RaraNews

भुमिराज अधिकारी प्रकाशित : २०७५/२/१५ गते
१०७४ पटक

काठमाडौँ । हाम्रो समाजमा अझैपनि दलितमाथिको बिभेद ज्यूँका-त्यूँ छ । दलितको श्रम र सीप चल्ने समाजमा पानी भने बर्जित छ । हिन्दु वर्णाश्रम व्यबस्थाले लादेको कथित जात प्रथाका कारण जातीय बिभेदको चरम यातना आम दलितले भोग्दै आएका छन् । यद्यपी, कानुनमा जातीय बिभेदको अन्त्य घोषणा गरिएको छ । तर ब्यबहारमा भने कत्ति पनि कमी भएको पाइँदैन । अझैपनि धारा पँधेरामा दलित महिलालार्ई छोईछिटो गरिन्छ तर दलित युबतीमाथि आँखा गाड्दै उनीहरुको जवानी लुट्न भने पछि पर्दैन यो समाज । यस्ता प्रशस्तै उदाहण हाम्रासामु छन् । यसको पछिल्लो सिकार बनिन् अर्घाखाँची जिल्ला भुमिकास्थान नगरपालिका वडा नं. १० बस्ने बिष्णु बहादुर र लिला नेपालीकी १५ बर्षिया छोरी समिता नेपाली ।

कुरा २०७३ साल माघ ७ गतेको हो । माघ महिनाको कठ्याङ्ग्रिदो चिसो मौसममा अर्घाखाँची सदरमुकाम सन्धिखर्क बजार भने औद्योगिक ब्यापार मेलाले तातिँदै थियो । सदरमुकाम वरिपरीका गाँउबाट मेला हेर्न आउनेको घुइँचो लागेको थियो । कक्षा ११ मा पढ्ने समिता स्कुलको जाडो बिदा भएका कारण घरमै थिइन् । आफुसंगैका साथीहरु मेला हेर्न गएको देखेपछि उनलाई पनि मेला हेर्ने रहर लाग्यो । मेला हेर्न र लत्ता कपडा खरिद गर्न भन्दै आमासंग पैसा मागेर बिहानै सन्धिखर्क झरेकी थिइन् । दिनभरि मेला हेरेर थाकेकी समिता घर फर्किने तयारी गर्दै थिइन् । त्यसै समय समिताको भेट करिब १ महिना अघि चिनजान भएका धारापानी मकैं डाँडा घर भई सन्धिखर्कमा किराना पसल गर्दै बस्ने राजु अधिकारीसंग भयो । राजुले समितालाई देखेर बोलाए । उनले होटलमा गई खाजा खान अनुरोध गरे । तर समिताले समयमै घर पुग्नु पर्ने भएकाले खाजा खाने समय नभएको भन्दै हिड्ने तरखर गर्दै थिइन् । राजुले आफैले मोटरसाइकलमा घरसम्म पुर्याइदिने अश्वासन दिँदै समितालाई फकाएर सन्धिखर्कस्थित होटल ‘डाइमण्ड’मा पुगे ।

फरार अभियुक्त राजु अधिकारी

होटलको एउटा कोठामा समितालाई राखेर मस्म र जुस खान आग्रह गर्दै राजु आफ्नो पसल बन्द गर्न निस्किएका थिए । राजु गएपछि समिताले जुस पिइन् । त्यसपछि के के भयो समितालाई केही थाहा छैन । अर्कोदिन बिहान ब्यूँझिदा आफ्नो शरिर निर्वस्त्र देखेपछि उनको होस हवास नै उड्यो । शरिर दुखेजस्तो केही असजिलो भइरहेको थियो । डर र दुखाइले उनका हात काँपरिहेका थिए । हिँड्न खोज्दा खुट्टाले टेक्न मानिरहेका थिएनन् । शरिर रगताम्य थियो । आफु बलात्कृत भएको कुरा थाहा पाएपछि समिता अत्यन्तै बिछिप्त भइन् । जुसमा कुनै केमिकल मिसाई बेहोस बनाएर बलात्कार गरिएकोे रहेछ । आफ्नो अस्मिता लुटिएकी उनी निकैबेर रोइन्, कराईन्, चिच्याईन् तर बन्द कोठाभित्र उनको चित्कार सुन्ने कोही थिएनन् । रोइरहेको अवस्थामा राजु आएर उनलाई जर्वजस्ती मोटरसाइकलको पछाडी राखेर लिएर गए ।

