RaraNews

जागरण मिडिया प्रकाशित : २०७४/१०/६ गते
११४ पटक

लमजुङ  ।

मर्स्याङ्दी गाउँपालिका -८ भुलभुलेमा चटपट व्यवसाय थालेकी चन्द्रमाया परियार झण्डै आधा दशक पछि अहिले खाजाघर सञ्चालन गरेर दैनिक न्युनतम ३ हजार रुपैयाँ कमाउन सक्ने हैसियतमा पुगेकी छन् ।

गाउँघरमा जातिय छुवाछुत र विभेद अझैपनि कायमै रहेको बताउने चन्द्रमाया सुरुमा आफु दलित समुदायको मान्छेले बनाएको चटपट गैह्रदलितले नखाने हुन् कि भन्ने पीरमा थिइन् । स्थानीय पञ्चविचार प्राविमा महोत्सव हुने भएपछि केहीदिन भएपनि आम्दानी गर्ने उद्देश्यले ५ सय रुपैयाँले चटपटको व्यापार थालेकी थिईन् चन्द्रमायाले ।

महोत्सव अवधिभर त चटपटको व्यापार गरिन् नै, त्यसबाट कमाई राम्रै भएपछि उनले त्यो व्यापार त्यागिनन् बरु थप लगानी गरेर काठको सानो घुम्ती बनाउन लगाईन् र स्थानीय रुपमै त्यही व्यापार गर्न थालिन् । जे काम पनि गर्दै गएपछि अनुभव हुने । उनलाई पनि चटपट व्यापारको राम्रै अनुभव भएको उनले बताईन् । ‘सुरुमा त स्कुलमा बजार लागुञ्जेल मात्रै व्यापार गर्छु भनेर थालेको थिएँ,’ परियारले भनिन्, ‘चल्छ, चल्दैन अलमल मै थिएँ, जे त पर्ला भनेर गरिहाँले असाध्यै राम्रो भयो अनि यही व्यापार गरिरहेँ ।’

बजार लाग्दा सबैले केही न केही व्यापार गर्ने भएकाले केहीदिन भएपनि कमाई गर्ने उपाय सोच्दै जाँदा चटपट बनाउँ झैँ लाग्यो,’ मज्जाले हाँस्दै उनले थपिन्, ‘आफु परियो सानो जातको मान्छे, विष्टपाटीले खाँदैनन् कि भन्ने कत्रो पीर, जे परे पर्ला भनेर सुरु गरें विस्तारै सबैले खान थाले कमाई पनि भयो, रमाईलो पनि लाग्यो ।’

करिब पाँचवर्ष अघि गाउँमा चनाचटपटको बनाएर धेरथोर आम्दानी गर्ने सोंच बनाएकी भुलभुलेकी चन्द्रमाया परियारको मनमा कताकता लागेको थियो, त्यसो नगरौँ क्या हो, दलितले बनाएको चट्पट् कसले खाला र ! आफ्नो मनको पीडा कसलाई भन्नु र ? आमा थिईन्, उनैलाई भनिन् । आमाले नै उनलाई हौसला दिईन् र भनिन्, ‘सबैको सोंचाई उस्तै कहाँ हुन्छ र, खानेले खान्छन् नखानेले खाँदैनन्, व्यवसाय त गर्नुपर्छ ।’ नभन्दै आमाले दिएको सल्लाह र हौसला चन्द्रमायाको लागि आशिर्वाद सावित भयो ।

