RaraNews

प्रकाशित : २०७८/१/२५ गते
३९१ पटक

विनाेद परियार, बुटवल ।
सञ्चारकर्मी भएकाले दैनिकी प्रायः उस्तै हुन्छ– बिहानदेखि रातिसम्म समाचारकै खेती। हाम्रा लागि लागि हरेक दिन नयाँ हुन्छ। किनकि हरेक बिहानसँगै लोकले थाहा नपाएका विषय खोज्नुपर्छ।

यो हाम्रो पेसागत धर्म हो। तर झन्डै एक वर्षदेखि भने लोकले भोगेको र पूर्वानुमान गरेको विषयमै समाचार लेखेर दैनिकी बितिरहेकाे छ। त्यो हो– कोरोना महामारी। महामारीकाे सुरुवाती दिनमा कोरोनाले भविष्यमा पार्न सक्ने असरबारे केन्द्रित समाचार लेखियो। तर, अहिले हरेक बिहानसँगै दुःखद् खबर लेख्नुपरेको छ। कोरोनाबाट भएको क्षति अर्थात् संक्रमितको मृत्युको खबरबाट दिनको सुरु हुन्छ। यस्ताे कहिलेसम्म हुन्छ, पत्ताे छैन।

पत्रकारले समाचार नलेखे पनि सरकारले हरेक अपराह्नमा त कोरोना अपडेटमा मृत्युको संख्या भनिहाल्छ। तर, हामी पत्रकारले बिरामीको मृत्युको कारणसमेत खोतलेर लेखिरहेका छौं। मेरो कार्यथलो बुुटवल भएकाले बुटवल र आसपासमा कोरोनाबाट मृत्यु भएकाको समाचार लेखिरहेछु। ती समाचार लेख्दा म हरेक पटक मृत्युको कारण खोज्छु, र ती मृत्युको प्रायः एउटै कारण भेटिन्छ, ‘उपचार नपाएर’। यी कारण सुन्दा म झस्किन्छु। किनकि यो समस्या भोलि पनि दोहोरिनेवाला छ।

अक्सिजन अभावले मर्न थाले बिरामी, सरकार अझै तयारीमै
पत्रकार पनि यही समाजकै पात्र हो। ऊसँग पनि सामाजिक उत्तदायित्व जोडिएको हुन्छ। पीडामा परेकाहरुले अन्तिम सहाराका रुपमा धेरैले पत्रकारलाई खोज्छन्। त्यसैले पत्रकारले भन्यो भने उपचार पाइन्छ भनेर पनि होला आजभोलि प्रायः फोन आइरहन्छ। दैनिक ५–७ जनाको बिरामी छटपटिएको पीडासहितको फोन आउँछ। तर, म केही गर्न सक्दिनँ। मैलै भनेर चल्ने सहर पो कहाँ हो र ? अस्पतालहरु संक्रमितले भरिएका छन्। अक्सिजन छैन, जहाँ अक्सिजन छ, त्यहाँ बेड छैन, आईसीयू र भेन्टिलेटर छैन।

बिरामी पनि लाख कोसिस गरेर अन्तिममा पत्रकारलाई भनेर बचाउन सकिन्छ कि भनेर फोन गर्दारहेछन्। तर, यहाँ प्रशासकहरुकै चल्दैन। म जस्तो समाचारको खेतीमात्रै गर्ने पत्रकारले भनेर कहाँ उपचार पाउने? मन्त्री, नेताहरुको त सत्ताको शक्ति चलेकै होला। तर, आम नागरिकको बेहाल छ। त्यो बेहाल बनेकाहरुको सहारा बन्न म पनि सक्दिनँ। बरु म त्यहीँ छटपटिएर मरेकाहरुको पीडा लेख्न सक्छु। उनीहरुको कथा भन्न सक्छु। ती समाचार पनि केवल औपचारिकमा सीमित छ। पीडाहरु पोखिन्छन्। आँसुुहरु चुहिन्छन। यही समाचारलाई अक्षर लेख्ने म आजभोलि निरीह बनिरहेको छु । समाचार हेर्ने–पढ्नेहरु कति थकथकाउँछन्। कतिले समवेदना दिन्छन्, त्यो भन्दा बढी त्रसित छन्।

