RaraNews

प्रकाशित : २०७७/७/२६ गते
७० पटक

ओखलढुंगा — सिद्धिचरण नगरपालिका–२ का काजीबहादुर चर्मकारले अघिल्लो वर्ष यतिखेर ३० वटाजति नयाँ मादल बेचिसकेका थिए । दसैं लागेदेखि नै मानिसहरू पुराना मादल मर्मत गराउन वा नयाँ खरिद गर्न आउँथे ।

सिद्धिचरण नगरपालिका–२ ठूलाछापमा मादल मर्मत गरिँदै । तस्बिर : कुम्भराज राई

यसपालि तिहारमा बेच्न उनले जम्मा दुइटा मादल तयार पारेका छन् । त्यो पनि बिक्ने निश्चित छैन ।

‘पहिले दसैं–तिहारको बीचमा ५० हजारसम्म कमाइ मादलबाटै हुन्थ्यो,’ काजीबहादुरले भने, ‘यसपालि त मर्मतका लागि आएनन् । गाउँकै मादल पनि ल्याएनन् । प्रशासनले देउसी खेल्न नदिने भन्ने हल्लाले पनि हुन सक्छ ।’

सोही गाउँका धनबहादुर सार्कीको अनुभव उस्तै छ । ४०–५० वटा पुरानो मादल मर्मत र २०–३० वटा नयाँ मादल बेच्दा दसैं–तिहार खर्च राम्रै उठाउँथे उनी । यसपटक एउटा पनि मादलको ‘अर्डर’ आएको छैन । ‘यस्तै हो भने यो काम बिस्तारै छोडौं कि जस्तो लागिसक्यो,’ धनबहादुरले भने, ‘बाउबाजेले सिकाएको सीप किन छोड्नू भनेर गरेका थियौं तर अब काम लागेन ।’ गाउँमा ‘डेक’ र स्पिकरले मादल विस्थापन गरेको उनले गुनासो गरे ।

ठूलाछापको सार्की टोलमा पाँच परिवारले मादल बनाउँछन् । मादलको बजार घट्दै जाँदा परम्परागत पेसा संकटमा परेको छ । पहिले छ परिवारले मादल बनाउँथे । अहिले एक परिवारले छाडिसक्यो ।

खोटाङसम्मका ग्राहकहरू मादल किन्न, मर्मत गर्न आउँदा उनीहरूलाई फाइदै थियो । अहिले आउन छोडेपछि पारिश्रमिक उठाउनै मुस्किल परेको छ । मादल बनाउने तरिका परम्परागत नै छ । काठ आफ्नै जंगल र बारीको काटे पनि छाला किन्नुपर्ने उनीहरू बताउँछन् ।

एउटा नयाँ मादल बनाउन तीनदेखि चार दिन लाग्छ । एउटा मादल आकार र गुणस्तर हेरेर २ हजार ५ सयदेखि ५ हजारसम्ममा बेच्ने गर्छन् । मादल उत्पादनका लागि उद्योग सञ्चालन गर्ने हैसियत उनीहरूको छैन । आधुनिक प्रविधि प्रयोग गरी मादल उद्योग सञ्चालन गर्न सहयोग भए समुदायले रोजगारी पाउने स्थानीय अगुवाको भनाइ छ ।

Source : https://ekantipur.com/pradesh-/2020/11/09/16049095081126403.html

प्रतिकृया दिनुहोस्