबै आफुलाई आधुनिक भन्न रुचाउने नै थियौँ । ती बहिनी, जसले त्यसो भनिन्, उनी देशकै राजधानी काठमाडौंमा बसोबास गर्थिन । तर एकेडेमिक ज्ञान, पहिरन, बासस्थानले मात्रै कहाँ आधुनिक विचार बन्दो रहेछ र !

त्यो घटनाले मलाई बेस्सरी दुखायो । हामी सबै समान हैसियतमा त्यहाँ पुगेका थियौँ । तर मलाई लाग्यो कि, जात कै कारण मलाई अरुभन्दा कमसल ठानिदिँदा रहेछन् मान्छेहरु । कुरा मसम्म आइपुगेको त थिएन तर मेरो जात जोडिएपछि मैले आफुलाई केन्द्रमा राखेर सोचेँ ।

सिमनले याद गर्यो कि गरेन, त्यो त थाहा भएन तर नढाँटी भन्छु —त्यो रात म रोएँ । धेरै वर्षपछि त्यसरी ह्वालह्वाली रोएँ । त्यतिबेला कमजोर नै भएछ मेरो मनोविज्ञान । मैले कतै पढेको थिएँ— Tears are words the heart can’t say । मेरो हालत त्यस्तै त थियो ।

यात्रामा जहिले पनि मसँग केही किताबहरु हुन्छन् । फुर्सदमा पढ्छु । त्यहाँ पनि कामबाट फुर्सद मिल्ने बित्तिकै किताब पढ्थेँ । प्रदीप नेपालको उपन्यास ‘देउमाइको किनारमा’ सकाएपछि शरद पौडेलको उपन्यास ‘लिखे’ सुरु गरेको थिएँ । उपन्यासको प्रमुख पात्र लिखे । उसको जात दमाई । उमेर ९ वर्ष । उ दमाई भएकैले गोठालोमा साथीहरु उसँग खेल्दैनन् । साथी नखेलेपछि मनमा कुरा खेल्छ, ‘कस्तो रैच यो दमै भन्ने जात् ? सबैले हेप्दा रैचन्, के भ’र होला ? के होला यो बाहुन भनेको ? कामी भनेको के होला नि ?’

मलाई लाग्थ्यो, एउटै समुदायको भएपछि पूर्व—पश्चिम जहाँ जहाँको मान्छे पनि आफ्नै लाग्छ । अब त लाग्यो, किताबकै पात्र पनि पो आफ्नै लाग्दो रहेछ । सायद पिडाको पनि आफ्नै साइनो हुँदोरहेछ क्यारे ।

केही वर्ष अघि म गाउँमै हुँदा कतै जान हिँड्दै थिएँ । एउटा घरभित्र बच्चा रुँदै केही भनिरहेझैँ आवाज वरैबाट सुनेको थिएँ । त्यो ‘बाहुन’को घर थियो । म हिँड्दै त्यही घरको छेउबाट अघि बढ्दै थिएँ । आमा चाहीँको चर्को बोली बाहिरसम्मै प्रष्टै सुनियो— कस्तो कामी दमाईको जस्तो थुतुनो होला ।

च्वास्स घोच्यो त्यो बोलीले । नमिठो मान्दै अघि बढेँ । यस्तो बेलामा के गर्नुपर्छ ? भन्ने सोच्न पनि सकिनँ । यो घटनामा स्मृतिमा बसिरहेको रहेछ, र त आज पोको फुकाए झैँ फुकाउन पाएँ ।

मेरो छेउको कोठाको भाई सफ्टवेयर इन्जिनियर हुन् । उनको ब्याचमा पुल्चोक इन्जिनियरिङ्ग क्याम्पसको टपर । नाम नारायण कँडेल । हाम्रो घर पनि चितवनको एउटै नगरपालिकामा हो । हामी कहिलेकाहीँ यस्ता सामाजिक विषयमा लामै छलफल गर्छौँ । चिन्तन गर्छौँ । कसरी समाधान होला त ? भनेर विमर्श गर्छौँ । हामीले के गर्नुपर्छ ? भनेर खोजी गर्छौँ ।

