RaraNews

प्रकाश विक प्रकाशित : २०७६/३/९ गते
१८० पटक

पश्चिमा देशहरूको मुख्य समस्या रङ्गका आधारमा गरिने विभेद भएजस्तै दक्षिण एसियाली समाजको प्रमुख रोग हो— जातीय छुवाछूत । पश्चिमा देशमा मनोसमाजिक समस्याका विभिन्न कारकमध्ये रङ्ग विभेद रहेको धेरै अध्ययनले पुष्टि गरेका छन् । छाला कालो भएकै कारण गोरा भनिनेबाट विभेद र अपमान सहनुपर्दा उनीहरूमा मनोसमाजिक समस्या उत्पन्न हुने गरेको छ ।

नेपालमा चाहिँ दलित समुदाय सदियौंदेखि यस्तै अवस्थामा पिल्सिरहेको छ । हिन्दु वर्णव्यवस्थाका आडमा कथित उच्च जातबाट भएका भेदभावका कारण उब्जेको यो समस्याबारे गम्भीर अध्ययन भने हुनसकेको छैन । नेपाल स्वास्थ्य अनुसन्धान परिषदले समग्र मानसिक स्वास्थ्यबारे नभए पनि डिप्रेसनलाई लिएर हालै ‘मनसंँग सम्बन्धित समस्याहरूको राष्ट्रिय सर्वेक्षण’ गरेको छ । यसैका आधारमा परिषदले विभिन्न जातजातिलाई आधार मानी मानसिक स्वास्थ्य अवस्था विश्लेषण गर्‍यो भने कुन जातजाति कुन समुदायबाट मनोसामाजिक समस्याको जोखिममा छन् भन्ने तथ्य उजागर हुनसक्छ ।

बहुसांस्कृतिक मनोसामाजिक संस्था (टीपीओ नेपाल) को अनुसन्धान विभागसम्बद्ध रमेशप्रसाद अधिकारी र अन्यले करिब दुई वर्षअघि गरेको अध्ययनले दलित समुदायमा रहेको मनोसामाजिक समस्याको भयावहतातिर संकेत गरेको छ । उक्त अध्ययन ७२ जिल्लाका १०–२४ वर्ष उमेर समूहका ११ हजार ४ सय ७७ किशोर–किशोरीमाथि गरिएको थियो । तीमध्ये १,२३४ दलित, ५,८१८ जनजाति र ४,४२५ बाहुन–क्षत्री थिए ।उनीहरूमध्ये उदासीन र चिन्तित हुने दलित किशोर–किशोरीको प्रतिशत १६.३ थियो । जनजाति र बाहुन–क्षत्रीमा त्यो क्रमशः १२.२ र १४.९ प्रतिशत थियो । स्मरणीय छ, उदासी र चिन्ता मानसिक स्वास्थ्य अवस्था मापन गर्ने दरिला आधार हुन् । तथ्यले अन्य जातजातिका तुलनामा दलित किशोर–किशोरीको मानसिक स्वास्थ्यमा धेरै असर परेको प्रस्ट्याउँछ । यसलाई आधार मान्दा नेपालमा करिब ८ लाख दलित किशोर–किशोरीमा यस्तो समस्यामा रहेको अनुमान लगाउन सकिन्छ ।पश्चिमा देशहरूले रङ्गमाथि धेरै खोज–अनुसन्धान गरेका छन् । उनीहरूले शिक्षा, स्वास्थ्य, रोजगार, राजनीति, अर्थतन्त्र, सामाजिक सम्बन्ध आदिमा रङ्गले खेलेको भूमिकाबारे गम्भीर अध्ययन गरेका छन् । दक्षिण एसियामा भने जात र यसले विभिन्न क्षेत्रमा पारेको प्रभावलाई उपेक्षा गरिएको छ ।‘गुगल स्कलर’ मा गरिएको ‘सिस्टम्याटिक रिभ्यु’ बाट नेपालमा मानसिक स्वास्थ्य समस्यामा जातलाई समावेश गरीगरिएको खोज–अनुसन्धान निकै कम देखिन्छ, मुस्किलले एक दर्जन । ती पनि विदेशी मनोचिकित्सक/अनुसन्धानकर्ताले गरेका थिए । हाम्रो देशमा यो क्षेत्रमा अनुसन्धान गर्नमा प्रायः नेपाली मनोचिकित्सक नै अगाडि रहे पनि जातको उपेक्षा भएको पाइन्छ ।

बबुरो बुझाइ

हामीकहाँ मनोसामाजिक समस्याबारे बुझाइ केही हदसम्म गलत छ । द्वन्द्व र प्राकृतिक प्रकोपलाई मात्र यसको कारकका रूपमा लिने प्रवृत्ति यहाँ बलियो छ । त्यसमा पनि माओवादी सशस्त्र द्वन्द्व र २०७२ को भूकम्पलाई मात्रै । त्यसो त नेपालमा मनोसामाजिक समस्याबारे बहसले सशस्त्र द्वन्द्वपछि मात्रै गति लिएको हो । त्यसताका मानवअधिकार उल्लंघनका गम्भीर घटना भएकाले हाम्रा मनोचिकित्सकले द्वन्द्वलाई यो समस्याको मुख्य जड मान्दै अनुसन्धान गरेको देखिन्छ ।

