RaraNews

शुष्मा बराली प्रकाशित : २०७६/२/२४ गते
६८ पटक

२०६३ जेठ २१ गते देशलाई ‘छुवाछुतमुक्त राष्ट्र’ घोषणा गरिएको थियो। यसैकारण हरेक वर्ष जेठ २१ लाई जातीय छुवाछुत उन्मूलन दिवसका रूपमा हर्षाेल्लासपूर्वक मनाउने गरिन्छ। यस वर्ष पनि यो दिवस देशभर विभिन्न कार्यक्रम गरी भव्यताका साथ मनाइयो। यसै क्रममा काठमाडौँमा आयोजित कार्यक्रममा पंक्तिकारलाई जाने मौका जु-यो। जहाँ विभिन्न जिल्लाबाट जनप्रतिनिधि, नागरिक समाजका प्रतिनिधि, लेखक, पत्रकार, सामाजिक अभियन्ताहरू उपस्थित थिए। आयोजक, प्रमुख अतिथिका रूपमा निमन्त्रणा गरिएका नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रतीक्षामा थियो।

कार्यक्रममा जातीय विभेदमुक्त राष्ट्र घोषणा भएको स्मरणमा शुभकामना आदानप्रदान गर्दै गर्दा मेरा आँखा एउटा अनुहारमा गएर टक्क अडिए। खैरो क्याप, खुम्चिएको कोठे कमिज, खैरै रङको प्यान्ट, पटपट फुटेका खुट्टामा तुने चप्पल लगाएर एक्लै बसेका थिए, उनी। उनी थिए– हरिभक्त ढकाल (मिजार) जो न्याय पाउने आसमा तीन वर्षदेखि सम्बन्धित विभिन्न निकायका ढोका ढकढक्याइरहेका छन्। नेपाललाई छुवाछुतमुक्त राष्ट्र घोषणा गरिएको दिनका अवसरमा आयोजित कार्यक्रममा प्रचण्ड आउने कुरा थाहा पाएपछि जातकै कारण आफूमाथि भएको जघन्य अन्यायको पीडा पोख्न काभ्रेदेखि बिहानै उठेर हिँडेका थिए, हरिभक्त। उनका आँखामा न्याय पाउने आसाको त्यान्द्रो अझै देख्न सकिन्थ्यो।

‘कुरा गर्नु छ, सञ्चै हुनुहुन्छ ?’ प्रश्न सकिँदा नसकिँदै लामो सास तान्दै बोले हरिभक्त– ‘छोराको लास टिचिङ अस्पताल (त्रिवि शिक्षण अस्पताल, महराजगन्ज) मा सडेको ३ वर्ष हुन लाग्यो, मेरो छोराको आत्माले मलाई कति सराप्यो होला ?’ यति भन्दा उनको घाँटी सुकेको थियो भने आँखा आँसुुले टिलपिल देखिन्थे।  आँसुु लुकाउने उनका प्रयत्न असफल भइरहेका थिए। एउटा बाबु, छोराका हत्याराहरूलाई कानुनी कारबाही गरियोस् भनेर रुँदै हिँड्नुपर्ने यो कस्तो देश, कस्तो न्यायालय ?

‘छोराका लागि न्याय माग्दै म कहाँ–कहाँ धाइनँ, कसलाई मात्र गुहारिनँ ! तर पनि कसैबाट केही हुन सकेन,’ उनले दुःखी हुँदै सुनाए। कार्यक्रममा मिलाएर राखिएका कुर्सी अझै खाली थिए तर हरिभक्तका आँखा  आँसुुले टम्म भरिइसकेका थिए। ‘बूढेसकालमा सहारा पाइएला भनेको छोराको लासलाई समेत काँध दिन नपाउँदा म कसरी बाँचेको हुँला,’ उनले आफ्ना पीडा पोख्दौ गए, ‘यत्रो समयसम्म त बेबारिसे लासको समेत टुंगो लाग्छ तर मेरो छोराको अझै टुंगो लागेन।’

