RaraNews

प्रकाशित : २०७८/३/२० गते
५३२ पटक

आमन्त्रित लेख

(सम्पादकीय नोट: हामी समाजमा उठेका महत्वपूर्ण विषयमा प्रबुद्ध व्यक्तिहरूलाई लेख्न आग्रह गर्छौं। यो लेख हामीले अभय श्रेष्ठलाई लेख्न आग्रह गरेका हौं।)

बबरमहल काण्डको अन्तर्य

घटनाबारे धेरैलाई थाहा छ। मूल कुरा यसको अन्तर्य केलाउनु हो।

कलाकार तथा टेलिभिजन प्रस्तोता रूपा सुनार डेरा खोज्दै सरस्वती प्रधानको घर पुगिन्। सबै कुरा मिल्यो। रूपाले आफ्नो जात खुलाउन जरूरी ठानिन् र भनिन्, ‘दिदी, म त कामीकी छोरी हुँ नि!’रूपाको जात थाहा नहुन्जेल डेरा दिन राजीखुसी भएकी, जात व्यवस्थाको संस्कारले थिचिएकी सोझी नेवार गृहिणी सरस्वती झसंग भइन् (यो बारम्बार उनैले स्वीकारेको कुरा हो)।

त्यसपछि उनले घर सल्लाह गरेर खबर गर्छु भनिन्।

‘पक्कै अब यी दिदीले डेरा दिन्नन्,’ जात प्रथाले मान्छेको घेरोभन्दा बाहिर धकेलिएकी रूपाको मनमा चस्का पस्यो।

रूपा सुनार जात व्यवस्था उन्मूलन आन्दोलनकी नेता थिइन्। ‘जातकै कारण डेरा पाइनँ भने प्रचलित कानुनअनुसार कारबाही प्रक्रियामा अगाडि बढ्छु’ भनेर उनी मानसिक रूपमा तयार भइन्।

पछि उनले सरस्वतीलाई फोन गरिन्। कतिपयले आरोप लगाएजस्तो यो स्कुप समाचार दिने टेलिभिजन रिपोर्टरको जस्तो स्टिङ अपरेसन पनि थिएन। रूपालाई सम्भावित परिणामबारे थाहा थियो। त्यसैले उनले फोनवार्ता रेकर्ड गराइन्।

नभन्दै सरस्वतीले अनकनाउँदै, अप्ठेरो मान्दै भनिन्, ‘घरमा बूढी हजुरमा (उनकी सासू) हुनुहुन्छ, त्यसैले अप्ठेरो पर्‍यो…।’

रूपाले अलि प्रस्ट हुन खोज्दै प्रतिप्रश्न गरिन्, ‘ए भनेपछि, हाम्रो जातको मान्छे तपाईंकहाँ बस्न मिल्दैन?’

सरस्वतीले फेरि भनिन्, ‘अँ त्यस्तै पर्‍यो। नरिसाउनू है नानी? कहिलेकाहीँ आउनू नि ! बरू अरू मान्छे छन् भने (गैरदलित) पठाइदिनू है? आउँदै गर न है नानी?’

वार्ताबाट के प्रस्ट हुन्छ भने सरस्वती प्रधान रूपालाई छोरीलाई जस्तै स्नेह गर्छिन्। कहिलेकाहीँ आउनू पनि भन्छिन्। तर, जातकै कारण उनलाई डेरा दिन सक्दिनन्। रूपालाई नै गैरदलित अरू साथी छन् भने पठाइदिनू पनि भन्छिन्। यसले मान्छेको रगतको कण-कणमा जात प्रथा कति बलियोसँग टाँसिएर बसेको छ भन्ने प्रस्ट हुन्छ।

पक्कै पनि सरस्वती प्रधान सफा मन भएकी सोझी आमनेवार महिला हुन्। प्रधान भनेको त नेवारभित्रको उच्च जात। त्यहाँ उनीभन्दा तल्लो मानिएको ज्यापू, साल्मी, खुःस, नकर्मी लगायत जातसँग बिहेको नाता जोड्ने काम हुँदैन। पोडे, च्यामे, खड्गी, धोबी, कुस्लेले छोएको चल्दैन। जातप्रथामा आधारित यो समाजको सामान्य प्रचलन थियो। उनले त्यसैलाई निर्वाह गरिन्।

