RaraNews

त्यस्तो धर्ममा बसेर नि हुन्छ त ?

दलितले किन गर्छन् धर्म परिवर्तन ?

जागरण मिडिया प्रकाशित : २०७५/४/२० गते
१३२ पटक

‘सर नमस्कार ! हजुर पनि यहाँ ? ’, बेंसीसहरको चर्च (मण्डली) को मूल द्वारमा पाइला टेक्नै लाग्दा परिचित आवाज सुनें।

‘नमस्कार ! हजुर, म पनि तपाईंहरूको परमेश्वरको घरमा। किन आश्चर्य मान्नुभएको नि बैनी ?’, मैले सोधें।

‘आश्चर्य त किन मान्नु र सर ? हजुरहरू यता झरेपछि मलाई गाउँलेले ख्यापख्याप्ती पारे गाउँमा, क्रिस्चियन होलिस् भनेर। अब झन् गाउँलेले तपाईंसँग मलाई यहाँ देखे भने गाह्रो पार्ने भए।’

‘नडराउनु बैनी गाउँमा अरूलाई थाहा छ यो जिल्लामा हामी अनुसन्धानका लागि आएका हौं भनेर’, मैले सम्झाएँ।

लमजुङकी २४ वर्षकी पार्वती परियार (नाम परिवर्तन) लाई मैले उनको स्थायी घर प्यार्जुङ गाउँमा आजभन्दा करिब तीन वर्षअगाडि स्थलगत अध्ययनका क्रममा पहिलोपटक भेटेको थिएँ। भूकम्पले मानसिक स्वास्थ्यमा पारेको असरबारे अनुसन्धान गर्न म केही विदेशी अनुसन्धानकर्तासम्मिलित समूहसँगै गएको थिएँ। उनले आफ्नो टोलका केही भूकम्पपीडितसँग कुराकानी गर्ने वातावरण मिलाएर हामीलाई सहयोग गरेकी थिइन त्यतिबेला।

‘हाम्रा जातिजति सबैलाई क्रिस्चियन बनाइस् भनेर गाउँघरमा ख्यापख्याप्ती पार्छन् मलाई त’, उनले अहिले भनेपछि म झसंग भएँ। ‘पैसामा बिकेकी, अबुझ, अनपढ भनेर होच्याउँछन्। क्यार्नु, हाम्रो समस्या हामीसँगै छ, भन्नेलाई कस्तो सजिलो छ सर’, उनको स्वरमा अव्यक्त पीडा भेटिन्थ्यो।

पार्वतीले करिब २० वर्षको उमेरमा विवाह गरेपछि मात्र प्यार्जुङ गाउँमा पाइला टेकेकी थिइन्। बेंसीसहरनजिकैको गाउँमा हुर्केकी उनी दलित तथा महिलामाथि हुने सबै खालको विभेद र हिंसाबारे जानकार देखेन्थिन्। आफू महिला र ‘सानो जात’ भएकै कारणले पुरुष र ‘ठूला जात’ भनिनेबाट विभेद भोग्नुपरेपछि आफ्नो समुदायलाई सचेत गराउँदै पुरुष र तथाकथित ‘ठूला जाति’ विरुद्ध प्रतिकार गर्न थालेकी थिइन् उनले। तर जात र लिंगका आधारमा गरिने विभेद तथा छुवाछूत समाजमा यतिविघ्न गढेर बसेको रहेछ, त्यसविरुद्ध उनको एकल प्रयास बालुवामा पानी खनाएसरह भयो। त्यति मात्र हैन, समाज सेवामा हिँडेकी पार्वतीको चरित्र हत्या गर्ने काम गरियो। ‘अनेक पुरुषसँग अनैतिक सम्बन्ध गाँस्दै हिँडेकी छे’ भन्ने भ्रामक हल्ला फिँजाइयो। समाजको अगाडि आफ्नो अनुहारसमेत देखाउन लाज भयो उनलाई। अन्ततः उनी समाज छोड्न बाध्य भइन्। अचेल सदरमुकाममा बस्छिन्।

पादरीले बाइबल पढ्नै लाग्दा उनले शिर घुमाउँदै, ‘म त्यसै क्रिस्चियन कहाँ भएकी हुँ र सर ? मैले त तिनलाई देखाउनु छ, अन्य धर्मले पनि हामी दलितलाई कस्तो मान, सम्मान र इज्जत गर्र्दा रहेछन्। उहाँ (मलाई देखाउँदै) तामाङ दाइ हुन्, अहिले पास्टर हुनुहुन्छ यो चर्चको। अन्य ठूला जातिका पास्टरहरू पनि आउनुहुन्छ काठमाडौंबाट, खै उहाँहरूबाट हामीलाई कहिल्यै पनि विभेद भएको छैन त ? हाम्रो चर्चमा सबै जात/जाति छौं। खै यहाँ त त्यस्तो जातपातको कुरा नै उठ्दैन। त्यो धर्म नै त्यस्तो हो कि सर ? ’

फुरुक्क हुँदै थपिन् उनले, ‘हिजोआज त म हाम्रा जातिका मान्छे देख्नेबित्तिकै क्रिस्चियन हुनु भन्छु। त्यस्तो धर्ममा बसेर नि हुन्छ त सर ?’

