RaraNews

जागरण मिडिया प्रकाशित : २०७४/९/१३ गते
२७६ पटक

काठमाडौं । 

 

गत असोज १७ गते नेकपा एमाले र माओवादी केन्द्रको चुनाव लक्षित वाम गठबन्धन घोषणा भयो। उक्त घोषणामा अर्को लक्ष्य तय गरियो, दुई पार्टी एकतामा लगेर कम्युनिस्ट केन्द्र बनाउने। त्यसलगत्तै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आयो जसका लागि यी दुई दलले संयुक्त घोषणापत्र जारी गर्‍यो। जसमा देशलाई स्थायी सरकार दिने, कम्युनिस्ट केन्द्र बनाउने र समाजवादतिर जाने लेखिएको छ। त्यो लेख्ने समितिमा थिए विगत साढे तीन दशकदेखि कम्युनिस्ट आन्दोलनमा सक्रिय विश्वभक्त दुलाल ‘आहुति’। मार्क्सवादी चिन्तक एवं लेखक आहुति चुनाव सकिएपछि भने पार्टी एकता गलत भएको निश्कर्षमा पुगेका छन् र नयाँ पार्टी गठन प्रक्रियामा लागेका छन्। एमाले र माओवादीको एकता, अबको बाटो र कम्युनिस्ट आन्दोलनबारे थाहाखबरका लागि दीपेन्द्र कुँवर र जयसिंह महराले गरेको कुराकानी।

तपाईंले माओवादी केन्द्र र नेकपा एमालेबीच हुन लागेको पार्टी एकतामा नजाने भन्ने अभिव्यक्ति दिनुभएको छ, यस्तो अवस्था किन आयो ?

पहिलो कुरा, पार्टी एकताको श्रृङ्खला विकासलाई हेर्नुपर्‍यो। माओवादी केन्द्रभित्र हाम्रो के समझदारी बनेको थियो भने, ‘पार्टी बिग्रियो, पार्टी आफ्नो वर्गबाट च्यूत हुँदै गयो विचारमा पनि अन्योल हुँदै गयो। त्यसकारणले एकतावद्ध भएर संविधान बनाउने कार्यभार पूरा गर्ने, त्यसपछि आजको युगको आवश्यकता अनुसारको कम्युनिष्ट पार्टी बनाउनका निम्ति एउटा महाबहसको सृष्टि गरेर महाधिवेशनतिर जाने भन्ने हाम्रो समझदारी र लिखित निर्णय थियो। तर कुनै छलफलविना, कुनै औपचारिक कमिटीको निर्णयविना माओवादीका केही नेताहरु र एमालेका केही नेताहरु बसेर ७ बुँदा तयार पारेर, माओवादी पार्टीका नेताहरुले अनुमति दिएर उहाँहरुले औपचारिक स्थायी समितिको निर्णय गरेर अनि पार्टीको अनौपचारिक बैठकमा ल्याएर यस्तो सहमति भयो। कुनकुन विषयमा छलफल गर्न बाँकी छ पनि नभनिकन ‘अब एकता गर्ने भइयो’ भनेर उहाँहरुले एकता गर्ने टुंगो गरेर आएको प्रष्ट भयो। २० औं, ३० औं वर्षदेखि फरकफरक ढंगले प्रशिक्षित भएर आएका हजारौं कार्यकर्तालाई १ घण्टा पनि सोच्ने अवसर दिइएन। जनवादी केन्द्रीयताको त कुरै छोडिदिउँ, सूचनासम्म थाहा छैन। उहाँहरुले जो निर्णय गर्नुभयो यसले कार्यकर्ताहरुको विश्व कम्युनिस्ट आन्दोलनमै हेर्दाखेरि मैले यतिठूलो अपमान पढेको छैन।

त्यसो भए अपमान सहेर पार्टी एकतामा नजाने ?