यस्तो गर्दा प्रचलित कानुनअनुसार सजाय हुन्छ भन्ने उनलाई थाहा थिएन। सामान्यतया अछुत बनाइएका अधिकांश दलितले समेत यसलाई सामाजिक रीतिथितिकै रूपमै स्वीकार्छन् र कानुनी कारबाही गर्न अघि सर्दैनन्।

तर, अचानोको चोट खुकुरीलाई थाहा हुने कुरै भएन। रूपा सुनार आम दलितजस्तै मेरो भाग्य यस्तै रहेछ, अछुत कुलमा जन्मिएकी म अभागीले सबै उत्पीडन, अपमान र दलन चुपचाप सहनुपर्छ भन्ने खालकी थिइनन्। उनको चेतना लडाकू थियो। जन्मको आधारमा कसैलाई मान्छे नगन्नु र पशुलाई भन्दा तल राखेर व्यवहार गर्नु मानवताविरुद्ध अपराध हो भन्नेमा उनी दृढनिश्चय थिइन्।

जसरी म खेती–व्यापार–व्यवसाय गर्ने नेवार कुलमा जन्मिएँ, त्यसैगरी उनी फलामको हातहतियार बनाउन सीप जानेको कामी कुलमा जन्मिइन्। आवेदन राखेर आफूले चाहेको कुलमा कसैले जन्म लिने होइन। यस्तोमा रूपा सुनार, रूपा उपाध्याय, रूपा प्रधान, रूपा श्रेष्ठ, रूपा थापा, रूपा झा, रूपा सदा, रूपा तामाङ, रूपा लिम्बू वा रूपा अरूमा नश्लीय पहिचानको भिन्नताबाहेक अरू भेद हुनुपर्ने कुनै कारण छैन। प्रकृतिले कुनै भेदभाव गरेको छैन। भेदभाव त यही समाज व्यवस्थाले गरेको हो।

सरस्वतीका लागि त्यो सामान्य चलन थियो, तर रूपाका लागि आत्मसम्मानमाथिको  प्रहार थियो। सरस्वती दिदीले नरम, मायालु र भद्र स्वरमा भने पनि रूपाका लागि त यो मान्छेको दर्जा नदिइएको व्यवहार थियो।

अछुत बनाइएका दलितको ठाउँबाट सोच्ने हो भने यो, बोकालाई मुसारी मुसारी रेटे पनि, छ्याक्क काटे पनि मार्ने त मार्ने नै हो भनेजस्तै थियो।

मामला यही थियो। रूपा सुनारले सरस्वती प्रधानविरुद्ध प्रचलित कानुनअनुसार कारबाही गरिपाऊँ भनेर जाहेरी दिइन्। प्रहरीले सरस्वतीलाई पक्राउ गर्‍यो।

नेवाः एकताको नारा

सरस्वती प्रधान पक्राउ परेकी के थिइन्, एक तप्काका नेवारहरूले यसलाई नेवार समुदायमाथि आक्रमणका रूपमा आँधीहुरी मच्चाए।

जात व्यवस्था कायम राख्न चाहने अरू केहीले अनेक कुतर्क अघि सारेर तिनलाई उचाल्नु उचाले। रूपा सुनार र दलित समुदायमाथि नै अनेक लाञ्छना लगाए। केही हावादारी अनलाइन र युट्युबहरूले रूपा सुनार र दलित समुदायको गर्नुसम्म अपमान गरे। तिनले जातिवादी खबर सम्प्रेषण गरिरहे।

कथित बुद्धिजीवी र भद्रभलाद्मीले यसलाई दलित र तिनलाई साथ दिने मिडिया, बौद्धिक र नागरिक समाजलाई सामाजिक सद्भाव खलबल्याएको आरोप लगाए। कतिले आफ्नो घर कसैलाई दिऊँ कि नदिऊँ त्यो उसको मौलिक अधिकार हो भन्ने कुतर्क गरे।