पछिल्लो भूकम्पका बेला राहतसँगै उल्लेखनीय मनोसामाजिक सेवासुविधा प्रदान गरियो । यसको मुख्य कारण हो— प्राकृतिक प्रकोपले जनधनको क्षति पुर्‍याएको हुँदा पीडितहरूमा डिप्रेसन लगायत उत्पन्न हुनसक्छ भन्ने बुझाइ । जनयुद्ध र भूकम्पले यस्तो समस्या निम्त्याएकामा सत्यता नभएको होइन, तर कारकतत्त्व यही मात्र होइन । जातप्रथा र त्यसले निम्त्याइरहेका हिंसा, अपमान, छुवाछूत र विभेद पनि यसमा उत्तिकै जिम्मेवार छन् ।मनोसामाजिक समस्याका कारक बहुआयामिक हुन्छन् नै । तर वर्णव्यवस्थाका कारण दलित समुदायले भोगिरहेको विभेद कसरी द्वन्द्व र प्राकृतिक प्रकोपभन्दा कम मनोसामाजिक समस्या हो ? द्वन्द्व र प्राकृतिक प्रकोपबाट उत्पन्न प्रभाव केही दशकमा कम हुनसक्छ, तर छुवाछूतको असर अनन्तकालसम्म रहिरहन्छ ।वर्णव्यवस्थाको असर दलित समुदायले पाइला–पाइलामा भोगिरहनुपरेको छ । एउटा घटनाको दुष्प्रभाव सकिन नपाउँदै अर्कोले आक्रमण गर्छ । यसबाट दलित समुदायले नचाहँदा–नचाहँदै चिन्ता र उदासीको सिकार हुनुपरेको छ । यस्तो समस्या निम्त्याउने मुख्य कारक वर्णव्यवस्थाको असर पनि हुनसक्छ भन्ने कुरा हाम्रा मनोचिकित्सकले औपचारिक रूपमा लिपिबद्ध गर्न नसक्नु निकै दुःखद छ ।

जातलाई मनोसामाजिक समस्याको खोज–अनुसन्धानमा कतिसम्म बेवास्ता गरिएको छ भन्नेबारे हालैका दुई घटना उल्लेखनीय छन् । २०७५ कात्तिक १६ र चैत २७–२९ मा ‘बालबालिका तथा किशोर–किशोरीको मानसिक स्वास्थ्य’ र ‘संघीय सन्दर्भमा समता र विकासका लागि अनुसन्धान’ बारे काठमाडौंमा दुइटा बृहत् सम्मेलन भए । तिनमा नेपालसँगै विभिन्न देशका मनोचिकित्सक र अनुसन्धानकर्ताले कार्यपत्र प्रस्तुत गरेका थिए । दुइटैमा गरी प्रस्तुत गरिएका९४ कार्यपत्रमध्ये एउटा पनि जातका कारणले निम्त्याएको मानसिक स्वास्थ्य समस्याबारे थिएन । नेपालमा जातभातका कारण मानसिक स्वास्थ्यसमस्या भोग्ने समुदायमध्ये दलित नै अगाडि छ ।

तर यी सम्मेलनमा यो समुदाय ओझेलमा पर्‍यो । नेपालमा मानसिक स्वास्थ्य खोज–अनुसन्धानका लागि जति पनि अन्तर्राष्ट्रिय अनुदान आउँछन्, सबैजसोमा प्राकृतिक प्रकोपलाई नै केन्द्रमा राखिएको हुन्छ । अनुदानकर्तालाई वर्णव्यवस्थाका कारण निम्तिएको मनोसामाजिक समस्याबारे थाहा नभएरै यस्तोभएको हुनसक्छ ।अर्कातिर, मनोसामाजिक समस्याको स्रोत जातहो भन्ने वर्णव्यवस्थाबाट पिल्सिएको समुदायलाई नै थाहा छैन । यसबारे जानकार हुन्थे भने दलितहरूले आफ्ना छोराछोरीलाई यो विषयमा उच्चशिक्षा हासिल गर्न प्रोत्साहित गर्थे होलान् । काठमाडौंस्थित परामर्श मनोविज्ञान तथा सामाजिक अध्ययन कलेजमा गरिएको एउटा अध्ययन अनुसार, शैक्षिक वर्ष २०७४/७५ मा भर्ना भएका जम्मा ५१ विद्यार्थीमध्ये बाहुन/क्षत्री, जनजाति, नेवार, मधेसी र दलित समुदायका क्रमशः ३६, ६, ६, २ र १ जना छन् । यस विषयमा उच्चशिक्षा हासिल गर्ने दलित लगायत कम भएपछि खोज–अनुसन्धान पनि स्वाभाविक रूपले थोरै हुने नै भयो ।

विश्वमा मानसिक स्वास्थ्य समस्याको भार उच्च छ, न्यून आयस्तर र विविधतायुक्त देशमा झन् धेरै । असंख्य जातजाति रहेको नेपालमा र त्यसमा पनि जातकै कारणले समाजको पीँधमा पारिएका समुदाय यो समस्याको उच्च जोखिममा रहेको सजिलै अनुमान गर्न सकिन्छ । कुनै पनि असमानताले सामाजिक समस्या मात्र होइन, स्वास्थ्य समस्या पनि निम्त्याउने हुँदा असमानताका ती सूचकलाई ध्यान दिँदै खोज–अनुसन्धान हुन जरुरी छ ।

प्रकाश विकले लेख्नु भएको यो लेख हामीले कान्तिपुर दैनिकबाट साभार गरेका हौं ।

 

प्रतिकृया दिनुहोस्