RaraNews

केपी अनमोल प्रकाशित : २०७४/९/२० गते
२५५ पटक

लभ इज ब्लाइन्ड। हो, प्रेम अन्धो हुन्छ। प्रेमी र प्रेमिकाको हृदयमा गढेको यो यथार्थ डाइलग हो। पवित्र प्रेमको मूल मन्त्र पनि यही हो भन्ने लाग्छ।

पवित्र प्रेम यस अर्थमा अन्धो हो, जहाँ कुनै धनी, गरिब, रंग, धर्म र जातको मतलब हुँदैन। जहाँ निस्वार्थ माया प्रेम गरिन्छ एक अर्कालाई। जब युवा र युवतीबीच आत्मीयता बढ्छ, एकअर्काप्रति अपनत्व भाव पैदा हुन्छ। हो, त्यहीँबाट प्रेमको बिजारोपण हुन्छ एकअर्काको हृदयमा। बिस्तारै प्रेम पलाउँदै, हुर्कंदै, बढ्दै जान्छ अनि प्रेमी र प्रेमिका एकअर्कामा आफ्नोपना पाउँछन् र एकअर्काप्रति समर्पित हुन्छन्।

आत्मीयता सबैभन्दा महान् हुन्छ। त्यही आत्मीयतामा प्रेम हुन्छ। त्यहाँ धनी, गरिब, रंग, धर्म र जात केही हुँदैन।

जीवन जिउन सबैलाई प्रेम अपरिहार्य कुरा हो, त्यो जोसुकैसँग पनि हुन सक्छ। पारिवारिक प्रेम, भाइचाराको प्रेम, सामाजिक प्रेम र देश प्रेम। यो खालको मायाप्रेमले सामाजिक र सांस्कृतिक परम्परा थेगेको पनि हुन्छ। फेरि यहि खाले प्रेम सम्बन्धले नमिठा तीता घटना पनि समाजमा हुने गर्दछन्। भाइ-भाइ बीचको द्वन्द्व, समाजमा वर्गीय द्वन्द्व, देश देशबीच स्वाभिमानको द्वन्द्व। यस्तो प्रेमको पाटोमा छुट्टै चर्चा हुन सक्ला।

तर, मानिसलाई व्यक्तिगत जीवन सांसारिक र समाजिक परम्पराको निरन्तरताका लागि केटालाई केटी र केटीलाई केटा नै चाहिन्छ, जीवनको लीला समाप्त नहुँदासम्म। त्यसैले त यस्ता माया प्रेमका थुप्रै कहानी सुन्न र पढ्न पाइन्छ।

यही मायाप्रेमकै लागि त्रेतायुगमा राम र रावणबीचको द्वन्द्व होस् या पार्वतीले भगवान् शिवलाई पाउनका लागि गरेको कठोर तपस्या होस् या मुरलीधर कृष्ण कह्नैयाले सयौँ गोपिनीलाई आफ्नो प्रेममोहमा पारेको घटना होस्, त्यसपछिका समयमा लैला-मजनु र मुना-मदनका हृदयस्पर्शी प्रेमकथाहरू अमर बनेका छन्। त्यसकै अनुयायी पनि हुने कोसिसमा हामी रहन्छौँ कहिलेकाहीँ।

अब मूल कुरामा आउँ! यतिखेर नेपाली मिडिया, देशविदेशमा सञ्चालित अनलाइन पत्रिका र समाजिक सन्जालमा बसन्तपुरको एसिड काण्डले निकै चर्चा पाएको छ। घटनलाई विभिन्न तरिकाबाट व्याख्या विश्लेषण भइरहेका छन्। तथापि दोषीमाथि कडा कारबाही हुनु त छँदैछ। यही विषयमा मैले केही दिन अगाडि मात्रै ‘एसिड प्रकरणसँगै जोडिएको जातिय विभेद’ भनेर स्टाटस लेखेको थिएँ। मैले केही मत बुझ्न चाहेको थिएँ। केही मित्रका प्रतिक्रिया यस्ता आए –