अपमानलाई त आलोचना गरेर अगाडि बढ्न सकिन्छ तर त्यो मुख्य कुरा होइन। मुख्य कुरा के हो भने माओवादी केन्द्रभित्र पार्टी बिग्रियो र अब नयाँ ढंगले कम्युनिस्ट पार्टी निर्माण गर्नुपर्ने बहस गर्नुपर्छ भन्ने औपचारिक निर्णय थियो। कुनै पनि सम्मेलन, कुनै पनि महाधिवेशनले एमालेलाई हामीले कम्युनिस्ट पार्टी मानेका छैनौं। कहिले प्रतिक्रियावादी शक्ति भनेका छौं त कहिले ढुलमुल वामपन्थी भनेका छौं। वामपन्थी पनि पूरै स्वीकार गरेका छैनौं। भनेपछि कुनै पनि सम्मेलन, कुनै पनि बैठकले त्यो निर्णय नसच्याइकन उहाँहरुसँग एकता गर्ने भनेर निर्णय गर्नु भनेको हामी पनि आधारभूत रुपमा अब उहाँहरुजस्तै भयौं भनेर स्वीकार गर्नु हो। यसको अर्थ के हो भने नेपालमा संगठनात्मक रुपमा कम्युनिस्ट आन्दोलनको बिसर्जन हो। अब एकता हुन्छ कि हुँदैन त्यो मुख्य कुरा भएन।

अहिले नेपाली राजनीतिमा एमाले र माओवादी एकता हुन्छ कि हुँदैन र एकता भए पूरै माओवादी एकतामा जान्छ वा जाँदैन भन्ने चासो र चर्चाको विषय बनेको छ। तपाईहरु नजाने नै निर्णयमा पुग्नुभएको हो ?

यो एकताले कम्युनिस्ट आन्दोलन नै बिसर्जन भयो। हामी त कम्युनिस्ट पार्टी बनाउन हिँडेको मान्छे नि! कहाँ जाने? कम्युनिस्ट पार्टी नै छैन त्यहाँ।  माओवादी केन्द्रभित्र बचेका कम्युनिस्टहरुलाई छोडेर पार्टीको नेतृत्व डप्फा गयो। एकजना पुरुषले कुनै महिला अगाडि बसेर ‘म तपाईंसँग विहे गर्न तयार छु’, भनिसकेपछि त विहे गर्ने कि नगर्ने त महिलाको इच्छा भयो अब। ऊ (माओवादी) त तयार भइहाल्यो नि बुझ्नुभएन? एमालेसँग एकता गर्न सकिन्छ, गर्ने हो भनेर निर्णय गर्नु भनेको त ‘म पनि आधारभूत रुपमा एमालेजस्तै भएँ’ भनेको हो। एमाले त कम्युनिस्ट पार्टी होइन भनेको हो हामीले त। यो त ठूलो शक्तिको एमाले र हामी सानो शक्तिको एमाले भनेको हो नि त।  हामी अब एकतामा जान्नौं मात्रै भनिरहेको छैनौं, कि म त अब यो पार्टीमा नै छैन। प्रचण्ड अब मेरो अध्यक्ष होइन। उहाँ एमालेसरह भएपछि म उहाँलाई कसरी मान्छु त? यो हुने कुरा भएन नि।

माओवादी एमालेमा विलय हुने कुरा गर्नुभयो तर पार्टी एकता हुने भनेको छ। संगठन, सिद्धान्त, विचार मिलाउन समय लाग्छ भनेको छ र नयाँ पार्टी बनाउन लागेका छौं भन्दा तपाईंले हतारमा अलग्गिएर जानुको अर्थ के ?

