RaraNews

प्रकाशित : २०७८/१/२५ गते
३९७ पटक

स्वच्छ व्यवसायी समुह (फेयर ट्रेड ग्रुप-एफटीजी ) ले दुई दशक भन्दा लामो समयदेखी स्वदेशी वस्तु तथा सेवालाई व्यवसायीक प्रवद्र्धनका लागि नीतिगत वकालत र अभिमुखीकरणका कार्यक्रमहरु गर्दै आएको छ । एफटीजी नेपालले निष्पक्ष व्यापार मैत्री नीतिहरु अपनाउन नीति निर्माणकर्ताहरुलाई प्रभाव पार्न, स्थानीयदेखी राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा निष्पक्ष स्वच्छ व्यवसायी संगठनहरू बीचमा सहकार्य र एकतालाई पनि जोड दिदै आएको छ । यस सम्वन्धमा सीमान्तकृत समुदायका उत्पादकहरूलाई उनीहरुको क्षमता विकास, उद्यमशीलता दिगो विकासका क्षेत्रमा क्रियाशील रहदै आएको छ । यसको अलावा एफटीजी नेपालले स्वदेशी उत्पादन र वस्तु तथा सेवाको विस्तारका लागि निरन्तर लागि परेको छ । यसै सन्दर्भमा आज एफटीजी नेपालले भर्चियूल माध्यमबाट एक कार्यक्रमको आयोजना गरी विश्व स्वच्छ व्यवसायी दिवस मनाएको छ ।

आज हामीले स्वच्छ व्यवसायी समुह –फेयर ट्रेड ग्रुपका अध्यक्ष चित्र वहादुर केसी ज्यू सँग एफटीजिको महाअभियानमा केन्द्रित भएर कुराकानी गरेका छौं । प्रस्तुत छ, उहाँसँग जागरण मिडिया सेन्टरले गरेको कुराकानी

 सरल भाषामा स्वच्छ व्यवसायी भनेर कसरी बुझ्ने ?
यस्तो खाल्को व्यापार जहाँ नाफा केन्द्रविन्दु नभई मानिसहरु किन्न आउने गर्छन् । अर्थात व्यापार गर्दा हामीले ३ वटा व्यत्तिलाई मुख्य प्राथमिकतामा राख्छौं, पहिलो जस्ले बस्तु उत्पादन गर्छ सेवा प्रदान गर्छ, दोस्रो जस्ले हाम्रो वस्तु विक्री गर्छ, तेस्रो जस्ले वस्तु सेवा उपभोग गर्छ, । यी तीन जनालाई केन्द्रमा राखेर नाफाको कुरा गछौं, । र फेरी पहिलो पारदर्शिता, दोस्रो सबैमा समानता, र तेस्रो गुणस्तरीयता यी ३ वटै कुराहरु पर्छन् । यो नै स्वच्छ व्यवसायी भनेर बुझ्न सक्छौं ।
त्यसो भए विश्वको परिवेश र नेपालको सन्दर्भमा यसको सम्बन्ध कसरी जोडिन्छ ?
यो एउटा महाअभियान हो । यसलाई विश्वको ७५ वटा मुलुकमा फ्लो गरिएको छ । तर नेपालको सन्दर्भमा हामीले ८० को दशकदेखी मात्रै आवद्ध भएका हौं । यद्यपी यसलाई नेपालका धेरै मानिसले बुझिसकेको अवस्था छैन । त्यसैले पनि हामी यसको पैरवी र प्रवद्र्धमा लागिरहेका छौं । तर विश्वमा केही यस्ता देशहरु छन् जहाँ आफ्नो देशलाई फेयर ट्रेड ग्रुप भनेर चिनाउछन् । जस्तो स्वीडेन यस अन्तर्गत पर्दछ ।

