RaraNews

प्रकाशित : २०७७/१२/११ गते
२०३ पटक

मान्छे मान्छे एउटै हो फरक किन भो ? श्रम चल्छ, सीप चल्छ पानी नचल्ने भो । वास्तबमा यो गीतका शव्दहरु सापटी लिएर भन्नुपर्दा पानी नचल्ने तर श्रम र सीप मात्रै चल्ने यो भेदभावपूर्ण छुवाछूतको असमान व्यवहार विरुद्ध हो, सम्पूर्ण उत्पीडितहरुको लडाई । यो गीतमा भने झै “मेरो लडाई छुवाछुत विरुद्ध हो । मानव जाति अछुत र अशुद्ध कसरी हुन्छ ? ब्लडमा पनि कुनै जात छैन । मानव हामी सबैको एउटै जात हो । जातलाई अब हाम्रो दिमागबाट फाल ” । यस्तै अनेक थरी विभिन्न नाराहरु लेखिएका रंगिन प्लेकार्डहरु हातमा वोकेका केही गैरदलित युवा युवतीहरुको पंक्ति रत्नपार्कस्थित शान्ति वाटिकाको सडकमा लस्करै उभिएका थिए ।

यी युवाहरु जातव्यवस्था अन्त्यका लागि आफ्नो सोंच बदल्ने अभियानमा देखिन्थे । समाज बदल्न पहिला आफ्नो सोँच बदल्नुपर्छ भन्ने धारणा उनीहरुको प्लेकार्डमा मात्रै हैन, अनुहारमा पनि प्रष्टै झल्किन्थ्यो । उनीहरुकै छेउछाउमा अरु पनि थुप्रै अधिकारकर्मी र सामाजिक अभियन्ताहरु थिए । जो वर्षाैदेखी, आर्थिक सामाजिक उत्पीडन, राजनीतिक अधिकार र जातिय मुक्तिका लागि, संघर्ष गर्दै आएका छन्, आ–आफ्ना सामाजिक संघसंस्थाको ब्यानरमा सजिएका थिए । उनीहरुका आफ्नै नाराहरु थिए, “सम्पूर्ण न्यायप्रेमीहरु एक होऔं ! हत्या, हिंसा र बलात्कार अन्त्य गर । रुकुम हत्याकाण्डका दोषीहरुलाई कारवाही गर । मानव अधिकारको सम्मान गर । जातीय विभेद अन्त्य गर । अन्तर्राष्ट्रिय जातिभेद उन्मुलन दिवस सफल पारौँ । छुवाछुत गर्नेलाई कारवाही गर । छुवाछुत मुक्त राष्ट्र घोषणा कार्यान्वयन गर ” । बास्तवमा नारा जे सुकै भएपनि समानता, सामाजिक न्याय, र समावेशी लोकतन्त्रप्रतिको विश्वास र आस्थामाथी भरोसा छ, कुनै न कुनै दिन दलित समुदायले न्याय पाउने छन्, सत्यको जीत हुनेछ । त्यसैगरी यो आन्दोलनमा साथ दिन र ऐक्यवद्धता जनाउन अर्काे झुण्ड थियो, पञ्चेवाजा र सनाईको मगल धुनमा । पञ्चेवाजाको मंगल धुनमा उनीहरुको गुन्जायज पनि कम थिएन । जात व्यवस्थालाई सधैका लागि मेटाउनुपर्छ र उत्पडित वर्गले छिट्टै मुक्ति पाउनुपर्छ । नयाँ सोँच र नयाँ चिन्तन सहितका गैर दलित युवा जमात हुन् या सदियौदेखी जातप्रथा छुवाछुतको गलत संस्कारबाट आजित भएका सम्पूर्ण दलित उत्पीडित समुदाय, सबै – सबैको उद्देश्यमा खासै केही तात्विक भिन्नता छैन । दलित समुदायले जातको आधारमा, वर्ग विभेदको आधारमा र वर्णको आधारमा अब कसैले ज्यान गुमाउन नपरोस् । र यो मुलुकमा कानुनी शाषनको राज होस । सम्पुर्ण उत्पीडित न्यायप्रेमीहरुको संगठित अवाज र गुन्जायज हो ।