केही हतार गरेको होइन। उहाँहरुले जे गरेको हो त्यसको प्रतिक्रिया व्यक्त गरेको मात्रै हो। औपचारिक रुपमा मैले राजिनामा दिएको छैन। म पार्टीको बैठकमा जान छोडेको छु। किनकी त्यसको कुनै औचित्य छैन, उहाँहरुले बैठकमा निर्णय सुनाउने हो, अरुले ताली बजाउने हो। त्यहाँ कुनै प्रस्ताव आउने वाला त छैन। त्यस कारणले गर्दा त्यसको औचित्य नभएर हो।

जहाँसम्म एकता गर्न समय लाग्छ भन्ने, त्यो त प्राविधिक कुरा हो। अहिलेसम्म नेपालमा पार्टी एकता संयोजन समिति के उद्देश्यले बन्थ्यो त पहिला भने पार्टी एकता गर्न सकिन्छ कि सकिदैन? त्यसको निम्ति कुनकुन बुँदामा छलफल गर्नुपर्छ? तपाईंहरुको अडान यो छ। हाम्रो अडान यो छ। यसलाई के गर्ने भनेर पहिला सैद्धान्तिक बहस गर्नका निम्ति संयोजन समिति बन्थ्यो। अहिले त्यसको निम्ति बनेको होइन। पहिले नै दुईवटा पार्टीले पार्टी एकता गर्ने भनेर घोषणा गरे, हुन सक्छ कि सक्दैन भन्या होइन। अनि त्यसपछि मिलाउनुपर्‍यो, विधान तयार पार्नुपर्यो, प्रतिवेदन तयार पार्नुपर्‍यो। को अध्यक्ष हुने? को महासचिव हुने? को सचिव हुने? इत्यादि। संगठनको स्वरुप कस्तो हुने भनेर प्राविधिक काम गर्नको निम्ति उहाँहरुले संयोजन समिति बनाउनुभयो भनेपछि त सैद्धान्तिक रुपमा त पार्टी एकता भइसक्यो नि। दुवै पार्टीले आफूभित्र छलफल त चलाएनन् पार्टी एकता गर्ने कि नगर्ने भनेर।

प्रचण्डले भनेका कुरामा बहस गर्नुभन्दा तपाईहरुले थपडी बजाउँदै आउनुभएको थियो, त्यो गल्ती थियो कि! अनि पार्टी बिग्रनुमा यहाँहरुको पनि शेयर त होला नि ? 

मेरो शेयर छ भन्ने कुरामा म असहमति व्यक्त गर्दैन। किनकी हामीले राम्रोसँग हस्तक्षेप गर्न नसकेरै समयमा पार्टीलाई रुपान्तरण गर्न नसकिएको हो। तर, त्यसको मतलब के होइन भने आफ्नो बलबुताले भ्याएजति बहस सृष्टि गर्न नगरेको पनि होइन।

माओवादीको उम्मेदवार छनोट समितिमा पनि बस्ने, एमाले र माओवादीको संयुक्त घोषणापत्र तयार गर्ने समितिमा पनि बस्ने र ‘हामी एक हुन्छौं’ भनेर भोट पनि माग्ने, अहिले आएर ‘एकतामा जाँदैन’ भन्नु जनतालाई धोका दिएको भएन ?

मैले धोका दिएको भएन। मैलेचाहिँ साढे दुईवर्ष अगाडि नै ‘नेपालमा कम्युनिस्ट पार्टी संगठित रुपमा छैन’ भनेर सार्वजनिक लेख लेखिसकेको मान्छे हो। मैले भनेको थिएँ कि ‘यो पार्टीलाई नै कम्युनिस्ट पार्टीतिर फर्काउने हो भने महाबहसको सृष्टिबाट जानुपर्छ।’ त्यतिबेला पार्टीको केन्द्रीय समिति पूरै सहमत भएको हो, त्यसमा मेरो मात्रै कुरा होइन।  मैले बहसको माग गरेको थिए र पार्टीले स्वीकार गरेको थियो। तर, उहाँहरु अहिले बहसबाट भाग्नुभयो। कता लगेर एकताको भूमरीमा हालिदिनुभयो। एमालेजस्तै हौं हामीहरु भन्नुभयो।  राजनीतिमा जनताप्रति धोकाको कुरा भनेको राजनीतिमा छलछाम गर्‍यो भने हुने हो। जनतालाई राजनीतिको बारेमा प्रष्ट भन्न थालेपछि कसरी धोका हुन्छ? फेरि, धोका भनेको राजनीतिसँग जोडिएको विषय हो। कस्तो राजनीति बोक्न खोजेको अब भन्नेसँग सम्बन्धित कुरा हो।

अनि, एकता घोषणापत्र बनाउने समितिमा समेत बसेर पार्टी एकता गर्नेबेला छोडेर जान मिल्छ ?