यस्तो गर्दा त्यहाँ जातका आधारमा भेदभाव भएको तथ्यलाई तिनले जानी जानी छोपिदिए। सोझी सरस्वतीलाई थुनाएकोमा ‘सुनार्नीलाई क्षतिपूर्ति तिराउनुपर्छ, सुनार्नीले माफी माग्नुपर्छ’ भनेर जातिवादीहरूले आगोमा घिउ थपेको थप्यै गरिरहे। नेवाः देय दवु (नेवार राष्ट्रिय मञ्च) को काठमाडौं र ललितपुर शाखाले पनि रूपा सुनारविरुद्ध वक्तव्य जारी गरे।

यही स्थितिमा सरस्वतीलाई दुई वर्ष थुनिदिन सक्छन् भन्ने आशंका गरेर अन्ततः नेवार समुदायका केही मान्छे शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई गुहार्न पुगे।

सबैलाई थाहा छ, कृष्णगोपाल श्रेष्ठ नेवाः पहिचान, सभ्यता र सम्पदा संरक्षण, उनीहरूको भाषिक, सांस्कृतिक अधिकारको लडाइँ, विकासका नाममा नेवारहरूको जमिनको जबर्जस्ती अधिग्रहण र उठिवासविरुद्धको संघर्षमा कुनै योगदान नभएका, त्यसमा कुनै रुचि नदिएका, खस–आर्य राष्ट्रवादको पक्षपोषण गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीका निरपेक्ष अनुयायी हुन्। तर, ऐनमौकामा उनी नेवार समुदायको सेन्टिमेन्ट ‘क्यास’ गर्न तम्सिए, जसको असलियत केवल भोटको राजनीति थियो।

सुनियो, उनकै ठाडो आदेशमा प्रहरीले प्रमाण नपुगेको भनी सरस्वतीलाई हिरासतबाट मुक्त गर्‍यो। छुट्दा सरस्वतीले फेरि पनि सञ्चारकर्मीहरूसँग मनको कुरा नलुकाई भनिन्, ‘कामी भन्ने सुन्नासाथ झसंग भएँ, कुरा यत्ति हो।’

सरकारले नै लड्नुपर्ने यस मुद्दामा सरकारकै एक मन्त्रीले प्रचलित आचारसंहिता र नैतिकताविरूद्ध आफ्नै गाडीमा राखी सरस्वतीलाई घरसम्म पुर्‍याइदिए।

नेवार समुदायको एक हुलले नारा लगायो– नेवाः एकता जिन्दावाद! रूपा सुनार मुर्दावाद!

के यो नेवाः एकता थियो?

सरस्वती प्रधानले रूपालाई नरम भाषामा डेरा दिन सकिएन भन्नुको अन्तर्य जानी नजानी जात व्यवस्थाले सिकाएको ‘थि मज्यु पिं कुजात’ (छुन नहुने कुजात) कै अनुमोदन थियो।

नेवाः देय दवुले विभेद अन्त्य गर्न नेवारभित्रका विभिन्न ६५ थरी जातीय संस्थाका प्रमुख भेला गराई २०६६ पुसमा ललितपुरको पुल्चोकमा नेवार जातिबीच भेदभाव र छुवाछुत अन्त्य भएको घोषणा गरेका थिए। २०६८ पुसमा उनीहरूले काठमाडौंको वसन्तपुरमा विभेद अन्त्य भएको घोषणापत्र सार्वजनिक गरेका थिए।

देय दवुको आसय यहाँ आत्मसात गर्नु जरूरी छ। त्यहाँभित्र छुवाछुत छैन भन्नुको अर्थ अन्य समुदायका मान्छेलाई चाहिँ नेवारले छुवाछुत गर्ने छुट छ भन्ने कदापि होइन। कहीँ कसैलाई जातिभेद गरिँदैन भन्ने नै हो। त्यसैले सरस्वतीले कामीकी छोरीलाई डेरा दिन्न भन्नु देय दवुको आसयविपरीत भयो।

