RaraNews

जागरण मिडिया प्रकाशित : २०७४/९/१७ गते
१९८ पटक

समाजवादी क्रान्तिको रणनीतिलाई अगाडि बढाउने स्तरको समाजवादी क्रान्तिकारीमा आफूलाई रुपान्तरण गरिछाड्न पुनः एकपल्ट नेपाली समाज, नेपाली इतिहास, यहाँको वर्ग निर्माणको प्रक्रिया र यसभित्रका तमाम अन्तर्विरोधहरुको अध्ययन, विश्लेषण र संश्लेषणको महायात्रामा हाम फालौँ । हामीसँग भएका संश्लेषणहरुलाई पुनः एकपल्ट सिंहावलोकन गरौँ, आवश्यक भए परिमार्जन गरौँ र जरूरी नयाँ–नयाँ संश्लेषणहरु आविष्कार गर्दै अघि बढौँ ।

(क) नेपाली समाज पाँच महासभ्यताको सङ्गम :

१. ह्वाङहो र याङसी नदीको मङ्गोल महासभ्यता

नेपालमा प्रचलित भाषामा मङ्गोलियन उद्गमका जातिहरु जसलाई भनिन्छ उनीहरु आजको चीनको ह्वाङहो र याङसी नदीले विकसित गरेका मानव सभ्यताबाट विकसित भएर क्रमशः दक्षिणतिर सर्ने क्रममा तिब्बत हुँदै इतिहासको विभिन्न कालखण्डमा आजको नेपाली भूभागमा आवाद गर्न आइपुगेका हुन् । ह्वाङहो र याङसी नदीका आसपासमा विकसित सभ्यता संसारकै हजारौँ वर्षमा विकसित एउटा महासभ्यता भएको सबैले मानिआएको विषय हो । यस सभ्यताका मानिसको नाक थेप्चो, आँखा चिम्सा, कद होचो भनी सामान्यतया मानवशास्त्रमा बुझ्ने चलन छ ।

यस उत्तरी समाजबाट कुन–कुन मितिमा कुन–कुन समूह कसरी आजको नेपाली भूभागमा आवाद हुन आइपुगे भन्ने तिथिमिति ठ्याक्कै किटेर भन्न सकिने अवस्था छैन तर उपलब्ध सामग्रीहरु उनीहरुको भाषा, वंश–परम्परा, गोत्र–प्रणाली, श्रुति परम्परामा आधारित सृष्टिको कथा वा महायानी बौद्ध परम्परा र ल्होछारका रुपमा नयाँ वर्ष मनाउने प्रचलन जस्ता आधारभूत उत्तरी सभ्यतासँग मिल्ने विशेषताका कारण उनीहरु ह्वाङहो र याङसी महासभ्यताकै सन्तान हुन् भन्न कसैले पनि आनाकानी गरेको छैन ।

यसको एउटा झुन्ड आजको नेपालको वागमती उपत्यकालाई छाडेर पश्चिमतिर नेपालको पहाडी खण्डमा फैलिँदै गएको देखिन्छ, जसले भेरी नदीवारिसम्मको पहाडी भूभागलाई समेट्छ । नदी सभ्यताका हिसाबले भन्ने हो भन्ने यसलाई गण्डकी सभ्यता पनि भन्न सकिन्छ, किनभने यस भूखण्डमा बग्ने सबै नदीहरु आजको चितवन–तनहुँ साँधको देवघाटमा कालीगण्डकीमा मिसिएपछि एउटै नदी बनेर बग्दछन् ।

यसरी त्रिशूली नदीबाट पश्चिम र भेरी नदीबाट पूर्वको पहाडी भूभागमा आवाद हुन आइपुगेको यो झुन्ड मूलतः दुई ओटा समुदाय राष्ट्रोन्मुख प्रवृत्तिसहित इतिहासमा अगाडि आएको देखिन्छ ः एक, मगर दुई, तमु वा गुरुङ । यसै झुन्डभित्रका तर कालान्तरमा जनसाङ्ख्यिक दृष्टिले थोरै भए पनि अलग भाषा र संस्कृतिसहितका अन्य जाति समूहहरु पनि यस क्षेत्रमा विकसित हुन पुगेको कुरा सजिलै बुझ्न सकिन्छ । यसरी हेर्दा ह्वाङहो र याङसी महासभ्यताबाट आएको एउटा झुन्डले त्रिशूली र भेरी नदीका बिचमा मुख्य दुई उपसभ्यताहरु निर्माण गर्न पुगे– मगर र तमु । साथै अन्य सभ्यताउन्मुख प्रवृत्ति बोकेका समूहहरु पनि बन्न पुगे । यो झुन्ड कहिले आजको नेपाल खण्डमा आयो ? ठोस प्रमाणिक उत्तर छैन ।

(i) हिन्दूकरणको प्रक्रियाले गर्दा यी दुबै उपसभ्यताका आफ्ना मौलिक चीजहरु गुमनाम हुन पुगेर पनि यस्तो अवस्था आएको हुन सक्छ । गुरुङले ल्होछार परम्परालाई बिर्सिनसकेको अवस्था हो भने मगरलाई त हिन्दुहरुले हिन्दु गोत्र नै दिइसक्न भ्याएको अवस्था हो । अन्य जनसाङ्ख्यिक दृष्टिले साना समूहहरुको पनि आधारभूत अवस्था मगर र गुरुङको भन्दा फरक देखिन्न ।

