RaraNews

प्रकाशित : २०७८/३/१७ गते
४४६ पटक

पशुपति मन्दिर प्रवेश गर्न आन्दोलन गर्दै ७५० भन्दा बढीले दिएका थिए गिरफ्तारी 

२०१० सालको कुरा हो। काठमाडौंमा बिफरको महामारी फैलिएको थियो। शितलामाईको पूजा गरे महामारीबाट त्राण पाइन्छ भन्ने स्थानीयहरू विश्वास गर्थे।

यो विश्वास पूरा भयो कि भएन, त्यो आफ्नो ठाउँमा छ। तर, यसले एउटा घटनालाई जन्म दियो, जुन नेपालको दलितमुक्ति आन्दोलनमा महत्वपूर्ण कोशेढुंगाका रूपमा दर्ज छ।

त्यति बेला काठमाडौंका सहर्षनाथ कपाली दलित संगठन समाज सुधार संघका नेता थिए। नेवार समुदायका कपालीलाई दलितमुक्ति आन्दोलनको सुरूआती नेताका रूपमा लिइन्छ। २००४ सालमा उनकै नेतृत्वमा टेलर युनियन नामक संगठन खुलेको थियो। उनकै अगुवाइमा २००८ सालतिर जात तोडक आन्दोलन पनि भएको थियो।

उनै सहर्षनाथका भाइ न्हुच्छेनारायणका छोरालाई पनि बिफरले छोएछ। रोग निको पार्न शितलामाईको पूजा गर्नुपर्छ भन्ने जनविश्वासका कारण उनीहरू पशुपतिनाथको शितलामाई मन्दिरमा पूजा गर्न गएछन्।

जसरी आज पशुपतिमा गैरहिन्दुहरूलाई प्रवेश निषेध छ, त्यो समय दलितहरूलाई पनि निषेध थियो। मन्दिरको मूलढोकामा ‘दलित प्रवेश निषेध’ भन्ने बोर्ड नै लगाइएको हुन्थ्यो।

जातपातमा कट्टर समाजले जब कपालीहरू पशुपति छिरेको थाहा पायो, उनीहरूलाई प्रहरी लगाएर पक्राउ गराइयो।

यो घटनापछि दलितहरूले पशुपति मन्दिर प्रवेश निम्ति औपचारिक संघर्ष सुरू गरे।

आन्दोलन चर्किंदै गएपछि २०१० माघ महिनामा प्रधानमन्त्री मातृकाप्रसाद कोइराला र गृहमन्त्री टंकप्रसाद आचार्यसँग वार्ता भयो। दलितहरूले फागुनमा पर्ने महाशिवरात्रिको दिन पशुपति प्रवेश गर्ने योजना बनाएका थिए। सरकारी पक्षले शिवरात्रिमा विदेशी तीर्थारूसमेत आउने हुँदा त्यो दिन नछिर्न आग्रह गर्‍यो। दलितहरूले मानेनन्।

झन्डै तीन साता चलेको आन्दोलनमा ७ सय ५० जनाभन्दा बढी गिरफ्तार भए।

अन्ततः पशुपति मन्दिरमा दलितहरूमाथि लगाइँदै आएको निषेध हटाउन सरकार बाध्य भयो। २०११ असार ९ गते दलित संगठनका प्रतिनिधिहरूले पशुपतिमा सामूहिक पूजा गरे।

आजभन्दा जम्मा ६८ वर्षअघिको यो घटनाबारे आहुतिको ‘जात वार्ता’ किताबमा विस्तृत वर्णन गरिएको छ।

आहुति नेपालको दलित मुक्ति आन्दोलनका सक्रिय अभियन्ता हुन्। २०७७ मंसिरमा प्रकाशित उनको यो किताब मसँग केही समयदेखि नै थियो, तर पढेको थिइनँ। बबरमहल डेरा प्रकरणपछि जातीय विभेद र छुवाछुतलाई लिएर सुरू बहसले मलाई यो किताब पढ्ने हुटहुटी जगायो।

लेखक संगीत स्रोताले सम्पादन गरेको यो किताब अन्तर्वार्ता शैलीमा लेखिएको छ, त्यसैले सरल छ। जात व्यवस्थासँग जोडिएका विभिन्न विषयमा किताबले सांगापांगो वर्णन गर्छ। अहिलेको सन्दर्भमा ती सबै विषय चर्चा गर्न र त्यसबारे थप छलफल गर्न योग्य छन्। कुनै पनि विषयवस्तुलाई अपडेट गर्दै लैजान थप छलफलको दरकार पर्छ नै।

