RaraNews

जागरण मिडिया प्रकाशित : २०७४/९/१५ गते
१०० पटक

नेपालगञ्ज ।

बाँके बैजनाथ-८ हसनापुरका ७१ वर्षीय परे बिक र उनका छोरा टेकबहादुरको दैनिकी आँगनकै आरनमा बित्ने गरेको छ ।

दुई बाबुछोरालाई आरनमा दिनहुँ आउने काम सकेर ग्राहककोमा पुर्‍याउन भ्याइनभ्याइ हुन्छ । उनीहरु हाँसीखुशी सेवा दिन तत्पर देखिन्छन् । त्यही कारण हो, बाबुछोराले गाउँमै राम्रो ज्याला र सम्मान पाउनुको पनि ।

कुनैबेला कथित माथिल्लो जाति (बिष्ट) को घरमा पुगेर दलित समुदायका विश्वकर्माले आरनको काम र सुचीकारले कपडा सिलाउनु पथ्र्यो । त्यसवापत सिजनअनुसारको अनाज ज्यालाका रुपमा पाउँथे । तर, अहिले अवस्था बदलिएको छ, खलो प्रथा हट्दै जाँदा कामअनुसारको ज्याला पाउन थालेका छन्, उनीहरुले ।

परेेले जवान हुँदाको बेला सम्झिए, ‘वर्षभरि काम गर्‍यो, बिष्टको घरबाट सिजनअनुसारको अनाज आउँथ्यो । त्यो पनि, अत्यन्तै कमसल खालको हुन्थ्यो । जे दिन्थे, त्यही उठाएर केही नभनी हिँड्नु पथ्र्यो ।’

आरनलाई चाहिने कोइला र मिहिनेत वास्ता नगरी दिइने अनाजमै वर्षदिन कटाउनु पथ्र्यो । खलो उठाउने प्रथाकै कारण हो, उनीहरुमाथि विभेद र श्रम शोषण भएको पनि ।

उनका छोरा टेकबहादुर पनि पुख्र्यौली सीप बाबुसँगै सिकेर आरनमै व्यस्त छन् । उनी भन्छन्, ‘शुरुमा खलो उठाउने गरेरै काम गरियो, अहिले भने त्यस्तो छैन, काम र ज्याला सँगसँगै पाइन्छ ।’

आफ्ना सहपाठीहरु कमाउन भारत र खाडी मुलुकमा पसिना बगाइरहँदा टेकबहादुर आँगनमै भविष्य अजमाउँदै छन् ।

टेकबहादुरले भने, ‘लक्का जवान हुँदा बुवासँगै काम सिकेर बसें । न भारत गएँ, न त खाडीतिरै । अब त झन् मलाई यहीं भारत र खाडी भएको छ । किन जानु र व्यर्थैमा !’

उनले १५ वर्षको उमेरदेखि नै आरनको राप र तापले फलाम पगालेजस्तै आफ्नो सीप तिखारिरहेका छन् । उनका हातको कमाल, त्यही आरनमा बनाएका औजारबाट खर्च कटाएर दैनिक आठ सय रुपैयाँसम्म आर्जन गर्छन् ।

‘वर्षभरि काम गर्दा खलो भनेर २०/२२ क्विन्टल पपटोसहितको धान, ४/५ क्विन्टल मकै, एक क्विन्टल तोरी, एक क्विन्टल मसुरो, एक क्विन्टल चना असाध्यै हेयको भावनाले ज्याला पाइन्थ्यो,’ उनले भने, ‘तर, अहिले काम सकेर दिँदा हातैमा ज्याला पनि आउँछ ।’

बैजनाथ-८ मा उनीसहित अरु दुई आरन सञ्चालनमा छन् । केहीले अझै पनि खलो उठाउँछन् ।

परे विकले दुई छोरा र दुई छोरीसहित सात जनाको परिवार आरनकै कमाइबाट पालिरहेका छन् । ०६० सालदेखि निरन्तर ज्यालामा काम गर्दै आएका छन् ।

हँसियामा धार लगाएको न्यूनतम ३० रुपैयाँ ज्याला लिन्छन् । फुर्सद निकालेर बजार पुग्छन्, फलाम ल्याएर हँसिया, खुर्पी, चुलेंसीलगायत औजार बनाउँछन् । उनी भन्छन, ‘हातमा सीप भए विदेशतिर भौंतारिनु पर्दैन । विदेशमा कमाउनेजति परिवारसँगै बसेर कमाउन सकिन्छ ।’

साभार: Onlinekhabar.com

प्रतिकृया दिनुहोस्