RaraNews

प्रकाशित : २०७८/३/९ गते
३४६ पटक

बहस

बाहुन नेता त बाहुनवादी भइगए, जनजाति, दलित तथा मधेसी नेता पनि पूरै बाहुनवादीझैँ देखिन्छन् 

‘मलाई ईश्वरको डर लाग्दैन, किनकि ईश्वर छँदैछैन, मलाई केवल ईश्वर मान्नेहरूसँग डर लाग्छ’ भन्ने स्टेफन हकिङ्ग्सको अभिव्यक्ति मननीय छ । रूपा सुनारका अनुसार उनलाई पहिले अति राम्रो व्यवहार गरेकी सरस्वती प्रधानले सबै ठीकठाक हुँदाहुँदै कामीकी छोरी पहिचानले सबै बेठीक बनायो । मिठो व्यवहार जात जोडिएपछि नमिठो भयो । उनले जात बताएपछि घरबेटी आमै (ला…भन्दै) आत्तिइन् । यहाँ रूपा सुनारको दोष देखिन्न । कामीकी छोरी उनको स्थायी पहिचान हो, इतिहासदेखि सबैभन्दा धेरै हिंसा बेहोर्ने नारीभित्र पनि ‘इन्टरसेक्सनालिटी’को केन्द्रबिन्दुमा उभिने प्रतिनिधि पात्र । निर्धक्क उनले आफ्नो पहिचान पेस गरिन् । घरबेटी आमैले अन्ततः मालाई अलि मिल्दैन भनेकी रहिछन् । ‘अनकन्डिसनल’ आमा–छोरीझैँ बनिसकेको सुनार छोरीले प्रधान आमालाई हिरासत पुर्‍याइन् (भलै प्रधान परिवारले विभेद नगरेको बताउँदै आएका छन्) ।

कोठा–कोटा काण्ड : प्रतिगामी राजनीति र प्राकृतिक प्रकोपले आक्रान्त समयमा ‘कोठा–कोटा काण्ड’ भाइरल बनेको छ । ‘दलितलाई धेरै सुविधा दिएर मात्तिएको’ अभिव्यक्ति उर्लिएको छ । तिमीले कोठा पाएनौ । हामीले कोटा पाएनौँ । तिमीलाई कोठा पनि चाहिने, कोटा पनि चाहिने ? जस्ता अभिव्यक्ति छ्यापछ्याप्ती उम्रिएका छन् । जनप्रतिनिधिहरूसमेत ‘दलितको कोटा काटिदिनुपर्छ’ भनेर सामाजिक सञ्जालमा उत्रिएको देखिन्छ । ‘के पायौ रूपा तिमीले, आलु ?’ जस्ता अराजक अभिव्यक्ति अनगिन्ती गुञ्जिरहेको छ । ‘सरस्वती प्रधानलाई विनासर्त रिहा गर’ भन्ने एकातिर । पीडक प्रधानलाई कसुरअनुसार ‘हदैसम्मको कारबाही गर’ भन्ने अर्कोतिर । ‘कोठा खोज्ने कामी, कोठा नदिने नेवार, गाली खाने बाहुन’ भन्ने अझ अर्कोतिर । सामाजिक सञ्जालदेखि दिक्क भएर यसो बाहिर निस्कन्छु । झुन्डझुन्ड समूह मुन्डमुन्ड सत्यझैँ झुटहरू भट्याइरहेका भेटिन्छन् । ‘यी दलितहरू जात जनाइहाल्छन्, जति दियो उति टाउकामा टेक्न खोज्छन्, बरु मलाई मारोस्, दलितलाई दिन्न’ यस्ता अभिव्यक्ति छ्यापछ्याप्ती सुनिन्छन् । विवाद यस्तरी उर्लिएको छ कि आरोप–प्रत्यारोप ‘कोठा–कोटा काण्ड’ बनिसक्यो । ‘कोठा चाहिए कोटा छोड’ भन्नसम्म भ्याइसके । 