गणेशदत्त भट्ट–  अपराधको कुनै जात हुँदैन।

प्रशान्त ओझा– जन्मँदै कुनै मान्छे अपराधी या साधु हुँदैन। समाजले हरेक मान्छेलाई अपराधी या साधु बनाउँछ। जीवनको सन्दर्भमा समाजले उसलाई अपराधी बनाएको केही हदसम्म भन्न सकिन्छ। तर, उसले गरेको अपराध होइन भन्न सकिन्न। यो विषयमा बहस गर्नुपर्छ ता कि संगीताहरू फेरि जीवन जस्ताको सिकार नहोऊन्।

प्रकाश भट्ट – जातीय भेदभावको जरो उखेल्न यस्तै विचारहरूको खाँचो छ।

गोपाल शिवा – जीवन निर्दोष भन्ने कुरै हुन्न किनकि जीवनभर कुरूप बनाउने गरी जीवनबाट गरिएको एसिड आक्रमण क्षम्य हुने विषय नै होइन। तर, यसरी एसिड प्रहार गर्ने जीवनको परिवारलाई दलितका नाममा थिचोमिचो दमन जातीय विभेद गरी उक्साउने कार्य भएको छ, त्यो कारक हो र अक्षम्य अपराध नै हो।

हो, बसन्तपुरमा भएको एसिडकाण्डका अभियुक्त जीवन विश्वकर्मा निर्दोष हुनै सक्दैनन्। किनकि उनले गरेको एसिड आक्रमणले संगीता मगर मात्रै होइन, घटनाका अन्य पीडित र उनीहरूको परिवारलाई कम्ती पीडा दिएको छैन। जीवनको यो व्यवहार क्रूर र अमानवीय छ। उनले गरेको अपराधका आधारमा उनलाई कारबाही गरिनुपर्छ।

कुनै पनि अभियुक्तबारे अनुसन्धान र कारबाही प्रक्रिया चलिरहँदा उसको पृष्ठभूमि र घटनाको धरातल बुझिन्छ। त्यो एसिडकाण्डका अभियुक्त जीवनबारे पनि विस्तारमा बुझियोस्। घटनाको कारक के हो? कसरी यस्तो अपराध हुन गयो? केही कुरा प्रहरीबाट अनुसन्धानका क्रममा बाहिर आइसकेको छ।

जस्तो कि- जीवन पहिलादेखि नै यस्ता आपराधिक क्रियाकलाप, दुर्व्यसनीमा फसेको व्यक्ति होइन। ऊ एकदमै मिहिनेती, पढाइमा जेहेन्दार केटो हो। प्राय: किशोर अवस्थामा हर कोही आफ्नो भविष्य र परिवारप्रति त्यति चिन्तित हुँदैन। एकपल्ट हामीले आफ्नो किशोर अवस्था फर्केर हेर्दा अझ प्रष्ट हुन्छ। त्यो अल्लारेपना सबै किशोर-किशोरीमा हुन्छ भन्ने मेरो सतप्रतिशत दाबी होइन, प्राय हुन्छ नै।

तर, अभियुक्त जीवन विश्वकर्मा आफ्नो भविष्य र परिवारप्रति निकै चिन्तित र सचेत देखिन्छन्। उनीबारे मिडियामा आएका कुराहरूबाट यो प्रष्ट हुन्छ। त्यसमा सचेत नागरिक, आम अधिकारकर्मी र प्रहरी प्रशासन पनि सकारात्मक बन्नुपर्छ। मेरो भनाइ जीवनलाई माफी होस् भन्ने पटक्कै होइन। उनलाई घटनाको प्रकृति अनुसार कानुनबमोजिम कडा कारबाही गरियोस्।

प्रेममा धोका प्राय: सबैले पाएका छन्, एक न एकचोटि। त्यो कुरा तपाईं-हामी भन्न चाहदैनौं। तर, प्रेमपीडामा उसले आफ्नै प्रेमी या प्रेमिकालाई सिध्याउँदैन्, बर्बाद गर्दैन। यस्ता खबर निकै कम सुनिन्छन् पनि।

