RaraNews

जागरण मिडिया प्रकाशित : २०७४/९/२० गते
२११ पटक

गुल्मी।

एउटा हातमा लौरोको साहरा, अर्को हातमा श्रीमतिको । गुल्मी अर्वेनीका लालबहादुर सुनारको कस्तो शौभाग्य ! ८१ वर्षको उमेरमा विवाह हुँदा छोरा र नाती जन्ती , सिडियो प्रमुख अतिथी ।

यसअघि अर्वेनी ५ का लालबहादुर सुनारले स्थानीय व्राम्हण समुदायकी ४३ वर्षिया महिला सवित्रा न्यौपानेसँग प्रेम सम्बन्ध राखेको आरोपमा गाउँ निकला भई त्यहाँका सिमित मानिसहरुले उनको घर भत्काउन लगाई वनवास पठाएको खबर रातोपाटीमा आइसकेको छ ।

उनै लालबहादुर र सावित्राले त्यो उमेरमा पुनर्विवाह गरेका हुन् । जुन स्थानमा अभद्र व्यवहार गर्दै गाउँ निकला गरिएको थियो, त्यसै स्थानबाट बाजा बजाउँदै उनीहरुलाई नव दम्पत्तिका रुपमा घरमा लगेर स्थानियवासी, दलित अधिकारकर्मी र सरकारी अधिकारीसहितको टोलीले भित्र्याएका हुन् ।

अभद्र व्यवहार गरिएको स्थान अर्वेनी गाविस भवनको प्राङ्गणमा आयोजित पुर्नस्थापना कार्यक्रममा ति दुवैलाई गुल्मीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुङ्गानाले दोशल्ला ओढाँउँदै दुई हात जोडेर अभिनन्दन समेत गरेका छन् ।

भत्काईएको उनको घर स्थानिवासीले बनाएर उनिहरुलाई स–सम्मान पुनस्थापना र नौमति बाजामा नाँचगान गर्दै पुर्नविवाह गरीदिएका हुन् । पहिला खरले छाएको घर थियो अहिले टिनको छानाले छाइएको छ, दुई वटा कोठा र चिटिक्क परेको शौचालय समेत बनाईएको छ ।
गाविस भवनबाट पुर्नविवाहको टिका–टाला ग्रहण गर्र्दै बाजा गाजाका साथ अगाडी बढ्दै गरेको बेला ति नव दम्पत्तीलाई प्रमुख जिल्ला अधिकारी ढुङ्गानाले सुखद् दाम्पत्य जीवनको शुभकामना समेत दिए । उनको शुभकामना ग्रहण गर्दै लालबहादुर एउटा हातमा लौरो टेक्दै र अर्को हातले दुलहीको हात समाउँदै लागे डेढ महिना पछि नवनिर्मित घरमा वस्न ।

करिव १५ मिनेटको उकालोबाटो सम्म उनले नवदुलहीको हात छाडेनन् । बाटोमा लल्जालु मुद्रमा रहेकी सावित्राले पनि उनको हात छोडेकी थिइनन् । सदरमुकामबाट पुगेका दर्जनौ दलित अधिकारकर्मी , मानवअधिकारकर्मी , पत्रकारहरु सयौं स्थानियवासी जन्तीका रुपमा गाविस भवनदेखि माथि जंगल विचमा रहेको उनको घरमा पुग्दै गर्दा खुशीले गद्गद ति दम्पत्ती घरको आँगनमा कम्मर मर्काउँदै नाँचेका ।

४३ वर्षिया वेहुली नाँच्दानाच्दै अलि लजाए जस्तो गरिन् । ८१ वर्षीय बेहुलाले उनलाई अझै नाच्न संकेत गर्र्दै थिए । बेहुलीको लज्जालु मुद्रलाई ध्यानमा राखी जिल्लाबाट पुगेका उत्पीडित जातिय मुक्ति समाजका केन्द्रिय सदस्य कृष्ण सुनारले ‘भैगो उहाँ लजाउनु भयो अव भित्र पसाउने काम गरौं’ भने ।

