RaraNews

धुव्रसत्य परियार प्रकाशित : २०७४/९/२० गते
११२ पटक

काठमाडौं ।

मेरो जात—
मैले पहिरिएको पहिरन भइदिए
खोलेर कालीमा बगाइदिन्थेँ
आफू सर्वांग नांगो भएर
मन्दिरलगायत सार्वजनिक ठाउँहरुमा
मनलागी घुमिदिन्थेँ
जातै फालेर हिँडेपछि कसले रोक्ने मलाई ?

 

मेरो जात—
मेरै शरीरको रौँ भइदिए
खौरेर जलाएर खरानी पार्थें
त्यही खरानीको तिलक लगाएर
तीर्थ–यात्रा गर्थें
कसैले सोधेछ भने
यो घुसखोरीबाट बरामद भएको
रक्तचन्दनको लेप हो भनिदिन्थें
कसले रोक्ने मलाई ?

मैले सिंहदरबारको अग्लो गेटबाट
उमादेवी वादीको गुन्यू–चोलीसँगै
मेरो देशको झन्डा लत्रेको देखेँ
मेरो पनि मन छ
माया छ माटोको
मलाई पनि लाज लाग्छ
देख्दा आमाको गुन्यू फाटेको
हो, मेरो जात मेरै आँखा हो रैछ
र त यो दुर्दशा देख्नुपरेको
अब मैले बेलालाई बुझ्नैपर्छ
र, बुझ्दै छु पनि
एकपटक मैले आफ्ना आँखाहरुमा
कालोपट्टि बाँध्ने बेला आएको ।

म हिजोआज अरु बढी नै भड्केको छु
म नभड्केको भए
वा, मलाई नभड्काइएको भए
कुनै कीर्ति फैलने कर्म गर्न नसके पनि
भैंसी पालेर दूध बेच्थेँ
तर, मेरो जात ?
मेरो जात—
मेरी आमाको पुरानो गुन्यू भइदिए
मैले पनि मेरी आमालाई नयाँ गुन्यू फेरिदिन्थेँ ।

साभार- बकपत्र–०६५ कवितासंग्रह

प्रतिकृया दिनुहोस्