त्यसो हुँदा छुवाछुतकै व्यवहारलाई साथ दिएर कसरी नेवाः एकता भयो? यो त जातिवादको अभ्यास भयो।

व्यवहारमा अहिले पनि कथित उच्च जातका नेवार वा खस-आर्यले नेवार समुदायभित्रकै च्यामे, पोडे, खड्गी, कुश्ले, धोबीलाई अछुतकै व्यवहार गर्छन्। यस्तोमा नेवारभित्रकै कुनै उत्पीडित जातिले उच्च जातिको मान्छेमाथि कानुनी कारबाही गर्ने स्थिति आउँछ। त्यस्तो बेला रूपा सुनारविरुद्ध नेवाः एकताको नारा दिनेले के गर्लान्? त्यहाँ कहाँ नेवाः एकता रहन्छ? छुवाछुत र उत्पीडनविरुद्ध साथ दिएर पो नेवाः एकता सम्भव हुन्छ।

हो, नेवारहरू भाषिक, सांस्कृतिक र भौतिक रूपले समेत राज्यबाट पीडित समुदाय हुन्। राणा कालमा नेपाल भाषा प्रयोग गर्नै मनाही गरियो। नेपाल भाषामा कविता लेखेबापत् कतिपय कविलाई जेलमा कोचियो। प्रजातन्त्र पुनःस्थापनापछि काठमाडौं महानगरपालिकाले नेपाल भाषालाई समेत कामकाजको भाषा बनाउने निर्णयविरूद्ध अदालतमा मुद्दा पर्‍यो।

यसको तात्पर्य खस नेपाली भाषालाई बन्देज लगाई नेपाल भाषामा मात्र कामकाज गर्ने भन्ने थिएन। नेपाल भाषामा चाहनेले त्यस भाषामा पनि कामकाज गर्ने, गराउने भन्ने थियो। अदालतले त्यस निर्णयलाई बन्देज लगाइदियो।

नेवारहरू आज पनि त्यो निर्णय भएको दिन जेठ १८ लाई कालो दिवसका रूपमा सम्झन्छन्। यस्तो लडाइँमा नेवाः एकता अनिवार्य हुन्छ। छुवाछुतविरुद्ध लडाइँ, भाषिक, सांस्कृतिक अधिकारको लडाइँ, जबर्जस्ती जमिन अधिग्रहणविरूद्धको लडाइँमा पनि नेवाः एकता अनिवार्य हुन्छ।

छुवाछुतको समर्थनमा नेवाः एकता भन्नु छुवाछुतमुक्त समुदाय घोषित नेवार समुदायको असली आसयविरूद्ध हो। यसले उल्टै छुवाछुतविरोधी नेवार जातिको निधारमा कलंक लगाउँछ।

रूपा सुनारको विद्रोहले के दियो?

जात प्रथाका पक्षधर र भिडतन्त्रले रूपा सुनारमाथि अनेक लाञ्छना लगाए। उल्टै उनले माफी माग्नुपर्ने माग राखे। तर, उनको विद्रोहले चेतनाको राँको बाल्यो।

सामान्य प्रचलनमा रहेको छुवाछुत व्यवहारलाई मान्छेले अति सामान्य रूपमा लिएका थिए। यस्तो गर्दा सजायको भागिदार हुनुपर्छ भन्ने मानिसहरूले महसुस गरेकै थिएनन्। तर, उनको विद्रोहले मानिसहरूलाई सचेत गरायो।

अछुत बनाइएका दलितहरू हिजोजस्तै हरेक अत्याचार चुपचाप सहँदैनन्, यस्तो व्यवहार गर्दा वर्षौंसम्म कैद सजाय नै हुन सक्ने र सामाजिक रूपमा पनि कलंकित भइने खतरा रहेछ भन्ने सन्देश दियो। उनका विरूद्ध गलत अफवाह फैलाएर समाचार लेख्ने अनलाइनहरू बन्द गर्न प्रेस काउन्सिलले आदेश दियो।

‘सोझी’ सरस्वतीलाई थुन्नु जायज थियो?