मिल्छ, सरल ढंगले मिल्छ। किनभने पार्टी जीवन भनेको एउटा अभिभारासँग गासिएको हुन्छ। जनयुद्ध, जनआन्दोलनबाट जो अधिकारहरु, सीमित भए पनि, संविधानमा लेख्न सफल भयौं त्यो संविधान २१ गतेको चुनाव नगरिकन लागु हुँदैनथ्यो। त्यसकारणले त्यो लागु गर्ने बेलासम्म त अभिभारा पूरा गर्नुलाई गलत भन्न मिल्दैन। अब हामी सबै नै पुरानो खालको परम्परा, गुट, लिगेसी जे जे भने पनि ती सबैबाट अब मुक्त भयौं। अब कसैले पनि राजतन्त्र फर्काउन मिल्दैन। भोलि ५० वर्षपछि राजतन्त्र फर्केला त्यो बेग्लै कुरा हो। तर यो संविधान बनाउने प्रक्रियाको निरन्तरता होइन। संविधान बनाउने र लागु गर्ने प्रक्रिया अन्त्य भयो। त्यसकारण त्यसभित्र बोकेर आएको हाम्रो जति प्रतिवद्धता थियो त्यो पूरा गर्नुपर्थ्यो त्यो गरियो। अब हामीले स्वतन्त्र दिमागले सोच्न पाइने भयो। त्यसकारण जनतालाई धोका दिने त कुरै आएन।

असोज १७ गते माओवादी र एमाले एकता गर्ने जुन घोषणा भयो त्यो घोषणालाई कार्यान्वयन गर्नका लागि तपाई लाग्नु पनि भयो। तपाईं संलग्न घोषणापत्रमा ‘कम्युनिस्ट एकता केन्द्र बनाउने’ र ‘समाजवाद लागु गर्ने’ भनिएको छ। त्यो झुटो थियो ?

मैले त पार्टीमा पनि जनतालाई पनि र त्यो बनिसकेपछि (घोषणापत्र र गठबन्धन) सार्वजनिक सञ्चारमाध्यममा प्रष्ट के भनेको छु भने, ‘गठबन्धन ठीक छ अहिलेलाई, किनभने संविधान लागु गर्नुछ। अनि मिलेर जसले बढी जित्छ त्यसले सरकार बनाउनु ठीक छ। यहीँ व्यवस्थाभित्र तर पार्टी एकताको बारेमा छलफल गर्नुपर्ने हुन्छ। अहिले टुंगिदैन यो विषय।’ त्यसपछि चुनाव नहुने खतरा पनि थियो, चुनाव हुने ग्यारेन्टी भएपछि एउटा सञ्चारमाध्यममा गएर प्रष्ट भनेको छु ‘यो पार्टी एकताको कुरा कस्तो हो भने आमाले भोलि बिहान उठ्ने बित्तिकै बच्चालाई बाउ फेरियो है भनेजस्तो कुरा हो।’ त्यसकारण मैले कुनै धोका दिएको छैन।

जनताले माओवादी र एमाले मिलेर स्थिर सरकार दिनुहोला भनेर भोट दिए, विश्वास गरेर। अहिले तपाईहरु फुटेर जाँदै हुनुहुन्छ ?

