RaraNews

प्रकाशित : २०७८/३/६ गते
३१३ पटक

थरका कारण तनहुँकी २४ वर्षीय रूपा सुनारलाई कोठा नदिने घरबेटी पक्राउ परेकी छन्।

काठमाडौंको बबरमहलस्थित प्रधान थरकी महिलालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए।

वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) हरिबहादुर सिंहका अनुसार प्रहरीले घरबेटीविरूद्ध गत शुक्रबार नै जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो।

‘हामीले घरबेटीविरूद्ध अस्ति शुक्रबार नै पक्राउ अनुमति लिएका थियौं,’ उनले भने।

रूपाले पनि घरबेटी पक्राउ परेकोबारे आफूले थाहा पाएको बताएकी छन्। 

आफ्नी आमासँग बस्दै आएकी रूपा गत मंगलबार बबरमहलमा कोठा खोज्न गएकी थिइन्।  आफ्नी साथीले देखाउन लगेको कोठा रूपालाई मन परेको थियो। सुरूमा घरबेटीले कोठा दिने कुरा गरेकी थिइन्।

भाडाको कुरा गरेपछि जातको कुरा आउँदा रूपाले घरबेटीलाई आफू कामीकी छोरी हुँ भनेकी थिइन्। त्यसपछि भने घरबेटीले कोठा नदिएकी हुन्। 

रूपा इमेज टेलिभिजनको उकाली ओराली कार्यक्रमकी प्रस्तोता हुन्।

रूपाले आफूमाथि जातीय विभेद भएको भन्दै गत बिहीबार प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन्।

प्रहरीले घरबेटीविरूद्ध जातीय भेदभाव तथा छुवाछूत मुद्दाको दफा ४ को उपदफा ३ बमोजिम जाहेरी दर्ता गरेको थियो।

त्यसबमोजिम कसुर गर्नेलाई तीन महिनादेखि तीन वर्षसम्म कैद र पचास हजारदेखि दुई लाख रूपैयाँसम्म जरिवाना हुनसक्ने कानुनी प्रावधान छ। 

यो पनि: 

‘पहिला हुन्छ भनेकी घरबेटीले म कामीकी छोरी हुँ भन्दा कोठा दिन मानिनन्’

तनहुँकी २४ वर्षीया रूपा सुनार काठमाडौंको बबरमहलमा आमासँग बस्छिन्। उनीहरूको भाडाको कोठा छ।

इमेज टेलिभिजनको उकाली-ओराली कार्यक्रमकी प्रस्तोता रूपा पछिल्लो समय कोठा सर्न खोज्दै थिइन्।  आमासँग भाडाको कोठा थियो।

कोरोनाभाइरसको महामारी रोक्न निषेधाज्ञा  गरियो। रूपा पनि अरू काम घरबाटै गर्थिन्। कार्यक्रम चलाउन केही समय कार्यालय जान्थिन्।

आमा-छोरीलाई एउटामात्रै कोठा साँघुरो भएको थियो। त्यही भएर उनी सर्नका लागि कोठा खोजिरहेकी थिइन्। कतै कोठा भेटिए आफूलाई जानकारी दिन साथीहरूलाई भनेकी थिइन्।

मंगलबार दिउँसो उनकी एकजना साथीले बबरमहलमै कोठा छ हेर्न जाउँ भनिन्। उनीहरू तीन जना भएर कोठा हेर्न गए।

घरबेटी प्रधान थरका रहेछन्। कोठा हेरेपछि रूपालाई मन पर्‍यो।

घरबेटीसँग भाडाको कुरा भयो। कुरा मिल्यो।  घरबेटीले कोठामा बस्दा राम्रोसँग बस्नु पर्ने बताइन्।

