RaraNews

प्रकाशित : २०७७/२/३० गते
११८७ पटक

✍️राजन सुनार

मानव अधिकार विरुद्धको हिंस्रक जात व्यवस्था र रंगभेदी युगीन दासत्वको कहाली लाग्दो यथार्थ अहिले पनि विद्यमान छ । त्यसैले निर्दोष जीवनको मृत्य कथा पटक पटक सुन्नु परिरहेको छ । जति पटक सुन्दा पनि मानव जीवनको औचित्य र मानव जीवन–जीवनबीचको समानुभुति र सह–अस्थित्वका पक्षमा बहस हुन ढिला भएको हो कि भन्ने लाग्दछ ।

अमेरिकी नागरिक जर्ज फ्लोइडको घाँटीमा एउटा आतताही प्रहरी कर्मचारीको घुँडाले थिचिरहँदा उनले उकुसमुकुस हुँदै ‘मैले श्वास फेर्न सकिन’ भनेर गुहार मागि रहे । मोबाइलमा कैद भएको उक्त भिडियोमा उनले बोलिरहेको बेला सारा संसारले आफ्नो श्वास प्रश्वास रोकिएको महशुस गरिरह््यो । विश्वको एउटा शिक्षित, सम्पन्न र शक्तिशाली देशको सडकमा यस्तो प्रकारको हत्या घटना हँुदा नागरिक स्वतः स्फुर्त विरोधमा उत्रिए । प्रत्येक दिन सडकमा फ्लोइडको तस्वीर लिएर विभिन्न माध्यमबाट विरोधका स्वरहरु गुन्जायमान गराईरहे । यो अभियानमा काला, गोरा, गहँुगोरा, खैरा सबै मानवले मानव भएर बाँच्न पाउनु पर्ने भन्दै नाराहरु लगाईरहे । सरकारले आन्दोलन थाम्न प्रयत्न गरिरह््यो तर आन्दोलनको उत्कर्षले शक्तिशाली देशका राष्ट्रपति समेत केहि समय भएपनि वङ्कर जीवन अनभूत गर्न बाध्य भए । साधारण जनता, चर्चका पादरी, स्कुल, कलेज युनिभर्सिटीका शिक्षक, प्राध्यापकहरु र विद्यार्थी, पुर्व राष्ट्रपति बराक ओबामाले समेत फ्लोइडको रंभेदी हत्याप्रति आँशु खसाउँदै आत्माआलोचना गरे ।

अर्कोतिर, नेपाल जहाँ मानव–मानवबीच जातिय विभेदको पर्खाल खडा गरिएको छ । एउटा दलित युवा नवराज वि.क. र उनका पाँचजना साथीले बाँच्नका लागि अनेक अनुनय विनय गर्दा पनि उनीहरुको शरिरमाथि ढुङ्गा, लठ्ठी, घरेलु हतियारले प्रहार गरियो । त्यत्रो भिडमा मानवियता कसैले देखाएनन् । त्यसैले नवराजसँगै अन्य पाँचजनाले भेरीको वेगमा बिलिन भए । शरिर भेटियो तर श्वास भेटिएन । यस्तो अमानविय घटनाको पराकष्ठ देख्नेहरुको मन किन रोएन ? त्यो समाज किन रमिते मलामी बन्यो ? किन उल्टै चेली अपहरण, दोहोरो भिडन्तलगायत बाहानाबाजी गरेर घटनालाई तोडमोड गर्न खोजीयो ?

दुई भिन्न भूगोलको भिन्न सामाजिक प्रतिक्रियाहरु । एउटा समाजले आत्माग्लानी, क्षमायाचना, आत्माआलोचना गर्दैछ । अर्को समाज जात व्यवस्थाको पक्षपोषणमा अहोरात्र लागेको स्पष्ट चित्र देखिन्छ । सामाजिक सञ्जालहरुमा बौद्धिक भनिने वर्गहरु हत्यालाई चेली अपहरणको दृष्टान्तसंग गाँसिरहेका छन् । राजनैतिक वर्ग भाषणहरुमा सामाजिक सहिष्णुता विरुद्धको कार्यको संज्ञा दिदँै छन् । केहि सामाजिक तथा धार्मिक घरहरु प्रेस विज्ञप्तिहरुमा धार्मिक सदभाव नै बिथोलिएको ठहर गर्दैछन् । अझ उदेक लाग्दो त के छ भने जनताको मत प्राप्त गरी जनसेवा गर्ने, सामाजिक कुरिती कुसंस्कार र विभेद विरुद्ध लाग्ने झुठो आश्वासन बोकेका केहि जन प्रतिनिधिहरु सदनमा बोल्दै हत्या भएको भन्ने कुरालाई समेत इन्कार गर्न खोजिरहेको प्रत्यक्ष देख्न र सुन्न पाईयो । बिडम्वना त के भने यति संवेदनशील हत्याकाण्डको छानबिनका लागि गठन भएका सरकारी टोली, संसदीय छानविन विशेष समितिलगायतका विभिन्न समितिले पनि न्याय दिलाउन सक्छन् कि सक्दैनन् भन्नेमा यकिन हुन गाह्रो छ । किनकी स्थलगत सत्य तथ्य रिपोटिङ्ग गर्न पत्रकारहरुलाई समेत बन्देज गर्न सुरु भएको छ ।

