RaraNews

प्रकाशित : २०७८/१/२१ गते
३७ पटक
राजेन्द्र महर्जन
महामारी यसरी नै व्यापक भयो भने, स्वास्थ्य प्रणाली भताभुंग भयो भने, जनतामा राज्यप्रति कुनै आशा–भरोसा भएन भने, बेड र अक्सिजनसँगै सरकार पनि बेपत्ता भयो भने सिंगो व्यवस्था चकनाचूर हुन सक्छ ।

कतै बन्धकी राख्न नमिल्ने

दुःखको लालपुर्जा बोकेका

कमिलाको अन्तहीन ताँतीजस्ता 

ती सिसिफसहरू 

भोकले पटपटी फुटेका ओठ 

दस रुप्पेको मास्कले छोप्दैछोप्दै गए 

उनीहरू गए 

यो सहर रित्तो बनाएर गए

– राजु स्याङतान/छाडेर जानेहरू

विश्वको इतिहास मानव विकासको विगत मात्रै होइन, मानव विनाशको पनि लिखत हो । अकाल, युद्ध र महामारीले विश्वमा मानव विनाशको इतिहास रच्दै आएका छन् । घरीघरी विनाश दोहोरिरहने नियति बोकिरहेको इतिहासले भन्छ— चाहे अनिकाल होस् या युद्ध वा महामारी, सामान्यतः सिकार हुने त आम जनता नै हुन् र धेरैजसो शासक आफूलाई अमर वा मृत्युञ्जय ठानेर आम जनताको विनाश र संहारलाई बेवास्ता गर्छन् । वास्ता नै गरे पनि उनीहरूका नीति र व्यवहार कमजोर, अल्पसंख्यक, सत्ताहीन समूहप्रति अत्यन्त पूर्वाग्रही हुन्छन्, जुन दमन, उत्पीडन र हिंसाको कहरका रूपमा पोखिन्छन् । बिफरको महामारीबाट आफ्ना छोरा गीर्वाणयुद्धलाई बचाउन नेपाल खाल्डोबाट सम्पूर्ण बच्चालाई तामाकोशीदेखि तराईसम्म विस्थापन गर्ने राजा रणबहादुर शाहको वास्ता होस् या हजारौं नागरिक कोरोनाबाट संक्रमित र दैनिक तीस–पैंतीस जनाको दरले मृत्युको सिकार हुँदा हात उठाउने प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको बेवास्ता, यी दुवै प्रवृत्ति आम जनताप्रति गैरजिम्मेवार शासकीय मानस (गभर्मेन्टालिटी) का द्योतक हुन् ।

महामारीमा दलन

इतिहासकार साइमन शामाका अनुसार, हरेक महामारीका क्रममा बहुसंख्यक र शासक समूह ठान्नेहरूबाट कमजोरहरूमाथि नृशंस हमला भएको इतिहास छ । सन्को चौधौं शताब्दीमा युरोप र एसियामा ‘ब्युबोनिक प्लेग’ फैलिँदा इसाईहरूले यहुदीहरूलाई तारो बनाएका थिए । उन्नाइसौं शताब्दीमा अमेरिकामा हैजाको महामारी हुँदा इङ्लिस मूलका प्रोटेस्टेन्टहरूले आइरिस मूलका क्याथोलिकहरूमाथि निसाना साधेका थिए । आफूभन्दा भिन्न समुदायलाई महामारीको वाहक ठान्ने र सिकार खेल्ने क्रममा कोरोनाकालमा अनेक समुदायमाथि हमला भएको देखिन्छ । भारत र नेपालमै इस्लामी मिसनरी समूह ‘तब्लिगी जमात’ लाई कोरोना भाइरस फैलाउने जिहादीका रूपमा बदनाम गरिएको तथ्य जाहेर छ ।

सन् १८०४ र १८०५ मा स्वामी महाराज रणबहादुर शाहले बिफरको महामारीको समयमा जसरी स्वनिगः (उपत्यका) का बिफर नलागेका बच्चा र तिनका अभिभावकहरूको आम विस्थापन गरेका थिए, त्यसरी नै भारतको बम्बेमा सन् १८९६ मा प्लेगको महामारी फैलिँदा ब्रिटिस शासकहरूले हजारौं छाप्राको नामोनिसान मेटाइदिएका थिए । इतिहासकार प्रशान्त किदांबीका अनुसार, गरिब बस्तीबाट प्लेग सरेको आरोपमा छाप्राहरू जलाउने र नष्ट गर्ने काम हुँदा बम्बेका हजारौं गरिब बेघरबार भएका थिए । त्यस्तै, सन् १९१८ मा भारतमै इन्फ्लुएन्जाको प्रकोप फैलिँदा मध्य प्रान्तमा शासकीय बेवास्ताका कारण गाउँका गाउँ, त्यहाँका असहाय गरिब खाने–पिउने, ओढ्ने–ओछ्याउने समस्यासँगै रोगले ग्रस्त भई हाहाकार नै भएको तथ्य इतिहासकार डेभिड आर्नोल्डले उल्लेख गरेका छन् ।