बरु, प्रेममा धोका खानेहरू ‘तिमीले धोका दियौं, पख म मरिदिन्छु तिम्रै लागि, तिमी सधैं खुसी रहनू’ भनेर मानसिकरूपमा विक्षिप्त भई आत्महत्या गर्छन्। जुन घटना, धेरै देख्न र सुन्न पाइन्छ। प्रेमले बदला लिँदैन, बरु त्याग गर्छ। आफ्नो देह नै त्याग्न तयार हुन्छ मान्छे, केवल चोखो प्रेमका लागि।

कहावत त छ नेपाली समाजमा- भोकले जान्दैन्, जुठो भात। निदले भन्दैन, टुटेको खाट। प्रेमले चिन्दैन जातभात। तर, बसन्तपुरको एसिड काण्डमा त्यही चोखो प्रेमले जातभात खोजेपछि अपराध जन्मियो।

यो कस्तो विडम्बना! प्रेमका पुजारीहरूका लागि र मानवीय समाजका लागि कलंक हो। जीवनको भनाइअनुसार उनी र संगीता पुलामीमगरबीच प्रेम सम्बन्ध थियो। एउटै घरमा बस्दा, उठ्दा उनीहरूबीच प्रेम पलाएको थियो। उनीहरू बीच हिमचिम भएकाले नै संगीताका भाइले जीवनसँग पैसा माग्थे, उनीहरूको प्रेम बसेको कुरा घरमा नभन्ने सर्तमा। यसरी नै संगीता र जीवनबीचको प्रेम हुर्कंदै थियो।

मलाई लाग्छ, संगीताका घरकाले पनि थाहा पाएको हुनुपर्छ उनीहरूको बीचको सम्बन्ध। जब अभिभावकले संगीताका भाइको खल्तीमा पैसा देख्दा हुन् कसैगरी, अनि संगीता र जीवन कहीँकतै भेटेर फरक कुराकानी गरेको देख्दा। केटो लायकदार छ, मिहिनेती छ, ठिकै छ। जे गरून् भनेर देखे-नदेखे, बुझे-नबुझे गर्दा होलान्। यो मेरो बुझाइ गलत पनि हुन सक्छ।

जब एकदिन जीवन ‘दलित’ हो भन्ने थाहा हुन्छ, मगर परिवारमा मानवीय सोच व्यवहार हरण हुँदै अमानवीय व्यवहारले रिसको आगो सल्काउँछ र जीवनको परिवारमाथि विभेद र घृणा सुरु गर्छ। त्यो कलंकित सोचले जीवनको परिवार कुटिनदेखि धारामा पानी थाप्न नदिनेसम्मको स्थितिमा पुर्‍याउँछ।

अनि चाहदा नचाहँदै परिवारको दबाबमा संगीता पनि जीवनबाट टाढिन खोज्छिन्। जीवनको प्रेमले त्यो रंगीन सपनाको महल सजाउन नपाउँदै जातीय विभेदको गहिरो पीडा उपहार पाउँछ। र, जीवनभित्र संगीताका लागि हुर्कंदै गरेको चोखो निस्वार्थ प्रेमले जात खोज्दै आफूलाई लखेट्न खोजेपछि बाध्य भई प्रेमको बदला भन्दा पनि जातीय विभेदको प्रतिकारमा उत्रन जीवन बाध्य भएको देखिन्छ।

अब सोचौं ! प्रेमले एसिड जन्माएको हो कि जातले ?

जबसम्म जीवन दलित हो भन्ने कुरा थाहा थिएन, तबसम्म सबै कुरा ठिकै थियो। त्यो प्रेम चलिरहन्थ्यो र एकदिन जीवन र संगीताको प्रेम सफल हुन्थ्यो। त्यो ठूलो कुरा पनि भएन। तर, निस्वार्थ प्रेमले जात खोज्दै पशुतुल्य व्यवहार गर्दा यो २१औं शताब्दीको सचेत युवाले कसरी सहन सक्छ? बरु ज्यान जाओस्।