‘हल्ला गर्ने, अबेला आउने, मान्छेहरू धेरै ल्याउनेजस्ता काम गर्न पाइन्न,’ घरबेटीले भनेको कुरा उद्धृत गर्दै रूपाले सेतोपाटीसँग भनिन्,‘आफ्नै छोरीहरूजस्तो लाग्यो मलाई। एउटै घरको मान्छे जस्तो भएर बस्नुपर्छ। बसेपछि भाडामा बस्नेलाई पनि हामीले हेप्नु हुँदैन, भाडामा बस्नेले पनि अरूको घर सम्झेर बस्नुहुँदैन। सबै जना मिलेर बस्नुपर्छ।’

रूपाले आमालाई पनि एकपल्ट कोठा देखाउन ल्याउने बताइन्।

त्यत्तिकैमा घरबेटीले थरको कुरा उठाइन्।  

‘मैले सिधै भनें-म कामीको छोरी हुँ,’ रूपाले भनिन्।

उनको थर सुनेर घरबेटीले केही बोलिनन्। केहीबेर अघिसम्म मिलेर बस्नुपर्ने भनेकी उनी अकमकिइन्। रूपा र उनकी साथीहरू पनि केही बोल्न सकेनन्।

त्यसपछि घरबेटीले अनकनाएर भनिन्, ‘तपाईंको नम्बर दिनू न, म तपाईंलाई पछि खबर गर्छु।’

घरबेटीको कुरा सुनेर रूपाको चित्त दुखिसकेको थियो। तर उनले केही नभएजस्तो गरिन्।

साथीसँगै उनी कोठामा फर्किइन्।

घरबेटीले केहीबेरपछि उनकी साथीलाई फोन गरिछन् र कोठा नदिने कुरा सुनाइछन्।   

‘हामी फर्किएको केहीबेरपछि उहाँले साथीलाई फोन गरेर यस्तो-यस्तो मान्छे पो ल्याउनुभएछ है, मलाई त थाहा भएन। बस्न मिल्दैन भनेर भन्नुभयो,’ उनले भनिन्।

त्यसपछि रूपालाई यो कुरा आफूमा मात्र सीमित राख्न र चित्त दु:खाएर दबाइरहन मन लागेन।

त्यसपछि राति उनले दिउँसो आफूले भोगेको घटनाबारे फेसबुकमा भिडिओ पोष्ट गरिन्।

उनलाई आफू कामी भएकै कारण त्यो घरमा नअटाएको भन्ने लागेको छ। आफूलाई ती घरबेटीले अर्को दर्जाको व्यवहार गरिएको महसुस भएको बताइन्।

रूपाले थरकै कारण विभेद भोगेको यो पहिलो पटक भने होइन।

उनी कक्षा ४ सम्म लमजुङको भुजुङस्थित एक विद्यालयमा पढेकी थिइन्। त्यहाँ गुरूङ समुदायको बाहुल्यता थियो।

कथित उपल्लो जातका साथीहरूबाट पनि आफूमाथि सानैदेखि दुर्व्यवहार हुने गरेको उनलाई याद छ। गैरदलितले छोइछिटो गर्दा उनी शिक्षकलाई गुनासो गर्न जान्थिन्। शिक्षकले बेवास्ता गर्थे।

आफूहरूले केही गर्न नसकिने भन्दै कुट्यो भने तिमीहरू प्रतिरोध गर न भनेर फर्काउँथे।

‘खेल्ने ठाउँ पनि फरक-फरक हुन्थ्यो। दुई कक्षामा पढ्दा मेरा पाँच जना साथीहरू थिए। थाई कट कपाल काट्ने चलन आएको थियो। मेरा सबै जना साथीहरूले कपाल काटेका थिए। त्यसपछि मेरो पनि कपाल काट्देऊ न भनेर म गएँ,’ उनले सम्झिइन्, ‘तर उनीहरूले कैंची छोइन्छ भनेर काटिदिएनन्। म घर गएर आमालाई काटिदिनू भनेर भनेँ तर मान्नुभएन। अनि म आफैंले कपाल काटेँ।’

