RaraNews

प्रकाशित : २०७८/२/२९ गते
२१० पटक

– सुनिता परियार, सुलोचना पञ्चकोटी

यो देशमा दलितकी छोरीको बलात्कारपछि हत्या हुँदा न्याय दिनुपर्छ भनेर गैरदलित अग्रसर हुँदै सडकमा ओर्लिने दिन कहिले आउँछ होला ?

दुई हजार ७५ साल, असार १२ को बिहान
घरबाट बिदा लिई, माया ९ बजे हिँडिन्
साइकल चढी सरासरी फिल्ड जाँदै गर्दा
चपरथली जंगलमा दिउँसै लाग्यो पर्दा

माथिको कवितांश माया विकका मामा कमल विकले लेखेका हुन् । उनी कवि होइनन्, तर भान्जीको बलात्कार र हत्या भएपछि आफ्ना भावनाहरू डायरीमा लेख्ने गरेका छन् । त्यो डायरी सधँै साथैमा बोकेर हिँड्छन् । उनी भन्छन्, ‘मेरी भान्जीको हत्या भएको खबर सबैको कानमा पुगोस् भनेर यो डायरीको कविता सुनाउँदै हिँड्छु ।’

माया कैलाली, गौरीगंगा नगरपालिका–११ शान्तिपुर बस्तीमा बस्थिन् । प्लस टु पढ्दै गरेकी उनी गाउँमा सबैको प्यारी थिइन् । उनकी आमा आफूले पढ्न नपाए पनि छोरीलाई पढाएर ठूलो मान्छे बनाउने सपना बोकेर वैदेशिक रोजगारमा गएकी थिइन् । छोरीले नगरपालिकामै तथ्यांक संकलन गर्ने जागिर पाएपछि उनकी आमा निकै खुसी थिइन् । तर, त्यो खुसी धेरै समय कायम रहेन । मायाको हत्यासँगै त्यो खुसी सधँैका लागि बिलायो । 

मायाका बुबा दीर्घरोगी छन् । घरको आर्थिक अवस्था कमजोर भएकाले औषधी खान पनि धौधौ छ । छोरीको हत्याको घाउ सेलाउन नपाउँदै देउसरा फेरि फर्किइन् सात समुद्रपारि ।

शान्तिपुरवासीहरूको नजरबाट मायाको रहरलाग्दो प्रगति अझै ओझेल परेको छैन । विभेद, गरिबी, अशिक्षाले जुगौँदेखि जरा गाडेको शान्तिपुरमा मायाले केही गर्नेछिन् भन्नेमा उनीहरू आशावादी थिए । गाउँलेहरू भन्छन्, ‘माया हाम्रा लागि अँध्यारोमा बल्ने बत्ती जस्तै थिइन् । के गर्नु पापीहरूले निभाइहाले ।’

माया प्लस टु पढ्दापढ्दै लुगा सिलाउने काम पनि गरिरहेकी थिइन् । लुगा सिलाउने क्रममा पर्खालमा टाँसेको विज्ञापनले उनलाई आकर्षित ग¥यो । गौरीगंगा नगरपालिका–११ ले त्यही नगरको तथ्यांक संकलन गर्न करारमा कर्मचारीको माग गरेको रहेछ । विज्ञापन देख्नेबित्तिकै भोलिपल्टै तालिममा सहभागी भइन् । असार ३ गते नगरपालिकाले बैठक बसेर २०–२२ जना सहभागीमध्ये तीनजना मात्र छनोट गरेको थियो । तीमध्ये गणेश बडुवाल, उमेश चौधरी र माया विक थिए । असार ५ गतेदेखि मायाले नगरपालिकाको काम सुरु गरिन् । नगरपालिका वडा नं. ११ मा घरदैलो सर्वेक्षणमा तथ्यांक संकलन गर्नुपर्ने काम थियो । क्षमतावान् माया विकले दिनमा अरूले १४–१५ घरधुरीमा तथ्यांक संकलन गर्दा ४० पु¥याइसकेकी हुन्थिन् । बोल्न उत्तिकै फुर्तिली मायामाथि गणेश बडुवालले गिद्दे नजर लगाइसकेका थिए । विवाहित र उमेरमा पनि मायाभन्दा धेरै जेठा गणेश बडुवालले बारम्बार यौन प्रस्ताव पनि राख्ने गर्थे, तर माया विकले तपार्इं विवाहित, म अविवाहित, त्यसमाथि म दलितकी छोरी, यस्तो कुरा गर्न लाज लाग्दैन भनेर बारम्बार अस्वीकार गर्थिन् । शारीरिक सम्बन्ध राख्न नमानेपछि गणेश बडुवालले अरू साथीहरूसँग मिलेर बलात्कार गर्ने योजना बनाए । 