जहाँ भगवान बस्छन् भन्थे, त्यहाँ बाँदर पुगिसकेको यो युगमा, आफूजस्तै मान्छेलाई कुकुरभन्दा तल्लो स्थानमा राख्दा ‘जदौ’ भनेर ढोग्ने दिन गएको कतिपय महाशयलाई अझै चेत छैन। त्यसैले यस्ता अपराध जन्मन्छन् समाजमा। जसमा नेपाली समाज, सम्बन्धित निकाय र राज्य गम्भीर हुन आवश्य छ। दलितमाथि हुने गरेका विभेद नरोकिने हो भने प्रतिशोधले अन्य समुदायमाथि पनि आक्रमण हुनसक्छ। जीवनमा आत्मसम्मान सबैभन्दा ठूलो कुरा हो, आत्मसम्मान विमुख हुनुपर्ने वा जातकै आधारमा अपमानित हुनुपर्ने अवस्था रहेसम्म अब यस्ता प्रतिशोधका घटना नबढ्लान भन्न सकिँदैन।

यहाँ पहिचान मात्रै दिइएन भने पनि देशै बर्बाद गरिदिने आवाज उठिरहेका बेला एउटा दलित कहलाइएको नेपालीको छोराले जनजातीकी छोरीसँग प्रेममा पार्दा आफ्नो सर्वश्व चितामा जलाउनु पर्ने अवस्था आएको छ। यही नेपाली समाजका कारण हो।

जसले वर्गीय विभेद जन्मायो, जातीय उत्पीडन बचाइराख्यो, यसको दोषी राज्य हो। यसका साथै आफूलाई सचेत, शिक्षत दाबी गर्ने विभेदकारी एउटा समूह पनि हो। देश छुवाछुत मुक्त भइसकेको वर्षौँ हुँदा पनि देशको राजधानीमै जातीय छुवाछुतका घटना हुनु अति लाजमर्दो कुरा हो। यदि यहाँ साँच्चीकै सभ्य मानव बस्छन्, र राज्यको अलिकति नैतिकता बाँकी रहेको छ भने अब पनि नसोचे कहिले सोच्ने ?

एसिड काण्डलाई एकतर्फीरूपमा हेरियो भने यो बहस तत्कालका लागि बिलाएर जाला तर कालान्तरमा ज्वालामुखी भएर न निस्केला भन्ने के आधार छ र हामीसँग ?

घटनाको धरातल टेकेर अनुसन्धान गर्दै पीडितलाई न्याय र पीडकलाई कारबाही होस् भन्नेमा दुईमत कसैको छैन। जीवनको एसिड काण्डमा चर्को जातीय विभेदको कुरा बाहिर आएपछि अहिले दलित अधिकारकर्मी र विभिन्न संघसंस्थाबीच गम्भीर बहस सुरु हुँदैछ। यो सचेत नागरिकबीच पनि हुन आवश्यक छ। त्यो बहस जीवनलाई उन्मुक्ति दिने र संगीतालाई न्याय पाउनबाट बन्चित गर्ने खालको भए तिनीहरू बढी सजायको भागीदार हुनुपर्नेछ। मुर्ख्याइँ कदापी हुने छैन। त्यो ताकत कसैसँग छैन पनि।

बरु जातीय विभेदलाई अब जरैदेखि उखेल्न एकचोटि जोडतोडसाथ प्रणसहित लाग्न अतिआवश्यक भइसकेको छ। यो कुरालाई हामीले चुप लागेर बस्दा भोलि नेपाली समाजमा अपत्यारिलो विभेदविरुद्धको युद्धको सामना हामी सबैले गर्नुपर्ने दिन नआउला भन्न सकिन्न। सुनिन आउँदैछ- एसिड काण्ड प्रेमको बदला नभई विभेदको विस्फोट हो। यो निकै डरलाग्दो हुनेछ। त्यसैले बेलैमा सचेत हुन आवश्यक छ।

मुक्ति र अधिकारका नाममा फूर्ती मात्रै झार्ने र देश विदेशको मोटो रकमले आफू मात्रै मुक्त हुने त्यस्ता व्यक्ति र संघसंस्थाप्रति जीवनहरूको एसिड प्रहार हुने दिन त्यति टाढा छैन् भनेर पनि बुझ्न ढिला गर्नु हुँदैन।