(ii) ह्वाङहो र याङसी नदीमा विकसित महासभ्यताबाट दक्षिणतिर फैलिँदै आजको ‘किरात’ शब्दसँग मिल्दोजुल्दो तिब्बतको कुनै स्थानमा इतिहासको एक काल बिताएर आजको नेपाली भूभाग हुँदै गङ्गा मैदानसम्म विचरण गरेको अर्को समूह छ जसलाई आज पनि सबैले किराती भनि बुझ्दछन् । किरातीका रुपमा पहिचान भएको यो झुन्ड वागमती उपत्यकासहित पूर्वतिरको पहाडी भूभाग हुँदै सिक्किम–वर्मासम्म फैलिँदै गएर आवाद भएको प्रस्ट देखिन्छ । यो किरात सभ्यता आज मूलतः दुई ओटा राष्ट्रउन्मुख समुदायमा विभक्त छ ः एक, किरात (राई) । र दुई, लिम्बु । त्यसैगरी सुनुवार, जिरेल, याक्खा, धिमाल आदि जनसाङ्ख्यिक दृष्टिले साना समूहहरु छन् जुन यसैभित्रका कालान्तारमा छुट्टै बन्न पुगेका समूहहरु हुन् । वागमती उपत्यकाको इतिहास किराती राजा यलम्बरबाट सुरु हुने विषयले किरातको नेपाल भूखण्डमा प्रवेश इस्वी संवत् सुरु हुनुभन्दा धेरै अगाडि भइसकेको प्रमाणित गर्दछ । सृष्टि–कथा मुन्दुमरमुन्धुमलाई मूल पृथक् मियो बनाएर विकसित यस झुन्डका मूल दुई शाखा किराती र लिम्बु कहिले कसरी छुट्न पुगे र अलग दुई ओटा उपसभ्यता बन्न पुगे भन्नेबारेमा लोकोक्तिबाहेक अरु सूचना भेटिँदैन ।

एउटा लोककथाका अनुसार अरुण दोभानमा पुगेर कता जाने भन्नेमा विवाद हुँदा एउटा झुन्ड अरुणपारि लाग्यो र अर्को झुन्ड वारितिर लाग्यो । त्यहीँबाट किराती (राई) र लिम्बु अलग भए । यसलाई करिब २५ सय वर्षअगाडिको कुरा मानिन्छ । नदी सभ्यताका दृष्टिले भन्ने हो भने यो ‘कोशी’ र ‘वा’ सभ्यता हो । किराती सभ्यतामा नदीलाई कुशी र पानीलाई ‘वा’ ले सम्बोधन गरिन्थ्यो । अहिले पनि जहाँसम्म किराती (राई) को मूल थलो छ, त्यहाँसम्मका नदीका नाम ‘कोशी’ र ‘खुवा’ प्रकारका छन् र जब लिम्बु क्षेत्र सुरु हुन्छ नदीका नाममा ‘वा’ शब्द आएकै हुन्छ । पछि नदीका नाम फटाफट हिन्दूकरण गरिएकाले लिम्बु क्षेत्रका नदीका नामका ‘वा’ शब्द छोपिन पुगेका छन् । जस्तै ताप्लेजुङको कावेली नदीको सङ्क्षिप्त नाम ‘काँवा’ थियो र तमोरको इम्बिरी यङघङ । नेवार भाषामा नदीलाई ‘खुसी’ भन्नु पनि त्यही किराती शब्दको नयाँ रुप हो ।

(iii) उत्तरबाट दक्षिणतिर फैलिँदै तर चिमाल फुल फुल्ने लेकभन्दा माथि हिमाली भूभागलाई नै आफ्नो सभ्यताको भूभाग एउटा झुन्डले बनाएको देखिन्छ जुन झुन्ड त्यस हिमाली उचाइमा बस्ने क्रममा फोक्सो नै शक्तिशाली बन्ने स्तरमा विकसित भएको छ । त्यो समूहलाई शेर्पा, भोटे आदि नाममा आजको नेपालमा चिनिन्छ । यो वास्तवमा विश्वमै एउटा दुर्लभ उचाइको सभ्यता हो । आज हेर्दा यो भोटे उपसभ्यता पूर्वदेखि पश्चिमसम्म छुट्टाछुट्टै अलगथलग रहेको जस्तो भान हुन्छ, तर वास्तवमा त्यस्तो थिएन र होइन । यो भोटे हिमाली सभ्यतामा समुदायहरु पूर्वको ताप्लेजुङको हिमाली क्षेत्रदेखि पश्चिमको डोल्पासम्म नै व्यापारलगायतका सामाजिक सांस्कृतिक सम्बन्धमा थिए । त्यस क्षेत्रमा पूर्व–पश्चिमलाई जोड्ने बाटो नै थियो । उनीहरु एक–अर्कालाई पूर्वीया र पश्चिमाका नामले पनि चिनाउँथे ।

