RaraNews

प्रकाशित : २०७८/३/६ गते
२४० पटक

चेन्ज एक्सन नेपाल (क्यान) ले नेपाली समाजमा सबै प्रकारका विपत्, विभेदका विरुद्धमा काम गर्दै आएको छ । नेपाल वहु विपत्को उच्च जोखिममा छ । जहाँ प्राकृतिक विपत्तिसँगसँगै मानव सिर्जित विपत्तिहरू सामाजिक, साँस्कृतिक, धार्मिक र राजनैतिक रुपमा देखा परिरहेका छन् । यी सबै खालका विपत्तिको प्रभाव वा मारबाट नेपालमा बहुसंख्यक संख्यामा रहेका दलित, महिला, बालबालिका र अन्य विपन्न वर्गका सिमान्तकृत समुदाय परिरहन्छन् । विशेषगरी दलित र महिलाहरू जातीय भेदभाव तथा छुवाछुत, हिंसा, बलात्कार, भोकमरी, अन्याय अत्याचार जस्ता घटनाबाट पीडित हुनुपरेको छ ।

क्यानले भूकम्प, बाढी, पहिरो, शितलहर, कोभिड–१९ (कोरोना भाइरस) को महामारीमा विपत्तिमा परेका, गरिब, असहाय र अलपत्र परेका दलित, महिला रसिमान्तकृत समुदायका साथै गरिखाने मजदुरहरूलाई विभिन्न तरिकाले निरन्तर रुपमा सहयोग गर्दै आएको छ । यसै विषयमा क्यानका अध्यक्ष, इन्दिरा घलेसँग कुरा गरिएको छ ।

May be an image of Indira Ghale and standing

कोरोना महामारीको प्रभाव सबैतिर छ । अहिले तपाईंहरू के गर्दै हुनुहुन्छ ? 

गत वर्षदेखि नेपाललगायत संसारभर कोरोना भाइरसको प्रभाव बढेको छ । मान्छेको जनजीवन सहज छैन । लकडाउन छ । त्यही भएर धेरै त घरबाटै काम गरिरहेकी छु । आवश्यकता अनुसार स्वास्थ्य मापदण्डहरू अपनाएर सहयोगको लागि बाहिर पनि जान्छु । यत्तिकै चुप लागेर बस्न सकिने रहेनछ । मान्छेहरू विभिन्न कारणले समस्यामा परेका छन् । त्यसैले उनीहरूको बिचमा पुगेर सहयोग गर्नु, मानवीय नाताले हाम्रो पनि जिम्मेवारी हो । लामो समयदेखि सामाजिक, शैक्षिक र राजनैतिक रुपमा काम गर्दै आएको कारणलेपनि त्यसै चुप लागेर बस्न सकिदो रहेनछ । समस्यामा परेकाहरूलाई सहयोग र सहजीकरण गर्ने काम गरिरहेको छु । हाम्रो टिमले टेलिफोनबाटै के कस्तो छ । भनेर समुदायमा सम्पर्क गरिरहेका छौँ । सबै तहका सरकार, संघ, सस्था र समुदायबीच विशेष गरी सहजीकरण गर्ने गरेकी छु ।

यो महामारीमा कस्तो खालको र कसरी सहयोग गर्दै हुनुहुन्छ ?

कोरानाले सबै प्रकारका समस्याहरू उत्पन्न गराएको छ । जनजीवनमा ठूला असर परेका छन् । विशेषगरी महिला, दलित, मजदुरहरू प्रभावित छन् । उपत्यकाकै सुकुवासी बस्तीमा धेरैजसो दलितहरूको बसोबास छ । उनीहरू निकै समस्यामा छन् । साँझ बिहान चुल्हो बल्ने अवस्था छैन । बेलुकाको जोहो गर्न दिनभर मजदुरी गर्नेहरूलाई बन्दाबन्दी (लकडाउन)ले निकै मर्का पारेको छ । यस्तो अवस्थामा पहिल्यैदेखि उहाँहरूसँग काम गर्दै आएका कारण अलिकति केही समस्या भयो कि मलाई फोन आउँछ । तपाईंले सहयोग गर्नुपर्यो भन्दै दुःख पोख्नुहुन्छ । गरिखाने वर्गले रोग र भोकको समस्या सुनाउँदा चुप लागेर बस्न सक्दिनँ । त्यसैले लकडाउनकै क्रममा अधिकांश सुकुम्वासी तथा दलित बस्ती पुगेकी छु । आफूले सकेको सहयोग गरेकी छु ।