इतिहासमा अनेक पटक बिफर, हैजा, प्लेग र इन्फ्लुएन्जाको महामारी बेहोरेको दक्षिण एसियाका भारत र नेपालका आम जनता कोरोनाको कहरसँगै गैरजिम्मेवार शासकको सकस पनि समान रूपमा भोग्न विवश देखिएका छन् । इतिहासकार रामचन्द्र गुहाले अहिले त्यत्तिकै भनेका होइनन्, ‘हामीले भारतका राजनीतिक नेताहरूबाट यस्तो असंवेदनशीलता र निकृष्टता यसअघि कहिल्यै देखेका थिएनौं ।’ लेखक अरुन्धति रोयको भनाइ छ, ‘मोदीको शासनमा अक्सिजनको मात्रै होइन, मानवीयताको अवैध व्यापार भइरहेको छ । भारतमा हामी महामारीको होइन, मानवताविरुद्धको अपराधको साक्षी भइरहेका छौं ।’ विश्वकै १८ प्रतिशत जनसंख्या बसोबास गर्ने भारतले कोरोना नियन्त्रणमा चालेको अतुलनीय र प्रभावकारी कदमकै कारण ठूलो मानवीय क्षति नभएको दाबी गर्नमा कुनै संकोच नमान्ने व्यक्ति भारतीय प्रधानमन्त्रीको कुर्सीमा ढसमस्स बसिरहेका छन् । निर्लज्जतापूर्वक अनेक झुटा दाबी गर्नमा कुनै कसर बाँकी नराख्ने नरेन्द्र मोदीको लँगौटी पलपल फैलिँदो मृत्युको भयावहता एवं अस्पतालका बेड र अक्सिजनको हाहाकार तथा सहरहरू मसानघाटमा रूपान्तरण हुँदै गएको यथार्थबीच खुस्किँदै गएको छ, जसले गुहा र रोयका भनाइलाई नै पुष्टि गरेको छ ।

मृतकको संख्या गन्दै

मोदी र ओलीबीच न विचारमा खासै भिन्नता छ, न व्यवहारमा धेरै अन्तर छ । कोरोनालाई ‘चिनियाँ भाइरस’ भन्दै राष्ट्रवादी हुँकार भर्नमा निवर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री मोदीले जसरी स्पर्धा गरेका थिए, त्यसमा ओली पनि सहभागी भएका थिए, ‘चीनको भाइरस नरम, भारतको कडा रहेछ’ भन्दै । कोरोना महाव्याधिलाई बेवास्ता गर्ने प्रतिस्पर्धामा कोभन्दा को कम भन्दै कुदेका ट्रम्प र मोदीलाई ओलीले जितेका थिए, हाच्छिउँ–साच्छिउँ गर्दै, बेसार–पानी खाँदै, अम्बाको पात उमालेर गार्गल गर्दै कोरोना चट पार्ने गफ छाँट्दै ! जसरी अचेल मोदी खोप र अक्सिजन सबै भारतीयले पाउने दाबी गर्दै आम जनता मृत्युको मुखमा पुगेको दृश्य हेर्दै छन्, त्यसरी नै ओली पनि मृतकको संख्या गन्दै छन्, तीन महिनाभित्रै सबै नेपालीलाई खोप दिलाउने झुटो आश्वासन बाँड्दै, अब कोभिडको दोस्रो लहर नफैलिने फर्जी जिकिर गर्दै, अत्यावश्यक कोभिड अस्पताल निर्माणको कामसमेत रोक्दै !

कोभिड–१९ को दोस्रो लहर आउँदा–नआउँदै, चीन र भारतबाट उपहारमा पाइएको खोप दिने काम पनि रोक्दै, एउटा पनि कोभिड अस्पताल नबनाउँदै ओली सरकारले महाव्याधिसामु आत्मसमर्पण गरिसकेको छ, खालि लकडाउन थोपर्दै । सत्ता–शक्तिको सिंहासन बचाउन, आसेपासे पुँजीपतिहरूको समृद्धि सुरक्षित गर्न र ‘बडा नागरिकहरू’ को सुस्वास्थ्यको रक्षा गर्न मात्रै चल्ने सरकारी हात निर्लज्जतापूर्वक उठिसकेको छ, नागरिकको स्वास्थ्यसम्बन्धी मौलिक हक पूरा गर्ने संवैधानिक दायित्वबाट पन्छिँदै । ओम्नी समूहका बिचौलियाहरूको समृद्धि र ‘बडा नागरिकहरू’ को सुस्वास्थ्यको विशेष ख्याल राख्ने ओलीको स्वास्थ्य मन्त्रालयले आम मानिसलाई अनुत्तरदायी उर्दी जारी गरिसकेको छ, जुन आशावादी र जीवनमुखी पटक्कै छैन । निराशावादी र मृत्युमुखी हुकुम जारी गर्दै सरकारले भनेको छ ः कोभिड–१९ बाट बिरामी हुने ‘छोटा नागरिकहरू’ का लागि अस्पताल र बेड छैनन्; सत्ता–शक्तिमा पहुँच नभएका तिमीहरू रोग, भोक र अपमान सहँदै बाँच्न सके बाँच, नभए कुकुरजस्तै मर ! त्यसैले कवि मुक्तिबोधले सही भनेका छन्, ‘मृत्युका व्यापारीहरू हामीसँग जिन्दगी जिउनुको ब्याज मागिरहेका छन् ।’