२०७३ असार २९ गते हराएका अजित मिजार भोलिपल्ट धादिङको गजुरीमा झुन्डिएको अवस्थामा भेटिएका थिए। उक्त घटना हरिभक्तले सामाजिक सञ्जालमार्फत थाहा पाएका थिए। तर पीडित परिवार त्यहाँ पुग्दा प्रहरीले लास गाडिसकेको थियो। खाल्डोबाट निकालिएको त्यो लासको अझै अन्तिम दाहसंस्कार हुने सकेको छैन। अस्पतालमै सडेर बसेको छ, बेवारिसे बनेर। ‘छोराको लासमा दागबत्ति पनि दिन नपाउनु म कति अभागी बाबु,’ भिजेका आँखा पुछ्दै उनले भने, ‘बाहुनकी छोरीसँग प्रेम गरेकै कारण मेरो छोरोले अकालमै ज्यान गुमाउनुप¥यो, अन्य जातका केटा भए त किन मार्थे र !’
जातीय छुवाछुतमुक्त राष्ट्र घोषणा भएको १३औँ उत्सव मनाइरहँदा जातकै कारण मारिएका आफ्नो छोराको न्यायका लागि हारगुहार गर्दै हिँड्नुपर्ने कस्तो विडम्बना ! कथित उपल्लो जातकी ‘पराजुली’ थरकी किशोरीसँग प्रेम गरेकै कारण अजितलाई मारिएको थियो तर अफवाह फैलाइयो आत्महत्याको। यो देशको कानुन र न्याय दिने निकाय कसका लागि हो ?

काभ्रेमा बस्छन्, अजितका परिवार। न्यायका लागि सम्बन्धित निकायका ढोका ढकढक्याउन काठमाडौँसम्म कैयौँपटक आए, हरिभक्त। बालुवाटारदेखि गृह मन्त्रालयसम्म धाए उनी। तर हात लाग्यो शून्य ! निराश हुँदै उनी भन्छन्, ‘अजितको दाहसंस्कार छिट्टै गर्न पाउँछुजस्तो छैन।’ छोरालाई कलिलै उमेरमा मृत्युको शै्यया पु-याउनेलाई कानुनी कारबाही नभएसम्म छोराको अन्तिम संस्कार नगर्ने अडान लिएका छन्, अजितका बाबुआमाले। घरमा अजितकी आमाले न्यायको आसमा आँसुु बगाउन थालेको ३ वर्ष बितिसकेको छ। ‘दिनरात छोरालाई नै सम्झेर रुन्छे, कति सम्झाऊँ, कसरी सम्झाऊँ,’ हरिभक्तले भने। न्यायको ढोका जति ढकढकाए पनि गर्छौँ, भन्छौँ, न्याय हुन्छ भन्दा भन्दै ३ वर्ष रोएरै बितेको उनी बताउँछन्।

यति कुुरा बिसाउँदै गर्दा उनको नजर भने बारम्बार कार्यक्रम हुने हलको ढोकातिर थियो। यतिकैमा हलमा गाइँगुइँ सुनियो– कार्यक्रमका प्रमुख अथिति प्रचण्ड आएछन्। आयोजक साथीहरू खादा र फूल बोकेर उनलाई स्वागत गर्न ढोकातिर हुर्रिए। प्रचण्ड, कार्यक्रमको शोभा बढाउन त आए तर विगतमा जस्तै दलित समुदायले गरेका योगदान र साहसका केही थान प्रशंसा पस्केर बिदा भए। तर हरिभक्तले प्रचण्डसँग न आफ्ना पीडा पोख्ने मौका पाए न त न्यायको भिख माग्न नै !  सत्तामा भए पनि, चाहना हुँदाँहुदै पनि काम गर्न नसकिएको मन्तव्य राखेर ओझेल भएका प्रचण्डले किन होला, जातकै कारण छोरा गुमाएका बाबुको पीडा सुन्नसमेत नभ्याएका ! अजितका आमाबाबुले न्यायका लागि अझै कति वर्ष आँसु बगाउनुपर्ने होला, खै !

शुष्मा बरालीले लेख्नुभएको यो लेख हामीले नागरिक दैनिकबाट साभार गरेका हौं ।

प्रतिकृया दिनुहोस्