यसपटक पनि हामीले काठमाडौं, ललितपुर र भक्तपुरका दलित बस्तीहरूमा सहयोग गर्यौं। त्यसैगरी दोलखाको कालिन्चोक, सिन्धुपाल्चोक, नुवाकोटका दलित बस्तीमा पनि हामी सहयोग लिएर पुग्यौँ । वास्तवमा यस्ता विपत्तिको लागि हाम्रो कुनै पूर्व तयारी थिएन । तर कोरोनाको समयमा नेपाल सरकारले लकडाउन गरेपछि काठमाडौंमा ज्याला मजदुरी गरेर खाने मान्छेहरू, गलैचा कारखाना, ईटा भट्टा, प्राइभेट नीजि क्षेत्रमा काम गर्ने दलित गरिबहरू जो काठमाडौंका सुकुम्वासी हुन्, उनीहरूको जनजीविका अस्तव्यस्त भयो । नीजि क्षेत्रमा काम गर्नेहरूको तलब आउन बन्द भो । नसक्नेले मात्रै होइन सक्ने उद्योग धन्दाहरूले पनि लकडाउनलाई बहाना बनाएर श्रमिकलाई तलब दिएका छैनन् । यस्ता व्यक्तिहरूलाई एकदमै गाह्रो भयो । नेपाल सरकारको राहत बाँड्ने क्रममा पनि विभेद भयो । नागरिकता देखाए मात्रै राहत पाउने प्रावधानले नागरिकता नभएका धेरै सुकुम्वासीहरूले राहत पाएनन् ।

त्यसैले यो विपदमा  हामीले उनीहरूलाई राहत बाड्ने काम गर्यौं । लकडाउन कति समयसम्म लम्बिन्छ भन्ने थाहा थिएन । त्यही भएर १५ दिन पुग्ने चामल, दाल, तेल, नुन, चिनी, आलु र प्याजलगायतका खाद्यान्न दियौँ । यस्तै दुईवटा साबुन, सेनिटाइजर, परिवारको सदस्यलाई पुग्ने गरी मास्क र महिलाहरूलाई सेनेटरी प्याड पनि बाड्यौं । करिब २५ सय जनालाई यसरी सबै किसिमको राहत प्रदान गर्यौं ।

यसपटकको लकडाउन गर्दा सरकारले नागरिकलाई घर जाने दियो । त्यसकारण अघिल्लो वर्षको जस्तो लकडाउनमा धेरै परिवार भएनन्, राजधानीमा । तर अहिलेको नयाँ भेरियण्ट एकदमै डर लाग्दो र खतरनाक भइदियो । यस अवस्थामा धेरैजसो संक्रमितहरूलाई अक्सिजन नपाउने, हस्पिटलमा बेड नपाउने, भेन्टिलेटर नपाउने अवस्था देखियो । धेरै खर्चिलो र अभावका कारण यो सामान्य मान्छेहरूको पहुँचमा हुन सकेन । यसले जनसमुदायमा धेरै डर, त्रास उत्पन्न भयो । हामी आफै त्रसित भएका कारणले संक्रमणबाट कसरी बच्ने भनेर सोसल मिडियाबाट सावधानीका कुरामा जोड दियौँ ।

सुरुसुरुमा समुदायमा गएर राहत दिन सक्ने अवस्था भएन । राहत लिएर जाँदा स्थानीय सरकारको अनुमति चाहिन्थ्यो । यति हुँदा पनि हामीले मास्क र खाद्यान्नहरू  बाँडिरहेका छौँ । काठमाडौ, भक्तपुरमा ज्याला मजदुरी गरेर खाने परिवारहरू छन्, त्यहाँ हाम्रा विद्यार्थीहरू छन् । त्यहाँका ७० जनालाई एकएक बोरा चामल, दाल, तेल, नुनसहित त्यही बराबरको पैसा पनि उपलब्ध गराएका छौँ । घरमै बसेर समन्वय र सहकार्य गरिरहेका छौँ । कतिपयलाई भेन्टिलेटर तुरुन्त चाहिएको छ, कसैलाई औषधी चाहिएको छ । त्यसका लागि पनि हाम्रो समन्वय भइरहेको छ ।

मुख्य कुरा हामीलाई चुनौती धेरै छ । हामी सिमित व्यक्ति, परिवार र समुदायकोमा पुग्छौँ, अरुले पनि सहयोगको अपेक्षा गर्नुहुन्छ । सबैको बिचमा पुग्न सक्ने अवस्था छैन । संसारमा ढुङ्गा साह्रो हुन्छ भन्छन्, ढुङ्गा भन्दा पनि साह्रो मन गराउनु पर्दाेरहेछ । भर्खरै जन्मिएको, एक महिनाको दुधे बालक लिएर महिलाहरू आउनुहुन्छ । हामीले दाल चामल, नुन तेल दिएका हुन्छौँ, तर बच्चाको आमाहरूलाई पौष्टिक आहार र बच्चालाई दुध दिन सकिरहेका हुँदैनौँ ।

राहत सामग्री बितरण गर्दा स्थानीय निकायको भूमिका र सहकार्य कस्तो पाउनुभएको छ ?