राज्यबाट भएका अपराध

बालुवाटार अस्पतालभित्रको सिसाको क्याबिनमा बसेर, साढे ३ अर्बको धरहरा समृद्धि भ्युटावरबाट हेरेर, सिंहदरबारको सिंहासनलाई अँगालो मार्दै बसेर असङ्ख्य शान्ति परियारको मृत्यु देखिँदैन, न त रोगसँगै भोक, गरिबी, विस्थापन, अपमान र विभेदको महामारीबाट भएको मानव संहार नै देखिन्छ । सत्तान्धताको रोगका कारण ओली र उनको प्राइभेट सरकारले छोटा नागरिकहरूको काल नआईकनै भइरहेको दुःखद मृत्यु देख्दैन र त्यस बलिदानमा आफ्नो महान् आपराधिक योगदानलाई पनि हेर्न सक्दैन । ‘हामीले कोरोनालाई हरायौं’ भन्ने भाव जगाउनु, बेसार–पानीदेखि अम्बाको पात उमालेर खानेजस्तो नक्कली विज्ञान फैलाउनु, महामारीकालमा समय छँदै पटक्कै नचेत्नु, जनस्वास्थ्य र सामाजिक सुरक्षाका कुनै काम नगर्नु अनि आम जनताकै थाप्लोमा महामारीको दोष थोपर्नु राजकीय अपराध हो ।

यसबीचमा जनस्वास्थ्यका विज्ञहरूले चेताएझैं युद्धस्तरमा खोप, कन्ट्याक्ट ट्रेसिङ, पुल टेस्टिङ, क्वारेन्टिन–आइसोलेसन–होल्डिङ सेन्टर, अस्पताल, शय्या, अक्सिजन, आईसीयू, भेन्टिलेटर, स्वास्थ्यकर्मी र औषधिको व्यवस्थापन गर्नुको सट्टा स्वास्थ्य सामग्री र उपकरण खरिदमा समेत भ्रष्टाचार गर्नु–गराउनु, प्रदेशदेखि संघमा समेत कुर्सीको व्यवस्थापनमै समय, शक्ति र बुद्धि लगानी गर्नु दण्डनीय कसुर हो । आम नागरिकलाई राज्यविरुद्धको अपराधमा कठोरभन्दा कठोर सजाय तोकिएको छ, राज्य र राज्य सञ्चालक आफैंले अपराध गरेमा कस्तो दण्ड दिने ?

जनमुखी र लोकतान्त्रिक राज्य र राज्य सञ्चालकहरूले महामारीका बेला सबै कामकुरो गर्दागर्दै नियन्त्रण नहुँदाखेरि पनि हठात् हात उठाउँदैनन्, बरु आम जनतामा जीवन र लोकतन्त्रप्रति आशा र भरोसाको सञ्चार गर्दै बस्छन् । मध्यकालका सामन्ती शासकहरूले समेत महामारीका बेला उचित उपचारको अभाव हुँदा प्रजाको मन बहलाउन स्वस्ति–शान्ति, पाठपूजा र बलि दिने गरेको इतिहास छ भने, वर्तमान शासकहरूले छोटा नागरिकलाई तर्साउने र सजाय दिने गरी अघोषित युद्ध गर्ने गर्छन्, महामारीको अचूक उपायका रूपमा केवल लकडाउन गर्दै । यही अघोषित युद्धबीच यसरी नै महामारी व्यापक भयो भने, स्वास्थ्य प्रणाली भताभुंग भयो भने, जनतामा राज्यप्रति कुनै आशा–भरोसा भएन भने, बेड र अक्सिजनसँगै सरकार पनि बेपत्ता भयो भने सिंगो व्यवस्था चकनाचूर हुन सक्छ ।