पञ्चायतले उत्तर–दक्षिण काटेर जिल्ला र अञ्चलको राजनीतिक नक्सा र प्रशासनिक व्यवस्था गरेपछि यस उपसभ्यताको परम्परागत पूर्व–पश्चिमको आफ्नो संसर्ग बाध्यात्मक रुपमा टुट्ने क्रम तीव्र बनेको हो । ल्होछारमध्ये पनि ग्याल्बो ल्होछार अर्थात् राजकीय नयाँ वर्षसँग जोडिएको यो समुदाय नेपालको एक मात्र बोलीचालीमा थर भन्ने चलन नभएको उपसभ्यता हो । गोत्र र थर सबै मानव समाजमा जस्तै यस हिमाली समुदायमा पनि हुन्छन् नै तर जहिले पनि थर भनेर परिचय दिनुपर्ने प्रचलन यो समुदायमा थिएन । तेन्जिङ नोर्गेले चोमोलुङ्मा (सगरमाथा) चढ्नुभन्दा पहिले शेर्पा भन्ने कुनै जाति नै थिएन । उनले सगरमाथा चढेर फर्केपछि स्वागत गर्न पुगेका त्यतिबेलाका विद्वान् बालकृष्ण समलगायतले परिचय सोध्दा तेन्जिङ नोर्गेले आफ्नो परिचय आफ्नै परम्परामा थर नभनी केवल तेन्जिङ नोर्गे बताए । तर, बालकृष्ण समहरुले ‘तेन्जिङ, नोर्गे अनि के’ भनी सोधे । किनभने अरुको जस्तै तेन्जिङ र नोर्गे शब्दलाई उनीहरुले पहिलो र मध्य नाम मात्रै बुझे । त्यसपछि भोटे सभ्यतामा पूर्व–पश्चिमको फरक देखाउन परिचय बताउने चलनअनुसार तेन्जिङले ‘म स्यार्पा’ भनी उत्तर दिए । अर्थात् उनको आशय थियो, भोटेहरुमध्ये म चाहिँ पुर्बिया हुँ । स्यार्पाको अर्थ पुर्बिया थियो । त्यसपछि विद्वान्हरुले तेन्जिङको थरकै रुपमा बालकृष्ण शमशेर भनेजस्तै तेन्जिङ नोर्गे शेर्पा भनी लेखे । अनि क्रमशः शेर्पा एउटा गौरवमय परिचय, थर हुँदै सोलुखुम्बु क्षेत्रका भोटे समुदायले नै आफूलाई शेर्पा भन्ने वातावरण बन्यो । शेर्पा अन्तर्राष्ट्रियकरण भयो र एउटा भोटे उपसभ्यताभित्रको एउटा जाति नै बन्न पुग्यो । तर यथार्थमा शेर्पा हिमाली भोटे उपसभ्यताको पूर्वको एउटा अंश मात्रै हो ।

थारु, दनुवार र माझी जस्ता भित्री मधेसका समुदायलाई औलोका कीटाणुसँग विजय पाउन कति सय वर्ष लाग्यो होला, त्यसभन्दा कम वर्ष पक्कै पनि हिमाली भोटे उपसभ्यतालाई सबैभन्दा बढी उचाइमा पनि सहजै अक्सिजन तान्न सक्ने फोक्सो विकास गर्न लागेन भन्न सजिलै सकिन्छ । हिमाली भोटे सभ्यताको सुन्दर विकसित नमुना माथिल्लो मुस्ताङको राजतन्त्रसहितको समाज हाम्रो अगाडि छँदै छ ः अनि माथिल्लो मुस्ताङको गुफाभित्र भेटिएका मानव सभ्यताका हजारौँ वर्ष पुराना चित्रहरु दसीका रुपमा हाम्रा अगाडि उपस्थित छन् ।

नेपाली समग्र समाजमा महिलाको स्थान सबैभन्दा बढी सम्मानित एवम् शक्तिशाली अझै पनि महसुस गर्न सकिने यो उपसभ्यता मूलतः महायानी बौद्ध शाखासँग सम्बन्धित छ । यो हिमाली भोटे समुदाय तिब्बतबाट यात्रा सुरु गर्दा नै महायानी बौद्ध मत लिएर आयो या तिब्बतमा विकसित सो बौद्ध मतको शाखा उनीहरुको सभ्यतासम्म कसैले ल्याइपुर्‍यायो रु यो विषय अझै स्पष्ट छैन तर महायान बौद्ध शाखाको विकास बढीमा इसाको प्रथम शताबब्दीसम्म भएको तर उनीहरुको फोक्सोको विशिष्ट विकासलाई त्यसभन्दा बढी समय सङ्घर्षमा लाग्ने जीववैज्ञानिक कारणलाई दाँज्दा महायानी बौद्ध परम्परा उनीहरुका बिच पछि नै आइपुगेको अनुमानसम्म लगाउन सकिने अवस्था छ । खोज अनुसन्धान जति बाँकी भए पनि के चाहिँ सजिलै भन्न सकिन्छ भने हिमाली भोटे समुदाय नेपालको एउटा विशिष्ट संसारकै माथिल्लो उचाइको एउटा उपसभ्यता नै थियो र हो ।

