RaraNews

दलित युवती सेक्सको प्यास मेटाउने साधन मात्र हुन ?

‘सेक्स’ गर्न हुने विवाह गर्न नहुने ?

आरती रहपाल प्रकाशित : २०७५/३/२५ गते
२१९९ पटक

जुन मनका उर्लिदा आक्रोशित छालहरु छन्, ति थोरै भएपनि आज पोख्न चाहन्छु । मेरा बिचार र अनुभुतीहरु नितान्त ब्यक्तीगत हुन सक्लान तर, यसमा ६० लाख दलितहरुको आवाज मिसिएको छ भन्नेमा म बिस्वस्त छु ।
मेरा मनमा लागेका कुराहरु सविता नेपालीको घटनाबाट सुरु गर्न चाहन्छु । म्याग्दीको बेनी नगरपालिका– ९ का ३१ वर्षीय इन्द्र बहादुर खड्का र अन्नपूर्ण गाउँपालिका तातोपानीकी २१ वर्षीय सविता नेपालीबीच प्रेम सम्बन्ध थियो । प्रेममा रहंदा सविताले संसारै जिते जस्तो महसुश पक्कै गरेकी थिईन होला ।

किनकी प्रेम सबैका लागि अपरिहार्य चिज हो । चार वर्षको गोप्य प्रेम सम्बन्धबाट जब सविताको पेटमा बच्चा हुर्किदै गयो , त्यहि दिनदेखि सविताको सुखका दिन सुरु हुनु भन्दा पनि मुत्युको दिन सुरु भयो ।

१२ कक्षाको परिक्षा दिएर बसेकी सविताको पेटमा उनका प्रेमी इन्द्रबहादुर खड्काको गर्भ हुर्किदै थियो । सविताको पेटमा बच्चा हुर्किदै जाँदा गाउँलेहरुले चाल पाए । गाउँलेहरुले चाल पाएपछि सविताकी आमा राधिकालाई छोरीको विषयमा दबाब परेपछि गाउँलेहरुले र आमाले असार १४ गते जीप चालक रहेका इन्द्रबहादुर खड्कालाई पोखरा जानुछ भन्दै बेनी बोलाए । गाउँलेहरुले सविताको पेटमा बच्चा हुर्किएको भन्दै जिम्मा लिन लगाएपछि इन्द्रबहादुरले सहजै स्विकार गरे । र सविता र आफु पोखरासँगै बस्ने बताउँदै जीपमा हालेर गाँउलेबाट, आफन्त्बाट छुट्टिदै उनि पोखरातर्फ हिँडेका थिए ।

सोही दिन उनीहरु चढेको जीप कालीगण्डकीमा दुर्घटना हुँदा दुवै जना वेपत्ता भएको खबर आयो । घटनाबारे प्रहरीको अनुसंन्धान अनुसार सविताका आफन्तहरुले पनि उतm दुर्घटना भएको होला भनि बिस्वास पनि गरे । तर, जीप दुर्घटनामा बेपत्ता भएका भनिएका इन्द्रबहादुर प्रहरी सम्र्पकमा आएपछि घटनाले नयाँ मोड लियो।

सविताकी आमा राधिका र गाउँलेहरुले सविताको सुनियोजित हत्या गरिएको आरोप लगाएका छन् । सविताका आफन्त र गाउँलेले लगाएको आरोप जस्तो सविताको दुर्घटनामा मृत्यु नभएर सुनियोजित हत्या भएकै होत ? संगै बेपत्ता भएका भनिएका इन्द्रबहादुर कसरि एक हप्तापछि प्रहरीको सम्र्पकमा आए ?
एक हप्तासम्म उनि कहाँ थिए ?