तर जर्ज फ्लोइडको मृत्युमा प्रशासनको संरचनागत विभेदका विरुद्धमा शान्तिपुर्ण जुलुश प्रदर्शन, धर्ना, नाराव.बाजी गरिरहँदा प्रशासनको दमन र ज्यादती त देखियो नै तर यसैबीचमा मिनियापोलिस, न्यूयोर्क सिटी, ओहायो, कोलोराडो, न्यूजर्जी अनि मेरिल्याण्ड लगायतका धेरै राज्यहरुका विभिन्न ठाउँहरुमा सैनिक, राज्यका प्रहरी कर्मचारीहरुले घँुडा टेकेर रंगभेदको विरुद्धमा विरोध प्रदर्शन समेत गरेको देखियो । यो हेर्दा लाग्यो, शायद समाजको विकास उसको चेतनाले प्रतिबिम्वित गर्ने रहेछ । त्यसैले रंगभेदको विरुद्धमा भएको हरेक र्यालीहरुमा स्वेतहरुले साथ दिए । उनीहरु ‘गोराहरुको मौनता पनि विभेद हो’ लेखिएको ब्यानरहरुले बोकेर सडकमा उत्रिए । त्यो न्यायका आवाजले मानव सभ्यताको विकसित राष्ट्रलाई नै सिधा प्रश्न गरिरहेको थियो ।

‘जन्मते जायते शुद्रानां, कर्मणेच द्धेज उच्चयते’ अर्थात शुद्र कुलमा जन्म लिएको भए पनि उच्च कर्मले उच्च मानिने वैदिक व्यवस्थाको अपव्याख्याका रुपमा जातिय उच–निच र छुवाछूतको क्रुरता नेपाली समाजले अंगालिरहेको छ । एउटै समाजमा दुई भिन्न तहको मानव कथित तल्लो जात र कथित उच्च जातको कार्मिक व्यवस्थाले मावनबीचमा अमानवियताको व्यवस्था गर्यो । हर्क गुरुङ्गले आफनो ‘द दलित कन्टेक्स्ट’ लेखमा जयस्थिती मल्लले मानव न्याय शास्त्र मार्फत काठमाडौं भ्यालीमा ६४ जात विभाजन र सजायको व्यवस्था गरेको र राम शाहको १९६० को थिति व्यवस्थाले गोरखा राज्यमा बाध्यात्मक काम र सजायको व्यवस्थालाई स्थापित गरेको उल्लेखित गर्नु भएको छ । एकिकृत नेपाल राज्यको परिकल्पनाकार पृथ्वी नारायण शाहालाई ‘थिङ्क ट्याङ्क’ का रुपमा युद्धका लागि आर्थिक संकलनको सल्लाह दिने विशे नगर्चीको पुस्ता जन्मले सदैव अछुत बन्ने व्यवस्था निरन्तर बन्यो । वि.सं. १९१० को नेपालको पहिलो लिखित कानूनमा भएको तागाधारी, मतवाली, पानी नचल्ने तर छोईछिटो हाल्न नपर्ने र पानी नचल्ने छोईछिटो हाल्नु पर्ने सम्वन्धी व्यवस्थाले त झनै प्रष्ट रुपमा राज्यले संरचनागत र संस्थागत जातिय भेदभाव र छुवाछुतको मान्यता प्रदान गर्यो । अर्को तर्फ राजनैतिक तथा कानूनी परिवर्तनहरु हुँदै गर्दा वि.सं. २०२० सालको मुलकी ऐनले छुवाछुतलाई गैरकानूनी घोषणा गरेको भएपनि सनातन कर्मकाण्डीहरुले धर्म भ्रष्ट हुन्छ भन्दै मन्दिरहरुमा दलित प्रवेश निषेधको वोर्ड राखे । जन्म पछिको न्वारन, व्रतवन्ध, विवाह वन्धन, मृत्य कर्ममा समेत कथित उच्च जातिहरु भन्दा फरक धार्मिक माप दण्ड स्थापित भयो ।