नेपालको सन्दर्भमा धेरैलाई यसको जानकारी नहुन सक्छ, अहिले मुलुकमा तिन तहको सरकार छ । यहाँहरुको वकालतको अवस्था कुन तहमा छ ? र नेपाल सरकारले यसको अपनत्व लिएको छ कि छैन ?
हामीले धेरै पटक यस्को वकालत गरिसकेका छौं । हाम्रो बीस वर्षको दौरानमा नेपाल सरकारका मन्त्री तथा सचिव र उपसचिवहरुसँग धेरै पटक अन्तरक्रिया छलफल र वहसहरु गर्दै आएका छौं । माननयि मन्त्री रविन्द्र अधिकारीले हाम्रो सार्वजनिक कार्यक्रममा, उहाँले नेपालको साँच्चिकै विकास गर्ने हो भने, फेयर ट्रेडका प्रिन्सिपललाई पालना गर्नुपर्छ, भन्नुभएको थियो । यसका कारणहरु पनि छन्, यहाँ धेरै प्रकारका व्यवसाय तथा व्यापारहरु छन् । र संयुक्त राष्ट्र संघले पनि दिगो विकास लक्ष्यमा १७ वटा (ईन्डिकेटर) सुचकहरु बनाएको छ । १७ वटा ईन्डिकेटरहरुमध्ये ११ वटा ईन्डिकेटर हाम्रो स्वच्छ व्यवसायी समुहको अभियानमा केन्द्रित रहेका छन् ।। तर हामीले नेपाल सरकारको संघीय सरकारलाई बुझाउन नसकेपनि स्थानीय तह र प्रदेश सरकारले हामीलाई स्वीकार्नुभएको छ । हामीलाई साथ दिनुभएको छ । जिल्लामा पनि स्थानीय तथा गाउँपालिका र नगरपालिकाले हामीसँग हातेमालो र सहकार्य गर्नुभएको छ । र यसले के देखाउछ भने, फेयर ट्रेड भनेको नेपाल जस्तो विकासन्मुख देश, जहाँ ईनईक्यालिटी वा असमानता बढि छन्, यसको लागि यो अत्यन्तै फलदायी हो भन्ने कुरा उहाँहरुले बुझ्नुभएको छ ।

अब यहाँहरुले सुरु गरेको अभियानमा आम नागरिकहरुलाई बुझाउन, सहभागी गराउन र अपनत्व ग्रहण गराउन यहाँहरुको पहल के भईराछ ? के के काम कसरी गर्दै हुनुहन्छ ?
पहिलो कुरा विभिन्न जिल्लामा विभिन्न तहका समुदायका विचमा काम गर्दैछौं । कुनै संस्थामार्फत, कही लुज नेटवर्कमार्फत र कही समुदायका विचमा सिधै पनि काम गरिरहेका छौं । र यसमा हाम्रो पहिलो प्रयत्न स्वच्छ व्यवसायी भनेर के हो भनेर जनचेतनाको कुरा गछौं । त्यसपछि हामीले स्थानीय तहमा समुदायमा भएका कच्चा पदार्थलाई मध्य नजर गर्दै, उहाँहरुले आफ्नो सीपलाई परिमार्जन गर्न चाहेको खण्डमा विभिन्न विधाका तालिमहरुको व्यवस्था गर्छाैं । तालिमपश्चात आफ्ना उत्पादनहरुलाई उहाँहरुले जोड दिनुुहुन्छ र हामीले उहाँहरको उत्पादनहरुलाई बजारसम्म ल्याउने माध्यमलाई जोडिदिन्छौं । विशेषगरी हस्तकलाका सामाग्रीमा हाम्रो निर्यातले, फेयर ट्रेड ग्रुपमा लागेको व्यवसायीले विश्व वजारमा २० देखी २२ प्रतिशत योगदान गरेको पाएका छौं । त्यसैले स्थानीय मात्रै नभई राष्ट्रिय र अन्तराष्ट्रिय स्तरसम्म हामीहरुले उहाँहरुलाई जोड्नु पनि हाम्रो उद्देश्य हो । यसले स्थानीय उत्पादकहरुको धेरै ठाउँमा पहुँच रहन्छ । जस्तै नवलपरासीको अदुवा नेपालभर धेरै माग हुँदा, उहाँहरुले पुररयाउनु सक्नभएको छैन । यो मात्रै हैन, खाद्य उत्पादनमा पनि हामी सक्षम छौं ।

स्थानीय स्रोत साधनको प्रयोग र विभिन्न विधाका तालिमहरु स्थानीय समुदायलाई उपलब्ध गराएर जसरी रोजगारीको सिर्जना पनि गर्नुभएको छ । यसको अलावा अन्य कुन कुन क्षेत्रमा अवसर र कामहरु अगाडी बढाउनुभएको छ ?
हाम्रो पहिलो काम हस्तकलाका सामाग्रीहरुको उत्पादन र वजार प्रर्वद्धन हो । दोस्रो यतिले मात्रै नपुगेपछि खाद्य उत्पादनका कुराहरुलाई पनि जोड दिएका छौं । यहाँहरुले नाम सुन्नुभएकै होला, अल्लोकुक, हेम वनस्पतिको नामहरु पर्दछन् । त्यस्तै हामीले रिठाबाट पाउडरको धुलो, साबुनहरु, तेल उत्पादनको रुपमा प्रयोग गर्छाैं । त्यस्तै रेशाहरु उत्पादन गरी कपडा तयार गर्ने जस्ता कामहरुमा हामीले सेवा दिईरहेका छौं ।