असार १२ गते साढे नौ बजे बिहानै साइकलमा कार्यालयतर्फ हिँडेकी माया त्यस दिन घर फर्किनन् । गणेश बडुवालले आफ्नो योजनाअनुसार अरू चारजनासँग मिलेर १० बजे मायालाई अपहरण गरी लछारपछार गर्दै चपथली जंगलको दुई सय मिटर पर लगी निर्वस्त्र पारे, बलात्कार गरे अनि हत्या गरे । 

माया घर नफर्केपछि चिन्तित मायाका परिवारले असार १४ गते जिल्ला प्रहरी कार्यालयमा निवेदन दिए । असार १५ गते मायाले आफ्नो कार्यालय जाँदा चढ्ने साइकल फेला प¥यो । त्यही साइकल फेला परेको ठाँउमा लास पनि फेला प¥यो । लासको स्थिति वर्णन गरिनसक्नुको थियो । त्यही दिन पोस्टमार्टम गर्न सेती अञ्चल अस्पताल पु¥याइयो । असार १६ गते अन्तिम संस्कार गरी मायालाई बिदा गरियो । 

कानुनी प्रक्रियामा भएको संघर्ष 

मायाको लास भेटेकै दिन बलात्कारपछि हत्या गरेको आशंकामा मायाको परिवारले दोषीहरूलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालयमा उजुरी ग¥यो । उजुरी गरेकै दिन आरोपित गणेश बडुवाललाई प्रहरीले पक्राउ ग¥यो । गणेशका १० जना साथीहरूलाई पनि शंकाका आधारमा प्रहरीले पक्राउ ग¥यो । प्रहरीको विशेष निगरानी र अनुसन्धानले गणेशसहित मनोज बोगटी, सुरज चौधरी, भूवन खाती, तपेन्द्र बोगटीलाई सामूहिक बलात्कारपछि हत्या गरेको भन्ने बयानपश्चात् प्रहरीले पत्रकार सम्मेलन गरी घटना सार्वजनिक ग¥यो । दोषीले आफ्नो बयान स्वीकार गरिसकेपछि पनि केही कारबाही भएको थिएन । हत्याको पोल खुलेपछि सबैलाई पक्राउ गरी पुर्पक्षका लागि थुनामा राखिएको थियो । माया सरकारी कर्मचारी भए पनि त्यही नगरपालिकाको न्याय विभागका संयोजक गम्भीर ऐरले प्रतिपक्षबाट वकालत गरे । ती आरोपितहरू निर्दोष हुन् भन्दै कुनै न कुनै दाउपेच लगाएर बचाउन हरदम प्रयत्न गरे । 

बुबा हर्कबहादुर विकलाई आफ्नी छोरी गुमाउनुको पीडा एकातर्फ थियो भने दीर्घरोगले दिएको पीडा अर्कोतिर । ६ पटकसम्म त अदालतमा पेसी चढेपछि स्थगित भएर उनी थाकिसकेका थिए । कहिले प्रतिवादीले सार्ने, कहिले गोष्ठी, सेमिनार छ भन्दै सार्ने र कहिले न्यायाधीशको नै सरुवा भएको भन्ने । जिल्ला अदालतका न्यायाधीश र सम्बन्धित कानुन व्यवसायी तथा सरकारी वकिलको कार्यालयसमेतले मायाको मुद्दालाई कमजोर बनाउन र हत्यारालाई संरक्षण गर्न सहयोग पुग्ने गरी सुनुवाइमा गरिरहेको ढिलाइले नै थाहा हुन्थ्यो, उनीहरू हत्यारालाई संरक्षण गरिरहेका थिए । 

राहतमा विभेद

अधिकांश मानवअधिकारकर्मी, संघसंस्थाहरूको दबाबकै कारण निर्मला पन्तको परिवारलाई केन्द्रीय सरकारले १० लाख, प्रदेश सरकारले पाँच लाख र स्थानीय सरकारले तीन लाख गरेर जम्मा १८ लाख क्षतिपूर्ति प्रदान ग¥यो । तर, माया विकका परिवारलाई प्रदेश सरकारले जम्मा पाँच लाख मात्र दियो, अनि गौरीगंगा नगरपालिकाले चाहिँ एक लाख रकम दिने घोषणा ग¥यो । 

