RaraNews

जागरण मिडिया प्रकाशित : २०७६/३/२४ गते
१२८ पटक

छुवाछूतको संस्कारमा हुर्केकी भोजपुरकी मनीषा राईलाई लाग्ने गर्थ्यो, लुगा सिलाउने मेसिन चलाउन जात चाहिने रहेछ । एक दशकयता भने उनको यो धारणामा परिवर्तन आएको छ ।

धरान १८ रत्न चोकमा युनीषा कटिङ सेन्टर सञ्चालन गर्दै आएकी मनीषा भन्छिन्, ‘लुगा सिउन जात होइन सिप चाहिन्छ ।’ छोरी मान्छेले पढ्न हुँदैन भन्ने भोजपुरको विकट गाउँमा हुर्केकी राईले गोठाला गर्दै जसोतसो कक्षा ६ सम्म पढाइ पूरा गरेपछि धरान झरेकी हुन् । सानैदेखि नाच्न र गाउन मन पराउने उनले सिलाइ–कटाइलाई पेसा बनाउँछु भन्ने कहिल्यै सोचेकी थिइनन् । ठूली आमाको घरमा बसेर एसएलसीसम्म औपचारिक अध्ययन पूरा गरेपछि १८ वर्षको उमेरमा सामान्य जागिर सुरु गरेकी थिइन् । त्यसै समयमा वैदेशिक रोजगारमा रहेका उनका दाजुले महिलाका लागि सिलाइकटाई राम्रो आम्दानी गर्न सकिने बताएका थिए ।

तालिम लिनका लागि दाजुले १४ हजार रुपैयाँ समेत पठाइदिए । रहरले भन्दा पनी दाजुको वचन काट्न नसक्दा सिलाइकटाइ तालिम सुरु गरेकी थिइन् । ३ महिना डिप्लोमा कटिङ कोर्ष सिक्दा ४० हजार खर्च लाग्यो । आफूले केही बचत गरेको रकम र दाजुले पठाएको खर्च भयो ।तालिमपछि २ महिनासम्म तालिम केन्द्रमै आफू पनि सिक्दै र नयाँ विद्यार्थीलाई सिकउने गर्थिन् । रातको १ बजेसम्म पुराना कपडालाई डिजाइन गर्थिन् ।

‘तालिम लिएपछि यस क्षेत्रमा रुचि बढदै गयो,’ उनी भन्छिन् । कपडा सिलाउँछे भन्ने छिमेकीहरूले थाहा पाएपछि पुराना र सामान्य नयाँ कपडा सिलाउन दिने गर्थे । त्यसबाछ भएको आम्दानीले खुसी बढाएको उनी बताउँछिन् । प्रशिक्षकले गरेको तारिफले झन् कामप्रतिको मोह बढदै गयो । कुनै बेला हातमा एक पैसा नहुने उनी अहिले मासिक ४० हजारभन्दा बढी कमाउँछिन् । स्नातकोत्तर तह पढदै गरेका श्रीमान, सासु र भाइको पढाइ खर्च समेत यही व्यवसायबाट धानेकी छन् ।

साझेदारीमा १९ वर्षको उमेरमा कुल ५० हजारको लगानीबाट व्यापार सुरु गरेकी थिइन् । मेसिन, धागो, स्केल, आइरन, कैची र ३ वटा मेसिन किन्दा पैसा सकिएपछि फेरि २० हजार रुपैयाँ थप लगानी गरिन् । व्यवसाय सुरु गरेको ६ महिनासम्म उध्रेको कपडा मात्र सिलाई गर्न पाएँ । एउटा कोठाको ३ हजार भाडा तिर्नपर्नुे ।

मासिक कारोबार भने ९ सयदेखी २५ सय मात्र हुन्थ्यो । कोठाभाडा तिर्न मुस्किल हुँदा समेत उनले काम भने छाडिनन् । विस्तारै कपडा सिलाउन ग्राहकहरू आउन थाले तर कपडा सिलाउँदा छोटो हुने, फिनिसिङ नमिल्ने समस्या आयो । ठिक त्यसै समय पत्रिकामार्फत सीटीईभीटीबाट सिप प्रशिक्षण हुँदैछ भन्ने जानकारी भएपछि परीक्षा दिन उनी इटहरी पुगिन् ।

उर्त्तीण हुन भने सकिनन् । तर सिप टेस्टमा सहभागीबाट धेरै कुरा सिक्न पाएको बताउँदै उनी भन्छिन्, ‘सिलाइ–कटाइ सिकाउने तरिका धेरै गलत रहेछ । त्यसैले रिजल्ट सोचेजस्तो भएन ।’ अर्को वर्ष तालिम लिएर परीक्षा उर्त्तीण गरिन् ।हाल उनले सीटीईभीटी कोर्ष अन्तर्गतको तह तिन पुरा गरेकी छिन् । सीटीईभीटी कोर्समा पुरानो डिजाइनलाई प्राथमिकता दिने भएकाले बजार प्रतिस्पर्धा गर्न नसकिने उनी बताउँछिन् । आधुनिक जमानामा सीटीईभीटीको कोर्सले मात्र सबै काम गर्न नसकिने भएकाले नयाँ डिजाइन समेत सिक्न जरुरी रहेको उनको बुझाई छ ।

उनको टेलरमा कपडाको सम्पूर्ण डिजाइन साथै तालिम समेत दिने गरिएको छ । उनी भन्छिन्, ‘बजार निकै प्रतिस्पर्धा रहेको छ । त्यसैले बजारको ज्ञान नभएमा व्यवसाय टिकाउन गाह्रो हुन्छ ।’ उनको सिलाई केन्द्रमा इन्टरनेटको माध्यमबाट डिजाइनहरू हेरेर सिकाउने काम हुन्छ । यसले भविष्यमा व्यवसाय सञ्चालन गर्दा सहज हुने उनको बुझाइ छ । सिपप्रतिको लगाव, मिहिनेत र निरन्तरताको कारण आज यस ठाउँसम्म आइपुग्न सफल भएको उनी बताउँछिन् ।

सुम्निमा चाम्लिङले लेख्नु भएको यो समाचार हामीले कान्तिपुर दैनिबाट साभार गरेका हौं ।

प्रतिकृया दिनुहोस्