(iv) उत्तरको हिमालको उचाइ पार गरेर वर्तमान नेपालको त्रिशूली नदी र तामाकोशी नदीका बिचको पहाडी भूभागमा आई आवाद गर्ने एउटा उपसभ्यता तामाङ हो । यो किराती वा गुरुङ–मगरभन्दा पछि नेपाली भूभागमा आइपुगेको देखिन्छ, किनभने यो समुदाय रहेको क्षेत्रमा ठुला नदीका नाम तामाङ भाषामा नभई किराती वा अन्य भाषामा छन् । महायान बौद्ध मतको यो समुदाय तिब्बतबाटै यस मतबाट प्रशिक्षित भई आएको देखिन्छ । यो राष्ट्रउन्मुख विशेषतासहितको उपसभ्यता हालको काभे्र र सिन्धुपाल्चोक जिल्लालाई केन्द्रिबिन्दु बनाई फैलिएको प्रस्टै छ । तामाङ उपसभ्यताभित्र ह्योल्मोलगायताका जनसाङ्ख्यिक दृष्टिले सानो समूहहरु पनि रहेका छन् ।

वास्तवमा चीनको ह्वाङहो र याङसी नदीको महासभ्यताबाट विकसित भई तिब्बत हुँदै आजको नेपाललमा आई मौलिक उपसभ्यता निर्माण गर्ने जनसाङख्यिक दृष्टिले समेत ठुलो आकारमा रहेको तामाङ सबैभन्दा पछि यो भूभागमा प्रवेश गर्ने झुन्ड हो । यो झुन्ड करिब इसाको पहिलोदेखि दोस्रो शताब्दीका बिचमा आइपुगेको देखिन्छ । यी बाहेक ह्वाङहो र याङसी नदीमा विकसित महासभ्यताबाट आजको नेपाल भूमिमा प्रवेश गर्ने अन्य समूह पनि छन्, तर तिनीहरुबारे थप अध्ययन आवश्यक छ । जेहोस्, नेपाल ह्वाङहो र याङसी नदीका वरपर विकसित महासभ्यताबाट विकसित भई आएर नेपाली भूमिलाई हजारौँ वर्षदेखि आवाद गर्ने, भाषा–संस्कृति र आर्थिक प्रणालीसहित राष्ट्रउन्मुख प्रवृत्ति बोकेका जातिहरुको प्रभावशाली उपस्थिति रहेको समाज हो भन्ने यथार्थ इतिहाससिद्ध अकाट्य तथ्य हो ।

२. मस्टोपूजक खस महासभ्यता

नाक धारिलो चुच्चो, आँखा लाम्चा, कद अग्लो भएको मानव शाखा शीतप्रदेश अर्थात् विश्व भूगोलको आजको युरोपमा विकसित भएको मानिने कुरा सर्वविदितै छ । त्यही युरोपको शीतप्रदेशमा विकसित मानव शाखालाई आर्य भनी बुझ्ने परम्परा छ । युरोपमा विकसित त्यस आर्य मानव समूहको एउटा झुन्ड विश्व यात्राका क्रममा निस्केर मध्य–एसियाको ककेसस क्षेत्र हुँदै तिब्बतको मानसरोबरदेखि वर्तमान नेपालको जुम्लाको सिंजा, डोटी र भारतको कुमाउ–गढवालको पहाडी क्षेत्रदेखि कास्मिरसम्म अनि गङ्गा मैदानसम्म इसाको पहिलो शताब्दीभन्दा अघि नै विचरण गरिसकेको एउटा महासभ्यता हो– खस । ककेसियाली भएकाले उनीहरुलाई सुरुमा ककस र पछि खस भन्ने परिचय मिलेको कुरामा धेरै विद्वान् सहमत छन् ।

खस एउटा महासभ्यता थियो । उनीहरुभित्र काशी, कौसललगायतमा विभाजित प्रजातिहरु समेत विकसित थिए । छाग र छागल नामका थप प्रजाति पनि थिए भन्ने तथा छाग र छागल भनेको कासी र कौसल प्रजातिकै अर्को नाम थियो भन्ने विद्वान्हरु बिच मतान्तर बाँकी भए पनि विभिन्न प्रजातिसहितको खस एउटा महाजाति वा महासभ्यता थियो भन्नेमा चाहिँ कुनै विवाद देखिन्न । खस सभ्यतामा कुनै जातप्रथाको विभेद थिएन । उनीहरु जाँडरक्सी बनाउने खाने मतावाली थिए । सुँगुर उनीहरुको कूल देवतालाई चढाउन मिल्ने पशु थियो । उनीहरु १२ भाइ वा १२ ओटा फरक–फरक मस्टो (कुलदेवता) पूजक हुन् । उनीहरु धामी परम्पराका हुन् । नेपालको जनजातिबाहेक लुटी–विवाह प्रचलन धेरैपछिसम्म कायम रहेको समुदाय खस नै थियो ।