‘बिरामी भएको लोकतन्त्र पनि हो, मानिस मात्रै होइन । मृत्युवरण मानिसले मात्रै होइन, लोकतन्त्रले पनि गरिरहेको छ ।’ अहिले गरिब निसासिनु र धनाढ्यले मात्रै सहजै सास फेर्न पाउनुले राजनीतिक व्यवस्थाको हिंसा र क्रूरतालाई प्रतिविम्बित गर्छ । अरुन्धति रोयले मोदीतन्त्रलाई हेर्दै भनेका कुरा ओलीतन्त्रका लागि पनि उत्तिकै सान्दर्भिक देखिन्छ, जसले संस्थागत विकास हुने अवसर नै पाइनसकेको लोकतान्त्रिक व्यवस्थालाई अकाल मृत्युतिर धकेल्दै गरेको संकेत गरेको छ । नेपाली लोकतन्त्रको ऐंजेरुका रूपमा देखिएको ओलीतन्त्रले कोरोना संकटलाई मृत्युमुखी अभियानका निम्ति मज्जासँग दुरुपयोग गरिरहेको छ, आफूलाई सत्तासीन बनाउने लोकतन्त्रलाई कालको मुखमा धकेल्दै, आफूलाई कर र मत दान गर्ने लोकलाई विवेकहीन भीड बनाउँदै ।

महाव्याधिसँग सहकार्य

निकट इतिहासले देखाउँछ— यही मृत्युमुखी अभियानमा लाग्ने क्रममै लोकलाई भीडमा फेर्न र लोकतन्त्रलाई भीरमा गुल्ट्याउन खोज्दा ज्ञानेन्द्र शाहले अपुतालीमा पाएको सिंहासन मात्रै होइन, अन्ततः राजतन्त्र नै गुमाउनुपरेको थियो । त्यसबाट पटक्कै नचेतीकन उनी हिन्दु फासीवादी शक्ति र शासनमा आरूढ मोदीतन्त्रको बलमा सिंहासन र राजतन्त्र फर्काउन सकिन्छ कि भन्ने महान् भ्रम बोक्दै हरिद्वारमा भएको कुम्भमेला चहार्दै हिँडे । धार्मिक मति भएका हिन्दु भीडको शक्ति र जुक्तिको आसमा धार्मिक राजनीति थालेका शाह भारतबाट कुर्सीको सट्टा कोरोना लिएर फर्केका छन् । सीतारामको मेला आयोजना गर्ने ओलीभक्त मन्त्रीहरूको नियति पनि त्यस्तै देखिएको छ ।

सन् १८६७ र १८७९ मा हरिद्वारमा स्नान–पर्वका बेला भएको महामारी विस्फोटबारे अध्ययन गरेका इतिहासकार डेभिड आर्नोल्डका अनुसार, उडिसाको पुरी, महाराष्ट्रको पंढरपुर र दक्षिण भारतका अनेक तीर्थस्थलमा भएको भीडभाड पटक–पटकका महामारीका लागि जिम्मेवार मानिएका छन् । जसरी भारतीय प्रधानमन्त्री मोदी, उत्तराखण्डका मुख्यमन्त्री तीरथसिंह रावत र ज्ञानेन्द्र शाहले निहित स्वार्थका लागि कुम्भमेलाको भीडलाई उपयोग गर्न खोजे, त्यसरी नै ओलीले पनि चितवनको माडीसम्म सीतारामको मूर्ति स्थापनाका नाममा बालुवाटारदेखि नै मेला लगाएर, धर्मभक्तहरूको जमात जुटाई मोदीको अन्ध नक्कल गरेका छन्, कोरोना महाव्याधिसँग सहकार्य गर्दै ।

यस्तो धार्मिक राजनीति र भीड निर्माणको रणनीतिले सेक्युलर लोकतन्त्रको चिहान नै खन्ने हो, चाहे त्यो शाहका नाममा होस् या ओलीका नाममा । आफूलाई वामपन्थी र लोकतान्त्रिक ठान्ने ओलीबाट खनिएको लोकतन्त्रको चिहान निकै गहिरो भइसकेको छ, अब वैशाख २७ पछि उनले आफैंबाट विघटित संसद्बाट विश्वासको मत लिन सके पनि नसके पनि चिहानमा खस्ने त लोक र लोकतन्त्र नै हुन् । कोरोना महाव्याधि रोक्ने नाममा थोपरिएको कडा लकडाउनका कारण नागरिकहरू सडकमा निस्कन नसक्ने मौका छोपेर अब ओलीतन्त्रले राजधानीमा ‘लुम्बिनी मोडल’ को अभ्यास गर्ने समय कुर्दै बस्ने कि लोक र लोकतन्त्रको काल लिएको दृश्य टुलटुलु नहेरीकन जहाँ–जहाँबाट सम्भव छ, प्रतिरोध गर्ने ?

https://ekantipur.com/opinion/2021/05/04/16200933976771829.html
प्रतिकृया दिनुहोस्