होटलको बन्द कोठा भित्र इज्जत लुटेका राजुले समितालाई जर्बजस्ती ढिकुराको एक जंगलमा लिएर गए र उनलाई त्यहीँ छोडेर आफु फरार भए । यता, समिताकी आमा २ दिनदेखि छोरीसंग सम्पर्क नभएका कारण चिन्तामा थिइन् । परिवार र आफन्तले खोज्दै जाँदा अर्घाखाँचीको सानाडेभा भन्ने ठाउँमा समिता अचेत अवस्थामा  भेटिएको आमा लिला नेपालीले बताइन् ।

आफन्तहरुले उनलाई अर्घाखाँची जिल्ला अस्पताल पुर्याए । अस्पतालमा जाँच गराउँदा जर्बजस्ती करणी गरिएको रिर्पोट आयो । छोरीमाथि जघन्य अपराध भएको भन्दै अभियुक्तलाई कारवाही र छोरीलाई न्यायको माग गर्दै लिला र बिष्णु नेपालीले जिल्ला प्रहरी कार्यालय सन्धिखर्कमा जाहेरी समेत दिए । तर अभियुक्तलाई पक्राउ पुर्जी नै जारी नगरिएको पीडितको भनाई छ । वकील अभियुक्तकै गाँउको भएका कारण आफुहरुलाई सोधपुछ नै नगरी अभियुक्तलाई फोन गरि भाग्नका लागि उक्साएको बुवा बिष्णु नेपालीले बताए । अभियुक्त राजु अधिकारी नेपालगञ्ज लाईसेन्स बनाउन गएको र केहि दिन पछि फर्किने बताइएता पनि अहिलेसम्म राजु समपर्कका नआएको परिवारको गुनासो छ । अभियुक्तलाई प्रहरी र प्रशासनको मिलेमतोमा भारत भगाइएको समेत पीडितले आरोप लगाउँदै आएका छन् ।

“राजु अधिकारीले अर्घाखाँचीकै एक केटीसंग विबाह गरी भारत तिर गएको जानकारी आएको छ भनेर प्रहरी आफैले भने पछि हामी अश्चर्यमा पर्यौ” आमा लिलाले दुखेसो पोखिन् । यति फितलो तरिकाले अभियुक्त फरार हुनुमा प्रहरी प्रशासनको गैर जिम्मेवारीपन भएको उनी बताउँछिन् । उनले भनिन् -“सम्पन्न वर्गका लागि मात्र कानुन बनेको रहेछ, गरिब दुखीका लागि न्याय हुँदो रहेनछ ।” घटना भएको ६ महिना पछि मात्र अदालतबाट अभियुक्तलाई पक्राउ गर्नका लागि पक्राउ पुर्जी जारी गरिएको परिवारले बताउँदै अाएका छन् । पक्राउ पुर्जी समयमा जारी नगरिनुमा प्रहरी र अभियुक्तकाे मिलेमताे रहेकाे पीडितकाे अाराेप छ ।

यता समिता मानसिक रुपले बिछिप्त थिइन् । घरबाट बाहिर ननिस्किने र स्कुल समेत छोडेर बसेकी उनी कक्षा ११ परिक्षासमेत दिन मानिनन् । छोरीको अवस्थालाई मध्यनजर राख्दै परिवारकै सल्लाहमा ललितपुरको चापाँगाउँमा बस्दै आएकी समताकी मामाकी छोरी नाता पर्ने मिना नेपालीसंग बस्ने व्यबस्था मिलाइ २०७४ असारदेखि जनसेवा उ.मा.वि.मा पून: कक्षा ११ मा भर्ना गरिदिएर बुवा अर्घाखाँची फिर्ता भए । घरदेखि टाढा भयो भने पुरानो घटना बिर्सिएर छोरीको नयाँ जिन्दगी सुरुवात होला भन्ने सपना देखेका थिए उनले । तर बिष्णु दम्पत्तीको त्यो सपनामा २०७४ माघ ८ गते पूर्णबिराम लाग्यो ।

