RaraNews

रूपबहादुर सुनार प्रकाशित : २०७५/३/२४ गते
१४२ पटक

काठमाडौँ — भारतीय सिनेमालाई विश्वकै ठूलो चलचित्र उद्योगका रूपमा लिइन्छ । तर, भारतीय समाजका सबैभन्दा पछाडि पारिएका समुदायका सरेकार ती फिल्महरूले खासै उठाउन सकेका छैनन् । अझ भारतीय भूमिमा नै विकसित भएको क्रूरता जात व्यवस्थाबारे भारतीय मूलधारका फिल्म खासै बन्ने गरेका छैनन् ।

छुवाछूत–भेदभावलाई सामान्य रूपमा उठाएर केही फिल्महरू बनेका छन् तर विषयवस्तु उठान र प्रस्तुतिका हिसाबले त्यति बलिया छैनन् । हालै परम्परागत जातव्यवस्थाको मानकलाई चुनौती दिँदै पा रंजिथले निर्देशन गरेको चलचित्र ‘काला’ प्रदर्शनमा आएको छ, एउटा सशक्त फिल्मको रूपमा ।

रजनीकान्त, नाना पाटेकर, हुमा कुरेसी, ईश्वरी राव, पंकज त्रिपाठी आदि अभिनीत चलचित्र ‘काला’ मा दलित समुदायलाई प्रस्तुत गर्ने परम्परागत सौन्दर्य मूल्यलाई परिवर्तन गर्ने प्रयत्न गरिएको छ । पुँजीवादी विकासको बाटोमा लम्किरहेको भारतको जातव्यवस्थामा आधारित क्रूरता र त्यसप्रतिको विद्रोह चलचित्रमा समावेश गरिएको छ । परम्परागत नायकत्वको मानकलाई भत्काउँदै आफ्नै सामाजिक व्यवस्था र विषयवस्तुलाई उत्कृष्ट विम्बका रूपमा प्रस्तुत गर्न सकिन्छ भन्ने कुरा चलचित्रमा देखाइएको छ ।

अम्बेडकरले धर्म, सामाजिक हैसियत र सम्पत्तिलाई शक्तिका मुख्य स्रोत मानेका छन् । यिनका माध्यमबाट एउटा मान्छेले अर्कोको स्वतन्त्रतालाई नियन्त्रण गर्छ । कपडा धोएर जीविकोपार्जन गर्ने दलितसँग सम्पत्तिको नाममा धारावीको धोबीघाटबाहेक केही हुँदैन । मुम्बईमा अवस्थित धारावी एसियाकै सबैभन्दा ठूलो झोपडपट्टी मानिन्छ । कालाले धारावीका तामिलहरूको नेताको भूमिका निर्वाह गरेका छन् ।

धुर्त राजनीतिकर्मी तथा भूमाफियाको नाइके हरिदाले धर्म र राजनीतिको आडमा धारावीमा कालाको वर्चस्वलाई नष्ट गर्न कुनै पनि कसुर बाँकी राख्दैन । सिङ्गो चलचित्रको कथावस्तु यसकै वरिपरि घुमेको छ । कालाले भूमाफिया हरिदाका विरुद्ध आफ्नो समुदायको नेतृत्व मात्रै गर्दैन बरु गरिबी, सत्ताको दुरुपयोग, भ्रष्टाचार, साम्प्रदायिकता र जातीयताविरुद्ध पनि दह्रो उभिन्छ ।

माक्र्सवादलाई सर्वहारा, गरिब र शोषितपीडित समुदायलाई मुक्ति गर्ने विचार वा दर्शनका रूपमा लिइन्छ । शोषणमुक्त वर्गविहीन समाज निर्माण यसको मुख्य उद्देश्य हो तर माक्र्सवादीहरूले सही अर्थमा जातीय विभेद र छुवाछूत अन्त्यका लागि केही नगरेको कुरा पनि फिल्ममा देखाइएको छ । मुख्य पात्र कालाले आफ्नो छोराको नाम लेनिन राखेको हुन्छ र पढेर ठूलो मान्छे भएपछि समाजका लागि केही गर्छ भन्ने अपेक्षा राखेको हुन्छ ।

लेनिन शिक्षित र हिंसा नचाहने अभियानकर्ता हुन्छ र, प्रणालीगत त्रुटिहरूलाई प्रणालीभित्र रहेर सच्याउन सकिन्छ भन्ने कुरामा विश्वास गर्छ । लेनिनलाई माध्यम बनाएर निर्देशकले काला मार्फत यो महत्त्वपूर्ण वाक्य बोलेका छन्, ‘दुई चार पुस्तक पढ्दैमा कोही क्रान्तिकारी बन्दैन, त्यसका लागि आफ्नो समाज र समुदायका बारेमा बुझ्नुपर्छ र उनीहरूसँग जोडिनुपर्छ ।’