कहिलेकाहीँ जिब्रोका लागि स्वाद फेर्नुपर्छ भन्ने सोचेरै हामी एक साँझ ढिँडो खान ग्वार्कोको एउटा होटलमा पुगेका थियौँ । त्यहाँ मजदुर दाजुभाइहरु साँझमा रक्सी खान पनि आउँछन् । हामी एउटा टेबलमा आमने सामने भएर ढिँडो खाँदै थियौँ । मेरो पछाडी २ जना रक्सी खाँदै थिए । उनीहरु आफ्नै गफमा मस्त थिए । एकजनाले एउटा नाम लिँदै भने, ‘त्यो केटा, मान्छे चाहिँ ह्याण्डसम् नै छ तर त्यो सार्की हो नि ।’

नारायणले पुलुक्क म तिर हेरे, म फिस्स हाँसिदिएँ अनि उनी पनि त्यसरी नै हाँसे र ढिँडो खान थाले । यो विषयमा हामीले पछि पनि कुरा गरेनौँ । तर अहिले प्रसङ्ग आयो र मैले सम्झिएँ ।

मैले अहिले यी ३ वटा उदाहरण मात्रै उल्लेख गरेँ, आजको विषयसँग मिल्दो भोगाई । यो भन्दा पीडादायी भोगाईहरु थुप्रै—थुप्रै व्यहोरेको छु जीन्दगीमा । मेरो समुदायको हरेकले यो भन्दा कहाली लाग्दो भोगाई भोगेका छन्, भोग्दै छन् पनि अझै । तर आज ‘महसुस समेत नभइकन गरिने विभेद’ बारे कुरा गर्न खोजेकोले त्यस्तै उदाहरण अघि सारेँ ।

यी ३ उदाहरणमा ३ थरि मानिस छन् । एउटी शहरकी शिक्षित युवती, अर्की गाउँकी गृहिणी महिला, अनि अर्का मजदुर युवा । उनीहरु फरक फरक क्षेत्रको प्रतिनिधित्व गर्छन । फेरी पनि दलितप्रतिको बुझाईमा भने ख्यालख्यालमै विभेदजन्य बोली बोलिरहेछन् । यस्तो विचार बोकेपछि उनीहरुले दलितसँग गर्ने व्यवहारमा विभेदको मात्रा कति हुन्छ ? भन्ने मेरो यो लेखाइको विषय होइन ।

मैले उप्काउन खोजेको कुरा के चाहीँ हो भने, हामीमध्ये अधिकांशले ख्याल—ख्यालमै विभेदजन्य कुरा बोलिरहेका हुन्छौँ, जुन कुरामा हामीले अहिलेसम्म ध्यानै दिएका छैनौँ । हामीले सानैदेखी त्यस्तै सुन्दै आयौँ, बोल्दै आयौँ । अनि हामीलाई स्वभाविक लाग्यो । तर हामीले आफुले बोलिरहेको कुराले सम्बन्धित व्यक्तिलाई कति पिडा दिन्छ भनेर कहिल्यै पनि सोचेनौँ ।

यो दलित समुदायप्रति प्रयोग हुने शब्दको मात्रै कुरा होइन । महिला, अझ एकल महिला, यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिहरु, मधेशी, आपङ्गता भएका व्यक्ति, जनजातिलगायत धेरैप्रति प्रयोग हुने त्यस्ता शब्दहरु वा आशयका बोलीहरुको कुरा हो, जसलाई हामीले विभेद हो भनेर महसुस समेत गरेका छैनौँ । तर गर्नुपर्छ ।

मलाई थाहा छैन यो ब्लग कतिले पढ्नुहुन्छ । तर पढ्नेमध्ये तपाईँ एकजना मात्रै भएपनि अबका दिनमा यो विषयमा सचेत भइदिनुभयो भने मैले यति लेख्नुको अर्थ हुनेछ । ख्याल ख्यालमै बोलिएको भनेर कहाँ हुन्छ र साथी, ‘गोली त गोली नै हो नि, मायाले हाने पनि मार्छ ।’

साभार- फरक धार

प्रतिकृया दिनुहोस्