यो मस्टोपूजक खस सभ्यता नेपालको आजको भूगोलको जुम्लाको सिंजादेखि कर्णालीपारिको डोटी हुँदै सतलज नदीपारिको पहाडी भूभागमा इसाको दोस्रो शताब्दीसम्म प्रवेश गरी आवाद भइसकेको थियो । इसाको पाँचौँ शताब्दीसम्ममा त सिंजा एउटा साम्राज्य बनिसकेको थियो । त्यसैगरी डोटी पनि एक हर्ताकर्ता राज्यका रुपमा उपस्थित भइसकेको थियो । खस महासभ्यता नेपालमा प्रवेश भएपछि यसले कर्णालीपारि डोटेली भाषासहितको डोटी राज्यलाई केन्द्र बनाएर एउटा डोटेली उपसभ्यता निर्माण गर्‍यो । जुन भाषासहितको प्रभाव आजको भारतको कुमाउ–गढवाल क्षेत्रसम्म र कर्णालीवारिको दैलेख, जाजरकोट, जुम्ला आदि तत्कालीन प्रभावशाली राज्यहरुसम्म थियो । डोटेली खस उपसभ्यता कति प्रभावशाली थियो भन्ने कुरा यसबाट पनि अनुमान लगाउन सकिन्छ कि नेपालको राजधानीको नाममा समेत डोटेली भाषा उपस्थित छ अर्थात् काठमाडौँ । ‘माडौँ’ भनेको डोटेली भाषामा मन्दिर हो । काठको मन्दिर अर्थात् काठमाडौँ ।

३. सिन्धु घाटीको आस्ट्रो–द्रविड महासभ्यता

आर्यहरु दक्षिण एसियाको समथल भूभागमा प्रवेश गरेको इ।पू। ३००० वर्षभन्दा पहिले अर्थात् आजभन्दा ५ हजार वर्षभन्दा पहिले मानिन्छ । तर आर्यहरु सिन्धु घाटीमा आइपुग्नुभन्दा पहिले नै दक्षिण एसियामा आस्ट्रिक र द्रविड मूलका मानिसहरुको सभ्याता निर्माण भइसकेको थियो । सिन्धुघाटीमा रहेका त्यतिबेलाका हरप्पा र मोहन्जोदारोको सभ्यता यस कुराका ज्वलन्त प्रमाणहरु हुन् । आस्ट्रिक तथा द्रविडहरुको नाक बुच्चो, रङ पहेँलो र रातो, कद होचो थियो भनी मानवशास्त्रीहरु बताउँछन् ।

आर्यहरुको सिन्धुघाटीमा प्रवेशपछि आस्ट्रो–द्रविडहरुको महासभ्यतामाथि आक्रमण भयो र आर्यहरु विजयी भए । त्यसपछि आर्य राज्यहरुमा कतै दास बन्दै, कतै आर्य राज्यहरुसँग भीषण लडाइँ गर्दै आफ्नो हजारौँ वर्ष पुरानो सभ्यतालाई रक्षा गर्दै फैलिने क्रममा आजको नेपाली भूमिमा पनि त्यस महासभ्यताका विभिन्न प्रजातिहरु आएर आवाद हुन पुगे । पूर्वी तराईको राजवंशी, ताजपुरिया, गनगाईलगायतका प्रजातिहरुको कोच उपसभ्यता र दाङ केन्द्रबिन्दु भई पूर्व–पश्चिम छरिएर रहेको थारु उपसभ्यता त्यही अस्ट्रो–द्रविड महासभ्यताबाट विकसित हुन पुगेका उपसभ्यता हुन् । नेपालको तराई र भित्री मधेसका धेरैजसो द्रविड, आग्नेय र भारोपेली परिवारका भाषा बोल्ने जनजातिहरु त्यस महासभ्यतासँग सम्बन्धित छन् । त्यसै गरी हिन्दूकरण गरी ‘अछूत’ बनाइएका नेपालका दुसाधलगायतका कतिपय दलितभित्र रहेका समुदाय पनि द्रविड मूलसँग जोडिएको मानिन्छ ।

भारतीय भूमिबाटै हिन्दूकरण भएर आजको नेपालमा आइपुगेका बाहेक जनजातिका रुपमा रहेका आस्ट्रो–द्रविड महासभ्यतासँग सम्बन्धित जातिहरुमा महिलाको स्थान सापेक्षित रुपमा स्वतन्त्र, भूमि र प्रकृतिपूजन प्रवृत्ति समान खालको रहेको अझै भेटिन्छ । यस महासभ्यताका मानिसहरु कहिले र कसरी आजको नेपाल भूखण्डसम्म आइपुगे भन्नेबारे पर्याप्त प्रामाणिक सामग्री भेटिन्न, तर तराई क्षेत्र र भित्री मधमेसको दून क्षेत्रको औलोलगायतका महामारीजन्य रोगहरुसँग लड्ने स्तरमा शरीर विकास गरेको प्रमाणिक तथ्यले उनीहरुले यहाँ केही हजार वर्ष लड्दै टिकेको सजिलै प्रमाणित हुन्छ । यो महासभ्यतासँग सम्बन्धित थुपै्र प्रजातिहरु नेपालमा रहे पनि राष्ट्रउन्मुख प्रवृत्ति बोकेको भने थारु उपसभ्यता मात्रै हो । राष्ट्रउन्मुख अर्को प्रवृत्ति कोच पनि हो । तर सुगौली सन्धिले कोच जनसङ्ख्याको मुख्य भाग भारततिर पर्न गयो । साथै नेपालको झापा, मोरङ र सुनसरीमा रहेको उनीहरुको परम्परागत सामाजिक–आर्थिक संरचना पञ्चायती व्यवस्थाले ध्वस्त पारिदियो । त्यसैले कोच उपसभ्यतासँग सम्बन्धित जातिहरु तराई क्षेत्रमा आज संरक्षण गर्नुपर्ने थितिमा पुगेका छन् ।