२०७४ माघ ८ गतेको एकाबिहानै गाउँभरि हल्ला फैलियो । मन्दिरमा मान्छे झुन्डिएको कुराले सबैको ध्यान त्यतैतिर तानिएको थियो । भुमिकास्थान नगरपालिका वडा नं-८ स्थित चरेपानी कालिका मन्दिरमा झुन्डिएको अवस्थामा एक किशोरी फेला परेकी थिइन् । ति किशोरी अरु कोही नभएर उनै समिता नेपाली थिइन् । काठमाडौँमा छोडेर आएको छोरी एकाएक ६ महिनापछि भुण्डिएको अवस्थामा र मृत भेटिनु बिष्णु दम्पतीका लागि अश्यैह्य पीडाको बिषय बन्यो । पीडा मात्र होइन, काठमाडौँबाट हराएकी समिता कसरी अर्घाखाँचीमा मृत अवस्थामा भेटिइन? घटना  घटना अझै शंकास्पद बन्दै थियो ।

 झुण्डिएको अवस्थामा समिता नेपाली

उक्त घटनालाई अवलोकन गर्दा कसैले हत्या गरि गल्ती ढाकछोप गर्नका लागि झुण्डाएको प्रस्टै देखिन्थ्यो । प्रत्यक्षदर्शीका अनुसार घटना भएको ठाउँ वरिपरी चुरोटका ठुटा मात्र थिए । यसरी हेर्दा समितालाई कसैले हत्या गरेर झुण्डाएको अनुमान लगाउन सकिन्थ्याे । प्रहरीले घटनाको मुचुल्का उठाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल सन्धिखर्कमा पठायो । तर अस्पतालको रिर्पोट आत्महत्या भनेर आयो । तर परिवारले यो स्वीकार गर्न मानेनन । किनकी घटनाको प्रकृति आत्महत्या जस्तो कुनै कोणबाट पनि थिएन । दुबै घुँडाले टेकिरहेको अवस्थामा समिताको शव झुण्डिरहेको थियो । त्यसैले परिवारलाई अस्पतालले दिएको पोष्टमार्टम रिर्पोट चित्त बुझेको छैन । भन्छन्- “प्रहरीले हामीलाई नसोधी हतारमा गाउँलेको सहयोग लिई पोष्टमाटमको लागि अस्पताल लगेको हो, अस्पतालले सही रिपोर्ट नै देखाएको छैन ।”
तर पोष्टमार्टम रिर्पोट गलत नभएको बताउँछन् जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका डिएसपी एकनारायण कोइराला । समितालाई जवर्जस्ती करणी गर्ने राजु अधिकरीको खोजी भइरेको उनले जानकारी दिए ।

यता, घटनाको उचित छानविन गर्न र दोषिलाई कानुनी दायरामा ल्याउन परिवारले प्रहरीलाई अपील गरेका छन् । तर प्रहरी प्रशासन मौन रहेको पीडितले बताए । घटनाको उचित छानविन गर्न र दोषिलाई कानुनी कार्बाहीमा ल्याउन परिवारले प्रहरीलाई अपील गरेका छन् । तर प्रहरी प्रशासन मौन रहेको पीडितले बताए ।

छोरी बलात्कृत भएको घाउ निको नहुँदै छोरीलाई मृत अवस्थामा देख्नु पर्दाको पीडा लिलालाई थामीनसक्नुको छ । एकातिर बलात्कारी भारतमा मोजमस्ती गर्दै घुमिरहेको छ भने अर्कातिर छोरीलाई कसले मार्यो भन्ने पत्ता लागेको छैन । यही पीडा बोकेर केही दिन अघि न्यायको ढोका ढक्ढक्याउन राजधानी आएकी लिलासंग थुप्रै अनुत्तरित प्रश्नहरु छन् । आफुमाथि परेको बज्रपातको गाँठो कसले फुकाइदेला? आफुलाई कसले न्याय देला?

प्रतिकृया दिनुहोस्