स्थिर सरकार त हुने भइहाल्यो नि त। मैले कहाँ फुटाएको छु त पार्टी ? म बसेको, मैले चाहेको र म प्रतिवद्ध भएको पार्टी मलाई छोडेर भाग्यो भनेको मैले त। लौ हो कि हैन तपाई नै भन्नुस कि उहाँहरुले मार्क्सवाद, लेनिनवाद, माओवाद, वैज्ञानिक समाजवादतिर जाने र मुखपत्रको नाम नै ‘वैज्ञानिक समाजवाद’ राख्ने। एमालेलाई ढुलमुल वामपन्थी, प्रतिक्रियावादी भनेर मलाई हुर्काएको हो कि हैन? ती साथीहरु त्यसको विश्लेषण नफेरिकन मलाई छोडेर जाने अनि मैले फुटाउँछु पार्टी? अब संविधान बनिसकेपछि संविधानमा लेखेको लागु गर्ने हो। संविधानमा लेखेको लागु गर्नलाई यो संविधानले दिएको अधिकार लिएर चुनिएकाहरु जसले सरकार बनाए पनि लागु गर्ने त्यही हो।

माओवादी र एमालेमा फरक नभएको अहिले आएर देख्नुभएको हो कि पहिले नै आधारभूत भिन्नता मेटिइसकेको थियो?

मैले यो कुरा पहिले नै भनेको हो र भन्दै आएको थिएँ। तर साथीहरुले ‘हो ठीक हो कमी कमजोरी भएको छ, समस्या छन्। अब माहोल सृष्टि गरौं, फेरि एकचोटी फर्काऔ’ भनेको हुनाले साथीहरुको विश्वास गरेर ‘ल फर्काऔं न त’ भनेर बसेको हो। अब आज त छोडेरै भागिहाले साथीहरु। अब के फर्काउने?

तपाईंको कुरा विधि प्रक्रिया भन्दा बढी सैद्धान्तिक देखियो नि ?

विधि प्रक्रिया त यो पार्टी (माओवादी) मा केही पनि छैन। कुनै माओवादी नेतालाई सोध्नुहोला कुनै दिन कि ‘औपचारिक रुपमा कुन कमिटीको बैठक बसेर एकता गर्ने निर्णय गरेको?’ उहाँहरुले कुनै कमिटीको नाम लिनुभयो भने अनि म तपाईंलाई भनौला। के विधि प्रक्रिया?, मार्क्सवाद नै नजानेको फोरमको मान्छेलाई त्यतिकै केन्द्रीय सदस्य बनाइदिने पार्टी हो यो। विधि प्रक्रिया त ध्वस्त भइसकेको पार्टी हो। ४ हजार केन्द्रीय सदस्य भइसकेपछि बैठक बस्छ? कहाँ हुन्छ विधि? सबै बिग्रेको भनेको हो। गाली गर्न चाहन्न। त्यही भएर त नयाँ बहसबाट बनाउन सकिन्छ भनेको उहाँहरु बहसै नगरी अन्ततिर लाग्नुभयो।

उसोभए तपाईंको नेतृत्वमा नयाँ पार्टी जन्मिने भयो ? 