४. गङ्गा मैदानको वैदिक आर्य सभ्यता

युरोपबाट पूर्वतिरको यात्रा सुरु गरेर इरान हुँदै दक्षिण एसियाको सिन्धुघाटीमा ५ हजार वर्षभन्दा पहिले प्रवेश गर्ने आर्यहरुको एउटा झुन्डले नै सिन्धुघाटीको आस्ट्रो–द्रविड सभ्यतामाथि आक्रमण गरेको थियो । त्यही झुन्डले सिन्धुघाटीदेखि गङ्गा मैदानसम्म विचरण गरी सभ्यता निर्माण गर्ने क्रममा वेदको रचना गरेको हो । आर्यहरुका विभिन्न शाखामध्ये वेदको रचना गर्ने शाखालाई वैदिक आर्य नामकरण गरिएको हो । आर्यहरुको अर्को शाखा ककेसिया हुँदै नेपाल आइपुगेको थियो र त्यो मस्टोपूजक मतवाली थियो भन्ने कुरा खस महासभ्याताको चर्चामा उल्लेख गरिसकिएको छ ।

सिन्धुघाटी हुँदै गङ्गा मैदानमा विचरण गर्ने क्रममा वेदको रचना गर्ने वैदिक आर्यहरुले नै वेद, उपनिषद, पुराण, गीता, महाभारत हुँदै मनुस्मृतिलगायतका रचनाहरु तयार पारेका थिए । दक्षिण एसियाको मैदानी भूभागमा सुरुमा आस्ट्रो–द्रविड जातिहरुलाई दास बनाउँदै दास–मालिक युग वैदिक आर्यहरुकै नेतृत्वमा सुरु भएको थियो । गङ्गा मैदानमा वैदिक आर्यहरुले निर्माण गरेको सभ्याता संसारकै एउटा महासभ्यता थियो । यही वैदिक आर्य महासभ्यताभित्र अन्त नदेखिएको अनुल्लङ्घनीय श्रम विभाजनको प्रणाली अर्थात् जुन परिवारलाई जे काम तोकिएको छ, त्यो काम वा पेसा उसका सन्तान दरसन्तान कसैले परिवर्तन गर्न नपाउने प्रणाली जसलाई चार वर्ण व्यवस्था भनेर बुझिन्छ, त्यो वर्ण व्यवस्था यही महासभ्यताभित्र निर्माण गरियो । पछि यस महासभ्यातालाई हिन्दु धर्म र सम्प्रदायका रुपमा चिन्न थालियो । सिन्धुघाटीबाट सुरु गरेर गङ्गा मैदानसम्म पुग्दा यस महासभ्यताभित्र छुवाछूत र जात व्यवस्थासमेत क्रमशः संस्थागत र संस्कारगत बन्ने प्रक्रिया चल्यो ।

यस वैदिक आर्य महासभ्यातासँग सम्बन्धित समुदायहरु आजको नेपाल भूखण्डमा कहिले कसरी आए भन्ने बारेमा अलि बढी तथ्य–प्रमाणहरु पाइन्छन् । एक, नेपालको तराई खण्डमा हिन्दुधर्मीय वैदिक आर्यहरु गङ्गा मैदानबाट उपयुक्त जमिन खोज्ने र यात्रा गर्ने क्रमसँगै बस्ती उत्तरतिर सार्दै आउँदा आइपुगेका हुन् । राजा जनकको प्रतिष्ठित राज्य नै जनकपुर आसपास भएको मानिएबाट त्यतिबेलै वैदिक आर्यहरु आफ्नो सभ्यतासहित वागमती र कोशी नदीका बिचको तराईमा आवाद भइसकेका थिए । यो समय इ.पू. ८००–१००० हो भनी भनिन्छ । त्यसैगरी नारायणी–पश्चिम कपिलवस्तुको समथल भूमिसम्म पाली भाषी सिद्धार्थ गौतमका पिता सु्द्धोधनहरुको सभ्यताकृत आवादी बसिसकेको थियो । यो समय २६ सय वर्ष अगाडिको भनी प्रमाणित नै छ ।

नेपालको तराई खण्डमा आइपुगेका वैदिक आर्यले आफूसँगै छुवाछूतसहित वर्ण व्यवस्था लिएर आएका हुन् । वैदिक आर्यको आज जसलाई मधेसी भनेर समेत चिनिन्छ, त्यो शाखा यसरी नेपालको तराई खण्डमा आइपुगेको थियो । दुई, भारतको वैशालीमा जातपात, छुवाछूतसहितको वर्ण व्यवस्थायुक्त हिन्दु सभ्यता अभ्यास गरिरहेका लिच्छविहरुको एउटा झुन्डले सन् १७१–२०० का बिचमा वागमती उपत्यकामा प्रवेश गरी यहाँको किराती राज्यमाथि आक्रमण गरेको थियो र विजयी भई लिच्छविकाल सुरु भएको थियो । लिच्छवि हिन्दु थिए र वैदिक आर्यको प्रवेशको दोस्रो झुन्ड थियो, जसले वागमती उपत्यकामा पनि ४ वर्ण र १८ जातको संरचनायुक्त जात व्यवस्था सुरु गरे । लिच्छविकालमै सुरु गरिएको जात व्यवस्था र छुवाछूतलाई मल्लकालमा जयस्थती मल्लले पेसागत जात ६४ पुर्‍याई छुवाछूतसहितको वर्णव्यवस्थालाई झनै कठोर पारेका हुन् । तिन, आजको नेपाल भूखण्डमा सबैभन्दा पछि प्रवेश गर्ने वैदिक आर्यहरु चाहिँ इसाको दसौँ शताब्दीपछि आए भनी मानिन्छ । प्रवेश पश्चिम नेपालबाट सुरु भयो ।