आज विश्वले दुई अलग महादिपमा मानवियता विरुद्धको हत्याकाण्ड ब्यहोरीरहेको छ । नवराज विक र जर्ज फ्लोइडले फरक गोलाद्र्धमा रंगभेद र जातिय विभेदका कारण मृत्युवरण गरे। फ्लोइडको हत्या विरुद्ध समग्र विश्व र श्वेतहरुले पनि आवाज उठाए। तर नेपालमा भएको जातिय हत्याकाण्डको विरोधमा कमैमात्र गैरदलित बोलेका छन्। फरक गोलाद्र्धमा केवल रंग र जातिका कारण नवराज र फ्लोइडले जीवन सर्मपण गर्नुपर्यो । अहिले समग्र विश्वले जर्ज फ्लोइडको हत्यालाई मावनता विरुद्धको अवराध तथा रंगभेदको विरुद्धको अपराध भन्दै ‘बल्याक लाईभस म्याटर’ को व्यानर बोकेर न्यायका लागि श्वेतहरुको सहभागितामा न्यायको अपिल गरिरहेका छन् । नेपालका लागि अमेरीकि राजदुत र्याण्डी वेरीले समेत प्रेस विज्ञप्ति मार्फत फ्लोइडको हत्यालाई मावनता विरुद्धको अपराधका रुपमा चित्रित गरेका छन् ।

तर, नेपालमा भएको जातिय हत्याकाण्डबारे ‘दलित लाईभ्स म्याटर’ भन्ने दुस्साहस कमैमात्र गैरदलितले गरे । अनि ‘तथाकथित उच्च भनिने जातिहरुको मौनता पनि हिंशा हो’ भन्ने व्यानर वोक्ने साहस नगन्य रुपमा तथाकथित उच्च जातिले गरे ।

नेपालले एकातर्फ मानव अधिकारको पक्षपाती राष्ट्रका रुपमा संयुक्त राष्ट्र संघको डिसेम्वर १४, १९५५ मा सदस्यता लिएपछि राष्ट्र संघको वडापत्र (१९४५) तथा मानव अधिकारको विश्वव्यापी धोषणापत्र १९४८ को अवधारणा, नेपाल पक्ष भएका अन्तराष्ट्रिय महासन्धि, सन्धि, प्रतिज्ञापत्रहरुको कार्यान्वयन, परिपालना, मानव अधिकार संरक्षण र राज्यको स्थानिय कानूनका समावेश गर्ने दायित्य श्रृजना हुन्छ । जातिय विभेद तथा छुवाछुतका अन्त्यका लागि नेपालको संविधान (२०७२), जातिय भेदभाव (कसुर तथा सजाय) पहिलो संसोधन ऐन (२०७५), मा निर्दिष्ट गरेका अधिकांस व्यवस्था सोही दायित्व अन्तर्गत तथा जातिय विभेद विरुद्धका पटकपटक गरिएका दलित आन्दोलनको आंशिक उपलव्धिका रुपमा हेर्न सकिन्छ ।

सन् २०११ सालको जनगणनाले नेपालमा रहेका झण्डै ३० लाख ६० हजार भन्दा वढी अर्थात समग्र जनसंख्याको १३.६ प्रतिशत भने पनि दलितहरुको वास्तविक जनसंख्या २० प्रतिशत रहेको दलित समुदायहरुको दाबी छ । यति धेरै जनसंख्या ओगट्ने दलित समुदायको आर्थिक, सामाजिक, राजनैतिक, शैक्षिक, रोजगार तथा पेशा व्यवसायमा उन्नती बिना समाजको विभेदको चक्र चलि नै रहने छ । संरचनागत र संस्थागत विभेद रहेको अवस्थामा छुवाछूतलाई कागजी रुपमा कानूनमा व्यवस्था गरेर मात्र पुग्ने रहेनछ भन्ने कुरा पश्चिम रुकुमको घटना प्रत्यक्ष उदाहरण बनेको छ ।

