RaraNews

अविनाश चौधरी प्रकाशित : २०७४/९/२५ गते
१७७ पटक

कैलाली ।


कमलसिंह बिक (५९ वर्ष) गाउँमा आरन चलाएर एक वर्षमा मात्र आठ क्वीन्टल धान पाउँछन् । कैलारी गाउँपालिकाको भुईयाँफाँटा गाउँमा आरन चलाउँदै आएका उनकोे कमाइ भने त्यतिमात्रै होईन । एक गाउँबाट आठ क्वीन्टल धान पाउने बिक फलाम पिटे वाफत कसै कसैबाट पैसा पनि लिने गर्छन् ।
दाङ्को हाटखोलाबाट बाल्यावस्थामै कैलाली आएका उनको जिविकोपार्जनको मुख्य पेशा नै आरन व्यवसाय हो । आफू सानो छँदा बुवा देवीरामको निधन भएपछि परिवार पाल्ने पूर्ण जिम्मेवारी बहन गर्दै आएको बिकले बताए ।

‘आरन चलाएर छ जनालाई पाल्दै आएको छु’, उनले भने–‘गाउँबाट प्राप्त हुने धानले खान, लाउन पुगेको छ ।’ दाईभाईहरु शहरतिर लागे पनि बिक आफ्नो परिवार सहित भुईयाँफाँटा बस्दै आएको धेरै वर्ष भइसक्यो । उनी सो गाउँको स्थायीवासी भएका छन् ।’ कैलारी गाउँपालिका वडा नम्बर–७ विपतपुरका रामे बिश्वकर्मा (५४ वर्ष) पनि गाउँमा आरन चलाएर जिविकोपार्जन गर्दै आएका छन् । तिघरी, भुईयाँफाँटा गाउँको स्थानीयका लागि आरन चलाउँदै आएका उनले पनि एक गाउँबाट वर्षमा आठ क्वीन्टल धान पाउने गरेका छन् । ‘पुर्खाले हस्तान्तरण गरेको सीप यहि नै हो । यहि काम गरेर गुजारा गर्दै आएको छु’, । बिश्वकर्माले भने–‘खेतीपाती छैन । वर्षभरी फलाम पिटेर आएको अन्नबालीले गुजारा चलेको छ ।’
कमलसिंह र रामे प्रतिनिधि उदाहरणमात्र हुन । तर, उनीहरुका जस्तै, कैलालीका कतिपय दलित समुदायका व्यक्तिको जिविकोपार्जनको माध्यम परम्परागत आरन पेशा नै बनेको छ । फलामका आधुनिक उपकरणको प्रयोग बढेसंगै परम्परागत आरन व्यवसाय गरेर जिविकोपार्जन गर्न चुनौती थपिदैं गए पनि कतिपय दलित परिवारको जीवन यसै पेशाले धानेको छ ।
उनीहरु यहाँका विभिन्न गाउँमा आरन चलाएर गुजारा गर्दै आएका छन् । ‘फरुवा, फलाम पिटेन भने खाने के ?’ कमलसिंहले विगत सुनाउँदै अगाडि थपे–‘यहि काम गरेर घरगुजारा गरिरहेको छु ।’
उनका अनुसार दाङबाट कैलाली पुगेको परिवार आएदेखि नै यहाँ आरन चलाउने काम गरेको थियो । काम गर्दा गर्दै उनको बुवाको यहि गाउँमा निधन भएको थियो । गाउँवासीले बिकलाई अब गाउँकै सदस्यको रुपमा राखेका छन् । आरन चलाएर भएको आम्दानीले बिकले १० कट्ठा जग्गा पनि किनेका छन् ।
फलामको काम गर्नका लागि थारु गाउँ–गाउँमा आरन चलाउने व्यक्ति राखिने गरिएको छ । गाउँको काम गरे वाफत उनीहरुले एक वर्षमा तोकिए अनुसार अन्नबाली (धान, चामल, गहुँ, मसुरो, तोरी) र चाडपर्वका बेला निश्चित रुपिया पनि पाउने गरेका छन् । कैलालीका हरेक थारु गाउँमा यसरी नै आरनको काम गर्ने ब्यतmी राखिएको पाईन्छ ।

गाउँमा आरन चलाउनेहरुको समायवधि थारु समुदायको गाँउको भलमन्सा (गाँउको मान्यजन) को जस्तै एक वर्षको लागि मात्रै रहने गरेको छ । उनीहरुका कामको मूल्याङ्कन गरेर समयावधि थप्ने वा बिदाई गर्ने चलन रहेको थारु गाउँका अगुवाहरु बताउँछन् । ‘मलाई नियुक्त गर्ने बेलामा गाउँका लागि आरन चलाउने व्यक्ति पनि नियुक्त गरिएको हो’, भुईयाँफाँटाका भलमन्सा फिरुराम चौधरीले भने–‘गाउँ समाजको भेलाले हामी दुवैको कामको मूल्याङ्कन गरेर जिम्मेवारी पुनः दिने वा बिदाई गर्ने निर्णय गर्दछ ।’

