RaraNews

प्रकाशित : २०७७/४/१ गते
५०९ पटक

✍️ रेमवहादुर वि.क.

रुकुम पश्चिम चौरजहारीमा दलित समुदायमाथि भएको नरसंहारले दलित समुदायको मात्र नभई समाजका विभिन्न जात र विधाका मान्छेको ध्यान तान्यो र मनमा चोट पुर्यायो । आफ्नै समुदायका होनाहार युवा गुमाउनु पर्दा हाल दलितहरु आक्रोसित छन् र न्यायकालागि सडकमा छन् । रुकुम घटनाले नेपालमा मात्र नभई दलितका सवालमा चासो र चिन्ता व्यक्त गर्ने, संसारका विभिन्न देशमा बस्दै आएका हजारांै दलित र गैरदलित नेपालीहरुको पनि उल्लेख्य ध्यान खिचेको छ ।

यस्ता व्यक्तिहरु सामाजिक संजालमा सुरुवात गरिएको दलित लाइभ्स् म्याटर नामक अभियानमा जोडिदै आफ्ना विचार व्यक्त गरेको पाइयो । कतिपयले वक्तव्य प्रकाशित गर्दै घटना विरुद्ध विरोध जनाउँदै दलित आन्दोलनमा ऐक्यबद्धता जनाएका पनि देखियो । इतिहासमा पहिलो पटक बौद्धिक जमातले दलितका सवाललाई रुकुम घटनासँग जोड्दै विभिन्न सञ्चार माध्यममा नियमित नै लेख प्रकाशित गरे ।

नेपाली समाजमा दलितका विषय, समस्या र पीडाहरु नयाँ होइनन् । विगतमा यसवारेमा वैचारीक तथा सैद्धान्तिक हिसावले वहस र लेखन हुन सकेको थिएन । यसको कारण भनेको ज्ञान उत्पादन क्षेत्रमा राज्यको नियन्त्रण, र सिमित जात र लिङ्गको सवै क्षेत्रमा वर्चस्व हुनु नै थियो । भने अर्काे तर्फ संचारमाध्यमले पनि दलित समुदायका सवाललाई पर्याप्त स्थान र समय दिएका थिएनन । सिमित गैरदलित लेखक थिए र तिनीहरुलाई सुरुका समयमा दलित सवाल र समस्या लेखनको विषय नै लागेन । अथवा राज्यले पनि दलित विषय वस्तु प्राथमिकतामा राखेन ।

जब दलित समुदायले मुक्ति, स्वतन्त्रता र न्यायको लागी आन्दोलन र संघर्ष गर्न थाले, राजनैतिक र सामाजिक क्षेत्रमा पनि दलितका सवालवारे छलफल हुन थाल्यो । अनि मात्र लोकतान्त्रिक परिवर्तनसँगै दलित सवाल पनि लेखन र वहसको विषय बन्न थाल्योे । तर अहिले विस्तारै दलितका वारेमा समाजका विभिन्न तह र तप्काबाट आएका व्यक्तिहरुले लेख मार्फत् वैचारीक वहसको सुरुवात गर्न थालेको छन् । जातिवादी संरचना र हिन्दु वर्णाश्रम व्यवस्थाको प्रभाव समाजको हरेक संरचनामा जरा गाडेर रहेको छ, र यसको प्रभाव र असर नेपालको बौद्धिक वर्ग र संचारमाध्यममा पनि छ । यस्तो अवस्थामा पनि न्याय प्रेमी र प्रगतिशिल समुदायले यसका विरुद्ध लेखन मार्फत आवाज बुलन्द गर्नु अत्यन्तै स्वागतयोग्य कदम हो ।