जीवनले आवेगमा आएर गरेको अपराधका कारण उनको जीवन त अन्धकार हुने नै छ। तर, उनको परिवारले काठमाडौँमा चिसा पसल गरेर गर्दै आएको जीविकोपार्जनको ग्यारेन्टी अब राज्यले दिनु पर्छ। किनकि त्यो परिवारको अवस्था सार्वजनिक भएपछि उनको सुरक्षा र जीविकोपार्जनमा समस्या देखा पर्न सुरु भएको छ। त्यसैले यसमा राज्य गम्भीर हुनु जरुरी छ।

अब अन्त्यमा,

एसिड काण्ड कुनै हालतमा क्षमायोग्य छैन। यो महिला हिंसाको अति नै संवेदनशील घटना पनि हो। एसिड आक्रमणका अभियुक्त जीवन विश्वकर्मालाई कारबाहीस्वरूप जन्मकैदसम्मको हुनुपर्ने अवाज पनि सुनिन थालेको छ। यसमा मेरो आपत्तिभन्दा पनि एउटा सुझाव मात्रै छ।

एसिड आक्रमणबाट सख्त घाइते संगीता पुलामीमगरको अनुहारमा आएको कुरूपता जीवनलाई जन्मकैद गरेर मेटिने छैन। संगीताको मनको त्यो घाउ कसैले मेट्न पनि सक्ने छैन्न। न त त्यो औषधीले उनको मुहारको चमकता र सुन्दरता फर्काउन नै सक्नेछ। भोलि पढेर ठूली मान्छे बन्लिन् संगीतालाई पनि एकदिन अवश्य जीवनसाथीको साथ चाहिने नै छ।

यो जमाना फेसन र बाहिरी सुन्दरतामा बढी लिप्त भएको देख्दा अभियुक्त जीवनको जेल जीवनभन्दा पीडित संगीताको जीवन अझ समाजमा कष्टकर हुने देखिन्छ। अछुत भनेर संगीता र जीवनबीचको प्रेमको हत्या गर्ने यो समाजले भोलि संगीतालाई खोटरहित देख्ने छैन।

यसका साथै प्रेममा आएको जातीय विभेदले जीवनको जीवन पनि अन्धकारमय बनेको छ। उनको गल्ती र बदलाभावले ल्याएको यो अवस्थाबाट उनले खुसी राख्न चाहेको परिवारलाई दुःखी बनाएको छ। उनले गरेको अपराधको भागीदार उनी हुनैपर्छ ता कि भोलि यस्तो घटना अन्त नदोहरियोस्।

यसका साथै जसरी एसिड आक्रमण जति ठूलो अपराध हो, जातीय छुवाछूत पनि त्यतिकै ठूलो अपराध हो। जातीय छुवाछूत तथा भेदभाव (कसुर तथा सजाय)ले छुवाछूतलाई अपराध मानेको छ। विश्वकर्मा परिवारमाथि भएको छुवाछूत वा जातीय भेदभावको मुद्दालाई पनि यस घटनामा हेरिनुपर्छ। यदि जीवन र उनको परिवारमाथि छुवाछूत भएको विषयमा पनि अनुसन्धान गरिनुपर्छ। छुवाछूत भेदभाव भएको प्रमाणित भए मगर परिवारलाई पनि ऐनले व्यवस्था गरेबमोजिम कारबाही गरिनुपर्छ। ताकि भोलि जातीय आधारमा कसैमाथि दुर्व्यवहार गर्ने वा हिंसा गर्ने अवस्थाको पनि अन्त्य होस्।

त्यसैले, संगीता र जीवनलाई एक ठाँउ राखेर उनीहरूबीच रहेको भनिएको प्रेमसम्बन्धबारे प्रशासन र सरोकारवालाहरूले गहिराइसम्म पुगेर सत्यतथ्य बुझी साँच्चिकै प्रेमसम्बन्ध थियो र पछि जातका कारण सम्बन्धमा दरार उत्पन्न भएको हो भने फेरि पनि त्यही समाज अग्रसर भई पुनर्मिलन गराई जातीय विभेद उन्मुलनमा एक इँटा थपिदिने कि? यस्तै अन्य महिला हिंसाका घटनाहरूको प्रकृति हेरी यो यस्ता उपाय अवलम्बन गर्न सकिन्छ।

(सेतोपाटीमा २०७१ / चैत्र १२, १३:४०:५१ प्रकाशित )

प्रतिकृया दिनुहोस्