मापसे परीक्षणझैँ सबैको जाँच गर्ने हो भने जातीय कसुरबाट मुक्त पवित्र मानव हिन्दू समाजमा सायदै भेटिन्छन् । राजादेखि रैतीसम्म, जनजातिदेखि दलितसम्म जातव्यवस्था मान्ने छन् । कथित उच्चले जातव्यवस्थाको संरचनात्मक लाभ लिन्छन् । नेता अगुवा उस्तै छन् ।

एन्टोनियो ग्राम्सीको मान्यतामा ‘कमन सेन्स’ निकै खतरनाक हैकमको स्वरूप हो । सत्यझैँ देखिने झुट आममान्यता बनेपछि झुट नै सत्यको स्वरूपमा स्थापित बन्छ । जसलाई आमसमाजले स्विकार्छ, कसैले आफ्नो घरमा भाडा लगाउँदा जसलाई मन पर्छ, उसलाई राख्ने हो, मेरो घरभित्र दलितलाई पसाउँदिनँ, बसाउँदिनँ भन्न किन नपाउने ? बाउबाजेदेखि मान्दै आएको रीतिलाई मान्न किन नपाइने ? नयाँ संविधानले पनि धर्मनिरपेक्षता सनातनदेखि चलिआएको परम्परालाई स्वतन्त्र छाडेरै अवलम्बन गर्नु भनेको छ । यी तर्क सत्यझैँ देखिने सफेद झुट हुन् । कानुनले जातीय विभेदलाई कसुर मानेको छ । अभियन्ताका आँखामा यी अझ कसुर मात्रै होइनन्, मानवलाई असमान मान्नु अपराध हो । आममानिसको ‘कमन सेन्स’ले वर्णव्यवस्था अपराध मान्दैन, ईश्वरले अह्राएको सनातनदेखि चलिआएको धर्मकर्म ठान्छ । समाजमा व्याप्त ‘कमन सेन्स’ले प्रधान आमाले जे गरिन्, ठीक गरिन् भन्ने छ । कानुन पालना गर्ने निकाय यही ‘कमन सेन्स’वाला संस्कारबाटै हुर्केर आएका हुन् । तिनको ‘कमन सेन्स’ले पनि यसलाई खास मुद्दा मान्दैन । खोजी गर्दै जाँदा उपल्ला ओहदाकै कोही होलान्, विभेद नगर्ने मनुवा । 

रूपा सुनार मीडियाकर्मी हुन् । आफ्नो आवाज आफैँ कसरी मुखरित गर्नुपर्छ, उनलाई ज्ञान थियो । एक अभियन्ता पनि भएकीले उनले जातव्यवस्था बुझेकी छन् । विभेदविरुद्ध लड्ने साहस बटुलिबसेकी छन् । विभेदविरुद्ध उनी बोलिन् । विभेद गर्ने अभियुक्तलाई कानुनको कठघरामा पुर्‍याइन् । उनकै शब्दमा– उनी कार्यरत मिडिया हाउसले भने एउटा सामान्य विज्ञप्तिसमेत निकालेन । सहकर्मी कलाकारले साथ दिने प्रतिबद्धता गरेनन्, अपवादबाहेक । एउटा ठूलो तप्काको ‘कमन सेन्स’ले भन्छ, रूपाले बेठीक गरिन् । तर, मलाई लाग्छ रूपाले ठीक गरिन् ! यस्तो साहस अघिल्ला पुस्तामा भइदिएको भए, यो समाज अर्कै भइसक्थ्यो । धेरैको मानसिक विचलन तथा आत्महत्या टर्थ्यो, सायद । गाउँ नै विस्थापित हुनबाट बच्थ्यो । अजित मिजार, नवराज विकहरू मारिन्नथे । बीभत्स घटनापछि पनि ‘उसो भए कामी–दमैले हुल बाँधेर छोरी लिन आउँदा हात बाँधेर बस्नुपथ्र्याे’ भन्ने साहस गर्दैनथे । सबाल्टर्नको विद्रोह गर्ने हुती हुँदैन भन्ने मान्यता स्थापित हुन्नथ्यो । धेरै दलित अभियन्ताले जात ढाँट्नु अनि जात उत्खनन भएर वियोगान्त बेर्होनुपर्दैनथ्यो । एउटा उदाहरण, एकजना ठूलै कदका दलित नेता कथित उपल्ला जातको घरमा जात ढाँटेर बसेका थिए । सधैँ घरबेटीसँगै मर्निङवाक जान्थे । त्यस दिन पनि बिहान हिँडेर दुवै घर आए । अखबार हेर्दा उनै डेरावाल मित्रको फोटो छापिएको रहेछ । नाम उही छ, जात फरक । राजनीतिक नियुक्तिबाट सम्मानित खबर छापिएको थियो । नियुक्तिले उनको वास्तविक जात पनि बाहिर ल्यायो । असल मित्र, घरबेटी झस्किए । तुरुन्तै घरबेटीले भनेछन्, ‘यदि जात नढाँटेको भए म मेरो घरमा राख्थेँ, अब राख्दिनँ ।’ जात ढाँट्दा पनि सधैँ संकटमा, जात नढाँट्दा पनि यस्तो हबिगत । 

