RaraNews

जागरण मिडिया प्रकाशित : २०७४/१२/७ गते
१७१ पटक

 

आजभन्दा पाँच वर्षअघि बाग्लुङमा पद्मसिंह विश्वकर्मालाई भेटेको थिएँ, जो नेपाली दलित आन्दोलनको सुरुवातका साक्षी थिए । उनी दलित आन्दोलनमा मृत्युपर्यन्त ऊर्जावान् भएर लागे । त्यो बुढ्यौलीमा पनि उनको ऊर्जा २० को १९ थिएन । पद्मसिंह तिनै हुन्, जसले संवैधानिक राष्ट्रिय दलित अयोगको जग बासाए, संस्थापक अध्यक्ष बने । ठूलो योगदान दिएका पद्मसिंहको भौतिक शरीरलाई ०७२ पुस २९ मा स्थानीय केही मानिसले कालिगण्डकीको तीरमा चढाएर फर्किए । त्यो दृश्य देख्दा लाग्थ्यो, उनी सामान्य नागरिक हुन्, उनको योगदान जन्मनु र मर्नु मात्र हो ।

आज पनि मानिस–मानिसबीचको विभेदबारे उनले दिने गरेका फुर्तिला भाषण मेरो मस्तिष्कमा नाचिरहेछ । तर, यतिवेला म पद्मसिंह वा उनका मार्मिक र ऊर्जावान् अभिव्यक्तिबारे लेखिरहेको छैन । बरु, दलित आन्दोलनका बारेमा उनले जे सुने, देखे, भोगे र मलाई सुनाए । त्यही विषय उतार्दै छु ।

गाउँमा चर्चा चल्यो, ‘शुद्रले कहीँ पूजा गर्न हुन्छ ?’ ठूलो विवादको विषय बन्यो । विवाद खरको आगोजसरी सल्कियो । १९९७ सालमा त्यो विवादको आगो दन्काउने शुद्र थिए, बाग्लुङ गैरागाउँ ठुलास्वाराका भगत सर्वजित विश्वकर्मा ।

 

सर्वजित युवा अवस्थामा भारत प्रवेश गरे र संस्कृतमा आचार्यसम्मको अध्ययन पूरा गरेर गाउँ फर्किए । गाउँ फर्किएसँगै घरअगाडि एउटा मन्दिरको निर्माण गरे । अनि बिहान–बेलुकी शंखघण्ट बजाएर पाठ गर्न थाले ।

यस्तो व्यवहार स्थानीय शासक र कथित उच्च जातका व्यक्तिलाई सह्य हुने कुरै भएन । गाउँभर विभेदको आगो दन्कियो । तर, सर्वजितलाई प्रस्ट थियो, हिन्दू धर्मग्रन्थ वेदका अनुसार पनि कसैलाई छुवाछुत गर्ने अधिकार छैन । जो–जो उनीसँग मुकाबिला गर्न आउँथे उनीहरूलाई वेदको पाना पल्टाएर देखाइदिन्थे, ‘वसुधैव कुटुम्बकम्’ अर्थात् संसार नै एउटा परिवार हो । छुवाछुत त पछि न चलेको हो । धार्मिक कार्य गर्ने जो कसैलाई पनि छुट छ । तर, यस्ता शब्दले कथित उच्च जातिहरू कहिल्यै ‘कन्भिन्स’ भएनन् । त्यसैले उनले फुक्न थाले विभेदविरुद्धको बिगुल ।

