RaraNews

जागरण मिडिया प्रकाशित : २०७६/१/४ गते
२८७ पटक

बझाङ । केही समयअघि मात्रै साइपाल गाउँपालिकाले महिनावारी भएको समयमा घरभित्रै बस्नुपर्छ भन्ने अभियान सञ्चालन ग¥यो । विभिन्न सडक नाटक जनचेतनामूलक र अन्तक्र्रिया कार्यक्रम सञ्चालन ग¥यो ।

त्यसपछि स्थानीय तह र प्रहरी मिलेर गाउँ गाउँमा भएका छाउगोठहरू भत्काउने अभियन सुरु भयो । वडा नम्बर १ देखि ५ सम्म अभियानअन्तर्गत गाउँमा भएका छाउ गोठहरू भत्काउने काम भयो ।

लाखौं रुपैयाँ लगानी गरेर छाउगोठ भत्काउनुका साथै विभिन्न जनचेतना मुलुक कार्यक्रमहरू सञ्चालन गरे पनि उक्त गाउँपालिकाको लगानी बालुवामा पानी सरह भएको छ ।

अहिले फेरि यहाँका महिला महिनावारी (छाउ) भएको समयमा ओडार र खेतबारीको कान्लामा बस्ने गरेका छन् । साइपाल गाउँपालिका वडा नम्बर ५ की धौलीदेवी बोहरा चैत महिनामा महिनावारी भइन् । साथमा एक वर्षका छोरा थिए ।

गाउँमा भएको छाउ गोठ भत्काएका कारण बस्न नमिल्ने भएपछि उनी गाउँनजिकै रहेको धौलीओखड ओडारामा एक वर्षको छोरासहित पाँच दिनसम्म बसिन् । उनीजस्तै यहाँका धेरै जसो महिला अहिले ओडार र खेतबारीका कान्लामा बस्ने गरेको महिला स्वास्थ्य स्वयंसेविका गंगादेवी बोहराको भनाइ छ । यस्तै, साइपाल गाउँपालिका–४ मा समेत उस्तै अवस्था छ ।

वडा नम्बर ४ को जगेरामा यहाँका जनप्रतिनिधि, प्रहरी र बुद्धिजीवीहरूले मिलेर गाउँमा भएको एउटा छाउगोठ भत्काइदिए । घरभित्र महिनावारी भएको समयमा बस्न नमिल्ने भन्दै यहाँका महिलाले छाउगोठ भत्काएको तीन÷चार महिनाभन्दा बढी जगेरा खोलाको ओडारमा बस्ने गरेको स्थानीय बासिन्दा कटु रोकायाले बताए । झन्डै २६ परिवार बसोबास गर्ने यस गाउँका सबै महिला देवी देउताको डरका कारण महिनावारी भएको समयमा घरभित्र बस्न नमान्ने गरेको उनको भनाइ छ ।

ओडारमा महिलालाई थप समस्या हुने गरेपछि यहाँका महिलाहरूले आफ्नै लगानीमा छाउगोठसमेत निर्माण गरेका छन् । गाउँभरिका महिला नै एकजुट भएर टिनका पाताहरू खरिद गरी छाउगोठ निर्माण गरेका हुन् । गाउँकै डकर्मीलाई छाउगोठ बनाउन जिम्मा दिएका महिलाहरू आफैं श्रमदानमा जुटेका छन् । ‘कसैले ढुंगा बोके, कसैले माटो बोकेर छाउगोठ निर्माण गरे,’ स्थानीय पुतली रोकायाले भनिन् । महिलाहरू दुःखी बिरामी पर्दा सजिलो होस् भन्ने उद्देश्यले गाउँकै महिलाहरू मिलेर बनाएको कोषबाट झन्डै २० र २५ हजार रुपैयाँ खर्च गरेर नयाँ छाउ (छाउ गोठ ) निर्माण गरेको लक्षिमा रोकायाले बताइन् ।

अहिले यस गाउँका महिलाहरू आफू महिनावारी भएको समयमा उक्त छाउ गोठमा बस्ने गरेको बताउँछन् । उक्त गाउँको सिको गर्दै धुलीका महिलाहरूसमेत पैसा संकलन गरेर सबैको साझा छाउ गोठ निर्माण गर्न थालेका छन् । यता वडा नम्बर ४ कै शैनगाउँका महिलाहरू भने अहिले पनि खुला आकासमुनी नै बस्ने गरेका छन् । गाउँ नजिकै रहेको सार्वजनिक छाउपडी स्थानीय जनप्रतिनिहरू आएर भत्काइदिएपछि महिनावारी (छाउ भएका) महिलाहरू आश्रय लिएर बाहिरै रात काट्ने गरेको यहाँका महिलाहरूले बताए ।

‘हामी लागो देउतालाई पूजाआजा गर्ने मान्छे । छुवाछूत गरेपछि देउताले हामीलाई बसी खान दिन्न । घरभित्र बसौं भने पनि स–साना टहराजस्ता छन् । खाना पकाउने, सुत्ने सबै एकै ठाउँमा छन् । अनि हामीले कसरी घरभित्र बस्नु ?’ स्थानीय महिला अमृता विकले भनिन् ।

यसको अन्त्यका लागि अहिले पनि विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन जारी राखिएको साइपाल गाउँपालिकाका अध्यक्ष राजेन्द्रबहादुर धामीले बताए । यो प्रथा अन्त्य गर्न निकै चुनौती छ । यो समस्या साइपाल गाउँपालिकाको मात्र नभएर नेपाल र विशषगरी बझाङ जिल्लाभरिको नै रहेको दाबी गर्दै अध्यक्षले पहिला आफूबाट नै अभियान सञ्चालन गर्नका लागि जनप्रतिनिधिलाई आग्रह गरेको बताए ।

डिबी विष्टले लेख्नु भएको यो समाचार हामीले राजधानी दैनिकबाट साभार गरेका हौं ।

 

प्रतिकृया दिनुहोस्