गाडीसंगै नदिमा बेपत्ता भनिएका व्यक्ति आफु मात्रै प्रहरी सम्पर्कमा आउनु र सविताको मृत्यु भएको जानकारी दिनुको पछाडि गम्भिर रहस्य छ की छैन ?
शंका गर्ने धेरै आधारहरु छन् । हिजो सविताको सेक्सको चार बर्षसम्म स्वाद लिँदा उनि दलित, अछूत भइनन्, आज गर्भ रहंदा आफ्नो बेइजती र दलित युवतीसंगको आफ्नो सम्बन्धको भयका कारण सविताको हत्या भएको हुन सक्ने धेरैको अनुमान छ ।

सविता जस्तै धेरै दलित दिदि बहिनीहरु गैरदलितबाट यसैगरी लुटिएका छन्, लुकिछिपी प्रेम गर्ने निहुँमा बलात्कृत भइरहेका छन् । सेक्सको प्यास नमेटिउन्जेलसम्म राम्री अति राम्री हुने, जब सेक्सको प्यास मेटिन्छ अनि कुरुप र दलित देख्छ ति पापी दानवी आँखाले ।

सेक्स गर्दा दलित नहुने विवाह गर्दा दलित हुने ? समाजभित्र हुर्किएका यस्ता आपराधिक मनस्थितिका मान्छेहरुको सोचमा कहिले परिर्वतन आउँछ ? तर, यस्ता प्रबृती र दलित युवतीलाई सेक्स प्यास मेटाउने साधनका रुपमा लिने त्यस्ता नरपशुहरु उपर प्रतिकार हुन जरुरी देख्छु ।
दलित भनि निमोठिएका अन्य प्रेमहरु :
कथित उपल्लो जात भएकी संग प्रेम गरेकै कारण मृत्युवरण खेप्नु परेको अजित मिजारको घटनाले सबैलाई रुवाएकै छ अझै पनि । काभ्रेपलाञ्चोकका अजित मिजारको लास ३ वर्षदेखि काठमाडौंको टिचिङ अस्पतालमा अहिले पनि सडिरहेको छ । उनको प्रेमको हत्या गरि उनलाई पनि मार्ने हत्यारा उम्किसक्यो भन्दा फरक नपर्ला । कानून अन्धो छ ।
यस्तै अर्घाखाँचीकी १५ वर्षीया समिता नेपालीलाई राजु अधिकारीले बलात्कार गरी हत्या गरे ।

उता, कैलालीमा माया बिकको पनि बलात्कारपछि हत्या गरे । गत असार १२ गतेदेखि ३ दिनसम्म बेपत्ता भएकी कैलाली गौरीगंगा नगरपालिका–११ कि १९ वर्षीया मायाको शव असार १५ गते नजिकैको चपरथली सामुदायिक वनमा क्षत– बिक्षत अवस्थामा फेला पर्यो । उनको सामूहिक बलात्कार गरी हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ र प्रहरीले अपराधीहरुलायृ कानूनको दायरामा ल्याइसकेको छ ।

आज अजितहरु माथि घोर अपराध र अन्याय हुंदै आएको छ भने सविता र मायाहरु दलित भएर कथित उपल्लो जात भनिएका नरपशुबाट सेक्स प्यास मेटाउने साधन बन्दै मारिदैछन ।

दलितमाथिको अत्याचार कहिलेसम्म ?

दलित माथिको अत्याचार यो देश जति परिर्बतन हुदैछ, नागरिकहरु सचेत र शिक्षित हुदैछन भनिदैछ त्यति नै दलित माथि अमानविय ब्यवहार दिन प्रतीदिन बढ्दैछ । त्यसका केहि पछिल्ला घटनाहरु हेरौं ।
हालै बोक्सीको आरोपमा रामेछापको लिखु तामाकोसी गाउँपालिका —१ दुरागाउँकी २६ वर्षीया सरिता दर्जीको गालामा पन्यूले डामियो । त्यसैगरि, केहिदिन अघि प्रनिधिसभाको बैठकमा सांसद कलुदेवी विश्वकर्माले दलित भएकै कारण आफुले काठमाडौंमा डेरा नपाएको दुखेसो गर्नुपर्यो ।

उता, कालिकोटको नरहरिनाथ गाउँपालिका–९ बाट निर्वाचित वडा सदस्य मना सार्कीलाई कथित उपल्ला जाति कहलाइनेहरुले मनालाई कमिनी डुमिनी भन्दै कुटी कुटी मारे ।
हाम्रो समाजमा जातीय भेदभाव तथा छुवाछूतका कुप्रथाहरु सामाजिक कंलकको रुपमा अझै व्याप्त रहेको यी माथिका घटनाहरुले छर्लङ्ग पार्छ ।
देश संघीय लोकतान्त्रिक गणतन्त्रमा रुपान्तरित हुँदा पनि दलित समुदायले जातीय विभेद तथा छुवाछूतको शिकार भई अपमानित र अमर्यादित जीवन जिउनु पर्ने अवस्थाको सृजना हुनु लोकतन्त्र र गणतन्त्र दुवैको उपहास होईन र ?