जसको पहिलो खुड्किलो थियो– १९९७ मै गठित विश्व सर्वजन संघ । संघको अध्यक्ष बने सर्वजित, उपाध्यक्ष मानवीर, सचिव चन्द्रसिंह र कोषाध्यक्ष भए लक्ष्मीनारायण विश्वकर्मा । सातजना पदाधिकारी रहेको उक्त संगठनबारे गाउँलेलाई समेत थाहा थिएन । किनकि त्यतिवेला संगठन खोल्ने र विस्तार गर्ने काम अवैध थियो । धार्मिक र सामाजिक असमानताले उनको मनमा अचम्मको छाल उत्पन्न गराएको थियो । पोखरीमा ढुंगा फाल्दा जसरी पानी असन्तुलित हुन्छ, त्यसरी नै सर्वजितको छाल संगठन निर्माणमा गएर पोखियो ।
०००
संस्थाको पहिलो सम्मेलन २००० मा भूमिगत शैलीमा गैरागाउँकै भालुमारेमा भयो । सो सम्मेलनमा करिब २० जनाको उपस्थिति थियो । उक्त सम्मेलनले पनि तदर्थ समितिलाई नै वैधानिकता दियो । लगत्तै भारतको गोरखपुर कुँजघाट पुगेर २००३ सालमा अर्को बृहत् सम्मेलनको आयोजना गरियो । जहाँ ५० भन्दा बढीको सहभागिता थियो । त्यतिवेला ११ जनाको कमिटी विस्तार गरियो । जसमा म्याग्दी, अर्घाखाँची, गोरखालगायतका दलित समुदायलाई सहभागी गराइयो । उक्त सम्मेलनमा जांगे समाउँदै १६ वर्षे ठिटो पद्मसिंह विश्वकर्मा पनि पुगेका थिए ।

पुनः २००६ सालमा भारतको गोन्डामा विश्व सर्वजन संघकोे बृहत् अधिवेशन आह्वान गरियो । त्यो अधिवेशनले पदाधिकारी संख्या बढाएर १३ पुर्‍यायो । जसका सदस्यको रूपमा पद्मसिंह विश्वकर्मा पनि उदाए । त्यसपछि आन्दोलनले थप गति लिन पुग्यो । त्यतिवेला संघ ‘आर्थिक, सामाजिक, शैक्षिक र धार्मिक अधिकारमा दलितलाई पनि छुट हुनुपर्ने’ मागका साथ अगाडि बढेको थियो । त्यसपछि आजसम्म त्रिशूलीमा कति पानी बगिसक्यो । पृथ्वीले सूर्यलाई हजारौँ चक्र लगाइसक्यो । सयौँ सहिद भए, कैयौँ व्यवस्था पल्टिए । अवस्थामा परिवर्तन अयो । तर, आज पनि सिंगो दलित समुदायका माग त्योभन्दा फरक छैन ।

गोन्डा अधिवेशनले एउटा साहसिक निर्णय गर्‍यो, ‘गोप्य रूपमा योजना बनाउनुको कुनै तुक छैन । यसले दलित समुदायलाई मुक्ति दिलाउँदैन । अब खुला प्रचार गरी समुदायलाई सचेत बनाउनुपर्छ ।’ यसै निर्णयपछि नौतुनामा पुगेर हजार प्रति पर्चा, पम्प्लेट छपाइयो । मानवीर विश्वकर्मा अधिवेशनलगत्तै नेपाल फर्किएर आन्दोलनको पूर्वतयारीमा लागे । सर्वजित, लक्ष्मीनारायण, चन्द्रसिंह र पद्मसिंह पम्प्लेट बोकेर नेपाल प्रस्थान गरे ।

पहिलोपटक उनीहरूले नौतुनामा रहेको नेपाली बस्तीमा छिरेर पर्चा वितरण गरे । विभेदविरुद्धको लडाइँमा सबैलाई जागरुक पारे । त्यहाँ सुन र छालाका काम गर्ने दलित बस्ती थियो । बाटोमा परेका दलित बस्तीमा पनि चेतनामूलक पर्चा वितरण गरे, जागरुकताको बहस छेडे ।

यसरी नै बाग्लुङको काँठेखोलासम्म पुगे । काँठेखोलाको पानीले पसिनाको गन्ध पखाले र थप ऊर्जासहित बाग्लुङ बजार उक्लिए, समाजको कुसंस्कार र विभेद पखाल्ने उत्कट चाहना बोकेर ।

बीच बजारमा एउटा पीपलको रुख छ । अनि थकान मार्न चौतारो निर्माण गरिएको छ । जुन ओमप्रसादको चौतारीको नामले प्रख्यात छ । त्यही चौतारामा उनीहरू पुगे र जागरण सभाको आयोजना गरे । त्यतिवेला एउटा कविता निकै प्रचलित थियो ।  बटौलीको बजारमा लाहा छ कि छैन ? दूधको कुँडे मोहीको ठेकी सरावर भो थाहा छ कि छैन ?