लुम्बिनीमा अक्सिजन अभाव, अस्पतालका प्लान्ट बल्ल मर्मत गरिँदै
सञ्चारको आफ्नै कर्तव्य छ। त्यो कर्तव्य पूरा गरिरहेका छौं । तर हाम्रा यी समाचार किन पढिँदैन, जे समस्या देखिएको छ, त्यही नियति पलपल किन दोहोरिन्छ ? यसको उत्तर पाइराखेको छैन। यहाँ जनताको कुरा सुन्ने शासक छैन, पीडामा मलम लगाउने मनहरु भेटिँदैनन्। यो अकल्पनीय महासंकटमा किन सरकार, समाज अनि सबै मुकदर्शक बनिरहेछ?

एउटा प्रसंग म यहाँ उल्लेख गर्न चाहन्छु। ३ दिनअघि मेरो एक जना आफन्त जो बुटवलमा टेलरिङ व्यवसाय गर्नुहुन्थ्यो। पाल्पाबाट बुुटवल आएर व्यवसाय थालेका ती युवक आमा र बहिनीको सहारा हुनुहुन्थ्यो। कोरोनाले सिकिस्त भएपछि छटपटिँदै मलाई फोन गर्नुभयो। तुरुन्तै अक्सिजन दिनुपर्ने भएकाले आफ्नो एक्लो छोरा बचाउन आमा फोनबाटै हारगुहार गर्दै हुनुहुन्थ्यो। यो पीडामा सायद मलम लगाउने अपेक्षाले उहाँहरुले मलाई सम्झनुभयो। यहाँका अस्पतालका चिनेजानेका व्यक्तिलाई फोन गरेँ। अक्सिजन बेडका लागि चिकित्सक गुहारेँ। बल्ल तल्ल भैरहवास्थित भीम अस्पतालमा भुइँमै भए पनि बेड पाइयो। तर, तुरुन्तै आईसीयूमा राख्नुपर्ने भएपनि बेड नपाएपछि यो संसार छाड्नुभयो। आईसीयू बेड पाएको भए सायद उहाँ बाँच्नुहुन्थ्यो। ३५ वर्षीय युवक जसले उपचार नपाएकै कारण प्राण त्याग्नुपर्‍यो। यस्ता पीडा हरेक नेपालीमा बल्झिँदै छ।

बुटवलको बिजोग : बिरामी आत्तिँदै आउँछन्, भुुइँसमेत खाली छैन अस्पतालमा
चिकित्सकहरु अस्पतालबाट फोन गर्दै भन्छन्, ‘अस्पतालमा अक्सिजन सकियो, तपाईंहरुले समाचार लेखिदिनुपर्‍यो, कतैबाट जुट्छ कि?’ अस्पतालको शय्यामा छटपटाएकाहरु भन्छन्, ‘मलाई अक्सिजन दिनुस्।’ आफन्तहरु भन्छन्–‘आईसीयूमा राख्न पाए बिरामी बचाउन सकिन्थ्यो।’ यस्तै–यस्तै चीत्कार छ। म यी चीत्कारहरुको समाचार लेखिरहेछु अचेल।

होम क्वारेन्टिनमा बसेकाहरु आत्तिँदै भनिरहेका छन्- ‘लौन सरकार हामीलाई बचाइदे।’ यी चीत्कारहरु बढिरहेको छ। मलाई पटक्कै मन छैन, कोरोना संक्रमितले उपचार नपाएर मरेको खबर लेख्न। मलाई पटक्कै मन छैन, ती पिडाका कथा भन्न। जति लेखे पनि न सरकार देख्छ, न सुन्छ न त यी बिरामीका चित्कारको पीडा नै बुुझ्छ सरकार।