घरभित्र पसाउने क्रममा नन्दको ठाउँमा बुहारी दैलोमा उभिएकी थिईन् भने ३८ वर्षिय छोरा अनुराम र ३ वर्षिय नाती जन्तीको पंक्तिमा । काँदाकुरी छोरालाई लगाएर उभिएका अनुराम पनि निकै हर्षित मुद्रामा देखिन्थे । कस्तो लागेको छ त हिजो गाउँ निकला भएका तपाईहरुलाई आज स–सम्मान घर भित्रिन पाउँदा ? भन्ने प्रश्नमा ति दुवैले भने–‘ असाध्यै खुशी छौं सवैको जय होस् । ’

२२ वर्ष अघि श्रीमतीको मृत्यु भई बेसहरा भएका लालबहादुरले जोडी पाएकोमा औधी खुशी हुनु स्वभाविकै थियो । त्यति नै खुशी प्रमुख जिल्ला अधिकारी देखि सहभागी सवै थिए । त्यही खुशीयालीमा धेरैले बाजाको तालमा नाँचेर खुशियाली मनाएका थिए ।

‘मैले दलित होईन देउता नै पाएँ ’

नव दुलहीका रुपमा घर भित्रिएर कोठाको पलङमा नवदुलाह, उनका छोरा–बुहारी र नातीसंगै बसेकी सावित्राले आँसुमा डुवेर वाहुनी हुनु भन्दा माया पाएर दलितको श्रीमती हुनु वेश लागेर लालबहादुरलाई माया गर्दै आएको बताईन् ।

आफु बाल्यपन छँदा र विवाह पश्चात पनि परिवारमा दलितहरुलाई तल्लो जात ठान्ने भए पनि आफुले बुझे देखि कुनै भेदभाव नगरेको उनले बताईन् । यसै गाउँका शिक्षित बुद्धिजिवीहरुले विभेद गरेर यो हाल बनाए पनि म अनपढले मानिस सवै वरावर ठान्छु भन्दै उनले भनिन कसैले दलित संग गई थुईया भने पनि मैले देउता सरहको साहरा पाएकी छु उनले मुस्कुराँर्दै भनिन् ।

कत्तिको माया दिनु हुन्छ त ? भन्ने प्रश्नमा उनले लज्जालु मुद्रमा आँखा ओछाउँदै भनिन्‘ माया ममता र भोकमा खान दिएरै त आएकी हुँ । ’ उनले व्राम्हण समुदायका पुर्वपतिले जाडरक्सी पिएर रातदिन कुटपिट गरेको आरोप पनि लगाईन् । सहन नसकेर ३ वर्ष बुटवल र त्यतिनै समय काठमाण्डौको होटलमा जुठा भाँडा माझेर बसेको र घर फर्केको दुई तिन महिनादेखि आफुलाई कुन वाहनामा निकालौ भन्दै श्रीमान र छिमेकका केहि मान्छेहरु लाग्दै आएको उनको भनाई छ ।

घट्ना स्मरण गर्दै उनले आफु त्यसदिन हेराउन भनि विहान करिव ५ वजेतिर आएर लालबहादुरको घरभित्र पसेकै वेला त्यस्तो आरोपसगै आफुहरुलाई हात बाँधेर गाउँ डुलाएको उनले बताईन् । उनिहरु दुई दिनसम्म भिर जंगल बीचको ओढार दुई दिन दुई रात विताएको बेला उनको आफन्तले भेटाएर गाउँ फर्काएका थिए ।

अर्वेनी गाविस कार्यालय सहायक झविलाल न्यौपानेको अगुवाईमा भेला भएका गाउँवासीले पौष १ गते ति दुई दम्पत्तीलाई पुर्व पतिबाट सम्वन्ध विच्छेद गराई उनिहरुको सम्वन्ध स्थापित गराई दिएका थिए । तर, शनिवार अर्वेनी दलित साझा मञ्चद्धारा आयोजित पुनस्थापना कार्यक्रमको अध्यक्षता अर्वेनी गाविस सचिव भोजबहादुर रानाले गरेका थिए ।