मार्मिक जाहेरी : रूपा सुनारले महानगरीय प्रहरी वृत्त सिंहदरबारमा दिएको जाहेरीअनुसार प्रधान आमाले भाडामा बस्नेलाई हेप्न हुँदैन, एउटै घरपरिवारजस्तै मिलेर बस्नुपर्छ भनेकी थिइन् । तपाईं छोरीजस्तै भन्दै अत्यन्तै राम्रो व्यवहार देखाइन् । सुनार प्रधान आमाको व्यवहारबाट अत्यन्तै प्रभावित भइन् । जब जातको कुरा आयो, केही बेरअघि छोरीजस्तै भन्ने व्यक्तिको व्यवहारमा एक्कासि ठूलो परिवर्तन भयो । एक हिसाबले उनी छाँगाबाट खसे जस्तै भइन् । सुनार पनि खिस्रिक्क भइन् । अन्ततः अरू भए हुन्छ, दलितलाई हुन्न भन्ने सन्देश दिइयो । पुनः कुरा गर्दा पनि घरमा बूढी आमा, पूजाआजाको कारण देखाएर कोठा नदिने जवाफ आयो । सुनारले लेखेकी छन्, ‘मेरो मानवीय भावना, मर्यादामा अत्यन्त पीडाजनक आघात परेकाले…निजहरूले गरेको कसुरअनुसार हदैसम्मको सजाय गरी पाऊँ’ । जाहेरी मार्मिक देखिन्छ । सरस्वती प्रधानलाई रूपा सुनार छोरीजस्तै लागेकै हो । निकै राम्रो व्यवहार पनि देखाएकै रहिछन् । तर, सनातनदेखि चलिआएको आस्था (कमन सेन्स)ले रूपाको जातलाई स्विकार्न सकेन । उनको ‘कमन सेन्स’अनुसार रूपालाई कोठा दिनु अधर्मी हुनु हो । छोरीझैँ बोध गरेकी रूपाको दिल दुखाउनु सामान्य बन्यो । ईश्वरप्रतिको आस्थामा आघात अस्वीकार्य भयो । अन्ततः सुनार छोरीले राम्रो व्यवहार गरेकी प्रधान आमालाई कठघरामा उभ्याइन् ।

