RaraNews

जागरण मिडिया प्रकाशित : २०७६/४/१४ गते
११५ पटक

रोल्पा- सरकारले ५ वर्षमुनिका दलित बालबालिकाको पोषण सुधारका लागि भन्दै मासिकरुपमा भत्ता दिने गर्दछ। रोल्पाको एक दलित परिवारमा भने सो भत्ता नै घरव्यवहारको आधार बनेको छ। जिल्ला सदरमुकाम लिवाङका ४५ वर्षीय श्यामलाल सुनारले आफ्ना २ छोराले पाउने पोषणभत्ताले घरव्यवहार चलाउँदै आएका छन्।

५ वर्षीय जेठो छोरा विवेकले ७ सय र ४ वर्षीय कान्छा छोरा विकासले एक हजारका दरले वार्षिक रुपम उक्त भत्ता पाउँछन्। सोही भत्ताबाट श्यामलालले घरमा जडान गरेको विद्युतको बिल तिर्ने गरेका छन्। ‘अनि बचेको पैसाले चामल, तेल खरिद गर्छु,’ श्यामलालले भने।

विद्युतको शुल्क समयमा भुक्तानी नगरे लाइन काटिने भएकाले छोराहरुले पाउने भत्ताबाटै तिर्दै आएको उनले बताए। छोराहरुले पाउँदै आएको भत्ता उनीहरुको पोषण सुधारको लागि हो भन्ने जानकारीसमेत छैन श्यामलाललाई। तर, ५ वर्ष पूरा गरेसँगै उक्त भत्ता रोकिने बारेमा जानकारी पाएपछि भने उनलाई त्यसपछिको दैनिकी कसरी चल्छ भन्ने चिन्ताले सताउन थालेको छ।

‘जीवनको आधार बनेको उक्त भत्ता काटिएपछि कसरी घरव्यवहार चलाउने?,’ श्यामलालसँग यो प्रश्नको जवाफ छैन।

सुरु-सुरुमा त घरमा जडान गरिएको पानीको महशुल पनि त्यही भत्ताबाटै तिर्थे उनी। पैसाको बचतकै लागि अचेल उनी पिउने पानीको धाराको लाइन कटाएर छिमेकीको धारामा आश्रित हुन बाध्य छन्। उनले भने, ‘धाराको महसुल तिर्दा दैनिक खानपिनमा पैसा नपुग्ने भयो। अहिले छिमेकीको धाराबाट एक गाग्रो पानी भरेर खान्छौं। त्यही पानीले दिनभर पुर्‍याउनु पर्छ। शौचालय जाने पानी हुँदैन, कपडा धुनको लागि १ घन्टाको हिँडाइमा पुग्न सकिने खोलामा जान्छु।’

जेठो छोरालाई यसै वर्षदेखि विद्यालयसमेत पठाएका छन् उनले। ‘५ वर्ष पूरा भएर पनि स्कुल नपठाएको भन्दै घरमै भन्न आउनुभयो। अनि बालमन्दिरमा लगेर भर्ना गरेको छु,’ श्यामललाले भने। तर, विद्यालयमा न त उनले खाजा खान पाउँछन्, न त घरमा नास्ता बनाएर पठाउने आवश्यक अन्न नै छ। पोषण भत्तावापत रकम पाए पनि विवेकले पढ्न जाँदासमेत त्यसको सदुपयोग गर्न पाएका छैनन्।

000

यसअघि दुवै छोरालाई कुपोषण भएपछि विभिन्न संस्थाको सहयोगमा दाङमा रहेको पोषण सुधार गृहमा पनि उनले छोराहरुलाई राखे। पोषण सुधार गृहमा बसेको केही समयपछि छोराहरु साथमै लिएर घर फर्किए श्यामलाल। जेठो छोरालाई त ठिक भयो। कान्छो छोराको भने कुपोषणमा सुधार हुन सकेन। अहिले कान्छो छोरा उठ्न, बस्न सक्दैन। उमेर ४ वर्ष पुरा भयो। हातखुट्टा पनि चल्दैनन्। कान्छो छोरालाई दिनभर घर भित्रै थुनेर कामको खोजीमा निस्कन्छन् उनी।