आज हामीले अहिले विश्व स्वच्छ व्यवसायी दिवस मनाईरहेका छौं । अहिले हामी जसरी कोरोनाको विश्व महामारीबाट गुज्रिरहदा, वैदेशिक रोजगारबाट फर्केका युवाहरुलाई पनि जोड्न सके त यो स्वच्छ व्यवसायी दिवस यसको अभियान सफल हुने थियो की ?
ठिक कुरा गर्नुभयो । अहिलेको यो अवस्थामा हाम्रो मुल मुद्धा भनेकै विल्ड व्याक अगेन अर्थात पुन निर्माण गर्ने अर्थात पुन स्थापित गर्ने भन्ने सवाल हो । तर अहिलेको हाम्रो यो फेयर ट्रेडको मुल नारामा कोभिडले निकै प्रभाव पारेको छ । र यसले यसको ईनईक्वालिटी अर्थात असमानतालाई बढाइरहेको छ । जस्तो अहिलेको कोभिडको खोपकै कुरा गरौं, विश्वका धनी देशले खोपको सर्वसुलभ पहुँच पाएका छन्, तर हामीले अझै खोप पाउने कुराको कल्पना पनि गर्न सकेका छैनौ । त्यसैले यो अहिलेको खाडल हटाउन, कसरी सहयोग गर्ने भनेर विल्ड व्याक भन्ने मुद्धालाई जोड दिएका छौं । त्यसैले यहाँले भन्नुभएको वैदेशिक रोजगारीबाट फर्कनुभएका युवाहरुलाई पनि यो स्वच्छ व्यवसायी समुहको अभियानमा जोड्ने हो र यहाँहरुको रोगारीको सिर्जनामा स्थानीय वस्तु तथा सेवाको उत्पादन, वजारीकरणको अवसरको आवस्यकता पर्दछ । र हाम्रो सन्दर्भमा हामीसँग स्थानीय वस्तु तथा सेवाको उत्पादन र वजारीकरण राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा राम्रो छ । तर यो अवस्थालाई कोभिडले धेरै ठूलो असर पारेको छ र यसलाई हामीले पुनस्थापित गर्न सक्छौं ।

विशेषगरी यो कोभिडले यहाँहरुको स्वच्छ व्यपार व्यवसायमा कस्तो असर पारेको छ ?
खासगरी स्वच्छ व्यवसायमा लाग्ने हामी व्यसायीहरुलाई कोभिडको पहिलो लहरमा ५० प्रतिसत सम्म घाटा लागेको थियो । जब हामीले गत साउन देखी फेरी यसको निरन्तरतामा अगाडी वड्दै थियौं र राम्रो भईरहेको थियो फेरी अकस्मात यसले अप्ठ्यारो पारिरहको छ । हामीसँग झण्डै प्रतक्ष्य र अप्रतक्ष्य रुपमा ५० हजार भन्दा बढि स्वच्छ व्यवसायीहरु जोडिनुभएको छ । त्यसमा पनि ८० प्रतिशत महिला उद्यमीहरु हुनुहुन्छ । जब हामीले साउनदेखी अप्रिल मे जुन सम्मलाई लक्षित गरेर हाम्रा उत्पादनहरु तयारी अवस्थामा राखेका थियौं । निर्यातको तयारी गरिरहेका थियौं । अकस्मात कोभिडको दोस्रो लहरे हाम्रा सबै कामहरु चौपट पार्यो । अब अहिले एयरपोर्ट वन्द अवस्थामा छ । यहाँका बजारहरु बन्द छन् । यसले गर्दा हाम्रा महिला उत्पादकहरुलाई धेरै असर परेको छ । यद्यपी हामी आसावादी छौं, छिट्टै कोरोनाको प्रभाव र वन्दावन्दीको प्रभाव घट्नेछ र हाम्रा दिदि वहिनीहरुलाई रोजगारमा जोडनेछौं, हाम्रा उत्पादनशिल वस्तु तथा सेवालाई विस्तार गर्न पाउनेछौं ।