जयस्थिति मल्लले मैथिल र पहाडे बाहुनको सहयोगमा सबैभन्दा पहिले नेवार समुदायलाई ५६ जातमा विभाजन गरेका थिए । जातप्रथा ईश्वरले रचना गरेको होइन, कुटिल शासकको प्रदूषित परिकल्पनाको उपज हो । शासकको निकटतम छहारीको सेपले प्रभावित नेवार समुदाय जातव्यवस्थाको सिकार भए । झापामा अनुसन्धानका क्रममा एक हुल दलित शिक्षक अभियन्तासँग जातव्यवस्थाबारे बहस गर्दै थिएँ । खस–आर्यभन्दा बढी नेवारले आफूहरूलाई जातीय विभेद गर्ने गरेको सुनाउँदा खिस्रिक्क भएको थिएँ । काठमाडौंमा बहस गर्दैगर्दा बिबिसी नेपाली सेवामा कार्यरत सबिता विकले तपाईं पनि जातीय विभेद गरिरहनुभएको छ भन्दा भुतुक्कै भएको थिएँ । दलित समुदायसँग सम्बन्धित पुस्तकका लागि भेटघाट, छलफल गर्दैगर्दा पटक–पटक विभेदपूर्ण अभिव्यक्ति दिइसक्दो रहेछु । रूपा सुनारसँग कुराकानी गर्ने पत्रकार मित्रहरू पनि उनलाई ‘तल्लो जात’ र अन्यलाई ‘उच्च जात’ भन्दै सम्बोधन गर्दै थिए । हामी यस्तो सामाजिक पृष्ठभूमिबाट हुर्किरहेका छौँ, जहाँ हाम्रा बाआमा, आफन्त, पुरेत–पुजारी, शिक्षक सबै जातव्यवस्था मान्छन् । जातको जरा खोतल्दैनौँ । ‘कास्टिस्ट’का सन्तान, शिष्य हौँ, हामी । मापसे परीक्षणझैँ सबैको जाँच गर्ने हो भने जातीय कसुरबाट मुक्त पवित्र मानव हिन्दू समाजमा सायदै भेटिन्छन् । राजादेखि रैतीसम्म, जनजातिदेखि दलितसम्म जातव्यवस्था मान्ने छन् । कथित उच्चले जातव्यवस्थाको संरचनात्मक लाभ लिन्छन् । नेता अगुवा उस्तै छन् । बाहुन नेता त बाहुनवादी भइगए । जनजाति, दलित तथा मधेसी नेता पनि पूरै बाहुनवादीझैँ देखिन्छन् । बाहुनवाद जहाँतहीँ फैलिसकेको छ, प्रवाससम्म । वर्ग उत्थान हुनेबित्तिकै उच्च जातीय अहंकार शिरोपर गरिहाल्छन् । 

जातीय विभेदको प्रधान अभियुक्त वर्णव्यवस्था हो । सरस्वती प्रधान आफैँ उत्पीडित अस्तित्व हुन् । उत्पीडितको अगुवाइमा अब विद्रोह गरौँ : बाहुनविरुद्ध होइन, बाहुनवादविरुद्ध । खास–आर्य, जनजाति, दलित, मधेसी, महिला सबै समुदायमा बाहुनवाद जब्बर भाइरस भएर पसेको छ । अमरझैँ भएर बसेको छ । 

अग्रणी अभियन्ता भगत सर्वजित विश्वकर्माले दलित मुक्ति आन्दोलन छेडे । धेरै आन्दोलनकर्मीले चरम यातना भोगे । उनले नेतृत्व गरेको दलित मुक्ति आन्दोलनको प्रमुख मुद्दामध्ये विश्वकर्माले पनि कर्मकाण्ड र जनै धारण गर्न पाउनुपर्ने माग थियो । उक्त आन्दोलनलाई दबाइयो, उनी विस्थापित भए । अहिले उनको वंशकै ठेगान छैन । कामीलाई दलितको बाहुन भन्नेहरू भेटिन्छन् । दलितभित्रै आन्तरिक छुवाछुत छ्यापछ्याप्ती छ । वर्णव्यवस्थाबाहिरका जनजातिमा उस्तै गरी छुवाछुत फैलिसकेको छ । नेवारभित्र पनि आन्तरिक छुवाछुत विद्यमान छ । नेवार शक्तिशाली जनजाति समुदाय हुन् । वर्ण नै वर्ग बनिसकेको नेवार समुदायले जातव्यवस्थाको जरो उखेल्ने आन्दोलन हाँकेमा धेरै सुध्रिन सक्छ । कीर्तिपुरमा शुक्रसागर श्रेष्ठ जस्तो प्रबुद्ध व्यक्तिलाई महर्जन समुदायले अति अनादर गर्दारहेछन् । बुझ्दै जाँदा उनमा उच्च जातीय अहंकार थियो भन्छन् । सबैैजसो जनजाति नेतामा बाहुनवाद हावी देखिन्छ । राजालाई हिन्दू सम्राट मान्ने पूर्वपञ्च बाहुनवादी भैगए । वर्चस्वशील वर्तमान जनजाति नेता शेरधन राई, सुवास नेवाङ, पृथ्वीसुब्बा गुरुङ, रामबहादुर थापा पनि बाहुनवादी बन्दै छन् । मधेसीमा बाहुनवाद उस्तै कहालीलाग्दो छँदैछ । आजसम्म दलहरूले जातव्यवस्था उन्मूलनका लागि प्रशिक्षण दिएको देखिन्न । अहिले आहुति जातव्यवस्था ढालेर वैज्ञानिक समाजवाद स्थापना गर्ने भन्दै मैदानमा उभिएका छन् । रूपा सुनारको मार्मिक जाहेरी बाहुनवादी ऐतिहासिकतासँग जोडिन्छ ।