संवैधानिक व्यवस्था, कानुनी तथा ऐन नियमको प्रावधानको बेवास्ता गर्दा घटनास्थलमा पुगेर पनि प्रहरी प्रशासन किन लाचार बन्यो भन्ने कुराले प्रष्ट पार्दछ । राज्यले यस घटनालाई केवल हत्याको रुपमा हेर्नु अन्यापुर्ण त हुने नै छ, यसले झनै समाजमा कथित उच्च जातिलाई हत्याकाण्ड गर्न प्रोत्साहित गर्ने छ । अर्को तर्फ यो हत्या प्रकरण स्थानिय राज्यको न्यायिक निकाय, अन्तराष्ट्रिय मानव अधिकार संरचनाको उच्चतम् निकाय अन्तराष्ट्रिय फौजदारी अदालतसम्म पुग्ने स्पष्ट छ । तसर्थ समग्र मानव अधिकारवादी तथा सामाजिक न्यायका पक्षधर नेपाली नागरिकहरुको राज्यलाई सामुहिक अपिल के हो भने राज्यले जातिय पुर्वाग्रह परित्याग गरि हत्याको निष्पक्ष अनुसन्धान प्रक्रिया गर्नु पर्दछ । साथै सामाजिक न्याय, मानव अधिकार तथा मानविय कानूनको अवधारणालाई अनुसरण गरी न्याय गर्ने मात्र होईन न्याय पर्ने र न्याय प्रति नागरिकको मनमा सम्मान बढ्ने काम गर्नु जरुरी छ ।

यस घटनाले अबको २१औं शताब्दीको परिवर्तन उन्मुख समाजको प्रतिनिधित्व गर्नु पर्दछ ।
जर्ज फ्लोईडको जीवन बाँच्न पाउने अधिकारको सम्मान र महत्व विश्वले गरिरहेको छ । हत्या अभियुक्तलाई अभियोजनपत्रमा विपक्षीका रुपमा ज्यान मुद्धा मात्र चलाइएको छैन त्यसका अलावा रंगभेद विरुद्धको अपराधमा समेत मुद्धा चलार्ईएको छ । केहि राज्यमा प्रहरीले घाँटीमा थिच्न नपाउने कानून बनेको छ । अभियुक्तकी श्रीमती केली चुविन, जो मिसेज मिनियापोलिस पनि हुन, उनले सोही कारणले सम्बन्ध विच्छेद समेत दर्ता गरिन् ।

तसर्थ मानव अधिकार तथा सामाजिक न्यायको पक्षमा नवराज हत्या काण्डका अभियुक्तहरुलाई हत्याको मात्र होइन जातिय विभेद विरुद्धको अपराधका रुपमा समेत मुद्धा चलाइनु पर्दछ । हत्या भएका सबै दलित तथा गैरदलित ६ जना युवाहरुको न्यायका साथै परिवारले क्षतिपर्ति समेत पाउनु जरुरी हुन्छ । यस घटनाले नेपाली समाजमा एक परिवर्तन विन्दूका रुपमा स्थापित बन्न सकोस् । एक नजिरका रुपमा मानव–मानवबीच रहेको जातिय पर्खाल भत्काउन उत्प्रेरक समेत बन्न सक्नेछ ।

यसका लागि नागरिक स्तरबाट पनि सामाजिक एकता, जातिय समानता, मानव अधिकार र सामाजिक न्यायका पक्षघर सम्पुर्ण सचेत नागरिक, मानव अधिकारकर्मी, कानून व्यवसायी, पत्रकार, शिक्षक, विद्यार्थी, राजनैतिककर्मी, सामाजिक तथा धार्मिक संघ संस्थाका सदस्य तथा कथित उच्च र कथित तल्लो भनिने जातिहरुबीच हातेमालो गर्दै पुर्खाको जातिय विभेदको ऐतिहासिक गल्ती प्रति आत्माआलोचना सहित जातिय समानताको अभियानको थालनी समयमा नै गरिनु पर्दछ । जुन नेपाली समाजमा रहेको जातिय विभेद तथा छुवाछूत अन्त्यको दीगो समाधानका लागि उदाहरणीय तथा महत्वपुर्ण बन्ने छ ।

लेखकले नर्थईस्र्टन यूनिभर्सिटी स्कूल अफ ल बोष्टन, अमेरिकाबाट मानवअधिकारमा एल.एल.एम. गर्नुभएकाे छ।

प्रतिकृया दिनुहोस्