सरकारले हामीजस्तो सामाजिक संघसंस्थाका कामलाई नबुझेको हो कि भन्ने महसुस हुन्छ । १० जनालाई राहत दिँदा पनि उहाँहरूले अनुमति चाहिन्छ, भन्नुहुन्छ । हाम्रो त्यस्तो ठूलो प्रोजेक्ट पनि होइन । मानवीय सहायता हो । मानवीय सहयोग गर्न खोज्दा पनि स्थानीय निकायहरूले गाह्रो गराउने । प्रहरी चेकिङ्मा स्पष्टिकरण दिनुपर्ने, राहत कम भएर हामी झुट बोल्नुपर्ने, उहाँहरू हाम्रो कर्मचारी हो भन्नुपर्ने यस्ता समस्याहरू देखिएका छन् ।

तर गत वर्ष स्थानीय सरकारसँग हाम्रो समन्वय राम्रो थियो । उहाँहरूले हामीलाई सहयोग गर्नुभयो । राहत बाँड्ने क्रममा उहाँहरूले डेरामा बस्नेहरूलाई सिफारिस गर्नुभयो । हामी सबैले मानवीय सहयोग गर्न सफल भयौं । कपियलाई चाँही स्थानीयको सहयोगमा घर पठाउने काम पनि हामीले गर्यौं । धेरै मान्छेहरू मजदुरी गरेर गुजारा गर्छन् । यसपाली नेपाल सरकारले राहत बाँड्ने काम गरेन । अहिले जन समुदायले, कर तिरेका छौँ, राहत पाउनुपर्छ, भन्नुहुन्छ ।

अहिले तराईका जिल्लाहरूमा दलित मसुदायभित्रका सबैभन्दा पछाडि परेका मुसहर, महिला, गरिब, मजदुर, बालबालिका र सुदूरपश्चिका जिल्लाहरूमा पनि वादी र अन्य गरिब तथा सिमान्तकृत समुदायलाई खाद्यान्न र स्वास्थ्य चौकी तथा अस्पतालहरूमा स्वास्थ्य सामाग्री सहयोग गरेका छौँ । देशका विभिन्न भागबाट सहयोग गर्दिनु भनेर फोन, इमेल र म्यासेजहरू आइरहेको हुन्छ । खाद्यान्न, अक्सिजनको सिलिन्डर, आइसोलेसन, भेन्टिलेटरको सहयोग चाहियो भनिरहेका छन् । तर सानो संस्था भएकाले ती सबै मागहरू पूरा गर्न सकेका छैनौं ।

भूकम्पको समयमा पनि मानवीय सहयोग गर्नुभएको थियो है ?

हो । २०७२ सालको महाभूकम्पमा सबैभन्दा बढी दलित र सिमान्तकृत समुदाय प्रभावित भए । मानिसहरूको उठिवास लाग्यो । हामी आफूले सकेको सहयोग लिएर समुदायमा पुग्यौं । भूकम्प प्रभावितहरूलाई राहत दिने र स्वास्थ्य उपचार सेवामा काम ग¥यौँ । हामीबाट करिब २ हजार परिवारले राहत र स्वास्थ्य उपचार सेवा पाए । धेरैले रोजगारी गुमाएका थिए । यस्तै महाभूकम्पपछि महिला हिंसा, घरेलु हिंसा जातीय विभेदका घटनाहरू पनि निकै भए । यी विभिन्न खाले हिंसाबाट प्रभावितहरूमा मनोसामाजिक समस्याहरू उत्पन्न भए । मनोसामाजिक परामर्शका कामहरू पनि हामीले गर्यौं ।

चेन्ज एक्सन नेपाल (क्यान)को प्राथमिकतामा के के पर्छन् ?

चेन्ज एक्सन नेपाल विशेषगरी मानव बेचबिखन तथा यौन हिंसाविरुद्ध जनचेतना फैलाउने र समुदायमा समानता र सामाजिक न्यायका लागि क्रियाशील छ । यसले बालिका शिक्षालाई विशेष प्राथमिकतामा राखेर काम गर्दछ । बालबालिकाहरूको जनचेतना, सुरक्षा र साझेदारी हाम्रो मुख्य उद्देश्य हो । कहिलेकाहीँ उद्धारका काम पनि गर्छौ । मानव बेचबिखन र बलात्कारका मुद्दामा हामीले काम गर्ने गरेका छौँ ।