राज्यले जातका आधारमा हुने कुनै पनि प्रकारका विभेद तथा छुवाछूतजन्य कार्यहरुलाई अपराधको रुपमा किटान गरेता पनि यो समस्याहरु घट्नु भन्दा दिनानुदिन बढ्दै गइरहेको छ । जसले नेपाली समाज जातीय संकीर्णताबाट माथि उठ्न नसकिरहेको यर्थाथतालाई प्रतिविम्वित गर्दछ । राज्यबाट जातीय विभेद तथा छुवाछूतका घटनाहरुमा प्रभावकारी भूमिका हुन नसक्दा दलित समुदायले निर्धक्क रुपमा मानव अधिकारको उपभोग गर्नबाट बञ्चित हुनु परेको छ ।

जातीय विभेद तथा छुवाछूतलाई अन्त्य गरी समतामूलक समाज निर्माण गरिनु पर्दछ भन्ने कुरामा राज्यको प्रतिबद्धता भएता पनि यस सम्बन्धिका घटनाहरुमा पीडकलाई कानूनी दायरामा ल्याउन तथा पीडीतको न्यायमा पहुंच दिलाउनका लागि राज्यको प्रभावकारी कदम नहुनु भनेको सबै मानवअधिकार र लोकतन्त्र प्रति सम्मान हुन नसक्नु दुख लाग्दो कुरा हो ।

नेपाललाई छुवाछूतमुक्त राष्ट्र घोषणा गर्दैमा पनि समाजमा छुवाछुत हट्ने होइनरहेछ । त्यसो त २०२० को मुलुकी ऐनले पनि जातीय छुवाछुत गर्न नपाइने भनेकै थियो, तर त्यही भनाइ पनि लागू हुन सकेन । राज्यले यस्ता अनेक नीति–नियम, ऐन–कानुन कडाइपूर्वक लागू नगर्दा दलित समुदाय विभेद र उत्पीडनको सिकार भई नै रहेका छन् ।
राजधानीदेखि स्थानीय तहमा सम्मै दिनदिनै दलित समुदायमाथि भइरहेको अन्याय, अत्याचार, थिचोमिचो, शोषण र दमनविरुद्ध सिंगो दलित समुदाय एकजुट भएर प्रतिकार गर्नुको विकल्प छैन अब ।

२०६३ को आन्दोलनपछि पुनस्र्थपित संसद्ले २१ जेठमा नेपाललाई छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको थियो । जातीय छुवाछूत कसुर सजाय ऐन २०६८ व्यवस्थापिका संसद्बाट पारित पनि भयो । छुवाछूतमुक्त राष्ट्र घोषणा गरिए पनि थप कानुनलाई प्रभावकारी बनाउन नसक्दा दलित समुदायमाथि हुने सामाजिक विभेदका रुवरूप र उत्पीडनका समस्या अझै ज्युँकात्युँ छन ।

राजनीतिक, सामाजिक, आर्थिक, शैक्षिकलगायत सबै अधिकारका क्षेत्रबाट वञ्चित छन् । जबसम्म दलित समुदायका पक्षमा आएका कानुनहरु कडा रुपमा लागू गर्न सकिदैन तब अन्तरजातीय विवाह गर्दा समाजबाट बहिस्करण हुनुपर्ने, होटल, घर ,स्कूल, अफिस ,मन्दिरभित्र दलितमाथिको विभेद कायमै रहन्छ । अनि कानून जारी गर्ने सरकार यो दलितमाथिको अत्याचार हेरेर कहिलेसम्म बस्ने ?

(लेखिकाः मदन भण्डारी कलेज अनामनगरमा बिए पहिलो बर्षमा अध्यनरत छिन् । )

प्रतिकृया दिनुहोस्