मेरो नेतृत्वमा किन जन्मिनुपर्‍यो र? आजको आवश्यकता अनुसारको कम्युनिस्ट आन्दोलन अब सुरु गर्नुपर्छ भनेपछि त नेतृत्वको रुपमा जो आवश्यक हुन्छ त्यो आउँछ। त्यो ठूलो कुरा भएन।  नयाँ कम्युनिस्ट पार्टी गठन अभियानमा को को हुनुहुन्छ? चुनावसम्म साथीहरु देशव्यापी रुपमा खट्नुभएको  थियो। म पनि खटिएँ। त्यो नेपाली जनतासँग करार गरिएको थियो, संविधान लागु गर्ने। त्यसकारणले हामी दृढतापूर्वक त्यहाँ थियौं। बल्ल देशभरीबाट साथीहरु के हो त कुरा? भनेर सोध्दै आउन थाल्नुभएको छ। सबै साथीहरुसँग छलफल पनि गर्न सकिएको छैन। उहाँहरुसँग छलफल गरिसकेपछि उहाँहरुका पछाडि रहेका साथीहरुसँग एक चरण छलफल गर्नुपर्ने हुन्छ। राजनीति त गासिएको न हुन्छ। उहाँहरुले डिसिजन गरिनसकेको हुनाले यति नै छ भनेर अंक गणितमा त भन्न सकिदैन। वा मैले बताउन हुने गरी बनिसकेको छैन। जो साथीहरु सम्बन्ध विच्छेद गर्ने अन्तिम निर्णयमा पुग्नुहुन्न तबसम्म उहाँहरुको नाम भनिदिन पनि भएन। उहाँहरुले पनि त गरिखान पर्छ नि। कतिपय साथीहरु बाहिरै प्रकट हुनुभएको छ, त्यो त थाहा छ। तर, प्रकट नभएका साथीहरुको कुरा बोल्न मिल्ने स्थिति छैन।

तपाईले बनाउन चाहेको पार्टी कस्तो हुने हो ?

मेसिनको युगको अधिनायकत्व सकियो। त्यससँगै सफ्टवेयर तथा आजको गुणात्मक फड्को मारेको विज्ञान प्रविधि उत्पादक शक्ति भयो। मेसिनको युगमा सोचेको जस्तो कम्युनिस्ट आन्दोलन चलाएर अब धान्दैन। नेपालमा त्यै नधानेको हो। उहाँहरु मेसिनको युगको पार्टी बन्नुभयो। मेसिनले संघर्ष त सामन्तवादसँग मात्रै गरेको हो। सामन्तवाद त सिद्धियो। सामन्तवाद सिद्धिएपछि मेसिनको युगको कम्युनिस्ट आन्दोलन पनि थन्कियो। उहाँहरुले आफ्नो वर्ग नउठाएको भए अथवा अर्को वर्गमा उहाँहरुको जीवन नपुगेको भए अब चाहिँ कसरी जाने होला भनेर सोच्न थाल्नुहुन्थ्यो, निष्ठापूर्वक।

नेपालमा सैद्धान्तिक कम्यनिस्ट पार्टीका नाममा मोहनविक्रम सिंह, मोहन वैद्य किरण हुनुहुन्छ, त्यहाँ गए हुन्न सिद्धान्त रक्षा गर्न? हैन भौतिक क्रान्ति गर्छौं भन्ने हो भने नेत्रविक्रम विप्लवको पार्टी छदैछ, अर्को नयाँ पार्टी किन ?

सबैले गर्छु भन्नु त अधिकार भयो। उहाँहरु गरिराख्नुभएको छ, हाम्रो भन्नु केही छैन। किरणजीहरु आधारभूत रुपमा अकर्मण्यताको शिकार हुनुभएको छ। यो मैले भनेको होइन उहाँहरुले पाएको १३ हजार भोटले पनि भन्छ। रोहित (नारायणमान विजुक्छे) जी खुम्चिने क्रममा हुनुहुन्छ, यो कुरा सजिलै बुझिन्छ।  विप्लवजी के गरिराख्नुभएको छ त भन्दाखेरी अन्दाधुन्ध आफ्नो अस्तित्व रक्षामा कुदिराख्नुभएको छ। उहाँसँग न व्यवस्थित कार्यनीतिक श्रृङ्खलासहितको रणनीतिसम्म पुग्ने कार्ययोजना छ, न चिन्तन प्रक्रिया, संगठनको ढाँचा र जीवनप्रक्रिया पारदर्शी छ, षड्यन्त्रकारी कार्यशैलीलाई कसरी बदल्ने त्यतातिर ध्यान छैन।  (हाँस्दै) मोहनविक्रमको पनि पार्टी छ र भन्या यो देशमा?

नेकपा मसाल छ त ?