लोकतान्त्रिक समाजमा समृद्धि, समान विकास, समाजवाद र सामाजिक न्याय सहितको व्यवस्थाको सपना सबैले देखेका हुन्छन् । यो सपनाको बाधक जातीय छूवाछुत, भेदभाव, वहिस्कण र असममान्ताहरु, यस्तो समाज देख्न चाहनेका लागि दलित समस्या प्रमुख दुश्मन हो । चाहे त्यो जुनसुकै जात या लिंग वर्णको किन नहोस् । त्यसैले विभेद र अन्यायविरुद्ध बोल्न या लेखनका लागि सोही अमुक जाति, वर्ग र लिंगकौ मात्रै भएर हुँदैन ।

सामाजिक परिवर्तनमा लेखकको महत्वपुर्ण भुमिका हुन्छ । विश्वको इतिहासलाई हेर्यो भने पनि सवै प्रकारको क्रान्ति र परिवर्तनमा वैचारिक लेखन र रचनाहरुको महत्वपूर्ण भूमिका र प्रभाव भएको पाइन्छ । रुसो र गोर्की जस्ता प्रख्यात व्यक्तिहरुले लेखेका लेखहरुलाई लिन सकिन्छ । यिनका लेख र रचनाहरुले सामाजिक परिवर्तनमा युगान्तकारी प्रभाव पारेको छ । लेखकको लेख रचनाहरु समाज परिवर्तनका लागि ठुलो अस्त्र हो । जसले समाज वा राज्य भित्र भएका विषय वस्तुहरुलाई समालौचक, निश्पक्ष, वैचारीक, वौद्धिक र यथार्थपरक भएर लेखेका हुन्छन् र परिवर्तन र सुधारका लागि ठुलो महत्व हुन्छ ।

नेपालमा दलित समुदायको बारेमा सामाजिक, शैक्षिक, राजनैतिक, आर्थिक, स्वास्थ्य र छुवाछत भेदभाव सम्वन्धि समय समयमा दलित र गैरदलितहरुवाट विभिन्न संचरमाध्यमा लेख्ने गरेका छन् । जातिय विभेद तथा छुवाछूतबारे रुकुम घटनाका कारणले पहिलो पटक मिडियामा उल्लेख्य स्थान पायो ।

रुकुम घटनापछि दलित समुदायको विषयमा विभिन्न पत्रपत्रिका र अनलाइनहरुमा यस घटनासंग सम्बन्धित रहेर थुप्रै लेखहरु प्रकाशित भए । जसले गर्दा यौ विषयमा अध्ययन गर्न उत्सुकता जाग्यो र मैले २०७७ जेष्ठ १० गते देखि असार १० गते सम्म राष्ट्रिय स्तरका दश पत्रपत्रिका र अनलाइनमा प्रकाशित भएका विचारहरुको निगरानी गरेको छु । यो समयमा रुकुम, रुपन्देही, धनुसामा दलितहरुको हत्या गरीएको छ । गणतन्त्र दिवस, बजेट भाषण, र जेष्ठ २१ छुवाछूत मुक्त राष्ट्र घोषणा भएको दिनहरु पनि परेको छन भने , कोभिड १९ को दलित माथी प्रभाव र असर आदी विषयहरु छन । यी सबै विषयको आधारमा विचार लेखहरुको निगरानी गरीएको हो ।

एक महिनाको अवधिमा कान्तिपुर दैनिक १७, नयाँपत्रिका दैनिक १६, नागरीक दैनिक १५, अन्नपुर्ण पोष्ट ५, नेपाल समचारपत्र २, गोरखापत्र दैनिक १, सेतोपाटी ३, अनलाइन खबर ७, रातोपाटी ७, बाह्रखरी ७ गरी दलित सम्बन्धी ८० वटा विचार लेखहरु छापीएका छन । लेखकहरुलाई जातीय र लैङ्गिक रुपले हेर्दा दलित ३६ र गैरदलित ४४ रहेका छन । लैङ्गिक आधारले हेर्दा महिलालै १६ र पुरुषले ६४ लेख लेखेका छन । महिलामा पनि को महिलाले ११ र दलित महिलाले ५ वटा मात्र लेखेका छन । दलित लेखकहरु मध्य पुरुषले ३१ र दलित महिलाले ५ वटा मात्र लेखेको पाईन्छ । विधागत र घटनाको अधारमा लेखलाई हेर्दा रुकुम र अगिरा पासी ७१, बजेट १, शम्भु सदा १ गणतन्त्र दिवस ३, छुवाछूत मुक्त ३, मलरा सदाबारे १ लेखहरु प्रकाशित भएका छन ।