पार्वतीको यो प्रश्नले मलाई अरिंगालले टोकेजस्तै रन्थनायो। सोच्न बाध्य बनायो, आखिर दलित किन धर्म परिवर्तन गर्छन् त ? के छ त हिन्दु धर्ममा खास त्यस्तो जसले गर्दा हिन्दु दलित समुदाय धर्म परिवर्तन गर्न बाध्य छन् ? के पाए त दलितले धर्म परिवर्तन गरेपश्चात् ?

वर्णाश्रम : धर्म परिवर्तनको कारण

राजनीतिज्ञ तथा अध्येता आहुतीले ‘नेपालको सन्दर्भमा समाजशास्त्रीय चिन्तन’ किताबमा ‘हिन्दु धर्म’ वा ‘हिन्दुत्व’ को मुख्य विशेषता भन्नु नै वर्णाश्रम व्यवस्था हो भन्छन् (पृष्ठ, ४७५)। त्यसो त यो हिन्दु धर्मको ग्रन्थ ऋग्वेदको दशौं मण्डल, र पछि वेदको व्याख्या गरिएको ब्राह्मणग्रन्थ, उपनिषद्, स्मृति र पुराण आदिले पनि यसै भन्छ। आहुतीका अनुसार दक्षिण एसियाका करिब २० करोड दलित हिन्दु वर्णाश्रम व्यवस्थाका कारण शारीरिक र मानसिक रूपमा दासको जिन्दगी बिताउन बाध्य छन् (नेपालमा वर्णव्यवस्था र वर्ग—संघर्ष, २०७१, ६३)।

हिन्दु धर्ममा आधारित वर्णाश्रम व्यवस्थाले तय गरेको जात व्यवस्थामा मुख्य चार वर्ण छन् : ब्राह्मण, क्षेत्री, वैश्य र शूद्र। यो व्यवस्थाको माथिल्लो स्थानमा ब्राह्मण र तल्लो स्थानमा शूद्र रहन्छन्। ब्राह्मणलाई शुद्ध मानिन्छ र उसलाई धर्मले नै पर्याप्त अधिकार प्रदान गरेको हुन्छ। तर शूद्रलाई अशुद्ध मान्नुका साथै उसलाई सबै प्रकारको अधिकारबाट वञ्चित गरिन्छ र प्रचुर मात्रामा जिम्मेवारी दिइन्छ। हिन्दु धर्ममा शूद्रको धर्म भन्नु नै ब्राह्मण, क्षत्री र वैश्यलाई सेवा गर्नु हो। हिन्दु दर्शनले यस्तै भन्छ। हिन्दु धर्ममा गरिएको यस्तो बाध्यात्मक व्यवस्थाले नै शूद्रहरू शारीरिक रूपमा दास भएका हुन्।

हिन्दु (ब्राह्मण) धर्मको एक अवधारणा छ— मानवको जीवन जन्म, मृत्यु र पुनर्जन्मको चक्रमा घुमिरहन्छ, जसलाई ‘कर्म’ वा ‘संसार’ भनिन्छ। यो अवधारणाले जाति प्रथा वा व्यवस्थालाई समर्थन गर्दछ। जस्तै– एक मानिस दलित समुदायमा जन्मिनु उसले पूर्वजन्ममा गरेको आफ्नै कर्मको फल (पाप) हो भन्ने विश्वास दिलाइन्छ। हिन्दु धर्मले शूद्रलाई यही आध्यात्मिक दर्शन दिएर मानसिक रूपमा पनि दास बनाएको छ। यसरी हिन्दु धर्मले दलितलाई शारीरिक र मानसिक रूपमा दास बनाएको हुँदा उनीहरू त्यसको घेराबाट बाहिर निस्कन धर्म परिवर्तन गर्न बाध्य छन्।