हुन त शङ्कराचार्यले छैटौँ शताब्दीमा नेपालको पश्चिमको पहाडी र हिमाली भूभागमा भ्रमण गरेदेखि नै त्यस क्षेत्रमा वैदिक आर्य र हिन्दु मतको संसर्ग सुरु भएको मानिन्छ तर पनि ठोस रुपमा वैदिक आर्यका झुन्डहरु पश्चिम नेपालको खस डोटेली र सिंजाली सभ्यतामा प्रवेश गर्न इसाको दसौँ शताब्दीपछि सुरु भएको हो । आजको भारतको दिल्लीलगायतका क्षेत्रमा इसाको दसौँ शताब्दीपछि इरानी मुसलमानहरुले दर्जनौँ पटक आक्रमण गर्ने क्रमसँगै तत्कालीन भारतको वैदिक आर्यको एउटा झुन्ड त्यसबाट सुरक्षित बन्न क्रमशः पहाडी भूभागतिर सर्न थाल्यो । पहाडी भूभागमा कुमाउ–गढवाल क्षेत्रदेखि सतलज र महाकालीवारि मस्टोपूजक खसहरुले निर्माण गरेको खस राज्यसँग सम्बन्धित राज्यहरु थिए । खसहरु हिन्दूकरण हुनुभन्दा पहिले बौद्ध मत मान्ने खसहरुको झुन्ड पनि त्यहाँ बनिसकेको थियो ।

यसरी दसौँ शताब्दीपछि आजको पश्चिम नेपालको खस सभ्यतामा प्रवेश गर्न सुरु गरेका वैदिक आर्यहरुले खस राज्यहरुसँग संसर्ग र एकता गर्दै सिङ्गो खस सभ्यतालाई हिन्दूकरण गर्ने प्रक्रिया सुरु गरे । चौधौँ शताब्दीसम्म पुग्दा वैदिक आर्यहरुले खस सभ्यतालाई जात व्यवस्थामा आधारित गरी हिन्दूकरण गर्न सफल भइसकेका थिए । यसरी पश्चिम नेपालमा खस सभ्यतालाई हिन्दूकरण गरेपछि त्यहाँका दुई ओटा महासभ्यता एउटैमा विलय हुन पुगे र एउटा नयाँ जाति सङ्गठित हुन पुग्यो– आर्य खस । जसभित्र मस्टोपूजक मतवाली खसको मुख्य जनसाङ्ख्यिक हिस्सा थियो भने वैदिक आर्यको अर्को हिस्सा त्यसैभित्र रह्यो ।

अहिले आर्य खसभित्र वैदिक आर्य शाखाको को हो र को मतावाली खस शाखाको हो भनी चिन्नका लागि कसको कुलदेवता के हो भनी बुझ्नु जरूरी हुन्छ । जसको कुलदेवता मस्टो हुन्छ त्यो खस मतवाली शाखाको हो भने जसको कुलदेवता हिन्दु देवता हुन्छन् त्यो वैदिक आर्य शाखा हो । वैदिक आर्यहरुले गर्न चाहेको हिन्दूकरणभित्र प्रवेश गर्न नचाहेका मतवाली खसहरुको सानो झुन्ड अहिले पनि ‘मतवाली खस’ वा ‘खस पावै’का रुपमा पश्चिम नेपालमा छँदै छन् । यसप्रकार दसौँ शताब्दीपछि चौधौं शताब्दीसम्ममा पश्चिम नेपालमा निर्माण भएको जातपात, छुवाछूतसहितको वर्ण व्यवस्था नै गोरखा, नुवाकोटसम्म र सेनवंशीय राज्यसम्म फैलिँदै आएका आर्यखस जातिभित्रको वर्ण व्यवस्था हो, जसलाई गोरखाका राजा राम शाहले थप परिभाषित गरेका थिए ।

५. इस्लाम महासभ्यता

संसारमा विकसित मानव महासभ्यताहरुमध्ये इस्लाम सबैभन्दा कान्छो अर्थात् १५०० वर्षको इतिहास बोकेको सभ्यता हो । इस्लाम महासभ्यतामा पछि विकसित गरिएको कठोर सरियत कानुनका नजरबाट मात्र हेर्‍यो भने यस सभ्यतालाई सही ढङ्गले बुझ्न सकिन्न । ती कानुनहरु त इस्लाम सभ्यताभित्रको शोषक वर्गले आफ्नो वर्गीय शासनलाई दीर्घजीवी बनाउन जनतामाथि लादेका राजनैतिक हतियारहरु मात्र हुन् । इस्लाम सभ्यतालाई ती सरियतलगायतका पछि बनाइएका कानुनहरुलाई पन्छाएर हेर्नु, बुझ्नु आवश्यक छ ।

