RaraNews

अमृता अनमोल प्रकाशित : २०७६/५/६ गते
१८३ पटक

बुटवल — किशोर उमेर स्वतन्त्र रूपमा पढ्ने, खेल्ने र सिक्ने बेला हो । मधेसका धेरै छोरीलाई भने यस्तो अवसर छैन । किशोरी हुन लाग्यो कि बाबुआमाको ध्याउन्न विवाह गरिदिने हुन्छ । त्यसपछि पढाइ र स्वतन्त्रता दुवै गुम्छ । यो हुन नदिन रूपन्देहीका केही छोरीले बालविवाहविरुद्ध अभियान चलाएका छन् ।

बालविवाह भोगेका र बालविवाहको जोखिममा रहेका छोरीहरूले त्यसको अगुवाइ गरेका छन् । ‘अब मेरो पालो’ नामको किशोरी अभियानमा २ हजार २ सय ७७ सहभागी छन् । उनीहरू आफ्नै आमाबाबुलाई सम्झाउँदै विवाह रोक्ने गर्छन् । अहिलेसम्म २ सय २० जनाको बालविवाह रोकेको उनीहरूले बताए ।

१६ वर्षीया शशीकला यादव यिनैमध्येकी एक अभियानकर्मी हुन् । उनी कर्महवा माविमा १० कक्षामा पढछिन् । अरू दिन विद्यालय जान्छिन् । छुट्टीको दिन बालविवाह रोक्ने अभियानमा सरिक हुन्छिन् । तीन वर्षअघि उनको विवाहको कुरो चल्यो । शशीकलाले विवाह रोक्न बाबुआमासँग आग्रह गरिन् । तर, मानेनन् ।

विद्यालयका शिक्षक र साथीलाई गुहारिन् । सबै जना मिलेर बुबाआमालाई सम्झाए । विवाह गरिदिए प्रहरीमा उजुरी गर्ने चेतावनी दिए । बाबुआमाले बाध्य भएर विवाह रोके । ‘गाउँमा मजस्ता धेरै किशोरी विवाहको जोखिममा छन्,’ शशीकलाले भनिन्, ‘त्यसैले आफ्नो विवाह आफैंबाट रोक्ने अभियान चलाएका हौं ।

’यसमा विद्यालयका शिक्षक र गाउँका जनप्रतिनिधिले पनि सहयोग गरेको उनले बताइन् । ‘सानैमा विवाह हुँदा पढ्न पाइन्न । आत्मनिर्भर भइन्न । उमेर नपुगी आमा बन्दा शरीर कमजोर बन्छ । हिंसामा परिन्छ,’ शशीकलाले भनिन्, ‘बाबुआमालाई यस्तो समस्यामा नफसाउनूस् भनेर सम्झाउँछौं ।

’कर्महवाकी १७ वर्षे पुष्पा हरिजन बालविवाहविरुद्धकी अर्की अभियन्ता हुन् । कक्षा ७ मा पढदै उनको विवाह तय भएको थियो । उनले पढाइ पूरा नगरी विवाह नगर्ने बताइन् । तर, परिवारले मानेनन् । उनले विद्यालयका शिक्षक र प्रहरीको सहयोग मागिन् । विवाह रोकियो । लगत्तै बालविवाहविरुद्धको अभियानमा लागिन् । उनी बिहान क्याम्पस पढछिन् । दिउँसो नवजीवन इंग्लिस बोर्डिङ स्कुलमा पढाउँछिन् ।

छुट्टीको दिन बिहानैदेखि बालविवाहविरुद्धको अभियानमा लाग्छिन् । ‘मधेसका छोरीहरू पनि पढाइ पूरा गर्न चाहन्छौं । आफ्नो खुट्टामाउभिन चाहन्छौं,’ पुष्पाले भनिन्, ‘त्यसैले अबोध बालिकालाई विवाह गरिदिने चलन रोक्न लागेका हौं ।’ आफ्नो समूहले बालविवाह रोक्न घरदैलो, नाटक, बैठक र बाबुआमाको भेला गर्ने गरेको उनले बताइन् ।

१६ वर्षीया खुस्बु हरिजन कोटहीमाई गाउँपालिका–४, बयरघाटकी हुन् । उनले कोटहीमाईसहित मर्चवारी र सम्मरीमाई गाउँपालिकामा अभियान चलाएकी छन् ।‘हाम्रो समुदायमा महिनावारी नहुँदै छोरीको विवाह गरे धर्म हुन्छ भन्छन् । मेरो पनि १३ वर्षमै विवाह तय भएको थियो,’ उनले भनिन्, ‘हामी धर्मका नाममा छोरीमाथि भएको पाप रोक्न चाहन्छौं ।’ उनको अगुवाइमा स्थानीय तहका सबै वडामा बालविवाह अपिल बुझाइएको छ । विद्यालय, सडक, चोकलगायतमा सडक नाटक, र्‍याली र अन्तरक्रिया भएको छ ।

ओमसतिया गाउँपालिका–५, छोटकी रामनगरकी मीना पासीको १२ वर्षकै उमेरमा बिहेको कुरा चल्यो । अबोध बालिकाले प्रहरी गुहार्ने धम्की दिइन् । विवाह रोकियो । अहिले १९ वर्षकी भइन् । आफ्नै अगुवाइमा गाउँपालिकामा बालविवाहविरुद्ध अभियान चलाएकी छन् । ‘मधेसमा छोरीलाई नपढाउने र सानैमा विवाह गरिदिने दुवै चलन छन्,’ उनले भनिन्, ‘यसलाई फेर्नुपर्छ भनेर लागेकी छु ।’नेपालको संविधानले २० वर्षमुनिको विवाहलाई अवैध मानेको छ । शिक्षित र सम्पन्न परिवारमा कम भए पनि यहाँका दक्षिण भेगका लोध, हरिजन, कलवार, पासी, गुप्ता, ठहरे, कुर्मी, पासवान, मौर्य, थारूलगायतमा अझै पनि बालविवाह व्याप्त रहेको अध्ययनले देखाएको छ । चार वर्षदेखिसुरु अभियानमा १२ देखि १९ वर्षकाकिशोरी सहभागी छन् ।

अमृता अनमोलले लेख्नुभएको समाचार कान्तिपुर दैनिकबाट साभार गरिएको हो ।

प्रतिकृया दिनुहोस्