गत चैत्र ८ गते २१ मार्चको दिन ५६ औ अन्तराष्ट्रिय जाति तथा रंगभेद उन्मुलन दिवसको अवसरमा काठमाडौंको रत्नपार्क स्थित शान्तिबाटिकाबाट र्याली सुरु हुदै थियो । र्यालीमा गैर दलित युवाहरु पनि सहभागी भएका थिए उनीहरु दलित आन्दोलनलाई साथ दिन र जातव्यवस्थाको उपज समाजमा उत्पन्न मानवता विरोधी घटनामा न्यायका खातिर ऐक्यवद्धता जनाउन काठमाण्डौका विभिन्न स्थानबाट आएका थिए । बास्तवमा युवाहरुको भुमिका निकै प्रभावकारी हुन्छ । साझा मुद्धामा बलियो संस्था निर्माण गर्न युवाहरुको दबाव आवश्यक छ । र यसका लागि अहिलेसम्म कुनै पनि प्रयास नभएका पनि होईनन् तर संगठित आवाज र साझा बुझाईको कमीका कारण दलित र गैरदलित समुदायको विचमा सामाजिक अन्तरघुलन भनेजति हुन सकेको देखिदैन । त्यसैले राज्य, समाज र समुदायलाई जिम्मेबार बनाउन सामाजिक अन्तरघुलनको विकास गर्न, युबाको भुमिका अझ महत्वपूर्ण सावित हुन सक्छ । र युबाको आफ्नै सोँच र परिकल्पनालाई समाज रुपान्तरणमा योगदान गर्न र आफुलाई समर्पित गर्नु अहिलेको नितान्त आवस्यकता पनि हो । तर यो अभियानमा दलित एक्लैले हिडेर वा गैर दलित समुदायले अलग्गै बाटो हिडेर कहिल्यै पनि समस्याको समाधान हुन सक्दैन । दलित र गैर दलित समुदायको सिंगो फोर्स र एलाईन्स निर्माण गरेर मात्रै यो समस्याको हल हुन सक्छ । त्यसैले युवाको स्पिड र स्पिरिटलाई आत्मसाथ गर्न आबस्यक छ ।
झण्डै ३५०० वर्ष पहिले सुरु भएको जात व्यवस्था र प्रथाले जरो गाडेको यो समाजमा ७० वर्षदेखी दलित समुदायले यो मुलुकमा, सामाजिक न्याय र मुक्तिका लागि धेरै संघर्ष र त्याग गर्दै आएका छन् । तर दलित आन्दोलनको लामो संघर्ष र योगदानको कदर र कुनै उपलब्धी यी दलित समुदायले अझै अनुभुत गर्न पाएका छैनन् । विभिन्न कालखण्डमा देशको राज्य व्यवस्था फेर्न र सामान्तबादी सोँच, एकात्मक राज्यसत्ता र निरंकुशताविरुद्ध र आमुल परिवर्तनका लागि, यो मुलुकका सबै उत्पीडित समुदायले कठोर संघर्ष र त्याग गर्न कुनै कसुर बाँकी राखेनन् । तर न्याय पाउने सवालमा यी उत्पीडित समुदायलाई सधै आँखामा छारो हाल्ने काम भएको छ । राजनीतिक दलको घोषणा पत्र, राज्यको कानुन र विधी विधानमा दलित समुदाायको मुद्धाले कहिँ कतै ठाउँ पाइएहाले पनि मुलत व्यबहारमा यसको अक्षरस पालना गर्न, गराउन अझै पनि निकै ठुलो समस्या र चुनौती देखिईरहेको छ ।
अहिले राजनीतिक चेतनाको स्तर निकै माथि पुगेको छ । सामाजिक रुपान्तरणको अवधारणा र यसका लागि बनाइएको परिभाषा पनि निकै पुरानो भईसकेको छ ।
समाजको पिँधमा रहेका यी तमाम दलित समुदाय सधै उत्पीडनमा पारिएका छन् । जातपात छुवाछूत र विभेद दलित समुदायको मात्र नभएर सिंगो यो राज्यको समस्या हो भनेर, खुला दिलले स्वीकार्न राज्यले अझै सकिरहेको छैन । आरक्षण विशेषाधिकार र सेवा सुविधा दिएर दलित समुदायलाई न्याय दिलाउने र अधिकार सम्पन्न गराउने सवालमा राज्यको मुलधारमा रहेका प्रशाषकले अझै मन डुलाईरहेको अबस्था छ ।