यो अध्ययन अनुसार दलितको विषयमा लेखहरु प्रकाशनको लागि निजि क्षेत्रका संचार माध्ययमले ठिकै ठाउँ दिएको पाइन्छ भने सरकारको मातहतमा रहेका संचार माध्ययम गोरखापत्र दैनिकले ठाउँ दिएको पाइदँैन, अध्ययन अवधिमा एक मात्र लेख प्रकाशन गरेको छ । यो अवस्थाले अझै पनि सरकारी संचार माध्ययमले दलित सवाललाई प्राथमिकता र महत्व नदिएकौ देखिन्छ ।

माथिको तथ्यांङ्कलाई हेर्ने हो भने, दलित समुदायबाट पनि लेख्ने र वैचारिक बहस गर्नेको संख्यामा वृद्धि आएको पाइन्छ । दलितको बारेमा गैरदलित लेखकहरुले नै धेरै लेखेको देखिएको छ, खास गरी नयाँ पुस्ताका गैरदलित युवाहरुले दलितका बारेमा लेखेका र वैचारिक बहस गरेका उल्लेख्य पाइयो । किन गैरदलित युवाहरुले दलितको बारेमा लेख्न थाले भन्ने प्रश्नमा लेखक उज्जवल प्रसाई भन्छन, “पछिल्लो समय दलित विषयमा विश्व विद्यालयमा पनि अध्ययन गराउन थालियो ।

दलितहरुले आयोजना गरेका सभा सम्मेलन र खास गरी २०६२ र ६३ को जन आन्दोलनले दलित विषयमा सबैलाई सचेतना प्रदान गर्यो । खास गरी उच्चजात वा गैरदलितहरुले दलितको अवस्था र समस्याबारे महसुस गरे । हाम्रो जात वा समुदाय उच्च जात भएकाका कारण सधँै विशेष अधिकारको रुपमा सबै सुविधा प्रयोग गर्यो । दलितहरु सधैँ पछि परे अब हामीले बोल्न, लेख्न र अभियानमा सामेल हँुदा यसले समाज परिवर्तन, सुधारको लागि सहयोग पुर्याउँछ भन्ने अनुभूतिले पनि बढी जिम्मेवार बनायो र लेख्न उत्साहीत गरायो । त्यसै कारणले पनि गैरदलितहरुले दलितको बारेमा धेरै लेखेको पाइन्छ ।

गैरदलित लेखकहरुले दलितले भन्दा पनि आलोचनात्मक र विश्लेषण गरेर नेपालको जातिवादी संरचना, धर्म, परम्परा र उच्चजातिय सौचवारै समालोचक ढंगले लेखेका छन् , र दलितहरुको समग्र विकासको बाधक भएको पनि भनेका छन् । रुकुम घटनाकाबारे जातियताकै कारण उच्चजातिहरुबाट हत्या हिंसा भएको भनेका छन् । र समाजमा विद्यमान जातिवादी संरचना विरुद्ध खरो रुपमा उत्रीएका पनि छन् ।