रूपा सुनारको जाहेरीमा सरस्वतीमाथि कुन हदको कारबाही माग गरिएको थियो, मलाई थाहा छैन। तर, जातीय तथा अन्य छुवाछुत र भेदभाव (कसुर र सजाय) ऐन २०६८ को दफा ४ उपदफा ९ अनुसार सरस्वतीको जस्तो छुवाछुत व्यवहारमा दुई महिनादेखि दुई वर्षसम्म कैद र २० हजारदेखि १ लाख रूपैयाँसम्म जरिवाना हुनसक्ने रहेछ।

के सरस्वतीको अपराध दुई वर्षसम्म थुनिनुपर्ने स्तरको थियो? रूपा सुनारको पक्षमा विचार व्यक्त गर्दा मलाई कतिपय असल नियतका साथीहरूले सोधेको प्रश्न थियो यो।

व्यक्तिगत रूपमा भन्ने हो भने मलाई पनि यो सामान्य छलफलपछि गल्ती महसुस गराई छाडिदिए हुने मामला थियो भन्ने लाग्छ। जातकै आधारमा हत्या गर्नेसम्मले उन्मुक्ति पाइरहेको स्थितिलाई हेर्ने हो भने सरस्वतीले अञ्जानवश गरेको गल्ती मात्र थियो। तर, त्यसका लागि पीडित पक्षसँग संवादमा जानु जरूरी थियो। पीडितसँग माफी माग्नु जरूरी थियो।

पीडितलाई हामी दुवै समुदाय उत्पीडित हौं, हरेक उत्पीडनविरूद्ध एकले अर्कालाई साथ दिई अगाडि बढौं र यो मुद्दा फिर्ता लिऊँ भनेर विनम्रतापूर्वक अनुरोध गर्नु जरूरी थियो। गल्ती गरेपछि माफी माग्दा कोही सानो हुँदैन। पीडितले माफी दिएर जाहेरी फिर्ता लिएको भए त दुवै उत्पीडित जातिबीच सहकार्यको सम्भावना बढ्थ्यो।

मलाई लाग्छ, गल्ती गर्ने पक्षले नै चुनौती दिने र उल्टै पीडितले माफी माग्नुपर्छ भन्ने भिडतन्त्र बेलगाम हुँदा नै सरस्वतीले तीन दिनसम्म हिरासतमा थुनिनुपरेको हो।

माफ गर दलित मित्रहरू!

व्यक्तिगत रूपमा भन्ने हो भने जानाजानी मैले आजसम्म कुनै पनि समुदायलाई उसको वर्णका आधारमा छुवाछुत गरेको छैन। कसैको आत्मसम्मानमाथि प्रहार गरेको छैन। गर्ने पनि छैन। बितेर गएका मेरा आमा, बा अनि मेरो परिवारले पनि त्यस्तो व्यवहार गरेको थाहा छैन।

आफ्नो मलुवा बौद्धिकता र क्षमताले भ्याएसम्म म उनीहरूकै पक्षमा बोलिरहेको छु, लडिरहेको छु। तै पनि अञ्जानमा मबाट कुनै गल्ती भएको भए म सम्पूर्ण दलित मित्रहरूसँग क्षमा चाहन्छु।

एक गैरदलित भएका नाताले अन्य गैरदलितबाट भएका मान्छेलाई मान्छे नगन्ने कृत्यका लागि पनि क्षमा माग्नु पनि म आफ्नो नैतिक दायित्व ठान्छुु। म त भन्छु, सबै गैरदलितले यसका लागि क्षमा मागौं। एउटा निश्चित घोषणापत्र जारी गरेर यो अभियान चलाऊँ। यस्तो गल्ती फेरि कहिल्यै नगर्ने र कतैबाट हुन नदिन आफ्नो बर्गतले भ्याएसम्म पहल गर्ने प्रतिबद्धता व्यक्त गरौं। सबैलाई आत्मसम्मानपूर्वक बाँच्न पाउने नयाँ सभ्यताको सुरूआत गरौं।

twitter: @avayashrestha

सेतोपाटीबाट साभार

प्रतिकृया दिनुहोस्