यहाँहरुले महिला दिदि वहिनीहरुलाई रोजगारमुलक अवसर र सेवाहरुमा जोड्नुभएको छ, उहाँहरुको योगदान महत्वपूर्ण छ, अव यहाँहरुले उत्पादन गरेका बस्तु तथा सेवाहरुलाई स्वदेशभित्रै पनि सबैतिर पुर्याउन के प्रयास गरिरहनुभएको छ ?
आज भन्दा १० वर्ष अगाडी, धेरै महिला दिदिवहिनीहरु, युवाहरु विदेश जाने तरखरमा हुनुुहन्थ्यो । हामीले उहाँँहरुलाई स्वदेशी हस्तकलाका सामाग्रीहरुको उत्पादन र बजारीकरणका लागि सिपमुलक तालिम र कार्यक्रमहरु प्रदान गर्यौं, । उहाँहरुले उत्पादन गरेका हस्तकलाका सामाग्रीहरु विदेशी गुणस्तरको भन्दा कम भएनन् । यस्ले के देखियो भने स्वदेशी उत्पादनका गुणस्तरीयता नेपालमै पनि राम्रो छ, हामीले हाम्रै स्वदेशी उत्पादनको प्रयोग गर्न पर्छ भन्ने आम नागरिकलाई परेको छ । र उहाँहरुको बुझाई पनि हामीले स्वदेशी उत्पादनलाई प्रयोग गर्दा हाम्रा दिदि वहिनीले रोजगार पाउछन् भन्ने रहेको छ । अहिले हामी ३५ वटा देशहरुमा पुगेका छौं भने थप अन्य मुलुकमा पुर्याउने कोशिष पनि गरिरहेका छौं ।

अहिले स्वदेशी उत्पादनको प्रवद्र्धन वढ्दै जाँदा प्रयोग गर्ने नेपालीहरुको सख्यामा पनि वृद्धि हुँदै गर्दा विदेशी वस्तुहरु भन्दा स्वदेशी उत्पादन किन महंगो भन्ने कुराहरु पनि आएका होलान नी ?
एक त हामीले उत्पादन गर्ने बस्तुको कच्चा पदार्थहरु वाहिरबाटै आयातित गर्नुपर्ने बाध्यता छ । जस्ले यसको मुल्य वढि पर्न जान्छ, त्यसपछि यसको आकार दिन, कामगर्न, त्यही अनुसारको पारिश्रमिक मुल्य जोड्दा अझ वढि भार पर्न जान्छ र यसले विदेशी मुल्य भन्दा स्वदेशी मुल्य बढि पर्छ । दोस्रो कुरा लिभिङ वेज हो । यसले नेपाली समाजमा ४ जनाको एउटा परिवालाई डिसेन्ट लाईफ अर्थात सुखद परिवारिक जिवनका लागि न्यूनत्तम मासिक आम्दानी कति आवस्यक पर्छ भन्ने कुराको ईन्डेक्सलाई ध्यान दिनु पर्ने हुन्छ । र स्वच्छ व्यवसायी समुहले गरेको अध्यनमा एउटा परिवारलाई सामान्य जिवनयानका लागि महिनामा २५, ००० रुपैया तलब आवस्यक पर्दछ । यसलाई मान्यतामा राखेका छौं । अर्काे हामीले लिभिङ वेज मात्र नभएर हाम्रा दिदि वहिनीहरुलाई वेनिफिटको प्याकेजिङ्गहरुलाई पनि ध्यानमा दिन्छौं, उहाँहरुको वालवालिकाहरुलाई निशुल्क पढने वातावरण मिलाईदिने, छोरी शिक्षालाई जोड दिन्छौंं, विरामी पर्दा स्वास्थ्य उपचारको व्यवस्था गर्छाैं । त्यस्तै कोही टाढाबाट आउनेहरुलाई यातायात खर्च पनि दिन्छौ । यसले गर्दा हाम्रो वजार मुल्य अलि वढि पर्न जान्छ । त्यस्तै एक रुपैया पच्चीस पैसा ज्याला पर्ने वस्तुलाई सामान्य वजारमा हेर्दा जम्मा २५ पैसा मात्रै पर्छ । त्यसले नर्मल मार्केट र फेयर ट्रेड मार्केटमा धेरै ठूलो ग्याप निर्माण गर्छ ।