आधुनिकतासंग प्रतिस्पर्धा गर्न नसकेपछि आरन व्यवसायप्रतिको आकर्षण घट्दै गएपनि कतिपयको जिविकोपार्जनको मुख्य पेशा नै आरन व्यवसाय बनेको छ । जिविकोपार्जनको लागि अर्को विकल्प नभएपछि उनीहरुले गुजाराको प्रमुख आधार नै यसैलाई बनाएका छन् । धनगढी उपमहनगरपालिका वडा नम्बर ५ हसनपुरकी ६१ वर्षीया बृद्धा झुमा टमट्टाले आरन चलाएर दुई छाक टार्दै आएको बताइन् । ६ वर्ष अगाडि नै पति गुमाएकी उनी विगतबाटै आरन पेशामा संलग्न छिन् । बुढेसकालमा हथौडा र तातो फलामसंग खेल्दै आएकी झुमाले धेरै आम्दानी नभए पनि गुजाराका लागि आफू आरन चलाउन बाध्य रहेको बताइन् ।

‘यो काम गर्नेको कहिल्यै पनि उभो लागेन’, उनी भन्छिन्–‘अरु विकल्प छैन । गुजारा चलाउन समस्या छ । हाम्रो दिन कहिले आउँला ?’
डोटीको लानाकेदारेश्वरबाट कैलाली आएकी उनको एक छोरा भए पनि अंशबण्डा गरेर छुट्टै बसिरहेका छन् । अहिले छोरो पनि विरामी भएर थला परेको सुनाउँदै झुमाले काम नआएको बेला भोकभोकै बस्ने गरेको सुनाइन् ।

महिला भएर पनि आरन चलाउँदै आएकी उनको चर्चा भने खुबै छ । उनले गरेको काम देखेर धेरैले प्रशंसा गर्ने गरेका छन् ।
बजार क्षेत्रमा बसेर आरन सञ्चालन गर्दै आएकाहरुले गाउँघरमा जस्तै अन्नबाली लिएर काम गर्दैनन् । उनीहरुले फलामको काम गरे वाफत नगद रुपिया लिन्छन् । एउटा खुँडा बनाएमा दुई देखि तीन हजारसम्म पनि रुपिया कमाउँछन् । तर, बासुलो, बञ्चरो, हसिया, कोदालो लगायतका सामाग्री बनाउँदा मिहिनेत अनुसार पारिश्रमिक लिने गरेका बताउँछन् आरन व्यवसायी ।

     दिनहुँ फलाम पिटेर आएको आम्दानीले घर गुजारा गरिरहेको धनगढीमै काम गर्दैै आएका आरन व्यवसायी जोगी कामी (६४ वर्ष) ले बताए । ‘यो काम गरेर धेरै सजिलो हुने गरी गुजारा चलेको त छैन’, उनले भने–‘पुर्खाले गरेको कामलाई किन छोड्ने भनेर यहि काम गर्दै आएको छु ।’
आरन व्यवसाय दलित समुदाय भित्रका बिश्वकर्मा जातिको निकै कलात्मक सीप हो । तर, आधुनिकतासंगै यो व्यवसायलाई निरन्तरता दिन चुनौती पनि थपिदैं गएका छन् । आरन चलाएर गुजारा गर्न पनि समस्या हुने गरेकाले यो पेशाप्रति नयाँ पुस्ताको आकर्षण नरहेको कामीको बुझाइ छ । ‘मेरो छोराले सामान्य रुपमा काम सिके पनि गर्न मन पराउँदैन’, उनले भने–‘म मरेसंगै मेरो परिवारमा यो पेशाको पनि अन्त्य हुनेछ ।’
दलित समुदायले गर्दै आएको पुर्खौली पेशालाई सामाजिक रुपमा प्रतिष्ठित नमानिएको र आधुनिकीकरण नगरिएकाले यसप्रतिको आकर्षण घट्दै गएको बताइएको छ । राज्यले पनि आरन व्यवसाय आधुनिकीकरणका लागि कुनै ठोस योजना नल्याएको हुँदा पेशा नै लोप हुने क्रममा रहेको बताइन्छ ।
सम्मानित पेशा बन्न नसक्दा आरन व्यवसाय गर्नेहरु अब थोरैमात्रै रहेको दलित अधिकारकर्मी सावित्रा घिमिरे बताउँछिन् । उनले भनिन्–‘यो पेशाको आधुनिकीकरण हुन सकेन । पैसा भएका अन्य जातिले फलामकै काम गर्ने ग्रील जस्ता ठूला उद्योग खोलेपछि त्यो सम्मानित हुने तर, दलितको परम्परागत आरन पेशा सम्मानित नहुने कारणले युवा पिढीको यसप्रति आकर्षण छैन । दलित समुदायका अधिकांस पुर्खौली पेशाप्रती दलित युवाहरुको आर्कषण नहुनुमा एक अर्को प्रमुख कारण जातिय बिभेद र अपमानीत गर्नु पनि हो । ’

प्रतिकृया दिनुहोस्