केही पढेर आर्थिक आर्जन गरी मध्यम वर्गको हैसियत बनाएका दलित समुदाय, जो कथित माथिल्लो जातिसँग सहजै घुलमिल हुन सक्दैनन् र आफ्ना समुदायका मान्छेहरूबाट पनि टाढा हुन खोज्छन्, त्यस्ता मान्छेहरूको मनोवैज्ञानिक सन्त्रासलाई पनि सुन्दर तरिकाले देखाइएको छ । शक्तिका अगाडि झुक्नु हुँदैन, अन्याय सहनु हुँदैन र आफ्नो अधिकारका लागि निरन्तर संघर्ष गर्नुपर्छ भन्ने कुरा देखाउँदै चलचित्रमा दलितको आत्मसम्मान, आत्मबल, आत्मविश्वास र आत्मगौरवलाई जगाउन खोजिएको छ र दलितहरूका बीचमा भ्रातृत्वको भावना सञ्चार गर्न खोजिएको छ । लेनिन र जरिना चलचित्रको अन्त्यमा कालाको आन्दोलनमा जोडिनु यसैको उदाहरण हुन् ।

भारतीय सिनेमामा महिलाहरूको भूमिकालाई प्राय: कमजोर पात्रका रूपमा नै प्रस्तुत गरिन्छ । तर, कालामा प्रस्तुत महिला पात्रहरू आफ्नै अनुभवले खारिएका, विद्रोहचेतले भरिएका सशक्त लाग्दछन् । तुफानी (अन्जना पाटिल) यस्तै एउटा पात्र हो । शक्तिशाली मान्छेहरूका अगाडि पुरुषहरू नै बोल्न नसकेको बेला तुफानी ठूलोठूलो स्वरमा आफ्ना कुराहरू राख्छे र हरेक दमनविरुद्धको लडाइँमा अग्रपंक्तिमा खडा हुन्छे । अन्याय, अत्याचारका विरुद्ध आफूलाई हरदम खरो रूपमा उतार्ने तुफानी साँच्चै तुफानजस्तै लाग्छे । आफूलाई बलात्कार गर्न खोजिराखेका प्रहरीसँग डटेर सामना गर्छे ।

यो चलचित्रको एउटा मुख्य विशेषता भनेको दलितलाई धेरै सशक्त र सकारात्मक रूपमा देखाइएको छ । जमिन, शिक्षा र स्रोत प्राप्तिका लागि निरन्तर अवरोध भई व्यक्तिगत नोक्सानी बेहोर्दा पनि उनीहरू आफ्नो लक्ष्यबाट कहिल्यै विमुख हुँदैनन र अधिकारका लागि निरन्तर लडिरहन्छन् । धारवीमा कालाको एक छात्र राज देखिन्छ र उसको इसारामा मान्छेहरू मर्न र मार्न तयार हुन्छन् ।

जरिनाले भूमाफिया हरिदाको खुट्टा ढोग्न अस्वीकार गरेको दृश्य त्यहाँ स्थापित सामाजिक—सांस्कृतिक मान्यताको बर्खिलाप हो । यसरी दलित समुदायलाई विद्रोही र सशक्त भूमिका प्रदान गर्नुका पछाडि विभिन्न कारणहरू छन् । त्योमध्ये एक हो यसका निर्देशक पा रंजिथ आफैं दलित समुदायको प्रतिनिधि हुन् । बलिउडमा धेरै दलित कलाकार र फिल्मकर्मीहरू काम गर्छन् तर अधिकांश आफुूलाई न त दलितको रूपमा परिचित गराउन चाहन्छन् न त विषयवस्तुलाई नै सशक्त रूपमा उठाउँछन् ।

तर, पा रंजिथ भने यस मानेमा धेरै साहसी देखिएका छन् । उनले आफूलाई प्रस्ट रूपमा दलित र अम्बेडकरवादी भएको स्विकारेका छन् । मुख्य पात्र कालाले गहन संवादहरू भनिरहँदा पृष्ठभूमिमा देखाउने ठाउँ, अम्बेडकर, गौतम बुद्ध र बौद्ध विहारहरूलाई प्रतीकात्मक रूपमा देखाइएको छ । निर्देशकले कालालाई एउटा नायकभन्दा पनि सिंगो भारतीय दलित आन्दोलनको रूपमा देखाएका छन् । उत्पीडितले आवाज नउठाएसम्म वा विद्रोह नगरेसम्म उनीहरूमाथिको दमन निरन्तर रहन्छ भन्ने कुरा चलचित्रले देखाएको छ । साभार- कान्तिपुर

प्रतिकृया दिनुहोस्