RaraNews

अर्जुन शाह प्रकाशित : २०७५/४/१७ गते
१९५ पटक

कैलाली — वडा कार्यालयको गणकमा छनोट भएको खबर लिएर घर पुगेकी दलित युवतीले आमासँग भनिन्, ‘मेरो नाम निस्कियो, अब तपाईंहरूका दु:खका दिन गए ।’ तर त्यसको छैटौं दिन घरबाट निस्किएकी २० वर्षीया युवती कहिल्यै नफर्किने गरी बिदा भइन् ।

‘आमा, आज काम सकेर अलि चाँडै घर फर्किन्छु भनेर निस्केकी हो, तर कहिल्यै फर्किन,’ उनकी आमा भक्कानिइन्, ‘बैरीहरूले ज्युँदै खाइदिए मेरी छोरी ।’ बलात्कारपछि छोरीको हत्या भएको महिना दिन बितिसक्दा पनि आमाका आँखा ओभाएका छैनन् । बाबु सुस्ताएकै छन् । आफन्त र छिमेकीले ढाडस दिइरहेका छन् । ‘जब साँझ पर्न थाल्छ, छोरीकै अनुहार आँखामा नाच्न थाल्छ,’ किशोरीका बाबु रोए ।

कैलाली, मसुरियास्थित जहरी कटानको दलितबस्ती (दुर्गाचोक) का ४२ दलित परिवारमा एसएलसी पास गर्ने उनी एक्ली थिइन् । उनी एसएलसी पास हुँदा जेठाबुबा खडकले नातागोता र आफन्तलाई भोज नै दिएका थिए । पढाइमा अब्बल उनले १२ को परीक्षा दिएकी थिइन् । वर्षौंदेखि थाइराइडको बिमारले थलिएका बुबालाई छोरीकै भर थियो । परिवारको मात्र हैन, गाह्रोसारो परेका बेला पूरै गाउँ–समाजले उनकै भरोसा गथ्र्यो । गौरीगंगा नगरपालिका–११ नम्बर वडा कार्यालयले गणकमा छनोट गरेका ३ जनामध्ये पहिलो नम्बरमा नाम निस्केपछि उत्साह चुलिएको थियो ।

गणेश बडुवाल र उमेश चौधरीले उनीसँगै जागिर पाएका थिए । भविष्यमा धेरै अगाडि बढ्ने मनको धोको उनी आमालाई सुनाउँथिन् । हलिया गरेर गुजारा चलाउने बाबुआमा छोरीको लक्ष्य सुनेर दंग पर्थे । अरू दिन साँझ नपर्दै फर्किने छोरी असार १२ मा अबेरसम्म घर नआएपछि बुबाले छरछिमेकमा सोधखोज गरे । ‘छोरीको फोन अफ थियो, कुनै साथीको घर गइहोली भन्ठानेर मन थाम्यौं,’ उनले भने, ‘दोस्रो दिन पनि केही सुइँको नभएपछि आत्तियौं ।’ दोस्रो दिन साँझसम्म वल्लोपल्लो गाउँ सोधपुछ गरे तर कतैबाट छोरीको खबर पाउन सकेनन् । तेस्रो दिन इलाका प्रहरी कार्यालय मसुरियामा छोरी बेपत्ता भएको जाहेरी दिए । बेपत्ता भएको खबर गाउँभरि फैलियो । प्रहरीले खोजबिन सुरु गर्‍यो ।

प्रहरी र स्थानीयवासी चौथो दिन गाउँनजिकैको चपरथली सामुदायिक वनभित्र केन्द्रित भए । अलि भित्र खोल्सापारि पसेपछि हर्कले टाढैबाट छोरीले लगाएको चप्पल देखे । अलि अगाडि बढ्दा कपडा देखियो ।

‘नजिक पुग्दानपुग्दै भान्जा अचेत भएर गल्र्याम्म ढले,’ युवतीका बुवाका मामाले भने, ‘त्यो कपडा नातिनीकै थियो । त्यहाँ कपडा मात्र थिएन, चोला उडेको उनको बीभत्स शरीर पनि थियो ।’

