RaraNews

प्रकाशित : २०७७/८/१० गते
२१० पटक

लमजुङ — राणाशासनविरुद्ध कांग्रेसले २००६ मा आन्दोलनको आह्वान गर्‍यो । यो आन्दोलनमा घरबाहिर निस्कने कमै मात्र थिए । लमजुङको इशानेश्वर क्षेत्रमा कांग्रेसको झन्डा लिँदै ‘राणाशासन मुर्दावाद’ भनी स्थानीय दलबहादुर कामी निस्किए ।

बिरामी भएको अवस्थामा केही महिनाअघि प्रजातन्त्र सेनानी घोइरो कामी आफ्नै निवासमा ।

त्यतिबेला उनी १४ वर्षका थिए । कलिलै उमेरमा एक जना दलित समुदायका व्यक्ति कांग्रेसको झन्डा लिएर गाउँगाउँ पुगेपछि उनमा सबैको आँखा पर्‍यो । बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईलगायत नेताले राणाशासनविरोधी उनको कदमको प्रशंसा गरे । उनीहरूका नजरमा कामी साहसी, अनुशासित तथा इमान्दार थिए ।

१९९३ सालमा इशानेश्वर चिसंकु (साबिक इशानेश्वर–५) मा जन्मिएका उनलाई प्रजातन्त्र स्थापनामा योगदान पुर्‍याएको भन्दै ‘प्रजातन्त्र सेनानी’ को उपाधि दिइएको थियो । यो उपाधि लमजुङका १५ जनाले पाएका थिए । तीमध्ये धेरैको निधन भइसकेको छ । गत जेठदेखि मुटुको समस्या र दमले च्यापेपछि कामी ओछ्यान परेका थिए । उनको मंगलबार साँझ ८४ वर्षको उमेरमा आफ्नै निवासमा निधन भयो ।

आन्दोलनमा एकोहोरो रूपमा लागेकाले उनलाई ‘घोइरो कामी’ भनेर बोलाउन थालियो । पछि उनी यसै नामले विख्यात भए । हाल उनी मध्यनेपाल नगरपालिका–६ भार्लेटारमा नाति चन्द्रसँग बस्दै आएका थिए ।

कामी बस्दै आएको क्षेत्रमै घर भएका कांग्रेस पूर्वसचिव आनन्द घिमिरेका अनुसार राजनीतिक कुरा गरेपछि केही महिनाअघिसम्म पनि कामी जुरुक्क उठ्थे । नेता कोइराला, सिंह, भट्टराईका कुरा सुनाउँथे । कामीको इमान्दारिता देखेर भट्टराईले आफ्नो कोट फुकालेर दिएका थिए । कोटको गोजीमा पैसा भेटिएपछि फिर्ता गरेको घटना कामी सुनाउँथे । यो विषय कांग्रेसवृत्तमा अहिले पनि चर्चा हुने घिमिरे बताउँछन् । तर पार्टीले उनको योगदानबारे चासो नदिँदा उनी पार्टीको कुनै पनि पदमा पुगेनन् ।

दम र मुटुको समस्या बल्झिएपछि उनको अवस्था दयनीय थियो । श्रीमतीको दुई दशकअघि नै निधन भइसकेको थियो । न छोराछोरी न पार्टी र सरकार, रोगले थला पारेका बेला पनि कसैले वास्ता नगरेको उनले गुनासो गर्दै आएका थिए । जीवित छँदै कामीले पोख्ने गरेका गुनासो उद्धृत गर्दै स्थानीय नेता/कार्यकर्ताहरू भन्छन्, ‘प्रजातन्त्र पाउन लडियो । राज्यले उपेक्षा गर्‍यो । आफ्नै पार्टीले समेत केही गरेन ।’ नातिसँग बस्दै आए पनि उनी बिरामी हुनुअघिसम्म गाउँघरमा मदानी, ठेकी, झ्याल, ढोका बनाउने र सिकर्मीको काम गर्थे ।

दलित उत्पीडित अगुवा एवं राष्ट्रिय दलित पत्रकार संघका केन्द्रीय सदस्य किसान ‘संगीत’ नेपाली पनि घोइरो कामी बिरामी हुँदा कांग्रेस नेता, कार्यकर्ता, सरकार कसैले वास्ता नगरेको आरोप लगाउँछन् । ‘थला पर्दा कसैले सोधेन, खोजेन । निधन भएपछि सबैले कोकोहोलो गरे,’ उनले भने ।

गण्डकी प्रदेश सदस्य दोबाटे विश्वकर्मा, कांग्रेस जिल्ला सभापति भेषबहादुर पौडेल, कांग्रेस पूर्वसभापति तुलसीनारायण श्रेष्ठ, कांग्रेस महासमिति सदस्य तथा मध्यनेपाल नगर प्रमुख रमेशकुमार पाण्डेलगायतको उपस्थितिमा बुधबार कामीको अन्त्येष्टि गरिएको छ । ‘उहाँको निधनले हामीलाई निकै दु:खी बनाएको छ । प्रजातन्त्रका लागि योगदान पुर्‍याएका एउटा खम्बाको अवसान भएको छ,’ पौडेलले भने, ‘अहिलेका नेता/कार्यकर्ताले उहाँको त्याग र योगदानबाट धेरै सिक्नु छ ।’

कामी बीपी स्मृति ट्रस्टद्वारा २०७२ मा सम्मानित भएका थिए । कांग्रेस जिल्ला कार्यसमितिले ६ वर्षअघि १०२ औं बीपी जन्मजयन्तीको अवसरमा सम्मान गरेको थियो । प्रजातन्त्र प्राप्तिपश्चात् तत्कालीन सरकारले आन्दोलनमा उनको योगदानको सम्मानस्वरूप नवलपरासीमा ३ कट्ठा जग्गा बकस दिएको थियो । त्यही जग्गा बिक्री गरेर उनी गृहजिल्ला फर्केर भोर्लेटार बसाइँ सरेका थिए ।

साभार : ईकान्तिपुर डटकम

प्रतिकृया दिनुहोस्