RaraNews

नन्दराज जैसी प्रकाशित : २०७६/३/२३ गते
७५ पटक

सुर्खेत : कर्णालीमा अहिले पनि रजश्वला अथात् छाउ बार्ने कुप्रथा कायम छ। रजश्वला भएका महिला र किशोरीलाई घरदेखि टाढाको गोठमा राख्ने गरिन्छ। छाउगोठमा सुताएकै कारण धेरै महिलाले ज्यान नै गुमाएका छन्। धार्मिक अन्धविश्वासका कारण छाउपडी प्रथा निर्मुल गर्न हम्मेहम्मे छ। तर यहाँका जनजाति समुदायले भने छाउ बार्दैनन्।

एउटै टोल र गाउँमा रहेका अन्य समुदायले छाउ बार्ने गरे पनि जनजाति समुदायले भने महिनावारीको समयमा महिलालाई सहज रुपमा घरभित्रै राख्दै आएका छन्। पातारासी गाउँपालिका–३ जुम्लाकी टोमा लामा महिनावारी (छाउ) हुँदा घरभित्रै बस्छिन्। तर उनको घर नजिकै रहेका छिमेकी महिला भने छाउ हुँदा गोठमा बस्छन्।

‘म छाउ हुँदा घरमै बस्छु, हाम्रो संस्कारमा गोठमा बस्नुपर्छ भन्ने छैन,’ लामाले भनिन्, ‘छाउ हुँदा मेरो हातले बनाएको खानेकुरा पनि चल्छ, तर छिमेकीलाई चल्दैन।’ उनी जस्तै कर्णालीका जु्म्ला, मुगु, डोल्पा र हुम्लालगायत जिल्लाका जनजाति महिलाले कहिल्यै छाउ बारेका छैनन्। तर खष आर्य ब्राहमण, क्षेत्री र दलित समुदायमा भने अँझै छाउ बार्ने चलन कायमै छ।

छाउपडी कुप्रथाले अन्य जातिका महिलामा शाररीक तथा मानसिक समस्या निम्त्याई रहेको हो। तर भोटे, लामा, तामाङ, गुरुङ र मगर लगायत कर्णालीका जनजाति समुदाय छाउ हुँदा छोइछिटो हुँदैन्। छाउ बार्ने र नबार्ने एउटै समाजका फरक जातिबिच आर्थिक लेनदेनदेखि खानपानसम्मको सम्बन्ध छ। तर गलत संस्कारका कारण छाउ हुँदा पानी चल्दैन।

‘जनजाति महिला छाउ हुँदा आफ्नो स्वास्थ्यलाई ख्याल गर्छन्, सोही अनुसारको खानपान तथा सरसफाइमा पनि ध्यान दिन्छन्’ महिला अधिकारकर्मी लक्ष्मीकन्या बुढाले भनिन्, ‘तर हिन्दु धर्म मान्ने अन्य समुदायका महिला छाउ हुँदा कम्तिमा पाँच दिन गोठमै बस्ने गर्छन।’

देउता रिसाउँछन् भन्ने त्रासका कारण अधिकांश महिला महिनावारीको बेलामा घरमा बस्न मान्दैनन्। ‘हामी छाउ भएकै दिन सरसफाइ गरेर देउता पुज्छौ, हामीलाई पुण्य भएकै छ’ चन्दननाथ नगरपालिकाकी कुन्जाङपुटिक तामाङले भनिन्, ‘छाउ हुँदा यो गर्ने, उ नगर्ने भन्ने मनको डर मात्रै हो।’ छाउ नबार्ने र छाउ भएको बेला पोषिलो खाना खाने गर्दा अन्य जातिको तुलनामा जनजाति महिला स्वस्थ देखिन्छन्। ‘छाउ गोठमा बसेकी महिला बलात्कृतदेखि जनावरको आक्रमणमा परेको सुन्दासुन्दै छाउ गोठमा बस्नु र बसाल्नु अमानविय ब्यवहार हो’ उनले भनिन्।

छाउलाई गलत धारणासँग जोडेर समाजले महिलाको मानसिकता नै कमजोर बनाएको छ। यो कुप्रथा अन्त्यका लागि विभिन्न संघसंस्थाले सचेतनाका कार्यक्रम चलाइरहेका छन्। तर छाउ सम्बन्धि सामाजिक सोचमा परिवर्तन भएको छैन। सामाजिक अभियन्ता धनबहादुर गौतम भन्छन्,‘पछिल्लो पुस्तामा छाउ बार्नुपर्छ भन्ने सोचाइ पटक्कै छैन, तर अघिल्लो पुस्ता पनि अब ब्यवहारिक बन्नुपर्छ।’

नन्दराज जैसीले लेख्नुभएको यो समाचार हामीले अन्नपूर्णपोष्टबाट साभार गरेका हौं ।

प्रतिकृया दिनुहोस्