यो सभ्यता निश्चित जाति वा प्रजातिले विकसित गरेको सभ्यता नभई यो निश्चित विचार र सोचका आधारमा विभिन्न प्रजातिले एकताबद्ध भई सुरु हुन पुगेको सभ्यता हो । आजको अरब क्षेत्रमा एक आपसमा लडिरहेका सयौँ फरक कविला वस्तीहरुलाई हजरत मोहम्मदले एकताबद्ध बनाउने क्रमसँगै यो सभ्यता सुरु भएको हो । फरक–फरक कविलामा फरक–फरक सयौँ ईश्वरका मान्यतालाई एकताबद्ध गरी एउटै ‘अल्लाह’ अथवा ईश्वर निर्माण गरी भाइचारा सुरु गरिएको मानिन्छ । त्यसैले पनि इस्लाम आध्यात्मिक मतमा कुनै एक ईश्वरको मूर्ति वा तस्बिर हुँदैन । बरु आध्यात्मिक वचन मात्र लेखिन्छ, किनकि सयौँ ईश्वरीय मान्यतालाई एउटैमा रुपान्तरण गर्दा कुनै एकको मूर्ति वा तस्बिरलाई मात्र प्रतीक बनाउन सम्भव नै थिएन ।

इस्लामलाई सामान्य एउटा धार्मिक पथका रुपमा मात्रै बुझ्ने चलन छ । यो एउटा धार्मिक पथ त हुँदै हो, तर त्यति मात्र होइन बरु यो एउटा अलग समग्र जीवन आचरण, पद्धति र समाजकै विशिष्ट ढाँचा पनि हो ।

यो इस्लाम महासभ्यता छोटोमा भन्दा भारतमा मुस्लिम शासन–कालसम्ममा आइपुगिसकेको थियो । नेपालमा कहिले र कसरी आइपुग्यो ? यसका पनि दुई सन्दर्भ भेटिन्छन् । नेपालको तराई खण्डमा रहेका मुस्लिमहरु क्रमशः भारतीय भूमिबाट अन्य समुदाय जस्तै सर्दै आइपुगेको देखिन्छ । जङ्गबहादुरद्वारा जारी मुलुकी ऐन वि.सं. १९१० मा आफ्नो नेपाली मुसलमानका बारेको व्यवस्था छुट्टै छ । त्यतिबेला तराईका समुदायलाई नेपाली भनिँदैनथ्यो । त्यहाँका मुसलमानबारे बेग्लै दृष्टिकोण राख्न नै ‘आफ्नो नेपाली मुसलमान’ भनी बेग्लै सम्बोधन गरेको प्रस्ट बुझ्न सकिन्छ । यसको स्पष्ट अर्थ के हो भने जङ्गबहादुरको शासनकालमै तराईमा इस्लाम सभ्यताका मुस्लिम झुन्डहरु आवाद भइसकेका थिए । वि.सं. १९१० को मुलुकी ऐनले ‘आफ्ना नेपाली मुसलमान’ भनेर जसलाई भन्यो ती चाहिँ पहाडी क्षेत्रमा रहेका मुसलमान हुन्, जसलाई त्यस ऐनमा ‘चुरेटा’ जात भनी उल्लेख छ ।

चुरेटा जातका रुपमा त्यस मुलुकी ऐनमा उल्लेख गरिएका मुसलमान चाहिँ कास्मिरबाट मल्लकालमा राज्यले नै ल्याएर चुरा, पोते, धागो आदि शृङ्गारिक सामानको उत्पादन र व्यापार तथा अन्य प्राविधिक कामका निम्ति वागमती उपत्यकामा बस्ती बसाइएकाहरु हुन् । काठमाडौँको तत्कालीन केन्द्र इन्द्रचोकको कास्मिरी बजार क्षेत्र र ललितपुरको मङ्गलबजार क्षेत्रमा उनीहरुको बस्ती बसाइएको हो, जुन अद्यावधिक छँदै छ । त्यहीँबाट चुरा, धागो आदिको व्यापारका लागि डुल्ने क्रममा लमजुङ, कास्कीदेखि पश्चिमतिरका विभिन्न भागमा बसोबास फैलिन पुगेको हो । सुरुमा उनीहरुले कास्मिरी भाषा बोले पनि अब भने त्यो नवाज पढ्दा मात्र सीमित हुन पुगेको छ र उनीहरु मूलतः खस नेपाली–भाषी बनिसकेका छन् । नेपाल आइपुगेको इस्लाम सभ्यता आज जनसाङ्ख्यिक दृष्टिले ४ प्रतिशतभन्दा बढी भएको समूह हो ।

यसप्रकार नेपाल भूमि आकारका हिसाबले सानो भएर पनि सभ्यताको कोणबाट विश्वमा विकसित पाँच ओटा महासभ्यताको एकै देशमा आवाद हुन पुगेको विशिष्ट देश हो । यो गौरवपूर्ण विषय आफैमा हो । नेपाली समाजलाई बुझ्न, त्यसका अन्तर्वेदनालाई छाम्न, यी महासभ्यतालाई बुझ्न आवश्यक छ । यति नै काफी छैन, यहाँ केवल सङ्केत र अभिमुखीकरणसम्म गर्ने प्रयास मात्र गरिएको हो ।

साभार- र्इसमता

प्रतिकृया दिनुहोस्