उनको उमेर बढ्दै गयो। उमेरसँगै उनले भोग्ने विभेदको तस्बिर पनि ठूलो हुँदै गयो। ठाउँ-ठाउँमा विभेदको सिकार भइन्। माओवादी सशस्त्र द्वन्द्वका बेला उनका बुवालाई गाउँमा बस्न समस्या भयो। त्यसपछि उनीहरू लमजुङ छोडेर तनहुँ झरे।

९ वर्षकी रूपाले लमजुङ छोड्दा नयाँ ठाउँमा त आफूलाई कसैले विभेद गर्दैन होला भन्ने लागेको थियो। दमौलीको एक होटलमा अरूसँगै बसेर खाना खान पाउँदा र थाल माझ्नु नपर्दा उनले विभेद हटेछ भन्ने ठानेकी थिइन्।

‘हामीले खाएको थाल पनि अरूले नै माझिदिएपछि त म खुसी भएकी थिएँ,’ उनले सम्झिइन्।

तर उनी पनि अरूजस्तै समान भएको त्यो क्षण त पानीको फोकाजस्तो मात्रै रहेछ। ठाउँ फेरियो, मान्छे बदलिए तर थरकै कारण उनलाई फरक व्यवहार गर्ने सोच  बदलिएन। गाउँदेखि सहरसम्म जता गए पनि त्यस्ता मान्छे भेटिइरहे।

हरेक ठाउँमा उनले आफूलाई  म पनि तपाईंजस्तै मान्छे हुँ भन्नु पर्‍यो।

‘दु:खकै कुरा गर्दा त कति लाग्छ, लाग्छ। म पनि तपाईंजस्तै मान्छे हुँ भनेर हेरक दिन, हेरक ठाउँमा प्रमाणित गरेर हिँड्नु पर्छ,’ रूपाले भनिन्।

रूपाले मिडियामा काम गर्न थालेको आठ वर्ष भयो। एसएलसी पास भएलगत्तै काम थालेकी उनले कतिपय नाम चलेका कलाकारहरूसँग म्युजिक भिडिओमा पनि खेलेकी छन्।

धेरैले आफूलाई राम्री भने पनि आफ्नो थर सुनेपछि नाक खुम्च्याउने गरेको उनको अनुभव छ।

‘तिमी त कामीजस्तो पनि नदेखिने, कति राम्री भनेर पनि भन्छन्। अनि म प्रतिकार गरेर कामीहरू कस्तो हुन्छन् र भनेर प्रश्न गर्छु,’ उनले भनिन्, ‘कामीकी छोरीभन्दा नाक खुम्च्याउँछन्। अब अर्को पुस्ताले यस्तो भोग्न नपरोस् भनेर हामी लड्नै पर्छ। बुवा, बाजेको पुस्ताले राम्ररी संघर्ष गरेको भए। अहिले हामीले यस्तो घिनलाग्दो कुरामा समय खर्चिनु पर्दैन थियो।’

आफूलाई थरकै कारण कोठा दिन इन्कार गर्ने घरबेटीविरूद्ध  यसपालि रूपाले कानुनको सहारा लिने भएकी छन्। प्रहरीमा उजुरी दिन लागेकी छन्।

रूपाले आफूमाथि भएको भेदभाव चुप लागेर बस्न नहुने ठानेकी छन्। उनले कानुनी उपचार खोज्ने भएकी छन्।  यसअघि पनि उनी आफ्ना साथीहरूमाथि भेदभाव गरेको भन्दै धेरै पटक प्रहरी कार्यालय पुगिसकेकी छन्।

‘म प्रमाण जुटाएर भोलि प्रहरीमा उजुरी दिन्छु,’ रूपाले भनिन्।

थरका कारण कोठा नपाएकी रूपाले घरबेटीविरूद्ध प्रहरीमा दिइन् जाहेरी

सेतोपाटीबाट

प्रतिकृया दिनुहोस्