‘घोप्टो परेको अवस्थामा उनको नाङ्गो शव भेटिएको थियो, उनले लगाएकै कपडाले हात बाँधिएको र मुखमा बुझो लगाइएको थियो,’ खोजतलास तथा अनुसन्धानमा खटिएका मसुरिया इलाका प्रहरी कार्यालयका नायव निरीक्षक गोपाल कार्कीले भने । प्रहरीका अनुसार युवती त्यही सामुदायिक वनको बाटो भएर साइकलमा झन्झटपुर जाँदै थिइन् ।

चपरथली जंगलको बीचमा पुगेपछि गौंडा ढुकेर बसेका गणेश बडुवाल, भुवन खाती र सुरज चौधरीले घेरा हालेर समाए । उनीहरूले बाटोबाट उठाएर जंगलभित्र लगी बलात्कार गरेका थिए । ‘चौथो व्यक्ति मनोज बोगटीले बलात्कार गर्ने क्रममा उनको मृत्यु भएको अनुसन्धानबाट खुल्न आएको छ,’ प्रहरी उपरीक्षक विनोद घिमिरेले भने । समूहमा तपेन्द्र बोगटीसमेत थिए ।

प्रहरी अनुसन्धानबाट घटनाका मुख्य योजनाकार उनीसँगै गणकको काम पाएका शिवपुरका ३० वर्षीय गणेश बडुवाल रहेको खुल्न आयो । विवाहित गणेशले काम सुरु गरेको दोस्रो दिनमै किशोरीसँग यौन प्रस्ताव राखेका थिए । तर उनले अस्वीकार गर्दै गाली गरेकी थिइन् । यौन प्रस्ताव अस्वीकार गरेको बदलामा गणेशले उनको सामूहिक बलात्कार र हत्या गर्ने योजना बनाएको प्रहरीले मनोजबाट थाहा पाएको हो । ‘यो केटी फुर्ती गर्छे, हाम्लाई टेर्दिनँ, उसको हत्या गरेपछि उसले पाउने काम मै पाउँछु र ८० हजार दिन्छु भनेर गणेशले मनोजलाई हत्यामा संलग्न गराएको देखियो,’ प्रहरी उपरीक्षक घिमिरेले भने, ‘मनोजले पोल खोलेपछि घटनामा संलग्न सबैलाई पक्राउ गर्न सजिलो भएको हो ।’

प्रहरीले उनीहरू सबैलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको छ । मंगलबार अभियुक्तहरूमाथि जिल्ला अदालतमा थुनछेक बहस भई पुर्पक्षका लागि जिल्ला कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बलात्कार तथा हत्यामा संलग्नहरू कानुनी कारबाहीको दायरामा आएका भए पनि अभिभावक र आफन्तलाई छोरीको पीडाले पोल्न छाडेको छैन । प्रहरीका अनुसार मौजुदा कानुनअनुसार घटनामा संलग्नलाई ३२ वर्षसम्म कैद हुनसक्छ ।

युवतीको हत्यापछि गाउँमा त्रास छ । मसुरिया दलितबस्तीका महिला पशु–चौपाया चराउन जंगल जान छाडेका छन् । बढेका छोरीलाई विद्यालय पठाउन मुस्किल हुन थालेको गाउँले बताउँछन् । ‘किशोरीको परिवारमा धपक्क बलेको दियो त निभ्यो निभ्यो, सिंगै दलितबस्तीले बाटो डोर्‍याउने छोरी गुमायो,’ वडा सदस्य अमृता विकले भनिन्, ‘कैद जरिवाना भएर मात्र हुन्न, पीडित परिवारलाई सरकारले क्षतिपूर्तिको व्यवस्था पनि गर्नुपर्ने हो ।’ साभार- कान्तिपुर 

प्रतिकृया दिनुहोस्