यो महाविपत्तिमा पनि सत्तासीन दल र विपक्षी पार्टीहरु आफ्नै स्वार्थ (सत्ता) राजनीतिमा होमिएको देख्दा म बडो अचम्मित छु। म जस्तो एउटा सामान्य पत्रकार जसले हरेक घटनामा दह्रो मन बनाएर समाचार लेख्न सक्छ। तर, अहिले मुलुकमा दोस्रो लहरले निम्त्याएको संकटले मन अत्तालिएको छ। मृत्यु भएकाहरुको समाचार लेख्दै गर्दा हात काँपिरहेको छ। यस्तो महाविपतमा पनि सरकार उपनिर्वाचनको तयारीमा छ। प्रधानमन्त्री विश्वासको मत लिनका लागि दलहरुसँगको छलफलमा व्यस्त हुनुहुन्छ। विपक्षी दलहरु अर्को नयाँ सरकार गठनका लागि महागठबन्धन बनाउन कम्मर कसेर लागेका छन्।

कोरोना महामारी यो भन्दा भयानक र भयावह कहिले हुने हो ? यस्तो महासंकटमा पनि सरकार लास गनेर बसिरहेछ। लाग्छ- राजनीतिक दलहरुलाई कोरोना महामारी एउटा मजाक हो, यो उत्सव हो। जनता मरिरहँदा पनि सत्ता जोडघटाउमा मस्त हुने यो कस्तो निकृष्टता हो। यो समय सत्ता जोडघटाउ गर्ने बेला होइन। जनतालाई कसरी बचाउने? कोरोना संक्रमणबाट कसरी नागरिकलाई सुरक्षित गर्ने ? यतातर्फ ध्यान दिने होला नि ! तीन तहका सरकार एकजुट भएर कोरोना परास्त गर्ने बेला हो। संघीय र प्रदेश सरकारले कोरोना जित्न स्थानीय सरकारलाई प्रोत्साहन गर्न जरुरी छ। भएका अस्पतालहरुको स्तरवृद्धि गर्ने, निजि अस्पतालको प्रयोग अनि पालिका पालिकामा अक्सिजन सहितको आइसोलेसन बनाउन धेरै ढिला भइसक्यो।

लुम्बिनीमा संक्रमण भयावह, तीन सातामा १८६ को मृत्यु
म अनुरोध गर्छु– अब कृपया स्थिति सहज छैन। धेरैजसो बिरामी अस्पताल पुुग्नै पाएका छैनन्। अक्सिजन पाएकाले आईसीयू पाएका छैनन्। आईसीयू पाएकाले भेन्टिलेटर पाएका छैनन्। तडपिएर, मुर्छिएर जनता मरिरहेका छन्। अलिकति पनि मानवीयता भए, सरकार अनि राजनीतिक दलहरु यो बेला सत्ता होइन जनता बचाउन लाग। यो महासंकटबाट मुक्ति पाउने बाटो खोज।

मोफसलमा बसेर पत्रकारिता गर्ने म एक मामुली पत्रकारले विनम्रतापूर्वक गरेको आग्रह हो। अब म मृत्युको होइन, कोरोना जित्नेहरुको कथा लेख्न चाहन्छु। कोरोना विरुद्धको लडाइँमा सरकार, राजनीतिक दल तथा नागरिक योगदानको चर्चा गर्न चाहन्छु। निकै ढिला भयो, अब ढिला नगरौं।

Source : www.nepalsamaya.com

प्रतिकृया दिनुहोस्
  • जसलाई आवश्यक, उसलाई आरक्षण

    सम्पादकीय नेपाली समाज, राजनीति र पेसामा सबैभन्दा बढी उच्चारण हुने शब्द हो आरक्षण। अझै राजनीतिकर्मीले चुनावमा भोट झार्नकै लागि आरक्षणको...

    साउन १९, २०७८