पुनस्थापना कार्यक्रममा बोल्दै गाविस सचिव रानाले सुरुमा गल्ती कम्जोरी भए पनि त्यसलाई सच्चाउनु र अपमानित भएका उनिहरुलाई स–सम्मान पुनस्थापना गर्दा न्यायको एक पाटो भएको बताए ।

गाविस सहायक न्यौापनेले भने सदरमुकाममा भएका गाविस सचिव रानालाई जानकारी नै नदिई जवरजस्ती औठा छाप गर्न लगाईएको कागजमा अर्वेनीका तिन वटा प्रमुख दलका नेताहरुको समेत हस्ताक्षर रहेको छ । गाविस सहायक न्यौपानेले आफुलाई त्यस्तो कागज लेख्न लगाई दलका नेताहरुले फँसाएको गुनासो गर्दै आएका छन् ।

मैले गाउँ नकला गरेको पनि होईन र घर भत्काउन पनि लगाएको होईन । ति सवै गरेको ति महिलाका पुर्वपतिका भतिजा चिन्तामणी न्यौपानेले हो , प्रहरीको नजरमा सम्पर्क विहिन भनिएका गाविस सहायक न्यौपानेले यो समाचारदातासंग फोन मार्फत यस्तो गुनासो गरेका हुन् ।

एक दिन कठघरामा उभ्याँइन्छ : प्रजिअ

पुनस्थापना कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी ढुङ्गानाले गाउँ निकला गर्ने अभियोगमा केहि सार्वजनिक अपराधको मुद्धा लागेका चिन्तामणी न्यौपाने र अर्वेनी गाविस सहायक झविलाल न्यौपाने हालसम्म फरारा रहेको बताए । उनले उनिहरु जति दिनसम्म फरार रहेपनि एक दिन कानुनी कठ्घरामा ल्याउने बताए ।

यसरी गाउँमा लुकेको र दवेको घटना खोजपत्राकारिता मार्फत रातोपाटीले उठान गरेको प्रति प्रमुख जिल्ला अधिकारीले धन्यबाद समेत दिए । उनले पुनस्थापना पनि न्यायको एक हिस्सा भएकोले यसलाई हाम्रो समाजको मेलमिलाप र सहिष्णताका रुपमा लिनु पर्ने धारणा राखे । नकरात्मक सन्देशपछि नै सकरात्मक सन्देश आउने बताउँदै उनले अर्वेनीले हिजो नराम्रो सन्देश दिए पनि आज उनैहरुले स–सम्मान पुनस्थापना गरेर देशैभर सकरात्मक सन्देश दिएकोमा धन्यवाद दिए ।

एकताबद्ध अधिकारकर्मी : 

गुल्मीको गाउँ निकला घटना बाहिरा आएलगत्तै स्थानियदेखि क्षेत्र र केन्द्र सम्मका अधिकारकर्मीहरु त्यसविरुद्ध एकताबद्ध भएका छन् । राष्ट्रिय दलित आयोग स्थानीय तहमै आएर बुझ्यो । ईन्सेकको जिल्लादेखि क्षेत्र र केन्द्रले दैनिकजसो यस घटनाबारे चासो लिई रह्यो । अन्य मानवअधिकारवादी संस्थाहरुको पनि त्यतिकै चासो रह्यो ।

यहाँस्थित नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रसहित सवै राजनैतिक दलका दलित संगठन साझा मञ्चका रुपमा पीडित लालबहादुरलाई न्याय दिलाउन लागी परेका छन् ।

पुन:स्थापना कार्यक्रममा उत्पीडित जातिय मुक्ती समाजका केन्द्रीय सदस्य कृष्ण नेपाली , नेपाल दलित संघका जिल्ला अध्यक्ष झविन्द्र बिक, मुक्ती समाजकै जिल्ला अध्यक्ष दलबहादुर बिक, दलितमुक्ति मोर्चाका जिल्ला अध्यक्ष धर्म बिश्वकर्मा , दलित महिला संघकी अध्यक्ष कमला बराल लगायतले मन्तव्य राखेका थिए ।

(जागरण मिडियाको ब्लगमा २०७३ माघ १७, प्रकाशित )

प्रतिकृया दिनुहोस्