जातप्रथाको जरा : सन् १८२७ देखि राममोहन रोयले ब्राह्मो समाज गठन गरे । दयानन्द सरस्वतीको आर्य समाज अस्तित्वमा आयो । रामकृष्ण परमहंस र स्वामी विवेकानन्द सुधार आन्दोलनमा लागे । ज्योतिराव फुलेहरू आन्दोलनमा उत्रिए । अम्बेडकरले मनुस्मृतिको दहन गर्दै बौद्धिक, राजनीतिक, आध्यात्मिक अझ सशक्त आन्दोलन छेडे । दशौँ हजार समर्थक लिएर मन्दिर प्रवेश गर्दै हिँडे । अन्ततः बौद्ध भिक्षु बनेर बितिगए । बाहुनवादीको बिगबिगी बढ्यो, घटेन । गान्धी नै वर्णवादी थिए । बालकृष्ण समले गान्धीलाई समयअनुसार तजबिज मिलाएर फाइदा लुट्न खप्पिस भन्थे । डोनाल्ड ट्रम्पदेखि नरेन्द्र मोदी हँुदै केपी ओलीसम्म तजबिजवादी बाहुनकै स्वरूपमा देखा परेका छन् । शशांक कोइराला उस्तै छन् । मोदनाथ प्रश्रित मार्काका अनगिन्ती बाहुनवादी बढ्दो छ । एउटी प्रधानलाई जेलमा कोच्दैमा कसरी जातव्यवस्था निर्मूल होला ? नेवाः समुदायलाई सबैभन्दा पहिले हिन्दूकरण गर्ने जयस्थितिभन्दा अघिदेखिको बाहुनवादको जरा देश–विदेशसम्म फैलिसकेको छ ।

भुटानमा ठाकुरसिंह पौडेल (विश्वकर्मा) शिक्षामन्त्री भए । तर, उनी तोकिएकै स्थानमा बस्ने, कथित उपल्ला जातका घरभित्र नपस्ने गरी आफ्नो धर्म निर्वाह गर्थे अरे । भुटानी शरणार्थी शिविरतिर उनको तारिफ हुन्थ्यो । जब ठाकुरसिंह शिक्षामन्त्री भए ‘अब यो कामीले सबैको टाउकामा टेक्ने भो, यिनका सन्तान सबै विष्ट–बराजुका अघि नझुक्ने भए’ भन्ने भय थियो । तर, ठाकुरले जातीय लक्ष्मणरेखा पार गरेर बितण्डा मच्चाउने आँट गरेनन् । स्वयं शिक्षामन्त्री गाउँगाउँ घुम्दा घरबाहिरै बसेर धर्म पालना गरेको भन्दै तारिफ हुन्थ्यो, शिविरमा । भुटानी शरणार्थी देशविहीन बने, जातव्यवस्थाविहीन बनेनन् । प्रवासमा पुनर्वासी भुटानी शरणार्थी मित्रहरूको घरघर वास बस्दै हिँडेँ । जहाँ पुग्यो, त्यहीँ सोधिन्थ्यो, बाबु के थरी हो ? मलाई झोँक चल्थ्यो, विश्वकर्मा भनिदिन्थेँ । कतिपय बुबाआमा झसंग हुन्थे । यो कुरा मैले आहुतिलाई सुनाएँ । आहुतिले त्यस्तो झुट नबोल्नुस् भने । 