यस सवालमा लेखक राजेन्द्र महर्जन भन्छन्, समाजमा भएका विभेद र समस्याबारे आफँैले देखेको, अध्ययन अनुसन्धान र कार्यक्रमहरुमा सहभागी भएर गैरदलित पढेलेखेका लेखकहरुको दलित विषयमा सचेतनाको स्तरमा वृद्धि भएको पनि बुझ्न सकिन्छ र कर्तव्य दायीत्व र महसुस पनि भयो की ? अब हामी नयाँ पुस्ता चुप लागेर वस्नु हुन्न भन्ने कारणले पनि लेख्न उत्साहीत भए र कतिपय लेखकहरु खरो रुपमा बोल्न, लेख्न र अभियानमा सामेल हुन कुनै हिच्कीचावट मानेको देखिँदैन । दलितहरुमा पनि आफनो पिडा र समस्याहरुको मर्म हामीले नै बोल्न र लेख्नु पर्छ भनेर दलित विषयमा अध्ययन अुनसन्धान गर्ने र वैचारीक वहसमा लाग्ने क्रमको विकास र विस्तार भएको पाइन्छ ।

लेखिका धनकुमारी सुनार भन्छिन्, समग्रमा दलित महिलाहरु र सिंगो महिलाहरुको लेख नेपाली सञ्चार माध्यमहरुमा नआउनुको केही कारणहरु छन्, जस्तै गैरदलितले लेखेको राम्रो र दलितले लेखेको नराम्रो भन्ने हाम्रो मानसिकता अहिले पनि हाम्रो समाजको छ । नाम र लेखका शिर्षकहरु हेरेपछि भित्रको विषय वस्तु र विचार अध्ययन गर्न नचाहाने प्रवृति छ । एक त नेपालका सिंगो महिलाहरुलाई नै यस्ता विषयमा लेख्ने र बोल्ने वातावरण नेपाली पुरुष प्रदान समाजले दिएकै छैन । अर्काे पक्ष अधिकाँस संचारमाध्यम केही सिमित मान्छेहरुको सिन्डिकेट, नियन्त्रण र पहँुचमा छ ।

त्यसैगरी महिला वा दलित महिलाले लेखेका लेख प्रकाशन गर्न अनेकौं अनुरोध र चाकडी गर्नुपर्ने बाध्यता पनि छ । दलित लेखकहरुले लेखेका लेखहरु प्रकाशन गर्न ठूलो संघर्ष गर्नुपर्ने अवस्था छ । अर्कोतर्फ नेपाली महिलालाई लेख्नका लागि उत्साहित पनि गरिँदैन । अझ दलित महिलाहरुको लेख्ने कलामा विकास नहुनुको कारण जात व्यवस्था नै मुख्य उपज हो । सिंगो महिला र दलित महिलालाई धैरैजसो बहस तछलफल र विचारमा सामेल हुन नसक्नुमा विभिन्न किसिमका बाधाहरु छन् ।

विचार लेखहरुको अध्ययन हेर्दा दलितका सवालमा महिला, जनजाति र मधेशी लेखकहरुले ब्राम्हण समुदायका लेखकको तुलनाममा धेरै कम लेखेको पाइन्छ । दलित महिलाहरुको लेखनमा अत्यन्तै न्युन सहभागीता रहेको देखिन्छ । त्यसैले दलितको सवालमा हाल लेखिएका लेखहरु पर्याप्त भने छैनन्, लेखनलाई निरन्तरता दिनु पर्ने आवश्यकता छ । दलितको सवालमा लेख्ने र बोल्ने काम अभियानकै रुपमा अघि बढाउनु पर्ने देखिन्छ । जात व्यवस्थाका विरुद्ध वैचारिक लेख लेख्दै नेपालका दलित र गैर दलितहरु रुसो र गोर्की बन्न पछि पर्नु हँुदैन । यो व्यवस्था विरुद्ध लेखन अझ कसिलो बनाउँदै लेखन जारि राख्नु पर्ने आजको टड्कारो आवश्यकता छ ।

(लेखकः जागरण मिडिया सेन्टरका अध्यक्ष हुनुहुन्छ)

Personal website – Click Here

प्रतिकृया दिनुहोस्