रोजगारमा भारत गएका श्रीमान् अझै फर्केनन्
विवाह भएको ३ वर्षपछि रोजगारीका लागि भारत गएका उनका श्रीमान् रामबहादुर आजसम्म घर फर्किएका छैनन् । १८ वर्ष भैसक्यो उनी वेपत्ता भएको । छोरी रमा अहिले १० कक्षामा पढ्ने भईसकिन् तरपनि फर्केर आउला कि भन्ने आश मरेको छैन चन्द्रमायाको । बेशिसहर–मनाङ सडकको छेउमा रहेको आफ्नो खाजाघर नजिकै मोटरबाट कोही झर्दा पनि झसंङ्ग हुन्छिन् उनी घरीघरी । जीवनभर साथ पाउँली भनेर बाबाआमाले जसको साथ लगाई दिए उसैको साथ टुटेपछि उनले पाउनुसम्मको हण्डर अनि ठक्कर पाईन् । बा–आमा जिउँदै थिए, उनले च्यापे र ढाडस थिए अनि दुःखजिलो गरेरै दिन कटाउन थालिन् ।

अन्नपूर्ण पदयात्रा मार्गमा अवस्थित भुलभुले बजारमा रहेको उनको खाजाघरमा अहिले स्थानीय ग्राहक देखि विभिन्न जिल्लाबाट आउने स्वदेशी र देशविदेशबाट आउने विदेशी पर्यटक समेतले भोक र प्यास मेटाउने गर्छन् । घुम्ती पसलमा चटपटको बिक्री बाट सुरु भएको पसललाई बढाउँदै लगेर उनले अहिले राम्रो खाजाघर सम्म पु¥याएकी छन् । ५ सयको लगानीले यतिबेला ५ लाख नाघेको छ । हिजोका स्कूले विद्यार्थी उनका ग्राहक थिए तर अहिले अन्र्तराष्ट्रिय पर्यटकहरु पनि उनका ग्राहक हुन् ।

पाँच सय ऋण लिएर व्यापार सुरु
गाउँघरमा अर्काको मेलापात र बनिबुतो गरेरै छोरी हुर्काइन् । ५ सय रुपैयाँ ऋण लिएर व्यापार थालिन् । दुःख पर्दा ढाँटेर होईन आँटेरै अघि बढी रहिन् र आजको दिन आफैंले आर्जन गरिन् । जिल्ला घरेलु तथा साना उद्योग व्यवसाय, उद्योग बाणिज्य संघ र राजश्व कार्यालयमा समेत दर्ता गरेर चलाउँदैछन् ‘चन्द्रमाया खाजाघर’ । अन्य समयमा दैनिक ३ हजार रुपैयाँको कारोबार गर्न उनलाई अप्ट्यारो पर्दैन, पर्यटकहरु आउने मौसममा भने दैनिक ५ हजार रुपैयाँको कारोबार सजिलै हुन्छ उनको । उनीकहाँ आउने ग्राहकलाई उनी अहिले पनि चटपट देखि समोसा, पुरी, तरकारी, मःम, चाउमिन, माछामासु खुवाउँछिन् भने चिया, चिसोको व्यवस्था पनि गरेकी छन्।

खाजा व्यापारबाटै १२ लाखको घर
खाजा घरकै कमाईले हिजो भाडामा बसेकी उनी साँढे ५ लाख रुपैयाँमा त्यही जग्गा किनेर १२ लाख रुपैयाँ खर्चेर राम्रो घर समेत बनाईसकेकी छन् । छोरी रमा खुदीबजारको बोर्डिङ स्कुलमा १० कक्षामा पढ्दैछन् । सुखै छ र पनि विगतमा कहिले माईतीघरको आँगन त, कहिले छर–छिमेकीको पालीमा बसेका दिनहरु झल्झली याद आउने बताउँछिन् उनी । गाउँघरका महिला समुहसँगको सहकार्य र गाउँमा सचेतनामूलक कार्यक्रम गर्दै आएको समग्र विकास सेवा केन्द्र नामक संस्थाले दिएको नेतृत्व विकास र सशक्तिकरणका प्रशिक्षणमा बसेकाले पनि आफ्नो आत्मबल बढेको पनि उनले बताईन् । उनलाई व्यवसायिक सीप र हौसला बढाउन आफुहरुले राम्रै सहयोग गरेको समग्र विकास सेवा केन्द्रका संयोजक रुद्र कोईराला बताउँछन् ।

साभार- नयाँ पत्रिका

प्रतिकृया दिनुहोस्