प्रवासमा पनि दलितहरू पीडाका घटना सुनाउँथे । म्यानहटन महाबजारमा एक पठित दलित मित्रले आँखाभरि आँसु बनाएर विभेदको कुरा सुनाउँदा खिस्रिक्क बनाएको थियो । सिड्नी विश्वविद्यालयमा विद्यावारिधि गर्दैगर्दा मोम विश्वकर्माले अस्ट्रेलियामा आफूमाथि भएको जातीय विभेदलाई औँल्याएर लेखेका छन् । अमेरिका, क्यानडा, बेलायत, अस्ट्रेलियालगायत युरोपेली मुलुकहरूमा छुवाछुत र भेदभाव भोगेर उनी आत्तिए । थोरै नेपालीमा पनि थोरै दलित परदेश पुगेका छन् । परदेशमा पनि नेपाली भेट हुँदा सबैभन्दा पहिले जात सोधिहाल्छन्, दलितको थर बताएमा तपाईंबाट तिमी सम्बोधन गर्ने, पश्चिमा देशमा कसरी दलित आइपुग्यो भनी आश्चर्यात्मक दृष्टिले अनावश्यक सोधखोज गर्ने, सम्बन्ध विस्तार गर्नतिर खासै ध्यान नदिने…थ्री–डी (डर्टी, डेन्जर, डिमिनल÷डिफिकल्ट) काममा पनि असहयोग…कानुनी उपचार पनि असजिलो…रंगविभेदको कानुनले जातपातभेदलाई समेट्न नसक्दोरहेछ भन्थे, मोम विश्वकर्मा । परदेशमा त्यस्तै छ, स्वदेशमा यस्तै छ ।

अब के गर्ने त ? : जातीय विभेदको प्रधान अभियुक्त वर्णव्यवस्था हो । सरस्वती प्रधान आफैँ उत्पीडित अस्तित्व हुन् । उत्पीडितको अगुवाईमा अब विद्रोह गरौँ : बाहुनविरुद्ध होइन, बाहुनवादविरुद्ध । खास–आर्य, जनजाति, दलित, मधेसी, महिला सबै समुदायमा बाहुनवाद जब्बर भाइरस भएर पसेको छ । अमरझैँ भएर बसेको छ । जबकि, यो अस्थायी छ, रणनीतिक रूपले टिकाइरहेको छ । जातव्यवस्थाविरुद्ध व्यापक प्रशिक्षण गरौँ । जातीय विभेदसँग जोडिएका साहित्यको पनि आलोचनात्मक भञ्जन गरौँ । समकै ‘चिसो चुह्लो’ले अन्तरजातीय प्रेमीको कन्तबिजोग देखाएको छ । यशकुमारकै कलाले अन्तरजातीय प्रेमीलाई तर्साउँछ । अन्तरघुलन प्रयास असम्भवझैँ वियोगान्तमा टुंगिन्छन् । माओवादी जनयुद्धले उर्लाएको अन्तरघुलन उस्तै वियोगान्त बन्न पुगेको छ । विद्यालयदेखि विश्वविद्यालयसम्म, कक्षाकोठादेखि पाठ्यक्रमसम्म, सडकदेखि सदनसम्म व्यापक प्रशिक्षण गरौँ । बरु दलितकै अगुवाईमा उत्पीडित सबै एकत्रित बनौँ । हामी कास्टिस्ट हौँ भन्ने स्विकारौँ र परिवर्तन गरौँ । नेल्सन मन्डेलाले भनेझैँ ‘फर्गिभ बट नट फर्गेट’ सिद्धान्तलाई शिरोपर गरौँ । जातव्यवस्थाको जरोलाई उखेलौँ । धर्म बाधक भए ‘एगनस्टिक’ बनौँ बरु । अनि सम्भव हुन्छ, असलीमा अन्तरघुलित समाज निर्माण । जहाँ सबै जातजातिका सन्तती स्वतन्त्र प्रेमी बन्नेछन् । जातव्यवस्थाको केवल इतिहास भन्नेछन् । 

नयाँ पत्रिकाबाट साभार

प्रतिकृया दिनुहोस्