निर्मला पन्तको हत्यारा तीन वर्ष पुग्दासम्म पनि अझै पत्ता नलाग्नु दुुर्भाग्यपूर्ण छ, तर माया विकका हत्याराहरू स्वयंले आफ्नो अपराध स्विकारे पनि लगभग दुई वर्षपछि जिल्ला न्यायाधीश कृष्णप्रसाद नेपालको इजलासले माघ २२, २०७६ मा दोषीहरूलाई जन्मकैदको फैसला सुनाएको थियो । इजलासले टपेन्द्र बोगटीलाई ज्यानसम्बन्धी महलको १७ (२) अनुसार ५ वर्ष कैदको फैसला र अरू दोषीलाई जन्मकैदको फैसला ग¥यो । 

माया विकको बलात्कार र हत्या भएको ठीक एक महिनापछि निर्मला पन्तको पनि बलात्कार र हत्या भएको थियो । उनीहरू दुवै एउटै प्रदेशका अनि परिवार पनि दुवैको आर्थिक रूपमा कमजोर थिए । निर्मला पन्तको बलात्कारपछि हत्या हुँदा पूरै नेपाल आन्दोलित भयो । विभिन्न मानवअधिकारकर्मी, सरोकारवाला, मिडियाहरू सडकमा उर्लिए । तर, माया विकको घटनामा मौनता छाइरह्यो । दलित महिला बलात्कार हुँदा दलित मानवअधिकारकर्मीहरूलाई मात्र पोल्यो । युवापुस्ताले पनि दलितको घटनालाई अनदेखा गरिरह्यो ।

के भन्छन् मायाका साथीहरू ?

राधा विक अहिले पनि मायालाई प्रत्येक दिन सम्झिन्छिन् । बाल्यकालदेखि नै सँगै स्कुल गएको, सँगै खाने, बस्ने, लुगा पनि साटासाट गर्दै लगाउने गर्थे उनीहरू । त्यति मिल्ने साथी गुमाउनुपर्दाको क्षण उनले अझै भुल्न सकेकी छैनन् । त्यो घटनापछि उनी अझै डराउँछिन् । कतै गएका वेला घर फर्किन अबेर भयो भने उनलाई त्यो दिनको घटनाले पिरोल्न थाल्छ । उनको अनुभवबाट बलात्कार जस्ता घटनाले पीडितलाई मात्रै होइन, सिंगै समाजलाई नै त्रसित बनाइरहने रहेछ भन्ने बुझ्न सकिन्छ । 

एकदमै सक्रिय र जोसले काम गर्ने माया राधालाई सधँै भन्ने गर्थिन्, ‘तिमी पनि काम गर, मान्छेहरूसँग बोल, अलि सक्रिय बन ।’ राधा भन्छिन्, ‘घटना हुने दिन बिहान मायाले मसँगै जाऊँ भनेकी थिइन् । रोपाइँको काम भएकाले पछि जान्छु भनेँे । त्यो नै हाम्रो अन्तिम भेट हुन्छ भनेर कल्पना गरेकी थिइनँ ।’ मायालाई बलात्कार गर्न योजना बनाउने मुख्य योजनाकार त सँगै पढेको साथीको दाइ रहेछ भन्ने थाहा पाउँदा राधा झन् छाँगाबाट खसेजस्तै भइन् । महिलाहरू कतै पनि सुरक्षित छैनन् भन्ने उनले गहिरोसँग महसुस गरिन् । भन्छिन्, ‘अझै पनि एक्लै हिँड्न, बाहिर काममा जान हिम्मत नै आउँदैन । डर लाग्छ । यदि हामी दलित समुदायकी छोरी नभएको भए यस्तो घटना हुँदा पनि हत्यारा दुई वर्षसम्म खुलेआम हिँड्दैनथ्यो होला ।’

यो देशमा दलितकी छोरीको अपराधीलाई सजायको फैसला आउँदा दलित समुदायलाई मात्र खुसीको अनुभूति हुने रहेछ । मायाको परिवारले न्याय प्रक्रियामा गरेको संघर्षले दलित अगुवाहरूलाई मात्रै पोल्ने रहेछ । मायाको परिवार खुसी त भयो, तर यो देशमा दलितको छोरीलाई बलात्कारपछि हत्या हुँदा न्याय दिनुपर्छ भनेर गैरदलितहरू अग्रसर हुँदै सडकमा उर्लने दिन कहिले आउँछ होला ? जातको आधारमा क्षतिपूर्तिमा समेत विभेद भएको देख्नु नपर्ने दिन कहिले आउला ?

नयाँ पत्रिकाबाट साभार

प्रतिकृया दिनुहोस्
  • जसलाई आवश्यक, उसलाई आरक्षण

    सम्पादकीय नेपाली समाज, राजनीति र पेसामा सबैभन्दा बढी उच्चारण हुने शब्द हो आरक्षण। अझै राजनीतिकर्मीले चुनावमा भोट झार्नकै लागि आरक्षणको...

    साउन १९, २०७८