(हाँस्दै) त्यो पार्टीको त खासै अर्थ भएन। त्यस्तो कुरा गर्न खोजेको होइन। त्यस्तो नबनाउने। त्यस्तो पार्टी बनाउनुभन्दा त दुईचारजना वौद्धिकहरु बसेर एउटा वौद्धिक मञ्च बसाएर किताब लेखे भयो नि। कमसेकम आफ्नो श्रीमतीलाई सांसद बनाइदिनुपर्‍यो भनेर ढोग्न जान त पर्दैन। मन्त्री बनाइदिनुपर्‍यो भनेर ढोग्न जान त पर्दैन। त्यस्तो चाहिँ गर्न हुन्न।

तपाईंको बन्ने पार्टी ‘एक थप’ हुनेबाहेक फरक के हुन्छ ?

नयाँ के हुन्छ भने मेसिनको युगबाट जति पनि सोच्ने तरिका पार्टी निर्माण संगठन संघर्ष त्यसलाई हामी विस्थापित गर्छौं र आजको विज्ञान प्रविधि र ज्ञानका सबै शाखामा विकसित भएका सबै नवीन चेतनाको आधारमा हाम्रो विचारधारात्मक राजनीतिक कार्यदिशा, कार्यशैली, कार्यप्रणाली, संगठनको ढाँचा र संघर्षको तरिका त्यसअनुसार निर्माण गर्नको निम्ति हामी अघि बढ्छौं।

संघर्षको कुरा गर्नुभयो, त्यो कस्तो संघर्ष भन्न खोज्नुभएको ? 

सबै प्रकारको संघर्ष हुनेछ। हामी के मान्छौं भन्दाखेरि अन्ततः करोडौं रुपैयाँ खर्च गरेर साम्राज्यवाद र पूँजीवादले जो हतियारधारी सत्ता बनाएको छ त्यो हतियारधारी सत्तासँग आधारभूत रुपमा एकचोटी हतियारले नै नै लड्नुपर्ने हुन्छ, एउटा निश्कर्ष। तर त्यो प्रक्रियासम्म पुग्नलाई हामी कसरी जान्छौं त भनेर कार्यनीतिक श्रृङ्खला बनाउन बाँकी छ।

त्यसोभए पार्टी कहिले घोषणा कहिले ? 

पहिलो कुरा अधैर्यतापूर्वक केही रिसाएका, ठुस्किएका, भुतभुतिएका, पद नपाएका कारणले रिसाएका सय वा १० वा २० मान्छेहरु जम्मा गरेर पार्टी घोषणा गर्ने पक्षमा हाम्रो टीम छैन। हामी यथेष्ट वैचारिक काम गरेर नहतारिइकन नेपाली कम्युनिस्ट आन्दोलनमा देखा परेका सबै कसिंगरहरु आफ्नो बुद्धिले भन्याएसम्म ती कसिङ्गर नआउने गरी पद्धति, प्रकिया, नियम देखि लिएर समाजसँगको संवादको तरिका सबै प्याकेजमा बनाएर अब फूल फेजमा रन गर्न सक्छौं भन्ने लागेपछि अघि बढ्छौं। काम गर्ने क्रममा ठीक किसिमले गर्न सक्दैनौं भने छोडिदिन्छौं। किन गर्नुपरेको छ गलत काम? बनाउने भनेर गइयो तर त्यो ठाउँ पुग्न सकिदैन भने छोडिदिने नि अर्को पुस्ता आउँछ सहयोगी बनेर बस्ने। तर हामी त्यो ठाउँमा पुग्यौं एकाध महिना लगाएर अब आवश्यकताअनुसारको काम गर्न सकिने नै देखियो भने कमसेकम ७० प्रतिशत विश्वासमा, व्यक्ति हैन त्यो, टीम पुग्यो भने मात्रै फूल फेजको राजनीतिक पार्टीमा हामी जान्छौं।

साभार-: http://thahakhabar.com/news/28901

प्रतिकृया दिनुहोस्