‘काम नखोजे के खाएर बाँच्ने? त्यसैले दिनभर घरमै थुनेर काममा जान्छु,’ श्यामलालले दुःख पोखे, ‘कहिलेकाहीँ त बिहान निस्केको एकैचोटी बेलुका फर्कनुपर्छ। त्यस्तो बेला दिसापिसाबले घेरिएरको हुन्छ।’

घरमा खाने वस्तु नभएकाले कहिलेकाहीं त दिनभर भोक-भोकै बस्नुपर्छ उनको परिवारलाई। ‘कहिले काम मिली पनि हाल्छ, कहिलै धेरै दिनसम्म काम पाइँदैन। यस्तो बेला भोकै बस्नुको हामीसँग कुनै विकल्प छैन,’ श्यामलालले आफ्नो भोगाइ सुनाए।

000

श्यामलालको जीवन संघर्ष नयाँ भने होइन। श्यामलाल गर्भमै रहेका बेला बुवाको मृत्यु भयो। आमाको मृत्यु हुँदा श्यामलाल १० वर्षका मात्रै थिए। बुवाआमाको मृत्यु भएपछि उनी एक्लै भए। सानै उमेरदेखि भारत जान थालेका दाजु ओविलालले विवाह गरेर उतै बसेपछि दाजुको सहारा मिल्ला भन्ने आश पनि मर्‍यो।

त्यसपछि उनको जीवन निर्वाहको प्रमुख विकल्प ज्यालामजदूरी नै बन्यो। मजदूरीबाटै साँझबिहानको जोहो गर्दै आएका उनले यसै क्रममा अप्सरासँग विवाह गरे।

उनीहरुबाट एक वर्षको अन्तरालमा  दुई छोरा जन्मिए। कान्छो छोरा विकास १ वर्ष नपुग्दै अप्सरा घरबाट निस्किइन्। श्रीमती कहाँ गइन् भनेर निकै खोजतलास गरे श्यामलालले। तर, उनको खोजी निरर्थक बन्यो। अप्सराका बारेमा यथेस्ट जानकारी पाउन सकेनन्। गाउँलेबाट अपुष्ट खबर सुने- अप्सराले अर्कैसँग विवाह गरिसकिन्।

आमाले छोडेर गएपछि नाबालक छोराहरु विवेक र विकासको लालनपालन र हेरचाहको सबै जिम्मेवारी श्यामलालको काँधमा आयो। दिउँसो ज्यालामजदूरी गरेर ल्याएको पैसाले साँझबिहानको छाक टार्थे उनले।

छोराहरुको रेखदेख गर्ने व्यक्ति घरमा नभएकोले आफूले काम गर्ने ठाउँमै लगेर जान्थे उनी। गिट्टी कुट्ने काममा श्याम तल्लिन हुँदा विवेक र विकासको दैनिकी भने धुलोमै बित्थ्यो। तीन बाबुछोराको दिनचर्या लामो समय यस्तै गरी बित्यो।

शिक्षा र स्वास्थ्यलाई मौलिक हक भनिए पनि श्यामलालको परिवार यस्ता राज्यबाट प्राप्त हुने यस्ता संवैधानिक अधिकार प्राप्तिको बाटोमा सधैं किनारमा रहन बाध्य छन्।

गरिबीका कारण कुपोषित छोरा विकासको उपचार गराउन सकेका छैनन् भने विवेकलाई विद्यालय पठाउनसमेत धौ-धौ परिरहेको छ। स्वस्थ खानेपानी र सरसफाईको बहस भइरहँदा श्यामलालको परिवारका लागि यसले कुनै आशाको दियो बाल्न सकेको छैन।

अझ भनौं देशमा ठूलै राजनैतिक परिवर्तन भए, तर श्यामलालजस्ता अति विपन्न परिवारका लागि यस्ता परिवर्तनको अर्थ के त? यो प्रश्न श्यामलालजस्ता धेरैको प्रतिनिधि प्रश्न हो। अब उनीहरु यस्तै प्रश्नहरुको जवाफ खोजिरहेका छन्।

यो समाचार हामीले नेपाललाइभबाट साभार गरेका हौ ।

प्रतिकृया दिनुहोस्