यो एउटा राज्यको समस्या हो । यो समस्याको जड र गहिरो छाप यही समाज र समुदायमा परेको छ । त्यसैले जात व्यवस्थाको अन्त्य, जात प्रथा र परम्पराको अन्त्य तपाई हामी सबै उत्पिडितहरुले सबैले चाहिरहेका छौं, तर सकिरहेका छैनौ र हाम्रो वलवुताले भ्याएको छैन । । र अब यो जात व्यवस्थाको जरो उखलेर नफालेसम्म, यसको पात टिपेर फाल्नुको कुनै तुक रहदैन । त्यसैले यो जातको जरो उखेल्न दलित मात्रै हैन, गैर दलित समुदाय, सिंगो नौजवान गैर दलित तमाम युवा जमातको पनि आँट र साहस नितान्त आबस्यक छ ।
साम्राज्यवादी, पुँजीबादी, समाजवादी या वैज्ञानिक समाजवादी जुनसुकै सोँच र चिन्तन भएपनि पहिला आफ्नो सोँच बदल्न सक्नुपर्छ । अहिलेका युवाहरुको जोँस र उत्साहमा हिम्मतलाई यो अभियानमा सबैले साथ दिन जरुरी छ । त्यसैले आफैबाट सोँच बदल तब मात्र समाज बदलिन्छ भन्ने नयाँ प्रकारको अवधारणालाई आत्मसाथ नगरिकन यो मुलुकका उत्पीडितले न्याय पाउने अवस्था छैन ।
समाज रुपान्तरणको परिभाषा र यसको गरिमालाइ नेताका चिल्ला भाषणमा धेरैपटक सुनिन्छन् । आन्दोलनका केही मागहरु राज्यको कानुनमा हरेक पटक दस्तावेज पनि गरिन्छन् । तर कार्यन्वयनको अवस्था एकदमै कमजोर र फितलो रहेको देखिन्छ । आज ५६ वर्ष भईसक्दासम्म, नेपाल लगाएत विश्वका अधिकाँश मुलुकले अन्तराष्ट्रिय तहबाट जातिभेद तथा रंगभेद उन्मुलन गर्न, सकिरहेको अबस्था छैन । नेपालले पनि पटक पटक छुवाछूत मुक्त राष्ट्र घोषणा गरेको छ । दलितका केही अधिकार संविधानमा पनि लेखिएका छन् । जातिय भेदभाव, छुवाछूत र कसुर सँजाए ऐन पनि बनेको छ । मानवअधिकारका राष्ट्रिय अन्तराष्ट्रिय सन्धी महासन्धीहरुमा हस्ताक्षर गरिसकेको अवस्था छ । र हरेक बर्ष यसको खुशीयालीमा दिवस मनाउन बाध्य भएका छौं । अनि दिवस मनाउदै गर्दा दलित समुदायले न्याय नपाएका पीडा, आक्रोश र दयनिय कथा व्यथा सधै सडकमा पोख्न बाध्य भएका छौं । यद्यपी संघर्ष र आन्दोलनबाट विश्राम लिने बेलासम्म पनि दलित समुदायले न्याय पाउने कुनै छाँटकाँट देखिदैन । यही कारण हुन सक्छ, संघर्ष गरेर, सडक आन्दोलन गरेर दलित समुदाय थकित भईसकेका छन् । अनि सडक आन्दोलनमा हिजोका दिनमा जस्तो तुलनात्मक रुपमा तपाई हाम्रो भौतिक उपस्थिति र चाखलाग्दो संख्या निकै घट्न थालिसकेको छ । यो हामीले मुल्याँकन गरेका छैनौं र आन्दोलनको तारतम्य, ऐक्यवद्धता र सहकार्यतामा हामी सबै चुकिरहेको अबस्था छ । नेतृत्वको पनि अभाव खड्किरहेको छ । त्यसैले अबको आन्दोलनको संस्कार र संघर्षको प्रकृति पनि अब फेरिनुपर्छ । र यो आन्दोलन र संघर्षको नेतृत्व अब गैर दलित समुदायका युवाहरुको एउटा ठूलो जमातले लिनुपर्छ र युवाहरुको नयाँ जोँस र जाँगरले फेरी एकपटक दलित समुुदायले जातव्यवस्थाबाट मुक्ति पाउने र न्याय स्थापित हुने कुरामा कुनै शंका रहदैन । आसा गरौं त्यो दिन र समयको साईत पक्कै जुर्नेछ ।

विरु पाल्पाली- जागरण मिडिया सेन्टर

प्रतिकृया दिनुहोस्