RaraNews

जागरण मिडिया प्रकाशित : २०७४/१२/१३ गते
४० पटक

हुम्ला – डडेल्धुरा सदरमुकाम छेउमै ४० घर दलित परिवारको सिंगो गाँउ नै एक मात्र पानीको धारामा गुजारा गर्दै आएको समाचार सेलाउन नपाउदै हुम्लामा पनि यस्तै समस्या रहेको खबर बाहिर आएको छ । हुम्ला जिल्लाको ताँजाकोट गाउँपालिका ३ का दलित समुदायलाई कथित माथिल्लो जाति भनिने समुदायले आफ्नो खाने पानीको धारा छुन नदिएपछि त्यहाँका २५ घर दलित परिवार खानेपानीबाट बञ्चित भएका छन । अणीखोला गाउँका २५ भन्दा बढि दलित परिवार खानेपानी वञ्चित भएका हुन।

ताँजाकोट गाउँपालिका – ३ को रामा गाउँको खानोपानीको धारामा अहिलेपनि दलित र छाउ भएका महिलाहरूले धारो छुन नपाएको गुनासो गरेका छन् । सानो मन्दिर सहित सिमेन्टले बनाएको कालो पाइपको धारोको अघिल्तिर ‘दलित र छुई भएका महिलालाई धारो छुन मनाही छ, भन्ने लेखेरै धारो छुनबाट दलित र महिनावारी भएका महिलालाई धारो छुनबाट वञ्चित गरिएको छ ।

गाउँकै छेउमा भएको मुलपानीको उक्त धारोमा दलित र छुई भएका महिलाले छोएमा देवता रिसाएर पानीको मुल सुक्ने भन्दै गाउँलेले अहिले पनि उक्त धारोमा छुन दिइएको छैन । साविकको मदना र मैला गाविसबाट सदरमुकाम सिमकोट जाने मुख्य बाटो भएको उक्त धारो छुन नदिएपछि आफूलाई पानीको प्यास लागेपनि धारो नदेखे जस्तै गरेर बाटो हिड्नु परेको ताँजाकोट-३ अणीखोलाकी प्यारू लुवारले दुखेसो गरिन् । ताँजाकोट गाउँपालिका-५ की रूपकली नेपालीले देउताले सुन्दैन भनेपछि धारोको घेरबार गरेको ढुङ्गा भन्दा माथि जान नदिएकोले आफ्नो जातकाले उक्त धारो नछुनु भन्दा हेर्दापनि नहेरेको बताइन् ।

कथित माथिल्लो जातका रूपमा मानिने ठकुरी बस्ने गाउँको धारो भएकाले धारोमा छुन समेत नपाएको बताएकी अमृता नेपालीले खानेपानीको धारोमा समेत छुन नपाएपछि भनिन् ‘रामा गाउँको धारोको त कुरै पर आओस् ‘छुनु भन्दा हामी धारोको पटका (ढुङ्गाको बिसौनी) लाई समेत छुन पाइदैन। ’ रामा गाउँका ठकुरीले आफूलाई डुम (दलित) ले धारो छोएमा पानी सुक्ने भन्दै बाटो बाट धारो आसपास जाँदै गाली गर्ने गरेको बताएकी उनले ३० वर्षको अवधिमा आफूले २ पटक मात्रै कथित माथिल्लो जातकालाई भाँडोबाट आफ्नो हातमा पानी हाल्न लगाएर खाएको अनुभव सुनाइन् । संविधानको धारा १८ को समानताको हक अन्तर्गत उपदफा २ ले धर्म, वर्ण, जात, जाति, लिङ्ग जातीय आधारमा कुनै विभेद नगर्ने भनेर लेखेको भएपनि नेपाली समाजबाट यो अमानिय ब्यवहार हट्न सकेको छैन ।

गाउँका देवता रिसाउने भएकाले आफूले सम्झेको दिनदेखि नै दलित र छुई भएका महिलाले धारो नछोएको बताएका साविकको मैला गाविसका पुर्वअध्यक्ष वृषबहादुर शाहीले दलितले धारो छोएमा पानी सुक्ने प्रतिक्रिया दिए ।गएको ५ वर्ष अघि तल्लो जात र मिन्स भएका महिलाबाट धारोमा छुईछाई ९छोइएको० ले धारोको पानी सुकेको बताएका शाहीले पछि ब्राम्मण बोलाएर होमजग्गी गरेपछि पानी आएको भन्दै त्यसपछि आफूलेपनि दलित र मिन्स भएका मैलालाई धारो छुन नदिएको बताए । तर रामा गाउँमै भएको रामदेव आधारभुत विद्यालयका प्रधानाध्यापक काँसीचन्द्र जैशी गाउँको धारमा दलित र मिन्स भएका महिलालाई प्रवेश गर्न नदिने काम निकै अमानविय भएको भन्दै त्यसको अन्त्यका लागि गाउँका अविभावकलाई पटक पटक भनेको बताए । धार्मिक र साँस्कृतिक कारणले गाउँको छेवैमा भएको खानेपानीको धारमा दलित र महिलालाई प्रवेश गर्न नदिएका बताएका शिक्षक जैशीले आफुले पढाउने गाउँमै जातिय छुवाछुतको जघन्य अपराध भएकोमा निकै दुख व्यक्त गरे ।

अन्य गाउँमा समेत जातिय विभेद उस्तै :
दलित र गैर दलित माथिको विभेद ताँजाकोटका अन्य गाउँमा समेत व्याप्त छ । आफूलाई तल्लो जातको भन्दै अन्य सार्वजनिक धारमा निर्धक्क साथ पानी भर्न नपाएको गुनासो ताँजाकोटका दलितले गरेका छन् । आफ्नो गाउँमा दलितका लागि बेग्लै धारो भएको बताएका ताँजाकोट २ अणीखोलाका रिउल्या लुवारले पहिलेको तुलनामा केही कम भएपनि दलित माथिको विभेद नहटेको बताए । आफूहरुलाई पहिले देखिनै दलित भनेर हेप्ने गरेको बताएका उनले आप्mनोलागी अँझै जातयि छुवाछुत नहटेकोमा गुनासो गरे ।

आफूले पानीको धारोमा पानी भर्न गएका वेला माथिल्लो जातका कसैलाई छोएमा माथिल्लो जातकाले पानीको छिटो हालेपछि मात्रै घरभित्र छिर्ने गरेको बताएका रिउल्याले आफूलाई जातिय विभेद अन्त्य नभएको बताए । उनले भने “अणिखोलामा अहिले पनि दलितका लागि बनाएको धारामा पानी भर्न आउँछन् तर दलितलाई पानी भर्न नदिएर उल्टै डुम भनेर हटाउछन ।” धारोमा पानी भर्न आफ्ना वालवालिका गएका वेला माथिल्लो जातकाले पानी भरेको भाँडोमा छोएमा त्यो पानी पोखेर फेरी भर्ने गरेको बताए ।

प्रतिकृया दिनुहोस्