दलितको धर्म परिवर्तनको प्रमुख कारणमध्ये अर्काे हो, हिन्दु धर्मले स्थापना गरेको अमानवीय समाज। अम्बेक्डरका अनुसार सबै धर्मको दर्शनलाई जाँच्ने आधार भनेको यिनले निर्माण गरेको समाज हो। हिन्दु समाजलाई हेर्दा एक चिडियाखानमा विभिन्न जनावरलाई आआफ्नो खण्डमा राखेको जस्तो देखिन्छ। चिडियाखानामा एक प्रकारको जनावरलाई अर्को प्रकारको जनावरको खण्डमा राख्न नमिलेजस्तै एक दलितले ब्राह्मण बस्तीमा घर बनाएर बस्न मिल्दैन, जातको कारणले।

समाजशास्त्रीका अनुसार समाज एक निश्चित क्षेत्रमा बस्ने मानिसहरूको समूह हो, जहाँ समूह बीचमा अन्तरक्रिया हुन्छ, सामाजिक सम्बन्ध र सद्भाव हुन्छ। मानिस एक हिसाबले स्वतन्त्र हुन्छन्। हिन्दु धर्म त्यस्तो धर्म हो, जसले खास मानिसहरूबीचको अन्तरक्रिया र सम्बन्ध तोकिदिएको छ। एक जनावरले अर्को जनावरको दुःख पीडा बुझ्छ तर हिन्दु वर्णाश्रम व्यवस्थाको तथाकथित ‘उच्च जात’ ले अर्को आफूजस्तै मानवको पीडा बुझ्दैन। चिडियाखानाका जनावरमा जस्तै मानिसहरूबीच सामाजिक अन्तरक्रिया, सम्बन्ध र सद्भाव हुन पाउँदैन। दलित समुदाय साँचो मानव समाजको खोजीमा छ। त्यसका लागि धर्म परिवर्तन एक माध्यम बनेको छ।

दलितका लागि हिन्दु धर्म एक आपराधिक धर्म हो। किनभने उसमाथि हरेक दिन आपराधिक क्रियाकलाप हुँदै आएको छ। एक मानवमाथि आपराधिक क्रियाकलाप गर्नका लागि अर्काे मानवलाई यस धर्मले छुट दिन्छ। धर्मले नै आपराधिक क्रियाकलापलाई संरक्षण दिन्छ। जीउधन जोगाउनकै लागि यी धर्म परिवर्तन गर्न बाध्य छन्। दलितलाई समाजबाट बहिस्कार गर्नुमा धर्मले नै सवर्ण जातिलाई प्रोत्साहन गर्दछ। जब व्यक्तिलाई समाजबाट बहिस्कार गरिन्छ वा एक्लो बनाइन्छ, उसले आफूले आफैंलाई तल्लो ओहोदाको व्यक्ति सोच्छ। उसले आफ्नो इज्जत, मानसम्मान, प्रेरणा सबै गुमाउँछ। यो अवस्थामा ऊ मरिमरी बाँचेको हुन्छ। यो हिन्दु वर्णाश्रम व्यवस्थाको परिणाम हो। हिन्दु धर्मको वर्णाश्रम व्यवस्थाले नै सामाजिक असमानता, विभेद, बहिष्करण, घृणा र निराशा उत्पन्न गरेको छ। सारमा भन्दा हिन्दु धर्मको विभेदकारी दर्शनले मानव समाज निर्माणमा रोक लगाएको छ। दलित यस्तो असामाजिक, अमानवीय र अपराधी धर्ममा बसिरहनुको तुक नहुन सक्छ।

धेरै दलितले आफूखुसी धर्म परिवर्तन गरेका छैनन्। हिन्दु जातीय व्यवस्थाको दबाबले नै उनीहरूले धर्म परिवर्तन गरेका हुन्। दलित समुदायलाई तथाकथित ‘उच्च जात’ ले विभेद तथा छुवाछूत गरेकाले र समाजमा मानव भएर बाँच्नसमेत नदिएकाले उनीहरू धर्म परिवर्तन गर्न बाध्य भएका हुन्। पार्वतीको प्रसंगले यही पुष्टि गर्छ।

धर्म परिवर्तन एक प्रतिशोध

भारतका प्रसिद्ध चिन्तक भीमराव अम्बेडकरले दलित समुदायसँग गरिएको एक छलफलमा भनेका थिए, ‘मान्छे बन्न, संगठित बन्न, सुरक्षित हुन, स्वतन्त्रता पाउन र पारिवारिक जीवन सुखी राख्न धर्म परिवर्तन गर।’ ‘धर्म परिवर्तन नै दलित स्वतन्त्रता हो’ भन्थे उनी। धेरैजसोले के तर्क गर्छन् भने दलित समुदायको धर्म परिवर्तनको कारण भनेको आर्थिक प्रलोभन हो। कमैले मात्र अम्बेडकरले भनेजस्तो आध्यात्मिक वा सामाजिक कारण स्वीकार गर्छन्। नेपाली समाजको सन्दर्भमा यी दुवै नै धर्म परिवर्तनका कारक हुन्। तर सामाजिक कारण बढी हो। आर्थिक प्रलोभन कम हो।