यसको सुरूआत हामीले यही किताबको एउटा अध्यायबाट गरेका छौं, नेपालमा दलितमुक्ति आन्दोलनको ऐतिहासिक पृष्ठभूमिबाट।

कहिलेकाहीँ एउटा घटनाले ठूलो आँधीबेहरी ल्याउँछ। लामो कालदेखि हुँदै आएको आन्दोलनलाई त्यसले नयाँ मोड दिन्छ, नयाँ गति दिन्छ। बबरमहलको डेरा प्रकरण नेपालको जातीय विभेद र छुवाछुतविरोधी आन्दोलनमा त्यस्तै एउटा प्रतिनिधि घटना हो।

किताबमा उल्लेख भएअनुसार जात व्यवस्था र छुवाछुतको इतिहास कम्तिमा तीन हजार वर्ष लामो छ। तर, नेपालमा यसको प्रतिरोध इतिहास सय वर्ष पनि पुगेको छैन। संस्थागत रूपले भएका प्रतिरोधलाई मात्र हेर्ने हो भने करिब ७५ वर्ष लामो देखिन्छ। 

आहुतिका अनुसार २००३ सालको बाग्लुङ आन्दोलन संगठित प्रतिरोधको सुरूआत थियो। उक्त आन्दोलनको नेतृत्व भगत सर्वजीत विश्वकर्माले गरेका थिए।

त्यति बेला उनकै अगुवाइमा विश्व सर्वजन संघ नामक संगठन खुलेको थियो। उनीहरूले सुरूमा ‘विश्वकर्मा भनेका क्षत्रीसरह हुन्, त्यसैले जनै लगाउन पाउनुपर्छ’ भन्ने माग राखे। पछि दलितहरूले पनि पढ्न पाउनुपर्छ भन्दै बाग्लुङमा दलितहरूका लागि छुट्टै स्कुल स्थापना गरे। त्यो स्कुल अहिले पनि चलिरहेको आहुति बताउँछन्।

त्यसयता केही यस्ता महत्वपूर्ण घटना भएका छन्, जसले दलित प्रतिरोधी आन्दोलनलाई एक-एक खुड्किलो भए पनि माथि उकासेको छ। पशुपति मन्दिर प्रवेश त्यसैमध्ये एउटा महत्वपूर्ण घटना हो।

‘फर्केर हेर्ने हो भने विभिन्न समयका विभिन्न घटनाबाट केही न केही महत्वपूर्ण उपलब्धि हासिल भएकै छ। तर, त्यसलाई हामीले संस्थागत गर्न सकेका छैनौं,’ आहुतिले भने, ‘पशुपति आन्दोलनको उपलब्धि संस्थागत गर्नै धेरै समय लाग्यो।’

२०११ सालमै पशुपति प्रवेश खुला गर्ने सहमति भए पनि २०४६ सम्म कहिले छिर्न दिने, कहिले नदिने भइरहेको उनले बताए। आज पनि ठूल्ठूला मन्दिरमा दलित प्रवेशलाई लिएर अन्तरविरोध जारी छ।

कतिपय मन्दिरमा दलितहरूलाई प्रवेश गराउने कुरा उठेपछि दलित र गैरदलित कसैले पनि भगवानको मूर्ति भएको भागसम्म नजाने सहमति गरिएको छ। यसअनुसार दर्शनार्थीहरूले निश्चित ठाउँमा उभिएर पूजा सर्जाम चढाउनुपर्छ। मूर्ति भएको भागमा पुजारीले मात्र प्रवेश पाउँछन्, जो गैरदलित नै हुन्छ।

आहुतिले हामीसँग एक घन्टाभन्दा लामो भिडिओ वार्तामा दलित प्रतिरोधी आन्दोलनसँग जोडिएका यस्ता विभिन्न घटना स्मरण गरे।

उनले डोटीको शैलेश्वरी मन्दिर प्रवेश गर्दाको संघर्षदेखि माडीको कोटी होम संघर्ष, स्याङ्जाको उदियाचौर दूध भराऊ संघर्षदेखि सिरहा–सप्तरीको सिनो बहिष्कार संघर्षसम्मको बेलिविस्तार लगाएका छन्। उनले विभिन्न समयमा भएका आन्दोलन मात्र सम्झेका छैनन्, त्यसबाट के उपलब्धि हासिल भयो र त्यो किन संस्थागत हुन सकेन भन्ने पनि चर्चा गरेका छन्।

आहुतिसँगको विस्तृत कुराकानी भिडिओमा हेर्नुहोस्:

सेतोपाटीबाट साभार 

प्रतिकृया दिनुहोस्