नेपाली समाजमा दलित समुदायका महिलाहरू अझ यौन हिंसाबाट एकदमै धेरै पीडित छन् । हामीलाई लाग्थ्यो, महिलामाथि घरेलु हिंसा, बालबिबाह, मानव बेचबिखन र बलात्कारजस्ता विभेद किन भइरहन्छन् ? समाज अध्ययनबाट हामीले के पत्ता लायौँ भने, यसको प्रत्यक्ष र अप्रत्यक्ष दुईवटै कारण भनेको शिक्षा रहेछ । शिक्षा नभएकै कारण महिलामाथि यस्ता खालका हिंसा हुनेरहेछन् भन्ने निष्कर्षमा पुग्यौँ । र त्यसका लागि हामीले बालिका शिक्षामा मुख्य काम सुरु गर्यौं। सबैभन्दा बढी बालिकाहरू पीडित छन् र केही बालकहरू पनि । तर हाम्रो पहिलो प्राथमिकता बालिका नै हो । त्यसैले हामीले बालिका ८० प्रतिशत र बालक २० प्रतिशतको लागि काम गर्छौं ।

अहिले ३ सय जना बालिका र केही बालकलाई छात्रवृत्ति दिएका छौँ । छात्रवृत्ति सुरु गरेपछि स्नातक तहसम्म सहयोग गर्छौं । यसबाहेक बालक र बालिकालाई मात्र नभएर अभिभावक शिक्षालाई पनि जोड दियौँ हामीले । दोस्रो काम हिंसा प्रभावित महिलाहरूको उद्धारमा काम गर्छाैं । बलात्कार, बेचबिखन र हिंसापीडित बालिकाहरूलाई अवसर दिने काम गर्छौं । सिप सिकेर जीविकोपार्जन गर्छु भन्नेहरूलाई सिप सिक्ने अवसर पनि दिएका छौँ ।

बालिका शिक्षा अन्तर्गत १५ जना जना स्नातक तह पास गरेर आआफ्नो ठाउँमा काम गरिराख्नुभएको छ । हामीले स्नाकोत्तरसम्म सहयोग गर्न सकेनौं । सरकारी र नीजि स्कुलहरूले गर्दा धेरैको मन नीजितिर जान्छ । हाम्रो स्नाकोत्तरसम्म सहयोग गर्ने कार्यक्रम भएन । हाम्रो सहयोग पाएर अहिले कोही नर्स भएका छन्, कोही होटल व्यवसाय, मःम पसल, फर्निचर, सिलाई पसल लगायतका व्यवसाय गरिरहेका छन् । प्रभावित बालिकाले सहयोग पाए भने समाजमा ‘रोलमोडल’को रुपमा काम गर्न सक्छन् भन्ने कुरा हाम्रो अनुभवले देखाएको छ ।

अब कसरी काम गर्ने सोच्नुभएको छ ?

नेपाल आफैमा गरिब देश हो । यहाँ सधै प्राकृतिक, आर्थिक समस्या मात्रै होइन, कोरोना जस्ता महामारी, बाढी पहिरो, भूकम्पजस्ता महाविपत्ति आइरहन्छन् । सामाजिक लगायतका प्राकृतिक र मानव सिर्जित बहुप्रकारका विपत्हरू आइनै रहन्छन् ।

[quote]प्राकृतिक रुपमा भूकम्प, पहिरो, बाढी, शितलहर, आगलागी भइनै रहन्छ । सामाजिक रुपमा पनि यहाँ जात, धर्म, वर्ग, लिङ्गको आधारमा विभेद, कुटपिट, बलात्कार, हिंसा, हत्या, गाउँनिकाला, बहिष्कार लगायका घटनाहरू भइरहन्छन् । यी सबै समस्याको मारमा समाजमा पछाडि पारिएका समुदाय, दलित, महिला, बालबालिका, मजदुर, गरिब र सिमान्तकृत समुदाय नै पर्ने गर्दछन् ।[/quote]

ती सबैको सहयोग र उद्धारका लागि विपत् वा राहत कोष स्थापना गरेर काम गर्ने सोच बनाएको छु । पहिले देखि गर्दै आइरहेको काम त छदैछ । मानिसहरू शिक्षा, स्वास्थ्य, स्वाभिमान, समानतालगायतका आधारभूत मानवअधिकारबाट बन्चित छन् । तिनको अधिकार र संरक्षणमा काम गर्नु हाम्रो दायित्व र मानविय जिम्मेवारी पनि हो । मैले गर्दै आएको काम मुलुकभर ती लक्षित समुदायका बिचमा पु¥याउने र समय सापेक्ष समाज निर्माणका लागि सकेको सहयोग पुर्याउने सोंच छ । साथै नेपाली समाजका दलित, महिला र बालबालिकालाई जस्तो प्रकारको विपत्मा पनि जुध्न र सामना गर्न सक्ने बनाउने सोच र सपना छ ।

प्रतिकृया दिनुहोस्