अभियन्ताहरू गोरखपुरबाट यही कविता वाचन गर्दै आएका थिए । भाषणको सुरुवातमै उनीहरूले कविता भन्थे । निकै प्रचलित थियो यो श्लोक । या भनौँ नारा नै यही थियो । जसको सिर्जना लक्ष्मीनारायणले गरेका थिए ।

त्यो चौतारामा पनि भगत सर्वजित, लक्ष्मीनारायण, चन्द्रसिंहले भाषण गरे । भाषणको सुरु र अन्त्यमा यही कविता वाचन गरे । ठूलो भीडको बीचमा उनीहरूले दलित मुक्तिको बिगुल फुके । जुन सानो आँटले सम्भव थिएन । त्यतिवेला अछुतले ठूलो स्वर गर्नु र व्यवस्थाविरुद्ध बोल्नु पक्कै सहज थिएन । तर, उनीहरूले व्यवस्थाविरुद्ध बोलेरै छाडे अनि घर फर्किए ।
०००
उनीहरूको पर्चा जिल्लाको सरकारी अड्डासम्म पुग्यो । त्यतिवेला माल, अदालत र छोटी गरी तीनवटा अड्डा हुन्थे । जिल्लाको प्रमुख अड्डा हुन्थ्यो छोटी । पर्चा अड्डा पुगेको भोलिपल्टै विधर्म प्रचार गरेको, गाथगादी ताकेको, व्यवस्था र समाजविरोधी काम गरेको भन्दै उनीहरूको हातमा हत्कडी लगाइयो । आवाज थुन्न खोजियो । तर, उत्पीडनको आवाज त्यति सजिलै कहाँ थुनिन सक्छ र ? झन् जोड जोड्ले पो उठ्न थाल्छ त । २००७, ०४६ र ०६२/६३ को आन्दोलन यसकै ज्वलन्त उदाहरण हुन् ।

बाग्लुङमा अड्डाका बडाहाकिम पाल्पाका थिए । भगत सर्वजितलाई रातारात पाल्पा पठाइयो । उनीबाहेकलाई बाग्लुङमै छुट्टाछुट्टै  कोठामा राखियो ।

त्यसको केही महिनापछि २००७ सालमा राणाविरोधी आन्दोलन चर्कियो । र, देशमा प्रजातन्त्रको उदय भयो । प्रजातन्त्र स्थापनासँगै पद्मसिंह, चन्द्रसिंह, लक्ष्मीनाराण र मानवीर विश्वकर्मा जेलमुक्त भए । त्यसपछि उनीहरू भारत निर्वासित भए । तर, भगत सर्वजतिलाई भने जेलको चिसो छिँडीमै राखियो । १६ महिनापछि मात्र भगत सर्वजित जेलबाहिर निस्किए । उस्तै आवेग बोकेर ।

सर्वजित जेलमुक्त भएपछि छुवाछुतविरुद्धको ज्वाला झन् दन्किन थाल्यो । त्यतिवेला उनीहरूले बालिघरे प्रथाले श्रमशोषण गरेको भन्दै ज्यालामा काम हुनुपर्ने माग राखे । जसका लागि कामीहरूले आरनको टुँडा भाँच्ने र परियारहरूले कल सिउन बन्द गर्नेसम्मको आन्दोलनमा उत्रिए । जुन ‘टुँडो भाँच्ने’ आन्दोलनको रूपमा प्रचलित छ ।

दलितलाई शिक्षा लिनबाट कुनै धर्म र संस्कारले रोक्दैन भन्ने प्रमाणित गर्न भगत सर्वजितले विद्यालय नै खोल्नुपर्‍यो । २००७ सालमै उनले विश्वकर्मा प्राथमिक विद्यालय स्थापना गरेका थिए । उक्त विद्यालयको पहिलो ब्याचमै करिब ३० जना दलित विद्यार्थीले अध्ययन गर्न सुरु गरेका थिए, जुन विद्यालय अहिले पनि प्रस्तावित उच्च माविको रूपमा गैरागाउँमा सञ्चालित छ ।

भगत जहिल्यै विभेदविरुद्ध कडा रूपमा प्रस्तुत भए, छुवाछुतलाई कलंक सावित गर्न लागिरहे । दलितमुक्तिको आवाज मुखरित गर्ने उनको अवाज ०१२ सालमा बन्द भयो, सदाका लागि । साभार- नयां पत्रिका

प्रतिकृया दिनुहोस्