अव यो आज विश्व स्वच्छ व्यवसायी दिवस पनि परेको छ, यहाँहरुले स्वदेशी उत्पादनहरुलाई विदेशमा पुर्याउने काम पनि गरिरहँदा कत्तिको सहज छ र कठिनाईहरु के के छन् ? सरकारी पक्षबाट सहयोग पाउने कुरा के रहेको छ ?
नेपाल सरकारको सहयोगबाट भन्दा पनि स्वच्छ व्यवसायी समुहकै प्रयासमा अहिलेसम्म विदेशमा हाम्रा वस्तु तथा सेवालाई विस्तार गर्न सकेका हौं । तर नेपाल सरकारको सपोर्ट नै नभएको भन्न मिल्दैन । चाहिनाको दुईवटा एफिलिएसनमा भाग लिने मौका पाएका थियौं । त्यो नै प्रयाप्त पनि छैन । हामीले अन्तराष्ट्रिय ठूला ठूला संस्थाहरुको सहकार्यमा संसारमा भएका कार्यक्रमहरुमा उहाँहरुको भौतिक र आर्थिक सहयोग पाएका छौं । यस्ता कार्यक्रमहरुमा हामीले एउटा संस्थाको मात्रै प्रवद्र्धनको कुरा नगरी सिंगो नेपालको मुलुकभित्रका साना मझौला तथा ठुला सबै स्वदेशी उद्यमी र यसका वस्तु तथा सेवाका उत्पादनका कुरालाइ प्रवद्र्धन गछौं । त्यसले पनि हामीलाई अन्तराष्ट्रिय वजारमा हाम्रो पहुँचलाई सुनिश्शिचत गर्न र विस्तार गर्न सहयोग पुगेको छ ।

अन्तमा यहाँहरुको यो महाअभियानलाई सार्थक तुल्याउन, यो विश्व स्वच्छ व्यवसायी दिवसको महत्व संसारभर पुर्याउन अझ कस्को भुमिका के होला ? कस्ता सहयोगी हातहरुको आवश्यकता पर्ला ? जस्ले यहाँहरुको अभियान अझ थप प्रभावकारी हुन सक्ने थियो ।

पहिलो कुरा संघीय सरकारले यसलाई अपनत्व लिईदियो भने सहज हुनेथियो । पोलिसिमा समावेष गरिदिनुभएमा थप सहयोग पुग्ने थियो । त्यसको अलावा काठमाडौंमा बस्ने, पोखरामा बस्ने जति उपभोक्ताहरु छौं, हामीले खरिद गर्ने कुनै पनि उपहारहरुलाई प्राथमिकता दियौ भने, हाम्रो रोजगारी प्रवद्र्धन हुने देखिन्छ । यसले मुलुकभित्रको गरिवीको विद्यमान अवस्थालाई पनि न्यूनिकरण गर्न मद्दत पुग्छ । त्यसैले म के अनुरोध गर्न चाहान्छु भने, फेयर ट्रेड भनेको एउटा महा अभियान हो । यसमा नाफा मात्रै कमाउने उद्देश्य छैन हामीले मुलुकलाई आर्थिक र सामाजिक रुपमा स्थापित देशको रुपमा विकास गर्नु छ । तपाईहरुले स्वदेशी सामान किनिदिनुहोस, नेपाली सामानलाई माया गरिदिनुहोस् । यसले तपाई हाम्रो देशको शान वढ्छ । यसले मुलुभर रहेका गरिव तथा विपन्न वर्गका सिमान्तकृत समुदायले रोजगारीको अवसर पाउनेछन् उनीहरुको सामुदायिक उत्थानशील हुन्छ । र देशको दिगो विकासमा उहाँहरुको पनि ठूलो योगदान रहन्छ ।
धन्यबाद ।

#WFTD#BuildBackFairer#fairtrade#fairtradesave#fairtradegroupnepal

https://fb.watch/5mei8M5oux/
प्रतिकृया दिनुहोस्
  • जसलाई आवश्यक, उसलाई आरक्षण

    सम्पादकीय नेपाली समाज, राजनीति र पेसामा सबैभन्दा बढी उच्चारण हुने शब्द हो आरक्षण। अझै राजनीतिकर्मीले चुनावमा भोट झार्नकै लागि आरक्षणको...

    साउन १९, २०७८