सामाजिक कारणअन्तर्गतको धर्म परिवर्तन समानता, न्याय, स्वतन्त्रता र भ्रातृत्वका लागि हो। जातका आधारमा गरिने विभेद तथा छुवाछूतको कारणले दलित समुदाय धर्म परिवर्तन गर्न बाध्य छन्। जस्तै– पार्वती परियारको धर्म परिवर्तनले स्पष्ट के देखाएको छ भने उनी जातीय र लैंगिक समानता चाहन्छिन्। लाखौं दलित अझै पनि हिन्दु मन्दिरमा छिर्न पाउँदैनन्। पूजापाठ गर्न पाउँदैनन्। पार्वतीजस्ता लाखौं दलित र महिला हिन्दु धर्मभित्र समानता, न्याय, स्वतन्त्रता चाहन्छन्। यो तथ्य तथाकथित हिन्दु ‘उच्च जात’ ले बुझेका छन् तर स्वीकार गर्नै चाहँदैनन्।

दलितले आस्था राख्दै आएको आफ्नै हिन्दु धर्मले आफूलाई नै कसरी विभेद गर्दै आएको छ भन्ने अहिले आएर बुझ्न थालेका छन्। तर सवर्ण जातिको भित्री मनासाय भने दलितलाई हिन्दु धर्ममै राख्ने, दलितहरूबीच फुट उत्पन्न गर्ने, शोषण/दमन गर्ने र राज्यसत्तामा आफ्नो हैकम जमाउने खालको देखिन्छ। त्यसो होइन भने अहिलेसम्म हिन्दु धर्ममा रहेको कुरीति हटाउन केकति प्रयास भयो त ‘उच्च जात’ बाट ? हिन्दु धर्मकै सन्तान दलितलाई जातीय विभेद तथा छुवाछूत गर्न छोडे त ? राज्य सत्तामा दलितको सहभागिताका लागि केकति काम गरियो त ? जाति हिन्दुले गरेको दमन, विभेद तथा छुवाछूत र बहिष्करण गरिएकाले सयौं संख्यामा दलित धर्म परिर्वतन गरिरहेका छन्। त्यसैले दलित जातिले गर्ने धर्म परिवर्तन विभेदको प्रतिरोध हो।

अहिले हिन्दु धर्मलाई क्रिश्चियानिटीले निकै चुनौती दिएको छ। यसैकारण क्रिश्चियन मिसनरीहरूले दलितलाई आर्थिक प्रलोभनमा पारेर धर्म परिवर्तन गराइएको हो भन्छन् अति हिन्दुवादीहरू। अवश्य नै क्रिस्चियन मिसनरीहरूले सामाजिक सेवामा पैसा खर्च गर्ने गरेका छन्। नेपालजस्तो अविकसित मुलुकमा त्यसको प्रभाव पर्नु अस्वाभाविक पनि होइन। त्यसमाथि युगौंदेखि स्रोतसाधनबाट वञ्चितीकरण गराइएको दलित समुदायलाई थोरै पनि आर्थिक सहयोगले प्रभाव पार्नु अनौठो होइन। नेपालको दलित समुदायको कुल जनसंख्यामध्ये ४२ प्रतिशत दलित अझै पनि गरिबीको रेखामुनि छन् जबकि गरिबीको राष्ट्रिय औसत दर २५.२ प्रतिशत छ। उनीहरू सामाजिक र आर्थिक कारणले शिक्षा, खाना, स्वास्थ्य, रोजगार आदिबाट वञ्चित रहेको हुँदा धर्मलाई भौतिक लाभको दृष्टिकोणबाट हेर्नु कुनै अपराध होइन।

हिन्दु धर्मावलम्बीलाई क्रिश्चियन मिसनरीहरूले आर्थिक प्रलोभन देखाई धर्म परिवर्तन गराइएको प्रति खेद छ र आफ्ना अनुयायीहरूलाई यही धर्ममा राख्ने नै हो भने हिन्दुहरूले मन्दिरबाट संकलित करोडौंको सम्पत्ति गरिब जात/जातिलाई बाँड्न सक्नुपर्छ।

साभार- अन्नपुर्णपोष्ट

प्रतिकृया दिनुहोस्